डिसेम्बर ६ तारिखमा भेनेजुयलामा राष्ट्रिय सभा (संसद) को निर्वाचन सम्पन्न भएको छ । यो निर्वाचनले भेनेजुयलाको बोलिभारियन क्रान्तिका ऐतिहासिक उपलब्धिको रक्षा गर्दै तथा भेनेजुयलाका जनताको आगामी ५ वर्षको भविष्य निर्माण गरेको छ । यसका साथै उक्त निर्वाचनले सन् २०२१ देखि २०२७ सम्मका लागि २७७ सदस्यीय जनप्रतिनिधिहरुको छनौट गरेको छ ।
यो निर्वाचनले केही समयदेखि भेनेजुयलामा साम्राज्यवादको अगुवाइको भएको लगातारको हस्तक्षेप तथा बारम्बारको ‘कू’ गर्ने प्रयास तथा आफ्नो कठपुतली गुयदोलाई जबरजस्ती मादुरोको विरुद्ध प्रयोग गर्ने जस्ता कार्यको विपक्षमा आम जनताको मत तथा पक्षधरता स्पष्ट गरेको छ ।
साथै निकोलस माडुरोको सरकारका लागि आफूमाथि पछिल्लो निर्वाचनपछि लगाइएका विविध आरोप गलत सावित गर्ने तथा जनसमर्थन गुमेको भन्ने अड्कलबाजीबाट साख जोगाउनुपर्ने चुनौतीको जनमतबाट सामना गरेको छ । आगामी पाँच वर्ष आर्थिक, राजनीनिक तथा सामाजिक चुनौतीको सामना गर्दै भेनेजुयलालाई कसरी अगाडि बढाउने मुद्दामा समेत जनताको मन जितेर मादुरोको पक्षले जनसमर्थन प्राप्त गरेको छ ।
यो निर्वाचन भेनेजुएलाको विगत क्रान्तिका २१ वर्षमा भएको २५औँ निर्वाचन हो । लोकतन्त्र र समाजवाद त्यहाँको पर्याय बनेको छ । यसअघिको निर्वाचनमा नेसनल एसेम्लीमा विपक्षहरुको बलियो उपस्थितिकै कारण गुयदोलाई उचाल्ने र प्रयोग गर्ने गरिएको थियो । तर अब गुयदोको कार्ड पनि असफल मात्र होइन, समाप्त भएको छ । पछिल्लो राष्ट्रपति निर्वाचनमा पनि मादुरोलाई हराउने ठुलो षडयन्त्र थियो तर व्यापक जनसमर्थनमा उनले चुनाव जिते । त्यसपछि विपक्षीले संयुक्त राज्य अमेरिकाको समर्थनमा राष्ट्रपति मादुरोलाई अपदस्थ गर्ने प्रयास निरन्तर गरिरह्यो । सरकार विरुद्ध विपक्षी दलले आन्दोलन चलाउने प्रयास गर्यो । विभिन्न १७ दल सहभागी भएको निर्वाचन तथा विभिन्न गठबन्दन र मोर्चाका ४ राष्ट्रपतिका उम्मेदवारलाई पराजित गर्दै ६७% मतबाट राष्ट्रपति बनेका जननिर्वाचित निकोलस मादुरो हाल राष्ट्रपति रहेका छन् ।
यसपटक भएको संसदीय निर्वाचनमा १०४ दलहरुले भाग लिएका थिए । संसदका करिब १४,००० उम्मेदवार रहेका थिए । केही वामपन्थीहरु र धेरै विपक्षीहरुका विभिन्न निर्वाचन मोर्चा रहेपनि मादुरोको नेतृत्वमा रहेको एकीकृत समाजवादी पार्टी, भेनेजुयलाको मोर्चाको पक्षमा व्यापक जनसमर्थन देखिएको छ ।
