२०६८ सालको जनगणना अनुसार नेपालको कुल जनसंख्याको १३.८% रहेको दलित समुदाय आज महामारी रोग कोरोना भाइरसको आतंक र सरकारी चरम विभेदको विरुद्ध जुधिरहेका छन् । विश्वव्यापी प्राणघातक रोग कोरोना भाइरसले मानव समुदायमाथि गरिरहेको हमलासँगै नेपालमा लकडाउन अवधिमा सरकारी संरक्षणमा जातीय अहंकारवादी अपराधीहरुबाट दलित समुदायमाथि थप हिंसापूर्ण हमला भइरहेको छ । संविधानमा सबै नागरिक एकै हुन् भनी नथाक्ने नेपाल सरकार भने दलित समुदायमाथि गरेका विभत्स हत्या, बेपत्ता, बलत्कार, आगजनी, लुटपाट, धरपकड, यातना, गिरफ्तार, जेलनेल जस्ता अपराधिक घटनाले देशैभर भयावह रुप लिइसक्दा पनि मुकदर्शक बनेर बसिरहेको छ । दलित समुदायका लागि नेपालमा कोरोना भाइरस र नेपाल सरकार उस्ताउस्तै देखिएका छन् – दलितहरुको ज्यान लिइरहेका छन्, दलित समुदायलाई थिलोथिलो पारेका छन् ।
इतिहास साक्षी छ – राजनीतिक परिवर्तन, सामाजिक क्रान्ति, जनआन्दोलन, जनयुद्ध, अधिकारका निम्ति गरेका विभिन्न संघर्षहरुमा रगत, पसिना, श्रम खर्चेका छन्, दलित समुदायले पनि । शान्तिकालमा आएर आज फेरि एकातिर प्राणघातक रोग कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लडिरहेका छन् भने अर्कोतिर राज्यद्वारा संरक्षित सामाजिक अपराधीहरु विरुद्ध न्यायको निम्ति लडिरहेका छन् ।
महामारी रोग कोरोना भाइरस नेपालमा फैलिएसँगै यसको नियन्त्रण तथा रोकथामका लागि सरकारले लागू गरेको लकडाउनलाई स्वागत गर्दै सफल पार्न नेपाली जनताले सरकारको निर्णयलाई स्वागत गरे । स्वागतयोग्य निर्णय भनी समर्थन जनाउने जनसंख्याको एउटा ठुलो हिस्सा हो – दलित समुदाय । लकडाउन पटक पटक थपिदै जाँदा सबैभन्दा हिंसा दलित समुदाय र महिलामाथि पर्यो । यसका लागि नेपाल सरकार, सम्बन्धित निकायलाई ध्यानाकर्षण गरी न्यायको माग गरे पनि दलित समुदायमाथि क्रुर,अमानवीय दमन रोकिएन, झन बढेर गयो । राज्य र यसका निकायहरु खुलेआम अपराधीलाई संरक्षण दिएर बसिरहेका छन् । दोषीलाई कार्वाही छैन, बरु उल्टै उन्मुक्ति । पीडितलाई न्याय छैन, बरु उल्टै कस्टडी । संविधानमा दलितका हक, हित, अधिकारहरु उल्लेखित छन् । ऐन-कानुन छन् – तर कार्यन्वयनमा छैनन् । प्राणघातक रोग कोरोना भाइरस (कोभिड-१९), लकडाउन, निषेधाज्ञा अवधिमा दलित समुदायमाथि घटेका सत्य-तथ्य केही महत्त्वपूर्ण घटनाहरु यहाँ उल्लेख गर्न आवश्यक ठान्दछु ।
१. क्रुर अमानवीय हत्याका घटनाहरु:
क. प्रहरीद्वारा गिरफ्तार पश्चात हत्या:
धनुषा सबैलाका २३ वर्षीय शम्भु सदालाई गिरफ्तारी पश्चात् इलाका प्रहरी कार्यालयमा निर्मम यातना दिई झुण्डाएर हत्या, रौतहट गरुडा-जिंगडवाका विजया रामलाई गिरफ्तारपछि निर्मम यातना दिई हत्या, सिन्धुपाल्चोकका चन्द्र मगराती (सार्की) को जेलमै रहस्यमय मृत्यु ।
