जनयुद्ध, छद्मयुद्ध, मनोयुद्ध, शान्ति युद्धका ट्रेन्चहरू,. नरेन्द्रजंग पिटर, trench, peoples war, proxy war, psycho war
 

पुराना आफ्नै डायरीका पाना पल्टाउँदै थिएँ । २५ जनवरी २०१३ मा पुगिएछ । यी ८ वर्षमा राष्ट्रिय अन्तर्राष्ट्रिय अनेकौँ घटना र उथुलपुथल भए । यो कुनै महान इतिहासकाल भने हैन । तर एउटा क्रमभङ्गले व्यवस्थापन गर्दै गरेको त्यो टकराहटको क्षण थियो । राष्ट्रिय राजनीतिमा हेरफेर आयो मात्रै हैन, राजनीतिभित्रका सौन्दर्यता, अभ्यास, मान्यता, विचार, संगठनमा पनि हेरफेर भए । चुनौती र संवाभनाको ‘टग अफ वार’ अहिले त अझ बढ्यो । धेरै पानी कोशी र कर्णालीमा बगिसके । सिद्धान्त र विचारको कुनै भागबन्डा हुनै सक्दैन । यो विषय सिद्धान्तमा टेकेर पार्टी र आन्दोलन चलाउनेले मात्रै हैन, अब त त्यसैका नाममा सत्ता हत्याउने र भ्रष्टतालाई औचित्य दिनेले पनि पो गर्न थाले । आखिर त्यसबेला एउटा भुक्तभोगी मौन थियो त ? शाक्षी किनारामा मात्रै थियो वा चिच्याउँथ्यो भन्ने यस लेखको पुनर्प्रकाशनको अर्थ र महत्त्व हो । त्यसैले पनि कम्युनिस्ट चश्माबाट नियाँल्दा लेखको सान्दर्भिकता देख्छु ।

उत्खनन गर्दै उठाउनु पर्ने असरल्ल विषय यत्रतत्र छरपष्ट छन् । परिवर्तनविरोधी शक्तिले खुकुरीमा धार लगाइसके । उनीहरुको चेत अझै फर्केन । ०४८ मा अब्दुल रइस खाँको काँध चढेर काँग्रेसले प्रजातन्त्रको अभ्यास रोल्पामा गर्‍यो, एमाले उसको वैशाखी बन्यो । त्यसैले जनयुद्धको आधार तयार गर्‍यो ।

अहिले फेरि विभिन्न अनुहारमा शान्तिका दुश्मन चौतर्फी कोकोहोलो गर्दैछन् । द्वन्द्वको खेतीमा असिना परेपछि मर्माहत डलरवादी आफ्नो पौरख देखाउन फेरि पुच्छर ठाडो पार्दै डुक्रिन थाले । उनका शक्तिशाली सिण्डकेट बने । आमूल परिवर्तन विरूद्ध वर्चस्वशाली वर्ग फेरि समग्र शक्ति खर्चिरहेको बेला हो यो । घनिभूत रुपमा शान्तियुद्ध छेडिसक्यो ।

शीतयुद्धताका आक्रामक साम्राज्यवादले विकास गरेको मनोदशा तयार गर्ने हतियार, छद्म युद्धलाई सामारिक विश्लेषकहरुले मनोयुद्ध नाम दिए । खुला आँखाले देखिन नसकिने । तब कम्युनिस्ट विरुद्ध चलाइएको यो छद्म युद्धले मिथ्या मनोदशा तयार गर्ने काम गर्‍यो । यसको चपेटामा कम्युनिस्ट मात्र परेनन्, लोकप्रिय आन्दोलनलाई रक्तपातपूर्ण तरिकाले दबाउने काम समेत गर्‍यो सम्राज्यवादले । त्यसमा लोकप्रिय मतले निर्वाचित दक्षिण अमेरिकी मुलुक चिलीका सल्भाडोर एलेण्डे र इण्डोनेसियाका सुर्कानो समेत घानमा परे । क्रुर सम्राज्यवादले अहिले करपोरेटी वैश्विक जगत बनायो । प्यादाहरु लोकप्रिय आवरणमा हर्रेउ (घाँसमा बस्ने हरियो विषालु सर्प) जस्तै छिपेर अंश उराल्दै समग्रमा खेल्ने थाले । दुश्मन फेरिन चाँहदैन । ऊ आमूल परिवर्तनकारीलाई आफनै एजेण्डामा रिङ्गाउन चाहन्छ । अहिले नेपालमा पनि त्यस्तै भइरहेको छ ।

