पृष्ठभूमि: सन् १९१४ मा सुरु भएको साम्राज्यवादी शक्तिहरू बिचको प्रथम विश्वयुद्धमा रुसले पनि भाग लिएको थियो । युद्धको सवाललाई लिएर डाकिएको दोस्रो कम्युनिस्ट अन्तर्राष्ट्रियको बैठकमा लेनिनले साम्राज्यवादी युद्धलाई साथ दिनु हुँदैन भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । युद्धले देशको अर्थतन्त्र जर्जर बनाएपछि साम्राज्यवादी सरकारहरूले त्यसलाई सभाल्न सक्दैनन्, जनता तिनीहरूप्रति आक्रोशित बन्दछन् र त्यतिखेर तिनीमाथि आक्रमण गरेर कमजोर बनाउन सकिन्छ भन्ने उनको भनाइ थियो । लेनिनको उक्त प्रस्तावलाई अन्तर्राष्ट्रियको बैठकले पारित गरे पनि रुसको बोल्सेभिक पार्टी बाहेक अन्य कम्युनिस्ट पार्टीहरूले पितृभूमिको रक्षाको बहानामा आ-आफ्ना देशका साम्राज्यवादी शक्तिलाई साथ दिए ।
रुसमा लेनिनले भनेअनुसार नै युद्धको अवधिमा त्यहाँको अर्थतन्त्र जर्जर हुन गई चरम गरिवी र अभाव सिर्जना भयो र सरकारले जनताका आवश्यकता पुरा गर्न नसक्दा सरकारविरुद्ध आन्दोलनको सूत्रपात भयो । लेनिनको नेतृत्वको दल बोल्सेभिक पार्टीले त्यस आन्दोलनलाई साथ दियो । जनताको प्रतिरोध थेग्न नसकी सन् १९१७ को फेब्रुअरीमा रुसमा लामो समयसम्म शासनसत्ता सञ्चालन गर्दै आएको जारको सामन्ती राजतन्त्रले घुँडा टेक्यो । तर आन्दोलनको सञ्चालन मजदुरहरूका सोभियतहरूले गरेका भए पनि तिनमा मेन्सेभिक र समाजवादी-क्रान्तिकारीहरूको प्रभाव भएकाले तिनले जारको ठाउँमा पुँजीपति वर्गलाई सत्तासीन गराए र केरेन्स्की सरकार प्रमुख बन्न पुग्यो । तर केरेन्स्कीको सरकारले ठूला पुँजीपति र जमिन्दारकै हितमा काम गर्यो, किसानलाई जमिनको मालिक बनाएन, बरु उल्टै युद्धलाई चालु गरी मुलुकमा आर्थिक सङ्कट कायमै राख्यो । परिणामस्वरूप जारको शासन कालमाझैँ पुँजीपति वर्गको शासन कालमा पनि जनता भोक र गरिवीले प्रताडित हुन पुगे र देशमा सरकारविरुद्ध चर्को असन्तोष बढेर गयो । जनताका पक्षधर हौँ भनी दावी गरे पनि सरकारलाई साथ दिएकाले मेन्सेभिक र समाजवादी-क्रान्तिकारीहरू नराम्ररी नाङ्गिए । त्यसै बिचमा लेनिनले शोषण र उत्पीडनबाट मुक्त हुनका लागि समाजवादी क्रान्ति आवश्यक छ भन्ने कुरालाई जोडतोडका साथ उठाए । त्यही दिशा अबलम्बन गर्दै बोल्सेभिक पार्टीले जनतालाई समाजवादी व्यवस्थाका बारेमा गहिरो गरी प्रशिक्षित गर्योे । जनता सचेत हुँदै गए र देशमा समाजवादी क्रान्तिको पक्षमा जनमत बढ्यो । परिस्थिति तयार भएपछि बोल्सेभिक पार्टीले विद्रोहको घोषणा गर्यो र शहरका ठाउँ-ठाउँमा मजदुरहरूका सशस्त्र जत्था तयार गर्यो । केही समयको भीषण गृहयुद्धपछि अक्टोबर २५ तारिखका दिन केरेन्स्कीले आत्मसमर्पण गर्यो र बोल्सेभिक पार्टीको नेतृत्वमा रुसमा सर्वहारा वर्गको राजसत्ता कायम भयो । त्यो क्रान्ति विश्वमा ‘महान् अक्टोवर समाजवादी क्रान्ति’ को नामबाट प्रख्यात छ । क्रान्तिपछि सर्वहारा वर्गले आफ्नै शासन संयन्त्र भएको व्यवस्थित राजसत्ता स्थापना गर्यो । हुन त सन् १८७२ मा फ्रान्समा पेरिसका मजदुरहरूले बुर्जुवाहरूबाट सत्ता खोसी ७२ दिनसम्म शासन चलाएका थिए । तर त्यो व्यवस्थित राजसत्ता हुन नसक्दा असफलतामा टुङ्गिएको थियो ।