कोरोना महामारीका कारण स्वाथ्य सुरक्षा अपनाउनुपर्ने तथा सम्पूर्ण निर्वाचन प्रकृयामा चुनौतीका बाबजुद निर्वाचन पारदर्शी, निष्पक्ष र सफल रुपमा सम्पन्न भएको छ । करिब २ करोड मतदाता रहेको यसपालिको निर्वाचनमा करिब ६२ लाख मतदाताले मत दिए । करिब ३०० अन्तर्राष्ट्रिय तथा हजारौँ राष्ट्रिय निर्वाचन पर्यवेक्षकले यसपालिको निर्वाचन पर्यवेक्षण गरेका छन् । करिब ३४ देशका पर्यवेक्षक उपस्थित रहेको निर्वाचन आयोजको बताएको छ ।
प्राप्त परिणामअनुसार मादुरोको एकीकृत समाजवादी पार्टी र मोर्चाले करिब ६७ प्रतिशत स्थानमा विजय प्राप्त गरेको छ । विपक्षीहरु मुख्य गरी अति दक्षिणपन्थी र केही वामपन्थी तथा कम्युनिस्टहरु समेतले करिब ३० प्रतिशत स्थानमा जीत हासिल गरेका छन् । यसकारण निकोलस मादुरोको सरकार र पार्टीले अब विगत ७ वर्षदेखि निरन्तर रुपमा निर्वाचनमा धाँधली गरेको तथा अन्य विभिन्न आरोप लगाउने र बाह्य शक्तिको आडमा विपक्षीहरुले अनेक षडयन्त्र गर्ने खेलको क्रमभंगता भएको छ । साम्राज्यवादको सत्ता परिवर्तनका खेल गर्ने र हत्या प्रयास समेत गरे पनि यो सरकार व्यापक जनसमर्थनका कारण टिक्नु विश्वकै लागि एक रोचक तथा साम्राज्यवादका लागि पटक-पटकको हमलामा असफलताको विषय भएको छ । त्यसैले पनि साम्राज्यवाद विरोधी मोर्चाको केन्द्र तथा एक्काइसौं शताब्दीको समाजवादी क्रान्तिको नमूना भेनेजुयलामा अब के होला ? नेपालका वामपन्थीहरु मात्र नभई विश्वकै समाजवादीहरु निकै चासो दिएर पर्खँदै छन् । निर्वाचन परिणामलाई विपक्ष र केही निर्वाचन वहिष्कार गर्ने समेतले स्वीकारेका छन् ।
सिमोन वोलिभार र ह्युगो चाभेजको जन्मभूमि भेनेजुयला
दक्षिण अमेरिकी स्वतन्त्रता आन्दोलनका नायक सिमोन वोलिभारको जन्मभूमिका रुपमा चिनिने भेनेजुयला क्षेत्रफलको हिसाबमा नेपाल भन्दा धेरै ठूलो रहेता पनि जनसंख्या लगभग नेपालकै जति (३ करोडभन्दा अलि बढि) भएको ब्राजिल र कोलम्बियाको छिमेकी देश हो । अत्यन्तै सुन्दर र प्रकृतिको बरदान मानिने विश्वकै ठुलो तेल र ग्याँसका साथै सूनको भण्डार रहेको देशमा जन्मिएका ह्युगो राफेल चाभेज फ्रियाज पछिल्लो समय एक्काइसौँ शताब्दीको समाजवादी क्रान्ति सम्पन्न गर्ने नेताका रुपमा चिनिए ।
विश्वभर समाजवादी, अन्तर्राष्ट्रवादी, राजनीतिज्ञ र क्रान्तिकारीको रुपमा चिनिएका उनले सन् १९९९ देखि २०१३ सम्म भेनेजुयलाका राष्ट्रपतिको रुपमा एक्काइसौँ शताब्दीका साम्राज्यवादविरोधी आन्दोलन र एक्काइसौँ शताब्दीमा समाजवादी क्रान्तिको नेतृत्व गरे । साम्राज्यवादीहरुको व्यापक घेराबन्दी, चरम नाकाबन्दी र लगातार हस्तक्षेपको डटेर सामना गर्दै चाभेजले व्यापक रुपमा कम्युनहरु स्थापना गर्ने, रोगजारीको सुनिश्चित गर्ने, तेल खानी र