कमरेड हो ची मिन्ह, Ho Chi Minh, Great Revolutionary Hero of Vietnam, हो ची मिन्ह
 

“म भिडको अघिल्तिर उभिएर कराएझैँ कराएँ – ‘आदरणीय शहीदहरु, देशबासीहरु! यही हो हाम्रो मुक्तिको बाटो ।” – कमरेड हो ची मिन्ह

अत्यन्तै सादा जीवन र उच्च विचारका अप्रतिम व्यक्तित्व काका हो ची मिन्हले भनेका छन्, “प्रथम विश्वयुद्धपछि म फ्रान्समा फोटोग्राफरकोमा फोटो धुलाउने र ‘पुराना चिनियाँ भाँडाकुँडा’ (फ्रान्समा बनेको) मा रङ लगाउने मान्छेको रुपमा रहेँ । मैले त्यतिबेला फ्रान्सेली उपनिवेशवादीहरुले भियतनाममा गरेका अपराधहरु कबोल गरिएका पर्चाहरु पनि बाँडेँ ।”

ती भियतनामी नामी नेताले आफू क्रान्तिकारी गतिविधिमा लाग्दै गरेको बेलाका महत्त्वपूर्ण परिवेशको उल्लेख यसरी गरेका छन्, “त्यसबेला मैले अक्टोबर क्रान्तिको समर्थन त्यसको ऐतिहासिक महत्त्व ठम्याएर होइन, लहैलहैमा लागेर गरेको थिएँ । म लेनिनलाई प्रेम र मुरीमुरी प्रशंसा गर्थें किनभने उनी महान् देशभक्त थिए, जसले आफ्ना देशबासीहरुलाई स्वतन्त्र बनायो । त्यसबेलासम्म मैले लेनिनको एउटा पनि किताब पढेको थिइनँ ।

ती क्रान्तिकारी कम्युनिस्ट नेताले आफू फ्रान्सको समाजवादी पार्टीमा किन लागेको थिए भन्ने प्रष्ट पार्दै उल्लेख गरेका छन्, “म फ्रेञ्च समाजवादी पार्टीमा लाग्नुको कारण उनीहरुले मप्रति र शोषित उत्पीडित जनताहरुको सङ्घर्षप्रति सहानुभूति दर्शाउनु नै थियो । तर, म पार्टी, ट्रेड युनियन, समाजवाद या साम्यवादका बारेमा भुत्त्तोभाङ केही पनि जान्दिनथेँ ।”

Lok Narayan Subedi, लोकनारायण सुवेदी
लेखक

प्रष्टवादी र सत्यनिष्ट भियतनामी जनताका महान् नेता र शोषित पीडित श्रमजीवी जनसमुदायका प्रिय र प्रेरणादायी व्यक्तित्वले फ्रान्सको समाजवादी पार्टीको त्यतिबेलाको स्थितिका बारेमा भनेका छन्, “त्यतिबेला पार्टीका शाखाहरुमा समाजवादी पार्टी दोस्रो इन्टरनेसनलमा रहने कि नरहने, कि अर्को अर्ध-दोस्रो इन्टरनेसनल खोल्ने अथवा लेनिनको तेस्रो इन्टरनेसनलमा पो सामेल हुने हो कि भन्नेजस्ता बहसहरु ठूला गरमागर्मीका रुपमा चल्थे । म हप्तामा दुई या तीनपटक बैठकमा उपस्थित हुन्थे र ध्यानपूर्वक छलफल सुन्थे । पहिला त मैले राम्ररी कुरा बुझ्दा पनि बुझिनँ । किन यति साह्रो चर्काचर्की भइरहेको छ ? दोस्रो, अर्थात दोस्रो या तेस्रो जुनसुकै इन्टरनेसनलले क्रान्ति गर्ने हो भने किन यस्तो बाझाबाझ ? अनि पहिलो इन्टनेसनल चाँहि के भयो त ?”