अक्टोबर क्रान्तिका विशेषताहरू
अक्टोबर क्रान्तिले शोषक वर्गको स्वर्गमा धावा बोलेर इतिहासमा निकै ठूलो हेरफेर ल्याउँदै नयाँ युगको सूत्रपात गर्यो । फ्रान्सको राज्यक्रान्ति लगायत त्यसभन्दा अगाडिका क्रान्तिहरूले शोषणको रूप मात्र फेरेका थिए । तिनले एउटा उत्पीडक वर्गको सत्तालाई विस्थापित गरी अर्को उत्पीडक वर्गलाई सत्तासीन गराएका थिए । तर अक्टोबर क्रान्तिले सामन्तवाद र त्यसका अवशेषहरूलाई सदाका लागि समाप्त गर्नुका साथै पुँजीवादलाई समेत निर्मूल पार्ने दिशातर्फ समाजलाई डोर्यायो । कम्युनिस्ट पार्टीको घोषणापत्र र थुप्रै रचनाहरूमा उल्लेख भएको वैज्ञानिक समाजवाद मार्क्स-एङ्गेल्सको परिकल्पना थियो अथवा भनौँ त्यो एक भविष्यवाणी थियो । अक्टोबर क्रान्तिले त्यसलाई व्यवहारमा कार्यान्वयन गरेर देखाइदियो । त्यसले सर्वहारा वर्गले केवल भत्काउन सक्छ, शासनसत्ता सञ्चालन गरी जनतालाई सुशासन दिन सक्दैन भन्ने पुँजीवादी प्रचारबाजीलाई झूटो साबित गरिदियो ।
मार्क्स-एङ्गेल्सले बेलायतमा औद्योगिक क्रान्तिपछि विकास भएको प्रतिस्पर्धात्मक चरित्रको पुँजीवादको अध्ययनको आधारमा समाजवादी क्रान्तिबारे धारणा बनाएका थिए । उनीहरूले पुँजीको चरम विकास भएको ठाउँमा सर्वहारा श्रमजीवी वर्ग चरम शोषणको सिकार हुने भएकाले त्यसले विश्व क्रान्तिको नेतृत्व लिन्छ र त्यहाँ सवैभन्दा पहिले समाजवादी क्रान्ति हुन्छ भन्ने निष्कर्ष निकालेका थिए । मार्क्स-एङ्गेल्सको त्यही निष्कर्षलाई जडसूत्रका रूपमा समातेर रुसमा बोल्सेभिक पार्टीभित्रका एकथरी नेताहरूले रुसजस्तो पिछडिएको किसानहरूको बाहुल्य भएको र जनसङ्ख्याको ५% मात्र मजदुर भएको समाजमा समाजवादी क्रान्ति सम्भव छैन, त्यस्तो समाजमा पुँजीको विकास गर्नतर्फ नै ध्यान केन्द्रित गर्नुपर्दछ भन्ने विचार अघि सारे । लेनिनले समाजवादी क्रान्तिको आह्वान गर्दा तिनीहरूले केरेन्सीको सरकार नढाली त्यसलाई सहयोग गर्नुपर्दछ भन्ने विचार व्यक्त गरे । तर अक्टोवर क्रान्तिले समाजवादी क्रान्तिका लागि पुँजीको विकास नै पूर्वशर्त होइन भन्ने लेनिनको भनाइलाई सत्य सावित गरिदियो । यदि साम्राज्यवाद सङ्कटमा फँसेको छ र जनता सचेत छन् भने पूँजी र प्रविधि कमजोर भएको देशमा पनि समाजवादी क्रान्ति सम्पन्न गर्न सम्भव छ भन्ने लेनिनको निष्कर्षलाई त्यसले व्यवहारमा लागु गरी देखाइदियो ।