कलकारखानाको राष्ट्रियकरण गर्ने तथा सेना लगायत राज्यका संयन्त्रको समेत पुनःसंरचना गर्ने नमूना कार्य गरेका थिए । त्यही वोलिभारियन क्रान्तिकै जगमा हाल भेनेजुयलामा साम्राज्यवादविरोधी निकोलस मादुरोको समाजवादउन्मुख सरकार निर्मम हस्तक्षेप र चरम नाकाबन्दीको पनि डटेर सामना गर्दैछ । डिसेम्बर ६ तारिखमा भएको निर्वाचनले यी ऐतिहासिक उपलब्धिको रक्षा गर्ने तथा भेनेजुयलाका जनताको ५ वर्षको भविष्य निर्माण गरेको छ ।
वोलिभारियन क्रान्ति र अन्तर्राष्ट्रिय समाजवादी आन्दोलन
सन् १९९९मा सरकारको नेतत्व गरेदेखि नै चाभेजले विश्वकै उदाहरणीय क्रान्तिको रुपमा बोलिभारियन क्रान्तिलाई अघि बढाए । सन् २००३ मा वोलिभारियन मिसन मार्फत ल्याएका सामाजिक न्याय र कल्याण, गरिबी निवारण, समाजवादी व्यावहारिक शिक्षा, सर्वसुलभ स्वास्थ्य र सैनिक सुधार लगायतका करिब ३० वटा महत्त्वपूर्ण कार्यक्रमहरुलाई कार्यान्वयन गरेरै छाडे ।
चाभेजले भेनेजुयलामा मात्र होइन, विश्वमै समाजवादी आन्दोलनलाई मजबुत बनाउन भूमिका खेलेका थिए । उनले पुँजीवादको मुख्य हतियार विश्व व्यापार संगठनविरुद्ध क्युवा, बोलिभिया, ब्राजिल, भेनेजुयला, निकारागुवा, होण्डुरस सहभागी छुट्टै व्यापार सञ्जाल स्थापना गरी सञ्चालनमा ल्याए । उनले पेट्रो क्यारिब र मर्कोसुर व्यापार सञ्जालमार्फत क्षेत्रीय व्यापार अघि बढाए । साम्राज्यवादसँग पौँठेजोरी खेल्दै उनले साम्राज्यवादका सबैखाले हस्तक्षेपविरुद्ध लडे । उनले क्युवासँग मिलेर समाजवादी अन्तर्राष्ट्रिय आन्दोलनलाई अगाडि बढाउने क्रममा थुप्रै अफ्रिकी आन्दोलनका साथै साम्राज्यवादविरोधी मोर्चा समेत निर्माण गरे जसबाट हैटी, इरान, सिरिया र रसियासँग समेत राम्रो सम्बन्ध कायम गरे । अमेरिकी महादेशीय जनताका लागि बोलिभारियन सञ्जाल, जनताको व्यापार सम्झौता, अल्बा, एक अन्तरसरकारी क्षेत्रीय संगठनको स्थापना गरी क्षेत्रीय सहयोग बढाए । अल्बालाई समाजवाद पक्षधर सरकारहरुको दक्षिण अमेरिकी सञ्जाल पनि भनेर चिनिन्छ । उनी दक्षिण अमेरिकी समाजवादी तरङ्गको आधार मानिन्छन् । उनी सत्तामा आएपछि नै अन्य दक्षिण अमेरिकी देशहरु ब्राजिल, बोलिभिया, अर्जेन्टिना, इक्वेडर आदि देशका वामपन्थीहरुको सरकार बन्यो । यसैको जगमा अल्बाका समेत कुनै समय १३ राष्ट्र सहभागी बने । साम्राज्यवादसँग डटेर सामना गरेका उनी विश्व बैंकलाई साम्राज्यवादको दलाल संगठन मान्दथे । उनले विश्व बैंकको विरोध गरे । अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकबाट भेनेजुयलालाई मुक्ति दिलाए । विश्व बैंकको अरबौँ ऋण तिरेर देशलाई ऋणमुक्त बनाए । साथै लण्डनमा रहेको भेनेजुयलाको १६० टन सून फिर्ता ल्याउने लँडाइमा निरन्तर लागेर विश्व पुँजीवाद र साम्राज्यवाद विरुद्ध संघर्ष गरे । उनले वैकल्पिक सञ्चार माध्यमको रुपमा टेलिसुरलाई स्थापना गरी स्थापित गरे, जुन आज पनि जनमुखी सञ्चार माध्यमको रुपमा चिनिन्छ ।