ख. विभत्स हत्याका घटनाहरु:
सप्तरीमा त्रिभुवन रामको हत्या, सिराहामा रोशन रामको हत्या, रुपेन्दही देवदहकी १३ वर्षीया अंगिरा पासीको हत्या, रुपेन्दही पशु फार्ममा ५ जना किसानहरुको सामूहिक हत्या, रुकुम(पश्चिम) चौरजहारी-सोतीमा नवराज विक, टिकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार, सन्जु विक, गोविन्द शाहीको सामूहिक नरसंहार, रौतहट गरुडा-जिंगडवाका २० वर्षीय निरन्जन रामको हत्या ।
ग. अस्पतालको लापरवाहीको कारण मृत्यु:
धनुषाका १६ वर्षीय राजु सदाको जनकपुर प्रादेशिक अस्पतालकै लापरबाहीले झाडापखालाबाट मृत्यु ।
घ. प्रेममा धोकाः
प्रहरीद्वारा प्रेममा फसाई अन्तत: विवाह गर्न अस्वीकार गरेपछि बाग्लुङमा एक दलित युवतीको “सुसाइड नोट”सँगै रहस्यमय मृत्यु ।
२. पाशविक बलत्कारका घटनाहरु:
क. शिक्षकद्वारा बलत्कार:
आफ्नै विद्यालयमा अध्ययनरत दलित समुदायकी १३ वर्षीया बालिका विद्यार्थीलाई धनकुटा-६ आत्मारामा शिक्षकद्वारा बलत्कार ।
ख. स्थानीयद्वारा बलात्कार:
मोरङ मिक्लाजुङ कसेनीमा धिरेन मगरद्वारा दलित समुदायकी १४ वर्षीय दलित समुदायकी बालिका बलत्कार, मोरङ-बुढीगंगा बडहरामा दलित समुदायकी १५ वर्षीया बालिकालाई लक्ष्मण राई, इन्द्र राई, रोशन राई लगायत ५ जनाद्वारा बलत्कार, कास्कीमा ६० वर्षे बृद्ध खुश बहादुर गुरुङद्वारा दलित समुदायकी दश वर्षे बालिकालाई मुख थुनेर बलत्कार ।
३. कुटपिटका जघन्य अपराधका घटनाहरु:
क. जनप्रतिनिधि/कर्मचारीद्वारा गाली बेइज्जती र कुटपिट:
कालिकोट सान्नी त्रिवेणी गापा-६ का वडाध्यक्ष रंगराज सार्की, सोही गापा-२ का वडाध्यक्ष विर्खसिंह विकमाथि कुटपिट । भक्तपुर चाँगुनारायणका निर्वाचित वडा सदस्य सर्मिला बयलकोटीलाई गाउँमा बाटो लिने विषयमा जातीयताकै कारण अपमान । पाँचथर हिलिहाङ-५ का वडाध्यक्ष लक्ष्मी सुहाङबाट जातीय विभेद गर्दै बैठक कक्षाबाट दलित समुदायका एक युवालाई बाहिर निकालेर अपमान गरेको । सप्तरी कञ्चनपुर-११ का राखेलोस सदामाथि वडाध्यक्षको निर्देशनमा निर्घात कुटपिट, गुल्मी कालीगण्डकी-५ का श्याम परियार आफ्नो हजुरआमाको दाहसंस्कारपछि फर्कने क्रममा हावाहुरी झरी पानीबाट बच्न नेत्र काउचा मगरको घरमा पालिमुनि ओत लिइबसेको बेला दलित भन्दै कुटपिट र जनप्रतिनिधिद्वारा १५,०००/-दण्ड जरिवाना । रुपेन्दही क्षेत्र नं. १ का संजय गुप्ताले जातीय विभेद गर्दै दलित समुदायलाई बारम्बार यातना दिइरहेको, दोलखा तामाकोसी-५ का वडाध्यक्ष राजकुमार रोकाद्वारा डब्बल मिजार, भुवन मिजारमाथि जातीय अपमानसहित गाली बेइज्जति गरेको, स्याङ्जा चापाकोट मोहमीका सुमन विकमाथि राहतको विषयमा जनप्रतिनिधिद्वारा कुटपिट, जाजरकोट-जुनीचाँदे-२ मजकोटका रामबहादुर नेपालीमाथि राहत वितरणमा भएको विभेदको कारण कुरा उठाउँदा जयबहादुर नाथ लगायत सात जनाद्वारा कुटपिट ।
