नेकपा, सत्तामोह, समाजवादको सपना, किशोर सुवेदी, ncp, cpn, socialist dream, kishor subedi
 

नेपालमा थुप्रै राजनीतिक घटनाक्रमहरु भए । निर्दलीय पञ्चायत होस् या निरंकुश शाही शासन फाल्नका निमित्त थुप्रै जनताले प्राणको आहुती दिए, हजारौँ घाइते तथा अङ्गभङ्ग छन्, त सयौँको संख्यामा अहिले पनि बेपत्ता छन् । हिजो त्यसरी संघर्षको भट्टीबाट खारिएर आएका नेताहरुले गणतन्त्रको जग बलियो बनाउनुको सट्टा कुर्सी केन्द्रित राजनीति गरिरहे र अहिले पनि गरिरहेका छन्‌ । सिद्धान्त, दर्शन, आदर्श र नैतिक पक्षलाई पूर्णतः बिर्सिएर निहित स्वार्थमा केन्द्रित भए, जसको ज्वलन्त उदाहरण हो, अहिले भइरहेको कर्णालीको कुर्सी केन्द्रित राजनीति ।

कम्युनिस्ट पार्टी सर्वहारावर्गको सामाजिक स्वार्थमा केन्द्रित रहेर काम गर्ने पार्टी हो । सर्वहाराका चर्का नारा घन्काउँदै नेपालमा थुप्रै कम्युनिस्ट पार्टीहरु जन्मिए तर तिनीहरुले पनि सर्वहाराका लागि केही गर्न सकेनन्, बरू केवल उनिहरुलाई निहित स्वार्थका लागि उपयोग मात्रै गरेको जस्तो देखियो, जुन व्यवहार कम्युनिस्टहरु सत्तामा गइसकेपछि प्रमाणित जस्तै गरिदिए ।

तत्कालीन कम्युनिस्ट पार्टी एमाले होस् या माओवादी दुवै पार्टीलाई हुर्काउने, बढाउने र मलजल तिनै सर्वहारा वर्गीय आम जनताले गरेका थिए । जसले हिजो आफ्नो ज्यानको प्रवाह नगरी सामन्ती राज्यसत्ताका विरुद्ध धावा बोल्दै मृत्युलाई स्वीकार गर्दै युद्ध गरे, संघर्ष गरे, आज त्यही वर्ग खाडी मुलुकमा रगत र पसिना बगाउन बाध्य छ । हजारौँ अङ्गभङ्ग भएका योद्धाहरुको हरिबिजोग छ । इमानदार र नैतिकवान नेताकार्यकर्ताहरुको सही मूल्याङ्कन छैन । पार्टीबाहिरका अवसरवादी र प्रतिक्रियावादीहरु पार्टीभित्र प्रवेश गर्ने नेतृत्वको चाकरी र चाप्लुसी गर्दै कम्युनिस्ट पार्टीलाई खिया लगाउने काम गरिरहेका छन् । यसप्रति नेतृत्वको घैंटोमा घाम कहिले लाग्ने ? पार्टीभित्र चलिरहेको अस्वस्थ अन्तरसंघर्षले पार्टीलाई बदनाम गराउँछ या ध्वस्त बनाउँछ ।

नेपालको इतिहासमा अहिले झन्डै दुई तिहाईको कम्युनिस्ट सरकार छ तर आम सर्वहारा जनताका न्युनतम आवश्यकताहरु पूरा गर्न सकिरहेको छैन । खान नपाई भोकभोकै बस्नुपर्ने बाध्यता छ । शिक्षा, स्वास्थ्य, रोजगारी त परको कुरा हो, खाने गास र बस्ने बासको ठेगान छैन । यति ठुलो कम्युनिस्ट पार्टीको सरकारले यति काम पनि गर्न नसक्नु लज्जाको विषय हो । नेपालमा नेकपाको सरकार गठन भएपछि त्यही अनुसारको कार्य गर्नुपर्ने थियो । तर सरकार गठन भएको तीन वर्ष पुग्न लाग्दा पनि जनताले नेकपाप्रति गरेको विश्वासलाई उपेक्षा गरेको प्रष्ट देखिन्छ र बुझ्न सकिन्छ ।