मार्क्सवादी विश्लेषणअनुसार संस्कृति, राजनीति, दर्शन आदि सबैको जग आर्थिक संरचना हो । एक निश्चित प्रकारको आर्थिक संरचनामा परिवर्तन भएपछि सर्वप्रथम नयाँ समाजको संरचनाअनुसारको राजनीतिक व्यवस्थाको जन्म हुन्छ र त्यस राजनीतिक व्यवस्थाले आफूअनुकूलको दर्शन, संस्कृति, नैतिकता आदिको स्थापना गर्दछ । यदि त्यस आर्थिक ढाँचा फेरि अर्को आर्थिक ढाँचामा बदलियो भने राजनीति, संस्कृतिलगायत विभिन्न क्षेत्रको संरचनामा पनि परिवर्तन आउँछ, अर्थात् संस्कृतिलाई अर्थव्यवस्थाले जन्माउँछ । मार्क्सवादको उक्त विश्लेषण सही नै हो । तर मार्क्सवादले के पनि बताउँछ भने अन्तर्विरोधको नियममा सधैँ एउटा पक्ष मात्र प्रधान हुँदैन । कुनै समयमा प्रधान भएको पक्ष गौण र गौण भएको पक्ष प्रधानमा बदलिन सक्छ । सधैँ विचार र संस्कृतिलाई आर्थिक पक्षले मात्र निर्देशन गर्छ भन्ने हुँदैन, विचार र संस्कृतिले पनि आर्थिक आधारमा हेरफेर ल्याउनका लागि भूमिका खेल्छ । मार्क्सवादी द्वन्द्ववादको त्यस सवाललाई पनि अक्टोबर क्रान्तिले प्रमाणित गरी देखाइदिएको छ । रुसमा समाजवादका लागि आर्थिक आधार तयार नभए पनि जनताको अग्रिम चेतनाका कारण पुँजीको विकासमा अघि बढेका बेलायत, फ्रान्स र जर्मनी जस्ता देशहरूमा समाजवादी क्रान्ति नभई तीभन्दा अविकसित देश रुसमा हुन गयो ।
पेरिस कम्युनको अवधिमा पुँजीवादीहरूले किसानहरूलाई सर्वहारा वर्गको विरोधमा उभ्याएका थिए । उनीहरूले किसानलाई के भनी भड्काएका थिए भने सर्वहारा क्रान्तिले पुँजीवादी सम्पत्तिमाथि हमला गर्नुको मतलब किसानको सम्पत्तिमाथि पनि हमला गर्नु हो । किसानहरू उत्पीडित अवस्थामा भए पनि उनीहरूमा निजी सम्पत्तिप्रति मोह हुन्छ । त्यही मनोविज्ञान बुझेपछि लेनिनले समाजवादी क्रान्तिको दौडानमा किसानलाई भूमिको मालिक बनाउने नीति अघि सार्दै तिनीहरूलाई समाजवादी क्रान्तिको समर्थनमा उतारे । अक्टोबर क्रान्तिले किसानलाई जमिन्दारी शोषणबाट मुक्त गरी सर्वहारा वर्गको सहयोगी शक्तिका रूपमा विकास गर्यो । समाजवादी क्रान्तिका थुप्रै कार्यभारहरू मजदुर-किसान एकतामा अघि बढाइए । त्यसरी क्रान्तिमा किसानलाई सर्वहारा वर्गको सहयोगीका रूपमा विकास गर्नु अक्टोबर क्रान्तिको महत्त्वपूर्ण उपलब्धि थियो । एक किसिमले भन्ने हो भने अक्टोबर क्रान्ति पेरिस कम्युनको प्रयत्नको सफलीभूत रूप थियो । त्यसले एउटा क्रान्ति अर्कोमा विकसित हुन्छ भन्ने तथ्यलाई प्रमाणित गरेर देखाइदियो ।
अक्टोबर क्रान्तिको विश्वव्यापी प्रभाव