ख. स्थानीयद्वारा गाली बेइज्जति र कुटपिट:
कालीकोट पलाताका शिक्षक मनलाल विक, रन्दिपे कामी, देव कामीलाई सर्पनन्द न्यौपाने लगायतका व्यक्तिद्वारा कुटपिट । काठमाडौँ तार्केश्वरमा घरभाडामा बसेकी दीपा नेपालीलाई घरमालिक कार्की दम्पतिले सूचना टाँसी दलित भएकै कारण घर निकाला, सुर्खेत साटाखानीमा पानी धारा छोएको भन्दै दलित महिला कुटपिट । बाजुरामा सत्यराज जोशीले दलित पत्रकारलाई “साले डुम” भनेर गाली बेइज्जतिसहित जातीय विभेद गरेको, काभ्रे खानीखोलाका विनोद नेपालीलाई विद्युत पोल गाड्ने निहुँमा फणिन्द्र तिमिल्सिनाले फलामको रडले टाउमा हिर्काएर गम्भीर घाइते बनाएको । सर्लाही हरिपुरमा शत्रुघ्न पासवानमाथि कुटपिट, सोलुखुम्बु सोलदुधकुण्ड-११, तिङ्लाकी संगिता राईद्वारा बाटोमाथि हिँडेको भन्दै गाली बेइज्जति र दुङ्गा हिर्काएर घाइते बनाएको । सप्तरी बोढेबसाइन नपा-१०, अमरैयामा सरोज राम, रामदुलार राम, रामानन्द राम, जितेन राम, सुन्दर राममाथि रन्जन यादव, शिवकुमार यादवद्वारा सांघातिक हमला गरी निर्घात कुटपिट ।
ग. अन्तरजातीय विवाहकै कारण स्कुल, आर्यघाट र क्रियापुत्री भवनमा समेत जातीय विभेद:
बैतडी शिवनाथ अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थी बिच अन्तरजातीय विवाह भएपछि शिक्षक करण रानाको घर आगजनी र उहाँहरूलाई गाउँ निकाला, पाल्पा बेगनासकाली- १ चिर्तुङधाराका पुर्णमान श्रेष्ठले दलित महिला विवाह गरेको भनी स्व. आमालाई आर्यघाटमा दागबत्ती दिन नपाएको, बुवाको मृत्युमा काठमाडौँबाट मेलम्ची आर्यघाटमा बुवाको मुख हेर्न र दागबत्ती दिनका लागि गएका छोरा प्रेम भुजेलले दलित महिला विवाह गरेको भनी छुन र हेर्न समेत नपाई अपमानित भई फर्केको, कास्की पोखरा महानगरपालिका-१६, बाटुलेचौरका मोहन सुनार वैदशिक रोजगारको सिलसिलामा खाडी मुलकमा मृत्यु भएका आफ्ना भाइको काजकिरिया गर्न जातीय विभेदकै कारण किरियापुत्री भवन समेत पाएनन् र छुवाछूत तथा जातीय विभेद विरुद्ध मुद्दा दायर भयो तर अपराधीलाई संरक्षण गर्न गण्डकी प्रदेशका सांसद कृष्णबहादुर थापाले प्रेस वक्तव्य दिनुका साथै पीडकको पक्षमा खरो उत्रिए । अछाम रामारोशन गाउँपालिका २ मा अन्तरजातीय प्रेमकै कारण प्रकाश टमटामाथि निर्मम कुटपिट, मोरङ बुढीगंगा-२ खार्जीमा बैजनाथ यादवद्वारा गुण्डा लगाई बाटो खनी मुसहर बस्ती नै भत्काई दिनुको साथै ऋषिदेव, पन्नालाल, चुन्नीलाल लगायतका मुसहरमाथि सांघातिक हमला गरी कुटपिट । कीर्तिमानी राष्ट्रिय खेलाडी चन्द्रकला लाम्गाडे र उहाँका श्रीमान सुमन खातीमाथि मेचीनगर-१३ चारआली इलाम रोडमा घरबेटी दुर्गा श्रेष्ठ र निजकी श्रीमती विष्णु श्रेष्ठले लठ्ठी र पेटीले हानेर गर्भवती चन्द्रकला लाम्गाडे र निजको श्रीमानलाई गम्भीर घाइते बनाएको ।