यतिसमय बितिसक्दा पनि हाम्रो नेकपा सरकारले उत्पीडित सर्वहारा वर्गको पक्षमा ठोस काम गर्‍यो कि ? सँधै आम जनतालाई भ्रमको खेती गरेर दलालहरुलाई पक्षपोषण गर्ने काम गर्‍यो ? अपेक्षा नै गर्न नसकिने प्रश्न आम सचेत नागरिक वर्गमा उब्जिएको छ । नेकपाभित्र पनि केही हिस्सा पार्टीले लिएको नीति र मार्गलाई लत्याउँदै मैमत्त भएर हिँडिरहेका छन् । भ्रष्टीकरण र दलालीकरणलाई प्रशय सरकारले दिइरहेको देख्दा यति छिट्टै समाजवादी उद्देश्यलाई लत्याउँदै किन सरकार दलाल पुँजीवादतिर लम्किरहेको छ भनेर आम शुभचिन्तकहरु चकित परिरहेका छन् । नेकपालाई सही मार्गमा हिँडाउनुपर्छ, खराब गतिविधिका विरुद्ध बोल्नुपर्छ भन्ने स्वर झिनो बन्दै गइरहेको छ । जसले गर्दा अहिलेको यो हाम्रो दुई तिहाइको कम्युनिस्ट सरकार दलाल पुँजीवादीहरुको चङ्गुलमा फसिसकेको त छैन भन्ने चिन्ता र चासो आम सचेत वर्गमा परेको छ ।

जुन वर्गको बलमा नेकपाले सरकार बनाउने हैसियत राख्यो, त्यो वर्गलाई नै नेकपाले धोका दियो भन्ने बहस पनि सुनिन थालेको छ । यदि नेकपाले हिजो जनतामा देखाएका सपनाहरूमा तुसारापात गर्दै गयो भने नेपालमा कम्युनिस्ट पार्टी सकिन आइतबार कुरिरहनु पर्दैन ।

सरकारले श्रमजीवी सर्वहाराका आवश्यकतालाई प्राथमिकताका साथ नबुझ्ने र कार्य गर्न नसक्ने तर पुँजीवादीले भिराइदिएका प्राथमिकतालाई बोक्ने भरिया बन्ने हो र उनै पुँजीवादी बिचौलियाको मतियार बन्ने हो भने सरकारी नेकपाको भविष्य कस्तो छ ? कुनै ज्योतिषीलाई हेराउनु नपर्ला ।

अहिले नेकपामा बहुरङ्गी मान्छेहरु थुप्रै संख्यामा छन् भन्दा अनर्थ नहोला । साधु सन्तदेखि, आवारा, घुस्याहा, चोर, ठग आदि सबै भएको पार्टीमा आर्थिक रूपमा सर्वहारा सुकुम्बासीदेखि खर्बपति व्यापारीसम्म यही पार्टीमा छन् । कम्युनिस्ट पार्टी विधिसम्मत तरिकाले नचल्दा थुप्रै समस्याहरु सिर्जना भएका छन्‌ । जसले जे मन लाग्यो बोल्दिएको छ, व्यक्तिगत स्वार्थका लागि पार्टीको विधि विधान नै मिचिदिएको छ । साना साना कार्यदेखि ठुलठुला कार्यहरुमा पार्टीकै नेता हावी भएको छ, त्यो पनि गुटबन्दीको आधारमा । अनि कसरी कम्युनिस्ट पार्टीलाई जनताको पार्टी भन्न मिल्छ र गराउन सकिन्छ ।

हिजोसम्म राजनीतिको ‘र’ नजान्ने, त्यही आज एकाएक नेता टोपलिएको छ ।उसैले आफूलाई ठुलै नेता सम्झिन्छ र हिजो पार्टी राजनीतिमा लामो समय व्यतित गरेका नेताकार्यकर्तालाई उपेक्षाको भाषा प्रयोग गर्छ, नैतिकता र इमानदारिताको कुरै छैन । भ्रष्ट र दलालीको फन्दामा नेपाल कम्युनिस्ट पार्टी फस्दै गइरहेको छ । अहिलेको राजनीतिक हरिबिजोग त यस्तो छ, यस्ता भ्रष्ट र दलाल मार्फत प्रशिक्षण लिएका नेताकार्यकर्ताबाट भोलिको समाज कता जाला ? सजिलै आँकलन गर्न सकिन्छ । नैतिकवान र इमान्दार नेतृत्वले खराबका विरुद्ध शुद्धीकरणको अभियान सुरु गर्ने आँट गरेको देखिँदैन । खाली भ्रष्ट र दलालको अगाडि मूकदर्शक भएको देखिन्छ ।