अक्टोबर क्रान्तिले केवल सोभियत सङ्घका जनताको जीवनमा कायापलट ल्याएन, त्यो एउटा साँघुरो घेरामा मात्र सीमित भएन, एउटा देशमा क्रान्ति सम्पन्न गरेर त्यसले त्यहाँको सत्तामा परिवर्तन ल्याए पनि विश्वस्तरमा नै विचार र चेतनाको छाल उत्पन्न गर्यो । उत्पीडत वर्ग सधैँभरि शासित हुने हो र धनमानी वर्गले सदैव शासन गर्ने हो भन्ने जनतामा रहेको परम्परागत सोचाइमा त्यसले आमूल परिवर्तन ल्याइदियो । त्यसले जनतालाई के चेतना दियो भने शोषित भएको त आपसमा छिरलिएर र एक आपसमा विभाजित भएर पो रहेछ । वास्तवमा अक्टोबर क्रान्तिको शिक्षाबाट विश्वका जनताले पुरानो समाजको विचार, संस्कार, आनीबानी आदिलाई परित्याग गर्न र नयाँ संस्कृतिको निर्माण गर्न सिके । अति नै पिछडिएका समाजमा पनि अक्टोबर क्रान्तिको छाल फैलन गयो । त्यसको वैचारिक प्रभावबाट पूर्वी युरोपका धेरै देशमा समाजवाद आयो । चीन, कोरिया, भियतनाम, मङ्गोलिया आदि एशियाली देशहरूमा एकपछि अर्को गरी कम्युनिस्ट सत्ताहरू स्थापित भए । कतिपय देशहरूमा सामन्तवाद, पुँजीवाद र साम्राज्यवाद विरुद्धका आन्दोलनहरू सञ्चालित हुन थाले । हेर्दाहेर्दै विश्वको दुई तिहाइ भूभाग समाजवादको प्रभावमा गयो । उपनिवेशहरूमा पनि साम्राज्यवाद विरोधी स्वतन्त्रता सङ्ग्रामहरूको थालनी भयो । साम्राज्यवाद धेरै औपनिवेशिक देशबाट लखेटियो र पुँजी निर्यात गर्न नपाएपछि त्यसको अर्थतन्त्र धरापमा पर्यो । समाजवादको वैचारिक प्रभाव विस्तारित हुँदा पुँजीवाद रक्षात्मक अवस्थामा खुम्चन बाध्य भयो र त्यसलाई जोगाउन किन्सवादी अर्थशास्त्रीहरू समाजवादकै सिको गर्दै उदारवाद र बजार अर्थतन्त्रका विरुद्ध उभिन गई सरकारी हस्तक्षेप गुहार्न पुगे ।
नेपालमा प्रभाव
त्यही सन्दर्भमा नेपालमा पनि अक्टोबर क्रान्तिको वैचारिक र सांस्कृतिक प्रभाव पर्न गयो । जुन बेला लेनिनको नेतृत्वमा रुसमा क्रान्ति भएको थियो, त्यतिखेर नेपाली जनता राणा सामन्तहरूको जहानिया शासनको जाँतोमा नराम्ररी पिँधिएका थिए । जनता आर्थिक रूपमा शोषित मात्र होइन, पढ्ने लेख्ने अधिकारबाट समेत बञ्चित थिए । त्यतिखेर विश्वयुद्धमा अंग्रेजको सहयोगका लागि भाग लिन जाने गोर्खा सैनिक जवानहरूले बाहिरी सभ्यता र जागरणबारे केही जानकारी हासिल गर्ने मौका पाए । बाह्य जगत्मा जनताले सरकारका चित्त नबुझेका कामकुराहरूको विरोध गर्दा रहेछन् भन्ने लोकतन्त्रबारेको जानकारी तिनीहरूले पाए । बाह्य सम्पर्कका कारण कतिपय मध्यम वर्गका नेपाली युवाहरू भारतमा गई अध्ययन गर्न समेत लागे । अक्टोबर क्रान्तिकै प्रभावस्वरूप चीनमा सञ्चालित जनवादी आन्दोलन र भारतीय स्वतन्त्रता सङ्ग्राम नेपाली जनतालाई वैचारिक र सांस्कृतिक रूपमा प्रभाव पार्ने स्रोत बने । त्यही आलोकमा जयपृथ्वीबहादुर सिंह, दशरथचन्द र गङ्गालालजस्ता योद्धाहरूले जनतामा जागरण अभियान सञ्चालन गरे । योगमाया, माधवराज जोशी जस्ता समाज सुधारकहरूले सामन्तहरूले सिर्जना गरेका जातीय भेदभाव, बालविवाह, अनमेल विवाह आदि विकृती विरुद्ध