यही कार्तिक १९ (नोभेम्बर ४) मा भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवाणे नेपालको निमन्त्रणामा नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाउन नेपाल आउँदैछन् ।
प्रथमतः कुनै एक देशको सेनापतिलाई कुनै अर्को देशको राष्ट्रपतिले सम्मान स्वरुप आफ्नो देशको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कुरा आफैमा विवादास्पद, हाँस्यास्पद र घृणास्पद कुरा हो । त्यसमाथि सामन्ती राजतन्त्रकालमा स्थापित यस प्रकारको प्रचलन आज गणतन्त्रकालमा पनि यथावत गरिनु शासकहरुको सामन्ती र औपनिवेशिक संस्कारकै निरन्तरता हो ।
यदि त्यसो होइन र घनिष्ठ सम्बन्ध भएका दुई देशका बिचको स्वच्छ सम्बन्ध हो भने यही परम्परा र प्रकृया नेपालले चीनसँग र भारतले ७० वर्ष अघिसम्म एउटै देशको रुपमा रहेका घनिष्ट छिमेकी देश पाकिस्तान र बङ्गलादेशसँग किन गर्दैन ?
यसरी हेर्दा यो अतार्किक, अयुक्तिसङ्गत र अवाञ्छित त प्रचलन हो, जुन हामी स्वाभिमानी नेपालीका लागि एक अत्यधिक दुखद विडम्बना नै हो ।
अर्को आपत्तिजनक सन्दर्भ यो पनि छ कि भारतीय सेना प्रमुख नरवाणेको भ्रमणको चाँजोपाँजो पनि मिलाउने गरी गोयल नेपाल आएको देखिन्छ । यसले पनि एकातिर भारतीय राजनीतिक र कूटनीतिक नेतृत्व निरर्थक र निकम्मा भएको पुष्टि हुन्छ भने अर्कातिर नेपालको माइक्रो म्यानेजमेन्टमा भारतीय गुप्तचर संस्थाको खुलेआम हस्तक्षेप छ र त्यो नेपालको वर्तमान सरकारलाई स्वीकारयोग्य र स्वागतयोग्य छ भन्ने स्पष्ट भएको छ, जो स्वाभिमानी नेपाली र नेपालका लागि असह्य विषय हो ।
यसरी यो बुझ्न सकिन्छ कि रअर्का एक कर्मचारीको यो चलखेल र हस्तक्षेपका अगाडि झुकेर नेपालका प्रधानमन्त्रीले नरवाणेको स्वागत-सम्मान गर्ने प्रकृया अघि बढेको छ । यो प्रक्रिया एउटा सार्वभौम मुलुकको दुई तिहाई बहुमतको कम्युनिस्ट नामको “राष्ट्रवादी” छविका नेपाली प्रधानमन्त्री केपी ओली र लोकतन्त्रको सर्वाधिक धाक लगाउने र अत्यधिक लोकप्रिय देखाउने अर्को सार्वभौम र शक्तिशाली भारतीय प्रधानमन्त्री मोदीका प्रतिष्ठामा त धक्का हो नै, साथै नेपाल र भारत तथा यहाँका जनताको समेत बेइज्जतको कुरा हो । त्यसैले नरवाणेको हाल तय भएको नेपाल भ्रमणका सम्पूर्ण कार्यक्रमहरु अबिलम्ब रद्द गरिनैपर्छ ।
यस निम्ति सचेत, देशभक्त र स्वाभिमानी नेपालका शक्ति, संघसंस्था र व्यक्ति-व्यक्तित्वहरुले समयमै सशक्त विरोध गर्नुपर्दछ । यदि हामी नेपाली भनिने र गनिनेहरुमा देशप्रेमको थोरै पनि भावना छ, राष्ट्रिय अस्मिता र अस्तित्व जोगाउनुपर्ने किञ्चित पनि कर्तव्यबोध छ र राष्ट्रिय, सांगठनिक र व्यक्तिगत रुपमा समेत थोरै मात्र भए पनि स्वाभिमान र स्वाधीनताको मूल्य र महत्त्वबोध छ भने हरेक नेपालीले यस कुराको विरोध, अवरोध र प्रतिरोध गर्नु नै पर्ने हुन्छ ।
तसर्थ यो देशको सरकारमा रहेकादेखि, सदनमा, संसदीय दलमा, संगठन (पार्टी र मोर्चा) मा, सडकमा र समाजमा रहेका सम्पूर्ण सचेत, स्वाभिमानी, स्वतन्त्रताप्रेमी, लोकतान्त्रिक मूल्य मान्यताका हिमायती, राजनीतिक र कूटनीतिक मर्यादाका पक्षपाती आदि सम्पूर्ण देशभक्त नेपालीहरुले संयुक्त र सशक्त रुपमा रअको षड्यन्त्रकारी हस्तक्षेपयुक्त व्यवस्थापनमा कथित सैन्य कूटनीतिको प्रयोगका नाममा राष्ट्रिय आत्मसमर्पण हुने गरी हुन गइरहेको भारतीय सेनाप्रमुख मनोजमुकुन्द नरवाणेको नेपाल भ्रमणको निर्णायक विरोध गर्नु हामी नेपालीहरुका लागि ऐतिहासिक रुपले अनिवार्य आवश्यकता भएको छ । आगे यहाँहरुको विचार र विवेकको मर्जीको कुरा । तथापि एउटा देशभक्त नेपालीको नाताले मात्र पनि यो अपील छ:
गोयलको हस्तक्षेप र नरवाणेको धम्कीअगाडि नझुकौँ !
हाम्रा पुर्खाहरुले ज्यानको बाजी लगाएर जोगाएको राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र स्वत्व-अस्तित्वलाई कायम राखौँ !
संसारमा नेपाल र नेपालीको इज्जत र प्रतिष्ठालाई अझ माथि उठाऔँ !
नरवाणेको आसन्न नेपाल भ्रमणको जोडदार विरोध गरौँ !
(लेखक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा संविधान सभाका सदस्य हुनुहुन्छ।)