आफूले भोगिरहेको दुःख हरिएला र त्यतिबेला पाएकोभन्दा धेरै सेवा, सुविधा र अधिकार पाइएला भनेर जनताले आफ्नो अभूतपूर्व एकता मार्फत देशमा राजतन्त्र फालेर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो । निरङ्कुशताको घेराबन्दी तोड्न गोलीको पर्रा छुटिरहेको अवस्थामा समेत जनताले निडर भएर आफ्नो जिउज्यानको प्रवाह नगरी जनयुद्ध र जनआन्दोलन दबाउन ल्याएको संकटकाल र निषेधाज्ञा तोडेर सडकमा उत्रेका थिए ।
प्रथम जनआन्दोलनको आगोमा होमिएका जनता हामी स्वयं २०४६ साल चैत्र २४ गतेको निषेधाज्ञा तोड्ने क्रममा जुलुकको आँधी बेहेरी लिएर रत्नपार्क पुगेका थियौँ भन्ने कुरा सम्झदा अनौठो लाग्दैन । त्यसै दिन महेन्द्रको शालिक चढेको युवकलाई गोली हानेर खसालिएको खबर सुनियो । यद्यपि ती युवक को थिए भन्ने कुरा कसैको जानकारीमा आउन अझै पनि सकेन । प्रहरी र सैनिकको चरम आक्रमणपछि रत्नपार्क रक्तरञ्जित हुँदै भागाभागको अवस्थामा सडक भरी चप्पल, जुत्ता र रगत छरपस्ट देखिन्थ्यो । त्यहाँ कति हताहत भए भन्ने कुराको पनि हिसाब बाहिर आउन सधैका लागि बाँकी रहेकै विषय बन्न पुगेको छ ।
आन्दोलनको हिसाब किताब बढो जटिल र सम्झनाको तरङ्गलाई नै मर्माहत पार्ने खालको हुन्छ । जुन हामीले भोगेकै कुरालाई मात्र पनि जटिल र विकराल पाइन्छ भने शहीदहरुले भोगेका मर्मस्पर्शी घटनाको बयान गर्नु धेरै गाह्रो कुरा हो ।
विद्यार्थीकालको सम्झना गर्दा २०३६ सालको आन्दोलन जनताका लागि ज्यादै चुनौतीपूर्ण घटना थियो । त्यो समयको जटिलतालाई सम्झँदा हामी कसरी बाँचेछौँ भन्ने गम्भीर प्रश्न अगाडि आइरहन्छ । आन्दोलन आखिर सम्झौतामा टुङ्गिएको घटना अन्दोलनकारी विद्यार्थीलाई चित्तबुझ्दो हुन सकेको थिएन । अखिर युवा विद्यार्थीहरू सामन्ती राज्यसत्ताको विरुद्ध छिनोफानोको संघर्ष चाहन्थे । यद्यपि सम्झौतामा गर्ने विद्यार्थी नेताहरू – कम्युनिस्टको तर्फका नेता शरणविक्रम मल्ल, रसियन फेडरेसनवाला कम्युनिस्टको तर्फका कैलाश कार्की र नेपाली काँग्रेसको तर्फबाट विद्यार्थी नेता बलबहादुर केसीले संयुक्त रुपमा आन्दोलन रोक्ने र विद्यार्थीको पठनपाठन सुरू गर्ने सम्बन्धी सम्झौता गरेका थिए ।
यो सम्झौताको विपक्षमा ठूलो क्रान्तिकारी समूह थियो । त्यसैले सम्झौता गर्ने नेतालाई ९ जेष्ठ २०३६ का दिन करिब १२ बजे दिउँसो त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा कक्षाकोठाबाटै अपहरण गरेर अमृत साइन्स कलेज लैनचौरमा ल्याइयो । यसरी सम्झौतामा बस्ने तीनमध्ये कैलाश कार्की सम्झौतापछि नै भूमिगत भएका थिए । कक्षा कोठाबाट शरणविक्रम मल्ल र बलबहादुर केसी दुई जनालाई मात्र बसमा राखेर अस्कल ल्याइयो । त्यहाँ विद्यार्थीको ठूलो समूह उपस्थित थियो ।
सरकारी सुरक्षाले समेत तेड्न नसक्ने उक्त सामूहिक घेराबन्दीले शरणविक्रम मल्ल र बलबहादुर केसीलाई पानी ट्यांकी राख्न खडा गरेको खम्बामा राखेर कालो मोसो र जुत्ताको माला लगाइयो । उनीहरुले के कारण सम्झौता गर्यो भन्ने समेत जवाफ दिन नपाउँदै ठेला गाडामा राखेर ठमेल न्यूरोड हुँदै तत्कालीन शाही नेपाल वायुसेवा निगमतर्फ लाने क्रममा ठेलागाडा ठेल्नेमध्ये म लेखक स्वयंं, अनि हालको सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराई र हालका प्रोफेसर डा. प्रेम शर्मा समेत थियौँ ।
न्यूरोड छिर्नै लाग्दा ज्यान बचाउनै गाह्रो अवस्था देखेपछि हामीले त्यो जुलुस छाडेर असनतिर लागेका थियौँ । त्यसै दिन विशाल बजार, गोरखापत्र संस्थान र आरएनएसी समेतमा आगजनी समेत भएको डरलाग्दो अवस्था थियो । सर्वसाधारण समेतको सहभागिताको यो विशाल जनसहभागिताको आन्दोलनका कारण तत्कालीन राजा विरेन्द्रले बहुदलीय व्यवस्था वा सुधारिएको पञ्चायती व्यवस्था बिचको विकल्प खोज्न जेष्ठ १० गते जनमत संग्रहको घोषणा गरेपछि हामीले केही परिवर्तनको अपेक्षासहित राहतको महसुस गरेका थियौँ ।
