वर्तमान सरकार प्रमुख ओली एउटा नीति नभएका तर ठूल्ठूला गफ हाँक्न सक्ने गफाडी तथा गफको पुलिन्दा बाँड्न सक्ने व्यक्ति सावित भए । उनको गफलाई आम नेपालीले विश्वास गरे । १४ वर्ष जेल बसेको साँवालाई, गफकै भरमा ब्याज समेत असुलेर पहिलो चोटी प्रधानमन्त्री भए । परिस्थितिजन्य नाकाबन्दीलाई ओलीले बरदानको रूपमा प्रयोग गरे र त्यसैबेलादेखि नै उनका ठूल्ठूला गफले उचाइ लिन सुरु गरे, जसको परिणाम अब देखिन सुरु भएको छ ।
यिनी कम्युनिस्ट त हुँदै होइनन्, कम्युनिस्टमा हुनुपर्ने थोरै गुण पनि यिनमा म देख्दिनँ । उनी एउटा सामन्तले चलाए जसरी शासन चलाउन उद्यत देखिन्छन् । दास समाजपछि जन्मेको सामन्ती समाजको सामन्तले गिज्याउने शैलीमा भन्छन्, “अब कोही भोको बस्नु पर्दैन, हामीलाई फोन गर्ने राशन लिएर ढोकामा आइपुग्छौँ” । के यो एउटा कम्युनिस्ट प्रधानमन्त्रीले बोल्ने कुरा हो ? जनता भिखारी होइन, तपाईँले गिज्याउन पाउनुहुन्न । जहिले पनि तपाईँले गरेको हँसिमजाक हामी जनताले भोको पेटमा पनि सुनिरहनु पर्ने? भोको पेटमा हाँस्न गाह्रो हुन्छ । हामीले जनताप्रति उत्तरदायी हुनुहोला भनेर आशातित भएर नै कम्युनिस्ट पार्टीलाई सत्तामा पठाएका हौँ ।
लिम्पियाधुरासहितको चुच्चे नक्सा जारी गर्नुभयो । धन्यवाद छ । त्यो पनि अहिले आएर थाहा भयो, पार्टीको पटक पटकको दवाव पश्चात निर्णय गरिएको रहेछ । त्यत्ति गर्न मात्रै सत्तामा पुग्नुभएको हो त? नागरिक भोकै बस्न बाध्य छन् । करको उर्दी जारी गर्नुभयो । जारी गर्दा कम्तिमा वर्ग छुट्टयाउनु पर्थ्यो । सर्वहारावर्ग, मजदुर र किसानका लागि प्याकेज खै? यस्तै हुन्छ र कम्युनिस्टको सरकार?
“भ्रष्टाचारीको अनुहार नै हेर्दिन” भन्ने अनि नीतिगत भ्रष्टाचार गरिरहने, भ्रष्टाचारीको ढाकछोप गरिरहने । के यसरी मनलाग्दो हाँस्यव्यङ्ग्य गर्न तपाईँलाई प्रधानमन्त्री बनाइएको हो? यो नसोच्नुस् कि म तपाईँको विरोधी हुँ । म नेपाली कम्युनिस्टहरूको समर्थक हुँ ।
तपाईँले ठूलाठूला कुरा गर्नुभएको छ । पक्कै सर्वहारावर्गको हितका लागि कदम चाल्नुहोला पो भन्ठानेको त । खाली हास्य व्यङ्ग्यात्मक गफैमा व्यस्त रहेर समय बिताउँदै हुनुहुन्छ । यसरी मजदुर, किसान तथा सर्वहारा वर्गलाई होच्याएर सामन्ती पारामा शासन गरिरहुँला भन्ने सोच पाल्नु भएको छ भने एउटा भयानक आन्दोलनरूपी आँधीबेहरी सामना गर्न तैयार रहनुहोस् ।
तपाईँले गर्नुभएको १/२ वटा राष्ट्रवादी काम र १००/२०० किलोमिटर पिच गरेर, व्यङ्गयात्मक गफ चुटेर पुँजीवादी र भ्रष्टाचारीको पक्षपोषण गर्दै मजदुर, किसान तथा सर्वहारा वर्गका लागि कुनै ठोस कार्यक्रम नल्याउने हो भने मजदुर, किसान तथा सर्वहारावर्गले विकल्प सोच्नेछन् । त्यति अधिकार त नागरिकले राख्लान् नि महोदय?
नेपाल कम्युनिस्ट पार्टी के हेरेर बसेको छ? खै सर्वहारा वर्गका लागि कार्यक्रम? कम्युनिस्ट पार्टीको मूलधारको कामको मूल्याङ्कन खै? श्वेतपत्र खै? यही १००/२०० किलोमिटर पिच र लिम्पियाधुरासहितको चुच्चे नक्सा लिएरै मात्र आगामी चुनावमा उत्रने हो? मार्क्सवादी सिद्धान्तको कुन-कुन अंश मजदुर, किसान तथा सर्वहारावर्गका लागि लागू गर्नुभयो? अब आगामी दिनमा जनताद्वारा सबैभन्दा बढी सोधिने प्रश्न हो ।
यो कोरोनाको महामारी हो । सबैभन्दा बढी मजदुर, किसान तथा सर्वहारावर्ग प्रभावित भइरहेका छन् । यिनको ज्वारभाटा सुनामीमा परिणत हुँदैछन् । सरकार कानमा तेल हालेर कर तिर्न उर्दी जारी गर्दैछ । परिणाम भयानक हुनेवाला छ । मजदुर, किसान तथा सर्वहारावर्ग हेर्दैछन् कि किन उनीहरुलाई मात्र फरक परिरहेको छ? पुँजीपति र कम्युनिस्ट पार्टीको नेताहरु मात्र किन निर्धक्क छन्? यिनीहरूलाई फरक नपर्नुको कारण के होला? पक्कै कुनै वैज्ञानिक त्रुटि होला? यिनै कारणहरूको वैज्ञानिक समाधान नै त हो मार्क्सवाद । खै त मार्क्सवादी चरित्र? अब मजदुर, किसान तथा सर्वहारावर्गले वैज्ञानिक मार्क्सवाद लागू गर्न कम्युनिस्ट पार्टीकै विरूद्धमा आन्दोलनको ज्वालामुखी फुटाउनु पर्ने हो त?