आवाज उठाए । सुव्वा कृष्णलाल लगायतका अनेकौँ वैचारिक श्रष्टाहरूले नेपाली भूमिमा र प्रवासमा सामन्तवादी व्यवस्थाविरुद्ध पुस्तक, पत्रपत्रिका, लेखरचना आदि प्रकाशन गर्ने, भूमिगत रूपमा छलफल अन्तक्र्रिया आदि सञ्चालन गर्ने जस्ता नवजागरणका गतिविधिहरू अघि बढाए । सामन्त सत्ताधारी शासकको स्तुतिगान र प्रशंसामा कविता नाटक आदि सृजना गर्ने संस्कृतिको ठाउँमा अन्याय, अत्याचार र दमनको विरोधमा कलम चलाउने प्रगतिवादी साहित्य र संस्कृतिको विकास भयो । पुष्पलालजस्ता नेपाली काँग्रेसमा कार्यरत नेताहरूले काँग्रेसमा सामन्तहरू र असन्तुष्ट राणाहरूको प्रभाव बढेपछि त्यस पार्टीले जनतालाई शोषण उत्पीडनबाट मुक्ति दिन सक्दैन भन्ने कुरा बुझे । उनीहरूले वैकल्पिक बाटाको खोजीमा मार्क्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओका रचनाहरूको अध्ययन गर्न थाले । कम्युनिस्ट घोषणापत्र लगायत उनीहरूका रचनाहरू नेपालीमा धमाधम अनुवाद हुन थाले जसको परिणाम स्वरूप नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भयो ।
आज हामीकहाँ जनताको विशाल पंक्ति वैचारिक रूपमा समाजवादको पक्षमा उभिएको अवस्था छ । जनताबाट दुई तिहाइ मत पाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकार सत्ताको केन्द्र भागमा रहेको छ । हाम्रो वर्तमान उपलब्धि नेपाली जनताले मार्क्स-एङ्गेल्सका शिक्षा, लेनिनवाद र अक्टोबर क्रान्तिको प्रेरणाका साथै नेपाली जनताले लामो समयसम्म सञ्चालन गरेको वर्गसङ्घर्षकै प्रतिफल हो ।
अक्टोबर क्रान्तिको औचित्यता
आज अक्टोबर समाजवादी क्रान्ति दिवस मनाइरहँदा हामीले त्यसको उत्थानमा टेकेर दिवस मनाउन पाएका छैनौँ । हामी फगत गौरवशाली इतिहासको स्मृतिमा कार्यक्रम गरिरहेछौँ । समाजवादी विचारको खोल ओढेका पुनरुत्थानवादीहरूले अक्टोवर क्रान्तिको उपलब्धिलाई लेनिनकै देशमा समाप्त पारिदिएका छन् र त्यहाँ पुँजीवादलाई फिर्ता ल्याएका छन् । त्यस घटनालाई लिएर कतिपय समाजवादका विरोधीहरूले अक्टोबर क्रान्तिको सैद्धान्तिक मार्ग गलत भएकाले नै त्यसले स्थापित गरेको व्यवस्था ढल्न पुगेको हो भन्ने हौवा चलाएका छन् । तर दोष अक्टोबर क्रान्तिको होइन, दोष त्यसको मार्ग अनुशरण नगर्ने अवसरवादी समूहको हो, जसका कारण आज क्रान्तिका उपलब्धिहरूलाई गुमाउनु परेको छ । मार्क्सले साम्यवाद प्राप्त नभएसम्म समाजवादी व्यवस्थामा सर्वहारा अधिनायकत्व कायम हुनुपर्छ भनेकै हुन् । तर स्टालीनको निधनपछि सत्ता सञ्चालकहरूमा सांस्कृतिक विचलन पैदा भयो र तिनीहरूले मार्क्सवादी नीति र आचरणको प्रतिकूल सर्वहारा अधिनायकत्वलाई सबै जनताको राजसत्तामा बदले । तिनले वर्ग सङ्घर्ष र दुई लाइनको सङ्घर्षलाई परित्याग गरी शान्तिपूर्ण सह–अस्तित्वको नारा दिएर र