जनता र राष्ट्रको मुक्तिको क्रान्तिकारी विचार, दृष्टिकोण र व्यवहारप्रति कति जिज्ञासु, कति उत्सुक र ठूलो हुटहुटीका साथ उनी अघि बढ्दै रहेछन् भन्ने कुरा उनको यस कथनबाट स्पष्ट हुन्छ, “वास्तवमा मैले एकदमै जान्न चाहेको कुरा चाँहि कुन इन्टरनेशनल औपनिवेशिक मुलुकहरुको पक्षमा छ त भन्ने थियो तर यस विषयमा बैठकमा जोडदार रुपमा कुनै प्रश्न उठ्दैनथे । मैले यो कुरा बैठकमा उठाएँ । केही कमरेडहरुले भन्नुभयो, “औपनिवेशिक मुलुकहरुको पक्षमा दोस्रो होइन, तेस्रो इन्टरनेसनल छ । मलाई एकजना कमरेडले लेनिनको ‘जातीय र उपनिवेशबारेको थेसिस’ पढ्न दिनुभयो, जुन Humanite ले प्रकाशन गरेको थियो ।”

आफूभित्रको मेधावी ज्ञानचक्षु कति तीक्ष्ण र कति व्यग्र बनेको रहेछ भन्ने कुरा उनको अध्ययनमा केन्द्रित भएको यस कुराले औँल्याउँदछ, “लेनिनको उक्त थेसिस (प्रस्थापना) मा मैले नबुझ्ने थुप्रै राजनीतिक शब्दहरु थिए । तर घुँडा धसेर पटक पटक पढेपछि मैले त्यसको चुरो कुरा अठ्याएँ । त्यसले ममा कस्तो आवेग, आशा, प्रष्ट दृष्टिकोण र आत्मविश्वास पैदा गर्‍यो । म त त्यस खुसीले रोएँ । कोठामा एक्लै बसेको बेलामा पनि म भिडको अघिल्तिर उभिएर कराजस्तै जोडले कराएँ, “आदरणीय शहीदहरु, देशबासीहरु! हामीले चाहेको यही हो, यही हो हाम्रो मुक्तिको बाटो ।’

एउटा अग्रतम् क्रान्तिको बाटोमा हिँडेको युवा नेतामा विश्वास भर्ने लेनिनका गहनतम् रचना र लेखहरुले कसरी प्रभाव पारेको थियो भनेर उनले उल्लेख गरेका छन्, ‘‘त्यसपछि लेनिन र तेस्रो इन्टरनेसनलप्रति मेरो पूरै भरोसा बढ्यो ।’’

यसबारे अझ प्रष्ट पार्दै उनले आफ्नो सुरुको स्थिति र लेनिनका क्रान्तिकारी र व्यवहारिक रचनाहरु पढेपछिको आफ्नो स्थितिका बारेमा भनेका छन्, “सुरुसुरुमा पार्टी शाखाका बैठकहरुमा हुने छलफलहरु म सुन्थेँ मात्र, मलाई त्यहाँ उठ्ने कुराहरु सबै तार्किक लाग्थे, कुन सही हो र कुन गलत हो भन्ने कुरा म छुट्याउन सक्दिनथेँ । त्यसपछि भने म पनि बहसमा होमिन थालेँ र जमेर बहस गर्न थालेँ । त्यसबेलासम्म पनि म फ्रेञ्च भाषामा आफ्ना विचारहरु राम्ररी व्यक्त गर्न सक्दिनथेँ । तर लेनिन र तेस्रो इन्टरनेसनलमाथि हुने निराधार आक्रमणको भने म डटेर विरोध गर्न थालेको थिएँ । मेरो एउटै तर्क थियो, ‘यदि तपाईं उपनिवेशवादीहरुलाई घृणा गर्नुहुन्न भने, यदि तपाई उपनिवेशका जनताको पक्षमा उभिनु हुन्न भने तपाईंहरुले गर्न खोजेको क्रान्ति कस्तो हो ?”