सायद यसैको परिणामस्वरुप जनताको पक्षमा सोच्ने एउटा नेताको रूपमा प्रचण्डको राजनीतिक प्रस्ताव आएको छ । बेलैमा सच्चिन गरिएको आग्रहलाई पक्ष-विपक्षमा नहेरिकन समग्र कम्युनिस्ट पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद-लेनिनवाद त्यागेको वा रहिरहने भन्ने विश्वास लिन आवश्यक रहेको छ ।
कुनै समयमा “संविधान सभाको आवश्यकता छैन र २०४७ सालको संविधान नै उत्कृष्ट हो”, अनि गणतन्त्रको विषयमा “बयलगाडा (गोरूगाडा) चढेर अमेरिका पुग्नु र यो देशमा गणतन्त्र आउनु उस्तै हो” भनेर टिप्पणी गर्ने टिप्पणीकार अहिलेको कार्यकारी प्रधानमन्त्रीको पदमा छन् । उनले भनेका यी दुवै विषय संविधान सभा र गणतन्त्र प्रचण्डको नेतृत्वमा स्थापित भए । फेरि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमाथि धावा बोलेर आफ्नो लुकेर रहेको अनुहार उदाङ्गो पारेर एकपटक पहिलेकै लाइनमा उभ्याएका छन् ।
यसको मतलब नेपालमा रेल ल्याउने सपना देखिएन भनेको होइन । यो सपना त प्रत्येक नेपालीले देखे तर नीति दिने नेताको काम हो, जुन गुण यिनमा छैन तर उनले यो तथ्यलाई सत्तामा पुग्ने भर्याङको रूपमा उपयोग गरे । सबैभन्दा आश्चर्यको कुरा त के हो भने यिनले रेल मन्त्रालय समेत गठन गरेनन् । ठाडो भाषामा भन्दा यिनी पुँजीवादलाई काखी च्यापेर हिँड्ने सामन्ती विचारका अनुयायी हुन् ।
संविधान सभाबाट जनताले चाहेको संविधान बन्यो र गणतन्त्र पनि आयो । ओलीको सपना चकनाचुर भयो । कसैगरी यिनी प्रधानमन्त्री नभएको भए अहिले गणतन्त्रविरोधी हुन्थे । यिनले नचाहेको र नदेखेको सपना देशमा स्थापित भयो । यिनी अवसरवादी हुन् । त्यसैले अब यिनले गणतन्त्रको यात्रा गर्ने क्रममा अनगिन्ती मिथ्या झुठा कुराहरूको सपना देखाएर सत्तामा पुग्ने भर्याङ खडा गरे । मौकामा भारतीय नाकाबन्दीमा यिनले आफूलाई राष्ट्रवादी देखाउन सफल भए । यी सबै कुराहरुको भर्याङ चढेर सत्ताको शीर्ष स्थानमा पुग्न सफल भए तर राष्ट्रवादी बन्दा जनतालाई दिएको नारा तथा वाचा सबै कहाँबाट थालनी भयो? कहाँ पुग्यो? र, कहिलेसम्म सकिएला? कमसेकम योजनाको नीति पनि सार्वजनिक गर्न सकेका छैनन् ।
हिटलर भन्थे, “जनतालाई यसरी निचोर कि उनीहरु जिउँदो रहनुलाई नै विकास सम्झिऊन्” । ठ्याक्कै यही नीति देखियो । नागरिकको भान्सासम्म ग्याँसको पाइप पुर्याउनेजस्तो झुठो नारा यिनले प्रयोग गरे । सडक पिचको विकासे नारामा सीमित छन् । करको दायरा यति धेरै बढाइएको छ कि नागरिकलाई सास फेर्न गाह्रो महसुस हुन थालेको छ । अब हुँदा हुँदा सञ्चार माध्यमलाई पनि दुश्मनको आँखाले हेर्न थालेका छन् । राष्ट्र निर्माणको नीति त यिनीसँग छँदै छैन । केवल सत्ता टिकाउन तिक्डम स्वरुप सांसद यताउता गर्ने लगायतका काममा लागेको प्रत्यक्ष देखियो । यस्ता अक्षम नेतृत्वलाई सही दिशा प्रदान गर्ने एक मात्र उपाय हो संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति शासन ।
नेकपाले बेलैमा नेतृत्व परिवर्तन गरेर मजदुर, किसान तथा सर्वहारावर्गको नेतृत्वलाई प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभ्याउँदै, वैज्ञानिक मार्क्सवादी सिद्धान्तलाई क्रमशः लागू गर्दै लानुपर्छ । यस्ता गफाडीको नेतृत्वबाट मजदुर, किसान तथा सर्वहारावर्गको हितको कुनै आशा नराखे पनि हुन्छ ।
केपी ओलीको सानो गुटले त यो कुरा स्विकार्न गाह्रो नै होला तर सिङ्गो कम्युनिस्ट पार्टी र त्यसका समर्थकहरू केपी ओली सँगसँगै सती जाने कुरालाई अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन पढेपछि सायदै स्विकार्लान्?
(लेखक बाम बुद्धिजीवी हुनुहुन्छ ।)