पुँजीवादी मार्ग अवलम्बन गर्नेहरूलाई पार्टी र राजसत्तामा रातो कार्पेट ओछ्याई भित्र्याए । त्यसपछि त्यहाँ कम्युनिस्ट पार्टीका सञ्चालक र राज्यका पदाधिकारीहरू जनताका प्रतिनिधि बनेनन् तिनका मालिक बने । तिनले राष्ट्रिय रूपमा शोषण र उत्पीडनकै संस्कृति फिर्ता गरे । अन्तर्राष्ट्रिय रूपमा तिनले कतिपय निम्छरा देशको सार्वभौमसत्तामाथि हस्तक्षेप गरे र अनावश्यक हतियारको होडबाजीमा राष्ट्रीय धन स्वाहा पारे । सत्ताको आडमा तिनले सामूहिक सम्पत्तिमाथि व्यक्तिगत आधिपत्य जमाए । भ्रष्ट नोकरशाहहरूले कालोधन सञ्चय गरी देशको सम्पत्ति बाहिर पुर्याए र देशमा सङ्कट सृजना गरे । परिणामस्वरूप याल्तसिन जस्ताले कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउँदा कसैले प्रतिरोध गरेनन् र त्यसको संरक्षण गर्न कोही अघि सरेनन् ।
त्यस कटू यथार्थलाई ढाकछोप गर्दै पुँजीवादी बुद्धिजीवीहरूले अक्टोबर क्रान्ति गलत भएकाले नै त्यसका परिणामहरू असफलतामा टुङ्गिएका हुन् भनी निष्कर्ष निकालेका छन् । तर सोभियत सत्ताको विघटन अक्टोबर क्रान्तिको पराजय होइन, त्यो मार्क्सवाद र लेनिनवादको असफलता होइन, त्यो त सिद्धान्तलाई व्यवहारमा उतार्न नसक्ने गलत संस्कार र संस्कृतिको परिणाम हो ।
अक्टोबर क्रान्तिपछि रुसमा लागू भएको समाजवादी व्यवस्थाको अवसानपछि कतिपयले लेनिनवादका आधारभूत प्रस्थापनामाथि प्रश्न उठाएका छन् र क्रान्तिका लागि नयाँ व्याख्याको आवश्यकता छ भन्ने विचार अघि सारेका छन् । त्यस्तोे चिन्तन हाम्रो देशमा पनि भित्रिएको छ । माओ र लेनिनका विचार र रचनाले हाम्रो समाज परिवर्तन गर्ने होइन, हामीले आफ्नो देश अनुकूल छुट्टै विचारको खोजी गर्नुपर्छ भन्ने धारणाहरू हामीकहाँ देखा परेका छन् । निश्चय नै समाजवादी क्रान्तिका लागि मार्क्सवाद-लेनिनवाद र माओवादलाई आफ्नै देशअनुकूल ढाल्ने हो । तर देशको ठोस परिस्थितिको ठोस व्याख्याको नाममा मार्क्सवाद, लेनिनवाद र माओवादका सारभूत सैद्धान्तिक सवालमा हेरफेर हुन सक्दैन ।
वर्तमान युग लेनिनवाद र अक्टोबर क्रान्ति कै युग हो । साम्राज्यवादले भूमण्डलीकरणको आकार ग्रहण गरे पनि त्यसले केवल आफ्नो रूप परिवर्तन मात्र गरेको हो । बहुराष्ट्रिय निगमको आवरणमा साम्राज्यवादीहरूले अविकसित देशहरूमा व्यवधान खडा गर्नुका साथै आफ्नो देशका जनतालाई पनि बरबादीको हालतमा पुर्याएका छन् । तिनले गर्ने शोषण राष्ट्रिय होइन, वर्गीय नै हो । तिनले अन्य देशका जनतालाई मात्र होइन, आफ्नै देशका जनतालाई पनि विनाशतिर धकेली रहेका छन् । साम्राज्यवादी देशमा आन्तरिक वर्गसङ्घर्ष चर्कँदो अवस्थामा पुगेको छ । अब साम्राज्यवादविरुद्ध आफ्नै देशका श्रमजीवी र अन्य देशका श्रमजी बिच बलियो अन्तर्राष्ट्रिय मोर्चा बन्ने सम्भावना