मार्क्सले आफ्नो कार्यकालमा पेरिस कम्युनको सफलता र असफलता बाहेक अन्य समाजवादी आन्दोलन देख्न पाएनन् | मार्क्सको समाजवादको धारणालाई सर्ब प्रथम लेनिनले सन् १९१७ मा रसियामा कार्यान्वयन गरी विश्वको कुनै एक देशमा पनि समाजवादको स्थापना सम्भव छ भनी प्रमाणित गरिदिए |
रसियन मोडेलको समाजवादभन्दा भिन्न प्रकृतिको आर्थिक, सामाजिक र राजनीतिक अवस्था अर्थात अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेका देशहरु चीन, क्युवा, भियतनाम, उत्तर कोरिया जस्ता मुलुकहरूमा मार्क्सवादको फरक तरिकाले कार्यान्वयन गरियो l मजदुर वर्गको नेतृत्व र मजदुर–किसान एकताको आधारमा नयाँ जनवादी क्रान्ति गरेर नयाँ जनवादी सत्ता वा जनताको जनवादी सत्ता स्थापना गरियो । नयाँ जनवादको स्थापना र कार्यान्वयनमा पनि विभिन्न मुलुकमा विभिन्न ढङ्गको अनुभव रहेको छ । चीनमा मजदुर वर्ग र कम्युनिस्ट पार्टीको नेतृत्वमा नयाँ जनवादी व्यवस्था वा शासन सत्ताको निर्माण गरियो भने भियतनाममा राष्ट्रिय जनवादी क्रान्ति मार्फत जनताको जनवादी शासन सत्ता स्थापना गरियो (भुसाल, २०७७) l त्यस्तै गरी क्युवा, भेनेजुयला र अन्य पूर्वी युरोपका देशहरुमा जनवाद वा समाजवाद स्थापनाका आफ्नै अनुभव र आफ्नै सैद्धान्तिक अवधारणा रहेका छन् l यिनीहरुमध्ये उत्तर कोरियाको सैद्धान्तिक दृष्टिकोणलाई यहाँ उल्लेख गरिएको छ, जसले नेपालको कम्युनिस्ट आन्दोलनलाई पनि मार्गदर्शन गर्न सक्ने विश्वास गर्न सकिन्छ l
मार्क्सवाद लेनिनवादको निरन्तरताको रुपमा जुछे विचारधारा
दोस्रो विश्वयुद्धपछि जापानको कब्जामा रहेको कोरियामा सुरु भएको स्वतन्त्रता आन्दोलनले कोरिया महाद्वीपलाई नै युद्धको भुमरीमा फसाइदियो l अमेरिकी साम्राज्यवादी र जापानी विस्तारवादीको मिलेमतोमा सञ्चालित यो युद्धमा करिब २५ लाख मान्छेहरु मारिएका थिए । सन् १९५२-५३ तिर उत्कर्षमा पुगेको यो युद्धले सन् १९५३ को सन्धि अनुरुप कोरियालाई औपचारिक रुपमै दुई राष्ट्रका रुपमा विभाजित गर्यो । यसले दुई फरक विचारधाराका दुई राष्ट्रहरुको निर्माण गर्यो, जसमा उत्तर कोरियाले समाजवादी बाटो समात्यो भने दक्षिण कोरियाले अमेरिकी साम्राज्यवादी सत्ताको आडमा पुँजीवादी सत्तालाई अङ्गिकार गर्यो l आफ्नो राष्ट्रको स्वतन्त्र पहिचान र अस्तित्वका लागि उत्तर कोरियाली नेता किम इल सुङले सन् १९५५मा यो विचारको सुरवात गरे l
जुछे विचारधाराको रुपमा प्रचलित यो सिद्धान्तले आत्मनिर्भरतामा जोड दिने गर्दछ, जसको शाब्दिक अर्थले नै परनिर्भरताको खण्डन गर्दै आत्मनिर्भर अर्थतन्त्र, राजनीति र स्वतन्त्र पहिचान जनाउने गर्दछ l यो सिद्धान्तले मानिसलाई केन्द्रमा राख्दै मानिस नै सबै कुराको निर्णायक र सर्वशक्तिमान हो भन्ने विश्वास गर्दछ l यो सिद्धान्तले मानवलाई राजनीतिक प्रणालीको मुख्य कारक तत्त्व मान्दछ र मानवको भूमिका र सामाजिक हैसियतमा जोड दिने गर्दछ l मानव केन्द्रित दर्शनको रुपमा लिइने यो विचारधाराले राजनीतिक निर्णयमा पनि मानवलाई केन्द्रमा राख्नुपर्ने मान्यता राख्दछ l