४. लकडाउनमा “क्वारेन्टाइन र सरकारी राहतमा समेत दलितमाथि विभेद”:
क. क्वारेन्टाइनमा दलितमाथि चरम छुवाछूत र जातीय विभेद:
सरकारद्वारा बनाइएको भनिएका असुरक्षित र नाम मात्रका क्वारेन्टाइनमा व्यापक छुवाछूत र जातीय विभेद भएका छन् । बैतडी मेलौली नपा-६ लक्ष्मीपुर विद्यालय क्वारेन्टाइनमा “दलितले भात खाए, छोइयो, उपल्लो जाती कसैले खानु हुन्न” भनेर कुकुर भित्र्याए । अछाम पञ्चदेवल बिनायक नपाका वडाध्यक्ष सज्जन शाहीले क्वारेन्टाइनमा प्रकाश विक लगायत दलितहरुलाई राख्न अस्वीकार गरे । कैलाली गौरीगंगा नपा-३ कि ढुन्की कोलीलाई क्वारेन्टाइनमा राख्न अस्वीकार । बाँके बैजनाथ-८ विद्यालय क्वारेन्टाइनमा जातीय विभेद गरी दलित युवाहरुमाथि कुटपिट, अर्घाखाँची मालारानी-४ मा क्वारेन्टाइनमा दलितले पकाएको भात खान अस्वीकार गरी एक जनाले म त पुजारी, दलितले छोएको खाना खाएपछि म मर्छु भनेपछि अर्को क्वारेन्टाइनमा सारे । गुल्मी इश्मामा क्वारेन्टाइनमै दलित र अन्य जातीहरुको अलग भान्सा । देशभरि कैयौँ क्वारेन्टाइनमा महिला बलत्कार र दलित समुदायमाथि छुवाछूत र जातीय विभेद भएका छन् ।
५. लकडाउनमा सरकारी राहत वितरणमा दलितमाथि घोर विभेद:
सरकारका जनप्रतिनिधि, आसेपासे र पहुँचवाला व्यक्तिहरुबाट राहत वितरणमा व्यापक दुरुपयोग भएको तथ्यहरु सार्वजनिक भएको सर्वविदितै छ । राहत वितरणको चरम मारमा दलित समुदाय नै परेका छन्, खानै नपाएर मरेका घट्नाहरु पनि छन्, सरकार जवाफदेही बन्न सकेन ।
क. लकडाउनमा भोकले मृत्यु:
सप्तरीका मल्लर सदा, गंगाराम सदाको खाना खानै नपाई मृत्यु । अछामका सिद्धार्थ आउजी रोजगार नपाएको र भोकभोकै रहने अवस्थामा आफ्नो शरिरमा पेट्रोल खन्याएर आगो लगाई मृत्यु ।
ख. राहतको नाउँमा कुहिएको चामल वितरण:
पर्साको दलित बस्तीमा कुहिएको चामल वितरण गरियो तर कार्वाही कसैलाई भएन । “बसाइसराइको प्रमाण चाहियो” भन्दै रौतहट चन्द्रपुर-८ कि ईश्वरी विकलाई जनप्रतिनिधिद्वारा राहत नदिएको, भोकले दिनरात छटपटाइरहेकी मोहत्तरी गौशाला-६ की सुत्केरी संगिता मुसहरले राहत पाइनन् ।
यी त प्रतिनिधिमूलक घटनाहरु मात्र हुन् । विपत्तिको बेला सरकारको ध्यान गरिब दीनदुःखीहरु कहिल्यै परेनन् । शोषित पीडित नेपाली जनताको निम्ति यी दिनहरु “काला दिन” हुन् । देशभित्रै त यति धेरै विभेद छ भने कोरोना कहर बिच वैदेशिक रोजगार, अध्ययनमा रहेका नेपालीहरुको अवस्थाबारे सरकारद्वारा बेवास्ता छ भन्ने कुरा सोझै बुझ्न सकिन्छ ।