साम्राज्यवादीले इतिहासको अन्त्य र सभ्यता बिचको टकराहट भनेर कोकोहोलो मचाइरहेकोबेला नेपाली जनयुद्धले संसारमै विचार र भूमिकाको क्षेत्रमा सपना कहिल्यै मर्दैनन् भनेर नयाँ सन्देश दियो । दुश्मन वर्गले पहिला पत्तै पाएनन्, पत्याएनन् जुनबेला यसको वजन, मर्म र सन्देश थाहा पाए, त्यसबेला नियन्त्रणभन्दा बाहिर परिस्थिति गइसकेको थियो । आन्दोलन पुरानै तरिकाले जान सक्दैनथ्यो, दुश्मन नयाँ रणनीतिबाट आएको थियो । ‘तिमी तिम्रो तरिकाले लड, हामी हाम्रो तरिकाले’ भनेर दुश्मनपंक्ति बिचको अन्तरविरोधलाई आफ्नो हितमा प्रयोग गर्दै नयाँ अभ्यास गर्नै पर्दथ्यो, माओवादीले गर्‍यो । द्वन्द्वरत पक्ष आवश्यकता र अनिवार्यताका कारण शान्ति सम्झौतामा पुगे ।

अहिले भने भ्रमित यथार्थबाट मुक्त भएर इतिहासको समीक्षा हुनै बाकीँ छ । दुर्भाग्यको विषय भनेको त्यही जनयुद्धको पहलकर्ता एवं सञ्चालक शक्ति स्वयम् मनोयुद्धको सामना गर्न चुक्यो, दुश्मनको पासोमा पर्‍यो, फुट्यो । पत्यारिँदो जवाफ दिन सकेन, चुनौतीको कठघरा पुग्यो । परिवर्तनको युद्ध अहिले फेरि पेचिलो बन्दै छ । नीति र विधिमा विकास नगरी आएका चुनौती सामना गर्न र संभवनालाई चुम्न सकिने थिएन । पुरानै तरिकाले नयाँ लडाइँ लड्न सकिँदैन्थ्यो । इतिहासको निर्मम समीक्षा नगरी विगतबाट पाठ सिक्न पनि सकिँदैनथ्यो भने आगतका योजना बन्न पनि सक्दैनथे । मेलालाई भेलाभन्दै महाधिवेशनको नाम दिँदै कुम्भ मेला गरे । कार्यनीति, कार्यदिशामा न विकास गर्न सक्यो, न नेतृत्व नै चयन । नीतिले नेतृत्व र संगठन बन्छन् । नीति, लक्ष्य, उद्देश्य झल्कने कार्यान्वयनको औजार संगठनका वजन र मर्म हो । रुप र गुणमै फरक भएन । टालटुल पार्नु, आवेग भर्नु र लोकप्रियतामा सामान्य कार्यकर्तालाई पार्नु, गम्भीर विषयबाट उम्कनु, जुन भावले फुटेको थियो, त्यसको औचित्य सावित गर्न नसक्नु र सबै राम्रा समेट्ने महाधिवेशन देखिए ।

महाधिवेशनको गरिमा, मर्म धान्दै नयाँ मार्गदिशा तय गर्न सक्ला कि फेरि सम्झौताको अर्को अभ्यास थालनी गर्ला ? यसको यथोचित उत्तर दिन सकेन भने त्यो पनि मेला, भेला र सम्झैताको अर्को थलो मात्रै बन्ने छ । डिजुरेबाट डिफ्याक्टो महाधिवेशन हुने चुनौती झेल्छ कि सम्झौतामा टुग्याउँछ ? त्यो हेर्न धेरै समय कुर्नु पर्दैन नै ।