मार्क्सवादी-लेनिनवादी दर्शनमा आधारित मौलिक कोरियाली विचारधाराको रुपमा लिइने जुछेको शासन व्यवस्था पनि कोरियाको संस्कृति, मूल्य र मान्यतामा आधारित छ । जुछे व्यवस्थालाई उत्तर कोरियाले आर्थिक, राजनीतिक तथा सामाजिक रुपमा स्वाबलम्बी किसिमको शासन व्यवस्थाको रुपमा अङ्गिकार गरेको छ । उत्तर कोरियाका संस्थापक नेता किम इल सुङको दर्शनमा आधारित यो व्यवस्था मूलधारको मार्क्सवादी-लेनिनवादी सिद्धान्तको कोरियाली मौलिकतामा आधारित रहेको छ। राजनीतिक र आर्थिक रुपले यसले निम्न तीन कुरामा जोड दिने गर्दछ:
१. राजनीतिक स्वतन्त्रता (चाजु): राष्ट्रहरु बिचको समानता, एक राष्ट्रले अर्को राष्ट्रलाई गर्ने सम्मान, राष्ट्रहरुको आत्मनिर्भरताको अधिकार, सार्वभौमिकता र अहस्तक्षेपको मान्यता l
२. आर्थिक आत्मनिर्भरता (चारिप): स्वतन्त्र र आत्मनिर्भर राष्ट्रय अर्थतन्त्रको विकास, वैदेशिक सहयोगको विरोध, कृषिको विकास र औद्योगीकरण मार्फत समाजवादी अर्थतन्त्रको निर्माण l
३. सुरक्षामा आत्मनिर्भरता (चावी): स्वतन्त्र सार्वभौमिक राज्यको निर्माण, साम्राज्यवादीवाट हुने हस्तक्षेपका लागि सामरिक शक्तिको विकास र प्रतिरोध गर्ने क्षमताको विकास l
यी तीनै सिद्धान्तहरुको आधारमा जुछे विचारधारालाई निर्माण गरिएको छ, जसले नागरिक वा मानवलाई केन्द्रमा राख्दै देश विकास गर्ने लक्ष्य लिइएको छ l यसै सिद्धान्तमार्फत विभिन्न क्षेत्रको विकास गरी विश्व पुँजीवादको नाइके अमेरिकालाई चुनौती दिने विश्वको एकमात्र राष्ट्रको रुपमा आफूलाई स्थापित गरेको छ l
जुछे विचारधारामा मानवको अग्रणी स्थान
जुछे विचारधाराले मानिसलाई संसारको सबैभन्दा विकसित र शक्तिशाली सामाजिक जीवको रुपमा स्वीकार गर्दछ l मानिसलाई संसारको मालिक र सबै कुराको निर्णय गर्ने शक्ति मान्ने जुछे विचारधाराले मानवको भूमिकालाई सर्वोपरी मान्दछ l यसले मानव र समाज तथा विश्व विचको सम्बन्धको ब्याख्या गर्दै मानवले विश्वलाई नियन्त्रण गरेको छ कि विश्वले मानवलाई भन्ने कुराको खोज गर्नुपर्ने मान्यता राख्दै विश्वको रुपान्तरणमा मानिसको भूमिका अग्रणी हुनुपर्ने धारणा राख्दछ l
यो सिद्धान्तका प्रतिपादक किम इल सुङकै शब्दमा “जुछे विचार मानव केन्द्रित दर्शन हो l यसले मानवका समस्याहरुको निवारण र मानवको भाग्य बदल्ने उद्देश्य राखी सोको खोजी गर्दछ l” यो दर्शनले मानवलाई भौतिक दुनियाँको मालिक मान्दछ र भौतिक संसारको विकासमा मानवको सर्वोपरी भूमिकाको उल्लेख गर्दछ l
मानवलाई सामाजिक, आर्थिक, राजनीतिक र नैतिक रुपले जिम्मेवार मान्ने यो विचारधाराले मानवका विभिन्न पक्षहरुको उल्लेख गरेको छ l यो सिद्धान्तले मानवकाबारेमा उल्लेख गरेका केही मुख्य विषयवस्तुहरुलाई निम्न बुँदाहरुमा उल्लेख गरिएको छ:
१. मानिस नै सबै चिजको मालिक हो र उसैले सबै चिजको निर्णय गर्दछ l
२. मानिस एक सामाजिक प्राणी हो l
३. मानिस एक स्वतन्त्र जीव हो l