भेनेजुयलाबारे भ्रम र यथार्थ
भेनेजुयलावारे अनेक भ्रम र षडयन्त्र भइरहेको छ । त्यहाँको समाजवादी सरकार ढाल्ने साम्राज्यवादी रणनीतिका कारण यस्ता झुटको प्रचारवाजि छ । यसबारे बुझ्नुपर्ने पहिलो सत्य पुजिँवादी टिभि, रेडीयो, पत्रपत्रिका, सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत त्यहाँको समग्र अवस्थाको बारेमा आएका धेरैजसो समाचारमा कुनै सत्यता छैन र यी सूचनाहरु सुनियोजित रुपमा भ्रम फैलाउन तथा त्यहाँको सरकारको बदनाम गर्ने उद्देश्यले प्रेसित भएका छन् । भेनेजुयलामा चरम गरिबी, भोकमरी, अशान्ति, गृहयुद्ध चलिरहेको छ या दिनानुनिन विपक्षीको प्रदर्शन छ जस्ता अफवाह हुन् । चाभेज आएदेखि नै भेनेजुलया दिनानुदिन कमजोर र गरिब बन्दै गएको छ र अहिले मादुरोले देश सम्हान सकेका छैनन् भन्नु सतही र बाह्य बुझाइ मात्र होइन, साम्राज्यवादीहरुको समाजवाद विरुद्धको सुनियोजित समाचार हुन् ।
दोस्रो भ्रम भेनेजुयलामा समाजवादी अधिनायकवादी शासन व्यवस्था छ भनी व्याख्या गर्नु हो । यो कम्युनिस्ट विरोधी, पुँजीवादी तथा साम्राज्यवादीहरुको झुठको खेती हो । त्यहाँ सम्पत्तिको राज्यकरण भएको छैन र सर्वहारा वर्गको राज्यसत्ता पनि छैन । बरु अर्थव्यवस्था मिश्रित छ र निजी, सरकारी तथा सामूहिक स्वामित्वको व्यवस्था छ । अझ भन्ने हो भने देशको धेरैजसो व्यापार र उद्योगमा निजी लगानी छ, जसलाई पुँजीवादी व्यवस्थाको विशेषता मानिन्छ । राजनीतिमा पनि २१औँ शताब्दीको समाजवादी विचार अंगालेको छ, जुन चीन र नेपालका कम्युनिस्टहरुको विचारसँग मेल खान्छ । भेनेजुयलाबारे पुँजीवादीहरु सञ्चार माध्यमहरु पहिलो र दोस्रो समाचारलाई बारम्बार जोड दिन्छन् र षडयन्त्रका तानाबाना बुन्न व्यस्त छन् । किनकी यी दुईबाट भ्रमबाट उनीहरु भेनेजुयलामा समाजवादी शासन व्यवस्था छ र त्यो असफल छ भन्ने प्रमाणित गर्न चाहन्छन् । यो समाजवादी व्यवस्था र विचारलाई कमजोर बनाउने षडयन्त्रकै उपज हो ।