जातीय तथा वर्गीय विभेदको समुल नष्ट गरी विकल्पमा आमूल परिवर्तनसहित जनताको जनवादी गणतन्त्र स्थापना गरी समाजवादी/साम्यवादी शासन प्रणाली स्थापना गर्ने कम्युनिस्ट पार्टीको दुई तिहाई बहुमतको शक्तिशाली सरकार छ । यतिबेला संविधानमा उल्लेखित दलित सम्बन्धी हक, हित, अधिकारलाई व्यवहारमा कार्यन्वयन गर्ने समय हो । सरकारको ध्यान यतातिर छैन । बरु दलित समुदायमा हत्या, बलात्कार, आगजनी, धरपकड, यातना, जेलनेल गरी राज्यआतंक मच्चाएको देख्नमै सन्तुष्टि लिइरहेको छ । दलित पनि मान्छे नै हुन्, निर्दोष जनताको हत्या हुँदा कुनै भावना र संवेदनाले छुँदैन सरकारलाई । रोग, भोक, शोकले छट्पटिएर मरुन् मतलब छैन निर्दयी र एकमुठी माया नभएको सरकारलाई । यिनै जनताको मत पाएर सत्तामा पुगेका नेताहरु सत्ताको “स्वर्ग” मा रमाइरहेका छन् । जनतालाई आफ्नो वर्गको राज्यसत्ता र सरकार नरहेको बोध भइरहेको छ ।
उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग, समुदायको रगत, पसिना, श्रम मिसिएको नेपालको संविधान (२०७२) छ । दलित समुदायका हक, हित, अधिकार समेत उल्लेख छ संविधानमा । ऐन, कानुन बनेका छन् तर व्यवहारमा कार्यन्वयन भएका छैनन् । संविधान, ऐन, कानुन त दलित समुदायका लागि “हात्तीका देखाउने दाँत” सावित भएका छन् ।
दलित समुदायले गम्भीरतापूर्वक सोच्नैपर्ने दिन आएको छ – “कि गर, कि मर”। दलित समुदायमाथि दमन हुँदा सरकार बोल्दैन । अरु कोही पनि बोल्दैनन् । प्रधानमन्त्रीको कुर्सी हल्लिन्छ, जुलुश निस्कन्छ, सडक तात्छ । कालापानी, लिपुलेख, लिम्पियाधुरा लगायत सीमा विवादमा सबै नेपालीहरु विस्तारवादी भारतीय हस्ताक्षेप विरुद्ध एक हुन्छौँ, संघर्ष गर्छौँ । एमसीसी राष्ट्रघाती सम्झौता हो भन्दै सम्पूर्ण नेपालीले खारेजीको पक्षमा एकताबद्ध हुन्छौँ ।
नेपाल-भारत बिच भएका सम्पूर्ण असमान सन्धि सम्झौतालाई खारेज गर्न हामी राष्ट्रियताका पक्षमा सबै नेपालीहरु एकजुट हुन्छौँ ।
बिडम्बना ! दलित समुदायका निहत्था युवा-युवतीहरु दिनदहडै मार्दा, महिलाहरु बलत्कार हुँदा, बेपत्ता पार्दा, गाली बेइज्जती गर्दा सरकार संविधान, ऐन, कानुनको प्रयोग गर्दैन । सडक, सदन, पार्टी मौन हुन्छ । कोही बोल्दैनन्, पीडितलाई न्याय त परै जाओस्, सान्त्वना समेत दिँदैनन् । पीडितको साथमा कोही उभिँदैनन् । यो निकै गम्भीर विषय हो । अन्यायको विरुद्ध न्याय, अधिकार र मुक्तिको निम्ति दलित समुदाय एकीकृत, केन्द्रीकृत भएर संघर्ष गर्न आवश्यक छ । एकीकृत दलित आन्दोलन आजको आवश्यकता हो । अधिकार खोसेर लिने हो, मागेर होइन । संघर्ष विना दलित समुदायको मुक्ति संभव छैन ।
[लेखक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्व युवा तथा खेलकुद मन्त्री हुनुहुन्छ ।]