४. मानिसले प्रकृति र मानव निर्मित अधीनता वा शोषणवाट छुट्कारा पाउन संघर्ष गर्दछ l
५. मानिस एक सिर्जनात्मक जीव हो र प्रकृति अनुकूल हुन विभिन्न संस्कृतिहरुको निर्माण गर्दछ l
६. मानिस सबै जीवहरुमध्ये चेतनशील प्राणी हो l
७. स्वतन्त्रता, सिर्जनात्मकता र चेतनशीलता मानिसका सामाजिक गुणहरु हुन्, जुन सामाजिक र एतिहासिक रुपले विकसित भएका हुन्छन् l
८. विश्वलाइ मानवद्वारा नियन्त्रित र पुनःसंरचित गरिएको छ, जुन मानिसको विश्वसँगको सम्बन्धमा गरिएको नया धारणा र व्याख्या हो l
९. मानिसले गर्ने कार्य र भूमिकाको आधारमा विश्वको निर्माण हुने गर्दछ l
१०. मानिसको सेवा वा विकास गर्ने उद्देश्यले नै विश्वको विकास र निर्माण भएको हो l
११. नयाँ मानव केन्द्रित दृष्टिकोण नै जुछे विचारधाराको आधार हो l
१२. मानिसको रुची र चाहना अनुरुप नै विश्व अघि बढ्नु पर्दछ l
१३. विश्वको परिवर्तन र विकासमा मानिसका कार्यहरुको व्याख्या गर्ने धारणाको निर्माण हुन् जरुरी छ l
१४. जुछे विचारधाराको अडान र प्रवृत्तिले नवीन मानव केन्द्रित दर्शनमा आधारित विधिको निर्माणमा जोड दिने गर्दछ l
१५. मानवको खुसी नै राज्यको मुख्य उद्देश्य हुनु पर्दछ, जसले नवीन समाजको निर्माण अर्थात समाजवादको स्थापनामा सघाउ पुर्याउँछ l
माथि उल्लेखित बुँदाहरुको आधारमा जुछे विचारधाराले मानव वा नागरिकलाई केन्द्रमा राखी आफ्नो दर्शनको निर्माण गरेको छ जसले मानवको सर्वोपरि विकास र क्षमता अभिबृद्धिमा जोड दिने गर्दछ l यो सिद्धान्तले मानिसलाई सबैभन्दा शक्तिशाली जीवको रुपमा व्याख्या गर्दछ, जसले विश्वलाई परिवर्तित र रुपान्तरित गर्न सक्दछ l मानिसले आफ्नो इच्छाअनुसार दुनियाँलाई बदल्नसक्ने क्षमता राख्दछ, समाजलाई आफ्नो हित अनुकूल बनाउने र मानवको हितमा प्रयोग गर्ने खुबी पनि मानिसमा नै हुने गर्दछ l यो धारणाले मानिसलाई सामाजिक पुँजीको मालिक मान्दछ, जसको निर्माण स्वयं मानिसले नै गर्दछ र उक्त पुँजीको व्यवस्थापन पनि ऊ स्वयंले गर्दछ भन्ने विश्वास गर्दछ l यसले राज्यको निर्माण र विकासमा पनि मानिसको सबैभन्दा अग्रणी भूमिका हुने मान्दछ l यसरी दर्शनले मानिसको जीवनलाई बुझ्न सक्नुपर्ने मार्क्सको धारणालाई यसले आधुनिक युगमा पूर्णत: आत्मसात गरेको देखिन्छ l यही आधारमा कोरियाली जनताको एकता र विकासलाई निरन्तरता दिँदै विश्वको शक्तिशाली राष्ट्र अमेरिकालाई चुनौती दिइरहेको छ l अन्त्यमा, कोरियन एक कविको एक राष्ट्रवादी कविताः
“I am a youth of liberated Korea.
Life is valuable.
So is the hope for the bright future.
But my life, my hope and my happiness
Are less valuable than the destiny of my fatherland.
I have only one life,
But no life, no hope and no happiness
Are so noble, so beautiful and so great
Than to devote my only one life
For my only one fatherland.”
(लेखक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत मानवशास्त्री हुनुहुन्छ ।)