बुजुर्वाहरुका राष्ट्रिय सम्मेलनजस्तो नभई कम्युनिस्टको महाधिवेशन निश्चित एजेण्डामा केन्द्रित रहेर आयोजना गरिन्छ । त्यो नीति, विधि, कार्यक्रम, कार्यनीति, कार्यदिशा कुन समात्ने, कसरी विकास गर्ने भन्ने मुख्य विषयमा नै केन्द्रित हुन्छ । विकसित परिस्थिति त्यसलाई सामना गर्ने र पहल लिने विषयमा मुख्य हुन्छन् । बहसका विषय भनेका राष्ट्रिय राजनीति र वर्ग संर्घषको अवस्था के छ ? आन्दोलनको हिरावल दस्ता कुन हो ? राष्ट्रियता र जनतन्त्रका मित्र र वैरीहरु को-को हुन् ? संर्घषका रुप र विधि के कस्तो हुने ? त्यसका लागि संर्घषका कुन मोडल छान्ने ? हिजोको बाटोबाट कति नाफा घाटा भयो र अब केलाई निरन्तरता दिने, केलाई सुधार्ने वा अर्को क्रमभङ्ग गर्ने छलफलका विषय हुन्छन् ।

कम्युनिस्ट आन्दोलन, राष्ट्रवादी आन्दोलन र जनतन्त्रका लडाइँको विषयमा बहसको केन्द्रमा अहिले पनि माओवादी नै भएकाले उसले देश र दुनियाँलाई पत्यारिलो जवाफ दिन आवश्यक हुन्छ । इतिहासको निर्मम समीक्षा हुनु पर्नेछ । अझ जातीय आन्दोलनको मातहत वर्गीय आन्दोलनको वर्ग संर्घषको अधीनमा जातीय आन्दोलन भन्ने सैद्धान्तिक प्रश्नको जवाफ नदिई उम्कन पाउने छैन । त्यसलाई टालटुल पारेर हुँदैन । ठोस र मूर्तीकरण गरेर उपलब्धि र दोषको जिम्मेवारी बहन गरिनु पर्दछ । अझ निरपेक्ष रुपमा भएको एकता र त्यसले पारेको अन्तरपार्टी प्रभावबारे मौन हुन सकिँदैन भने जनवादको अभ्यासका नाममा भएका गुटको अस्तित्वबारे झन संवेदनशील हुनुपर्ने छ । आन्दोलन कहाँ छ ? र त्यसको रुप के-कस्तो छ र हुनेछ ? वर्ग संघर्षलाई कसरी अगाडि बढाउने र विश्व कम्युनिस्ट आन्दोलनमा अहिलेको नेपालको अवस्था के हो ? प्रष्ट हुनुपर्ने छ नै ।

जनयुद्धकालमा युद्धका तीव्रतासँगै आर्दश र आक्रोशलाई राजनीतिकीकरण गर्न भ्याइएन । त्यसले क्रान्तिकारी तप्काको सांस्कृतिकीकरण हुन सकेन । विगतप्रतिको गौरव महसुस नगरे जनयुद्धको भाव, मर्म थेग्न सकिँदैन र सन्देश दिन चुकिन्छ । उपलब्धिको रक्षा हुन सक्दैन । जनयुद्धले सामाजिक हस्तक्षेप त गर्‍यो तर त्यसको सांस्कृतिकीकरण गर्न भ्याएन । त्यसका कचरा देखिने नै भए । त्यसको समग्र सश्लेषण नै हुन नपाई फुट आयो । अर्कालाई दोष दिएर उम्कनु नभई गतिशील यथार्थमा टेकेर समीक्षा हुनुपर्थ्यो । अझ नेतृत्वमा आफ्नै मान्यताप्रतिको उदासीनता, बजारवादको प्रभाव, एकातर्फ वर्ग उत्थान हुनु अर्कातर्फ क्रान्तिको क्षतिपूर्तिको मनोभाव आम कार्यकर्ता र प्रभावितमा पुग्दा क्रान्तिमा ‘भाडा’को मनोभाव पन्पियो । भाडाका सेना र क्रान्तिकारीहरु बिचमा रेखाङ्कन हुन त कतै चुकेनौँ भन्ने पनि अर्को संवेदनात्मक प्रश्न हो ।