कमरेड हो ची मिन्हले, “लेनिनवाद चमत्कारी ‘बुद्धिको किताब’ मात्र होइन, भियतनामी क्रान्तिकारीहरु र जनताको लागि दिशानिर्देश गर्ने कम्पास पनि हो, यो त्यस्तो उज्यालो सूर्य हो जसले हामीलाई अन्तिम जीत र समाजवाद तथा साम्यवादसम्मको बाटो देखाउँछ” भनेर लेनिनवादको वास्तवमा उच्चतम् र सार्थक मूल्यांकन पनि गरेका छन् । लेनिनलाई पढेपछि उनको राजनीतिक र बौद्धिक हैसियत कसरी बढ्यो, त्यो पनि उनले लेखेका छन् ।

त्यसबारे उनले भनेका छन्, “म पार्टीको आफू सङ्गठित भएको शाखाको मात्र होइन, अन्य शाखाका बैठकहरुमा पनि ‘आफ्नो कुरा राख्न’ उपस्थित हुन थालेँ ।” मैले यहाँ भन्नैपर्छ कि कमरेडहरु मार्शल केचिन, भाइलण्ट काउटुरिअर, मुनमोसिउ आदि लगायतले मेरो वैचारिक स्तर उकास्न ठूलो मद्दत गरेका हुन् । अन्तिममा, सर्वोच्च काँग्रेसमा उहाँहरुसँग मैले पनि तेस्रो अन्तर्राराष्ट्रिय (इन्टरनेशनल) मा सामेल हुने पक्षमा भोट खसालेँ ।” यसरी लेनिनवाद पढेपछि उनमा क्रान्तिकारी उत्साह र सही विचारको रक्षा गर्नुपर्दछ भन्ने क्रान्तिकारी भावना उत्पन्न भएको प्रष्टै देखिन्छ ।

क्रान्तिकारी उत्साह उनमा कसरी विकसित हुँदै गइरहेको थियो र उनले अध्ययन, संघर्ष र संगठानिक गतिविधिलाई कसरी सँगसँगै अघि बढाउदै थिए, त्यसले संघर्ष, संगठन र सिद्धान्तलाई उनी एकाकार गरेर लैजान सक्ने क्षमताका धनी बन्दै थिए भन्ने सुस्पष्ट हुन्छ ।

अन्त्यमा प्रयोजनपूर्ण अध्ययन र संघर्षको तत्कालीन स्थिति तथा भावी विकसित हुने अवस्थाका बारेमा उनले निष्कर्ष निकाल्दै भनेका छन्, “लेनिन र तेस्रो अन्तर्राष्ट्रियप्रतिको मेरो भरोसा साम्यवाद होइन, देशभक्तिको कारणले गर्दा बढेको हो । सङ्घर्षको क्रममा एक एक गरेर मार्क्सवाद-लेनिनवादको अध्ययन सँगसँगै व्यवहारिक कामहरुमा पनि सहभागी हुँदै गएपछि म समाजवाद र साम्यवादले मात्र विश्वभरिका शोषित-उत्पीडित जाति र मजदुरहरुलाई दासताबाट मुक्त गर्छ भन्ने निष्कर्षमा पुगेँ ।”

यसरी उत्साहप्रद अध्ययनपछि ती क्रान्तिका स्रष्टा र द्रष्टाले खारिएको र परिपक्क हुँदै गएको आफ्नो विचार यसरी व्यक्त गरेका छन्, “हाम्रो देशमा मात्र होइन, चीनमा पनि ‘चमत्कारी बुद्धिको किताब’ (Book of Wise) को दन्त्यकथा प्रचलित छ । जब कोही ठूलो सङ्कटमा पर्छ भने उसले यो किताब पल्टाउँछ र बाटो फेला पार्छ । लेनिनवाद चमत्कारी ‘बुद्धिको किताब’ मात्र होइन, भियतनामी क्रान्तिकारीहरु र जनताको लागि दिशानिर्देश गर्ने कम्पास पनि हो, यो त्यस्तो उज्यालो सूर्य हो, जसले हामीलाई अन्तिम जीत र समाजवाद तथा साम्यवादसम्मको बाटो देखाउँछ ।”

जनता राष्ट्रको मुक्तिका अथक योद्धा, शोषित पीडित जनसमुदायका अग्रपंक्तिका ती सच्चा र उच्च नेताप्रति!

यो पनि पढ्नुहोस्ः

भियतनामी क्रान्तिका महानायक हो ची मिन्हको जीवनगाथा

(लेखक नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक हुनुहुन्छ ।)