अहिले नेकपाको कुर्सी विवाद केन्द्रदेखि प्रदेशसम्म पुगेको छ । जसको ज्वलन्त उदाहरण हो, कर्णालीका मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव । केही दिन अगाडि कर्णालीका मुख्यमन्त्री विरुद्ध अफ्नै दलका १८ जना सांसदले हस्ताक्षर गरी संसदीय कार्यलयमा बुझाए । हस्ताक्षर गर्नेमा पूर्व एमालेबाट १५ जना सांसद छन भने पूर्व माओवादीतर्फका ३ जना सांसद रहेका छन् । हस्ताक्षर पूर्व एमालेका नेता तथा हाल कर्णाली प्रदेश नेकपाका सहइञ्चार्ज यामलाल कँडेलको नेतृत्वमा भएको हो । उनी कर्णाली प्रदेशको मुख्यमन्त्री बन्नका लागि प्रतिनिधिसभामा नलागी प्रदेश सभाका सांसद भएका थिए । तर भागबन्डामा चलेको नेपालको राजनीतिमा यामलालका लागि यो प्रदेशमा चिट्ठा परेन । पूर्व एमालेले ४ र पूर्व माओवादीले २ मुख्यमन्त्री लिने केन्द्र पार्टीको सहमतिका आधारमा १, ३, ४ र ५ एमालेको भागमा पर्‍यो भने ६ र ७ पूर्व माओवादीको भागमा पर्‍यो ।

माओवादीको तर्फबाट महेन्द्र बहादुर शाही मुख्यमन्त्री बनेदेखि नै यामलालको असन्तुष्टि रह्यो । त्यही असन्तुष्टि पटकपटक बाहिर आए पनि आफ्नै गुटभित्र र माओवादी खेमाका सांसदको साथ नपाउँदा खुम्चिनु परेको थियो यामलाललाई । अहिले मन्त्रीको कुर्सी पाउने दाउमा नेकपाका बहुमत सांसदले आफ्नै सरकार विरुद्ध हस्ताक्षर गरेको बुझिन्छ । होइन भने नीति, विधि र सहमतिलाई पालना गर्दै रचनात्मक सहयोग गर्न सकिन्छ तर त्यसो गरेको देखिँदैन । नेकपा कर्णाली प्रदेशको विवादले केन्द्रलाई समेत तरङ्गित बनाएको देखिन्छ ।

नेकपामा नयाँपन खासै देखिँदैन । जब पुरानै तरिकाले नयाँ लक्ष्य हासिल गर्न सकिँदैन, तब नयाँ नीति, विधि, कला, इच्छाशक्ति र नैतिक सम्पति भएको नयाँ नेतृत्व पार्टी र देशले अपेक्षा गर्छ । नयाँ नेतृत्व भनेको व्यक्ति मात्रै फेरिँदैन, नयाँ सोच, मान्यता, लक्ष्य र प्रतिबद्धता पनि नयाँ आधारमा हुन्छ । नेपालमा बहुदलीय व्यवस्था आयो तर आनिबानी सामन्ती नै रह्यो । गणतन्त्र आयो तर श्रीपेचबिनाको राजा बनायो । यसमा पार्टी दोषी हो कि विचार ? प्रष्ट हुन जरुरी छ ।

हामी समाजवाद उन्मुख दिशामा छौँ भन्दैछौँ । पार्टी विचारमा विधिमा चले मात्रै समाजवादमा जान सकिन्छ । जाने नै समाजवादमा हो तर अहिलेकै अवस्थामा त्यो बाटो तय भएको देखिँदैन । देशको विकासलाई पछि पार्ने विश्वासघाती ठेकेदारहरु, विचौलिया, विदेशी एजेन्टहरु र कालाबजारीहरुको मात्रै हित हेरेपछि समाजवाद त ‘चरीको दुध’ मात्रै बन्छ ।

त्यसैले अहिलेको नेकपा सत्ता नामको हड्डी चुस्नमा व्यस्त नभई समाज र राष्ट्र हितको काममा अघि बढनुपर्छ । यसले मात्रै नेकपालाई बचाउँछ र राष्ट्रलाई अघि बढाउँछ।

(लेखक प्रेस संगठन कर्णाली प्रदेशका सदस्य हुनुहुन्छ ।)