पछिल्लो अवस्थामा २०४७ मा गठन भएको अन्तरिम सरकारपछि म स्वयं कर्मचारीको नेतृत्वमा रहन पुगेको थिएँ । यस बिचको कष्टप्रद संघर्षको बयान गर्न पनि सकिने अवस्था छैन । यो परिवर्तनबाट पनि जनताको स्वतन्त्रता र जनजीविकाका सवालमा कुनै सम्बोधन हुन नसकेपछि ४० सूत्रीय माग सरकारबाट सम्बोधन नभएपछि २०५२ साल फागुन १ गतेदेखि सरकार विरुद्ध जनयुद्धको घोषणासहित माओवादीले यसका कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा विभिन्न क्षेत्रका पुलिस चौकी कब्जा गर्नेदेखिको कहालीलाग्दो संघर्षको सूत्रपात गर्न सकेको अवस्था थियो ।
सोही महिना म कृषि विकास बैंकको भक्तपुर शाखाको प्रबन्धकको जिम्मेवारीमा रहेको अवस्थामा समेत २९ गते म बसिरहेको अनामनगरको डेरा घेराउ गर्न झण्डै ५०० को शस्त्रास्त्र सहितको पुलिस फोर्सले राति २ बजे पक्राउ गरेर मलाई महाराजगञ्जको पुलिस तालिम केन्द्रको बंकरमा पुर्याएपछि म आफै चकित परेको थिएँ ।
अचम्मको कुरा मलाई भने म भक्तपुर जिल्लाको कार्यालय प्रमुखको हैसियतले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित सुरक्षा समितिको सदस्य समेत रहेको अवस्थामा राति आएर अपहरण शैलीमा पुलिसले समात्नु भनेको त्यो सरकारको कायरता थियो । त्यसैले मैले तत्कालै उच्चस्तरका प्रहरी प्रमुख समेतलाई तपाईंहरु यो जनयुद्ध दबाउन सक्नुहुन्न भनेर भन्दा ममाथि अझ कडा सजायँको संकेत गरिरहेका थिए ।
यद्यपि मेरो रिहाइका लागि कृषि विकास बैंक, वाणिज्य बैंक, नेपाल बैंक र राष्ट्र बैंकका कर्मचारी लगायत सम्पूर्ण संस्थान र निजामती कर्मचारी संगठन समेतले दवाब दिएपछि दुई दिनपछि मलाई रातको १ बजे अनामनगर प्रहरी चौकीमा ल्याएर छोडिएको थियो । चौकीले फेरि आफन्तको जिम्मा लगाउनुपर्ने भनेपछि मेरो परिवार बाबा अधिकारीलाई बोलाएर उहाँको जिम्मामा छुटेको पीडाजनक सम्झना पनि अहिले म गरिरहेको छु ।
यी सबै घटनालाई हेर्दा म स्वयं सरकारी बैंकको कर्मचारीलाई किन यति ठूलो सास्ति दिनुपरेको थियो होला ? यो प्रश्न मेरो मनमा भए पनि तत्कालीन सरकारले त्यो महान जनयुद्ध र युग परिवर्तनको महान अभियानमा मलाई पनि योगदान दिने अवसर जुराई दियो, त्यसका लागि त्यो धन्यवादको पात्र छ ।
मैले भनेकैजस्तो जनयुद्ध चर्किँदै जाँदा दरबार हत्याकाण्ड लगायतका ठूला ठूला घटना भए । आखिर २०६२/६३ को दोश्रो जनआन्दोलनको सूत्रपात भयो । लोकतन्त्रका लागि आन्दोलन गर्ने र “गणतन्त्र भनेको गाडा चढेर अमेरिका जाने जस्तै असम्भव हो” भन्ने ओली समेतलाई माओवादी जनयुद्धको पृष्ठभूमिमा विशाल जनसागरसहितको यो जनआन्दोलन वरदान सिद्ध हुनपुग्यो ।
यो आन्दोलनले सबै स्वतन्त्र हुने मात्र नभएर तत्कालीन अवस्थामा निरङ्कुशताको केन्द्रमा रहेको राजसंस्था समेत बढारिएर अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । यति हुँदाहुँदै पनि जनताको प्रश्न अझै बाँकी रह्योः के अब राजनीतिक आन्दोलनसँगै आर्थिक विकासका लागि क्रान्ति सुरु भएको छ कि छैन? नेपाली जनताको सुनौला दिन ल्याउन प्रयत्न भइरहेको छ कि छैन ? नेपाली जनताले राजनीतिक परिवर्तनले ल्याएको सामाजिक तथा आर्थिक प्रतिफल प्राप्त गर्ने दिशातिर हामी र हाम्रो सरकारले काम गरिरहेको छ कि छैन । छ भने त्यो पर्याप्त छ कि छैन ? छैन भने के त्यो किन छैन, केले रोक्यो ? यो प्रश्नको सेरोफेरोमा हमीले छलफललाई अगाडि बढाउनु पर्ने भएको छ । बाँकी अर्को भेटमा ।
(लेखक वामपन्थी अर्थशास्त्री तथा विकासवादी चिन्तक हुनुहुन्छ ।)