प्रबल भएर गएको छ । साथै साम्राज्यवादी शक्तिहरूले बहुराष्ट्रिय निगमको माध्यमबाट जतिसुकै मिलिजुली शोषण गरेपनि तीबीचको फाटो चर्कँँदै गएको छ । बाहिर अँगालो मारी हिँडे पनि नाफा बटुल्ने र पुँजी सङ्कलन गर्ने ततनीहरू बिचको भित्री प्रतिस्पर्धा यथावत् नै छ । तिनीहरूको भूमण्डलीकरणको गति एकैनासको पनि छैन । अहिलेसम्म अग्रपङ्तिमा अमेरिका नै रहेको छ । संसारमा ठूलठूला बहुराष्ट्रिय निगम सञ्चालन गर्ने देश त्यही हो । आफ्नो शक्ति विस्तार गर्न त्यसले सामरिक शक्तिको सहारा लिएको छ र विभिन्न देशमा फौजी अखडा राखेको छ । सत्तरीभन्दा बढी देशमा त्यसले सैनिक सञ्जाल फैलाएको छ र व्यापक मात्रामा सेना परिचालन गरेको छ । तर अमेरिकाको उक्त अवस्थामा विस्तारै परिवर्तन हुन थालेको छ । अमेरिकी साम्राज्यवादले आफ्नो पुँजीको लगानी उत्पादन क्षेत्रमा भन्दा वित्तीय क्षेत्रमा गर्न थालेकाले त्यसले दिनानुदिन घाटाको सामना गर्नुपरिरहेछ जबकि अन्य साम्राज्यवादी देशको पुँजीको लगानी बढी मात्रामा उत्पादन क्षेत्रमा भएकाले तिनको अथतन्त्र उकासिँदैछ । हिजो दम्भ प्रदर्शन गर्ने अमेरिका आज रक्षात्मक अवस्थामा पुग्दैछ । अमेरिकाको युरोपसँगको गठबन्धन खुकुलो हुँदै गएको छ । हिजो अमेरिकी ज्यादतिप्रति चुप्पी साँध्ने युरोपेली राष्ट्रहरू आजभोलि अमेरिकाको कटू आलोचक बनेका छन् । यहाँसम्म कि अमेरिकाको कट्टर हितैषी बेलायतका जनताहरू समेत अमेरिकाको विरोधमा उत्रिएका छन् ।
अन्त्यमा
यतिखेर हाम्रो देशमा समाजवादका लागि आधार तयार गर्ने नारा दिइएको छ । तर समाजवाद शान्तिपूर्ण प्रतिस्पर्धाबाट हासिल हुने व्यवस्था होइन । संसदीय व्यवस्थाबाट समाजवाद हासिल गर्न नसकिने रहेछ भन्ने कुरा भारत, मध्यपूर्व लगायत ल्याटिन अमेरिकी देशहरूको अनुभवले सिद्ध गरेको छ । नेपाली सर्वहारा वर्गले साम्राज्यवादका आडमा शासन गर्ने नोकरशाह र दलाल पुँजीवादी व्यवस्थालाई बलपूर्वक सत्ताबाट हटाएर आफ्नै राज्य संयन्त्रको निर्माण गरेपछि मात्र समाजवादलाई लागु गर्न सकिन्छ । समाजवाद सशस्त्र समाजवादी क्रान्ति र सर्वहारा वर्गको अधिनायकत्वद्वारा स्थापित हुने व्यवस्था हो । सर्वहारा अधिनायकत्वले नै समाजवादको रक्षा र विकास गर्दछ । हामी हिँड्ने बाटो अक्टोबर समाजवादी क्रान्तिकै बाटो हो । हामीले सर्वहारा संस्कृतिलाई नै जनतामाझ प्रचार प्रसार गर्नुपर्दछ । अक्टोबर क्रान्तिको बाटोलाई अबलम्बन गर्ने भनेको विगतका विभिन्न देशका कम्युनिस्ट पार्टीहरूले अपनाएको मार्गलाई हुबहु नक्कल गरेर होइन, तिनका कमी कमजोरीहरू सच्याएर र आफ्नो अनुकूल सर्वहारा क्रान्तिको व्याख्या गरेर हो ।
(लेखक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा वरिष्ठ मार्क्सवादी चिन्तक हुनुहुन्छ ।)