२०६३ साल बैशाख १२ गतेसम्म सबै माओवादी जनयोद्धा थिए, चाहे ती कम्ब्याटधारी हुन् वा नन-कम्ब्याट । दुश्मनका नजरमा दुवै बिचको भिन्नता पार्न सकिँदैन्थ्यो, हुँदैनथ्यो । भिन्न समयमा, भिन्न भूमिकामा । क्रान्तिको क्षतिपूर्ति मनोभावले भावी क्रान्तिको हिरावल दस्ता तयार गर्न आँउदो समयमा समस्या पर्नेछ । थालनीका बेला वा सो अवधिमा भर्खर जन्मेका शिशुहरु अहिले राजनीतिक, वैचाररिक, प्राज्ञिक र अन्य विधाका नेतृत्व बनिसके । विद्रोहसँगै हुने सामाजिक हस्तक्षेपले नयाँ सोच र भूमिका जनमतमा पलाइसक्यो । यस अवधिमा नेपालको मात्रै नभई विश्वशक्ति सन्तुलनमा हेरफेर आए । नेपालको राजनीतिक घटनाक्रम यति तीव्र तरिकाले फेरबदल हुँदै वर्ग संर्घषका कयौँ रुप समेत बदलिए । मित्र र विमत्रमा फेरबदल आयो । बहसका रुप र गुण नै फेरिए । के त्यसको सम्बोधन नगर्ने पार्टी र नेतृत्वले नयाँ चुनौती सामना गर्न सक्ला ? बहस त्यता केन्द्रित छ ? टालटुल र प्राविधिक रुपमा हल गरेर फेरि अर्को सम्झौतामा टुगिँएर समस्या समाधान होला ? चासोको विषय हो ।

अझ मनोयुद्धको चक्रव्यूह त तोड्नै छ । उसले हेप्नेको एउटा सीमा हुन्छ । मनोबल तोड्न मान्छे आस र त्रास फैलाउन जातीय र प्रतीकमाथि हमला गरिन्छ । लैङ्गिक अस्त्र प्रयोग गरेर स्वभिमानमाथि बलत्कारिन्छ। आदर्श र सपनी तोड्न जब दबाब र दमनका हतियार काम लाग्दैनन्, पारिवारिक मायामोह, श्रीपेच मोहले नायकत्व झिरिप्प पारिन्छन् । गलाउने, थकाउने, फकाउने, लोभ्याउने, तोडफोड गर्ने, भ्रष्टीकरण गर्ने, मानमर्दन गर्ने, विद्रोहका घटनालाई विभत्सीकरण गर्ने, राज्यका संयन्त्र र वैधानिक हतियारले इतिहासलाई आक्रमण गर्ने, छद्म युद्ध छेँड्ने जो क्रमबद्धता देखिएको छ, यदि माओवादीले जनयुद्ध, छद्म युद्ध, मनोयुद्ध र शान्तियुद्धका चरण र अवस्थालाई आम नेता कार्यकर्तालाई बोध गराउन सकेन भने पार्टी विघटन हुन जानेछ । सपना तुहिनेछन्, सहादतको चिच्याहट चिहानबाट हुनेछ । इतिहास निर्मम हुन्छ । चिहान कुर्लन थाले भने नायक खलनायकमा फेरिन सक्छन् । फेरि इतिहासको निर्ममताको न्याय चिहान उधिनेर पनि दण्ड दिन सक्नेछ । यो समय युद्धका विभिन्न रूप चिन्दै छिचोल्ने कि नायकका पगरी उतारेर खलनायकको चुच्चे टोपी लागाउने वा रमिते र तमासे बनेर नवचाकरमा आफूलाई उभ्याउने भन्ने हो ।

(लेखक वरिष्ठ वामविश्लेषक तथा साम्राज्यवाद विरोधी मोर्चा, नेपालका संयोजक हुनुहुन्छ ।)