भेनेजुयलामा समस्या रहेको र त्यहाँ अहिले मुद्रास्फिति भएको कुरा सत्य हो । समस्या जहाँ पनि हुन सक्छन् । पुँजीवादी देशमा पनि छन् । तर भेनेजुयलाको समस्याको प्रमुख जड अपराधिक डलर राजनीति र साम्राज्यवादको चरम नाकाबन्दी हो । यसका बाबजुत पनि भेनेजुयलाको लँडाइ सह्रानीय छ । जनजीवन सामान्य छ र शान्ति सुरक्षा कायम नै छ । यहाँ बुझ्नुपर्ने कुरा मादुरो निर्वाचित राष्ट्रपति हुन् । उनी ६७% जनताको मतदानबाट राष्ट्रपति बनेका हुन् । निर्वाचनमा जम्मा मतदाताको लगभग आधा जनसंख्या सामेल थियो र उनी बाहेक पनि विभिन्न दलका उम्मेदवार थिए । विपक्षीहरु पनि निर्वाचन बहिस्कार गर्ने र नगर्नेहरुमा विभाजित थियो र धेरैले भाग लिएका थिए । त्यस्तै त्यहाँ एकदलीय शासन छैन । चरम दक्षिणपन्थ तथा खुल्ला रुपमा अमेरिकापरस्त दलहरु समेत संसदमै छन् । वामन्थहरु पनि एकजुट छैनन् । हालका उपराष्ट्रपतिसमेत मादुरोको दलकी होइनन् । अझ चाखलाग्दो कुरा त्यहाँको कम्युनिस्ट पार्टी मादुरोको सरकार वा निर्वाचनको मोर्चामा समेत छैन । भेनेजुयलामा त सञ्चार माध्यममा पनि विपक्षीकै बोलवाला छ । अर्को भ्रम के भने भेनेजुयलामा बहुसंख्यक जनता मादुरोको विपक्षीमा छन् । त्यहाँ दिनानुदिन विपक्षीको विरोध प्रदर्शन तथा सरकारद्वारा भएको दमनको चर्चा गरिन्छ ।
तर यथार्थ फरक छ । विपक्षीको प्रदर्शनमा जनसमर्थन छैन । ग्वारिम्वाज भनिने उक्त सडक अवरोधलाई जति उछाले पनि त्यसले जनसमर्थन पाउन सकेन । केही व्यापारी तथा धेरै बाह्य देशबाट सञ्चालित व्यक्तिहरु यसको पछि छन् । सरकारको जनसमर्थन सन् १९९९ को समाजवादी क्रान्तिपछि घटेको हुनसक्छ । तर अझै पनि त्यो शक्ति कमजोर भएको छैन । भर्खरै राष्ट्रपतिको पदभार ग्रहणको बेला होस् वा विपक्षी नेताले स्वघोषणा गरेको दिन नै होस् मादुरोको पक्षमा सडकमा पचासौँ जनताको भिड थियो ।
चुनौती तथा आर्थिक समस्याको कारण
भेनेजुयलाको प्रमख आर्थिक स्रोत तेल व्यापार नै हो । चाभेजको नेतृत्वमा त्यहाँका तेल कम्पनीको राष्ट्रियकरण भयो र अमेरिकाको एकल प्रभुत्वलाई तोड्ने प्रयास भयो । तेलको मूल्यबृद्धि र व्यापारमा विविधताका कारण चाभेजको कार्यकालभर भेनेजुयलाले आर्थिक रुपमा फड्को मार्यो । तर लगभग ४०% तेल खरिद गर्ने अमेरिकाले भेनेजुयलाका अमेरिकास्थित तेल कम्मनीमाथि नै धावा बोल्यो । चरम नाकाबन्दी, तेलको मूल्यमा गिरावट, तेल रिफाइनरी क्षमताको कमी तथा भएका कम्पनीमा साम्राज्यवादको हस्तक्षेपका कारण भेनेजुयलाको पछिल्लो आर्थिक अवस्थामा धक्का पुग्यो । देश त्यति विकसित नभए पनि त्यहाँ कृषि उत्पादनमा धेरै जनसंख्या संलग्न छैन । कृषि उत्पादन नहुँदा व्यापारमा भर पर्नु ठुलो जोखिम हो । नाकाबन्दी कारण व्यापार चक्रमा समस्या देखिएको छ ।चाभेजको मृत्युपछि केही समय राजनीतिक संक्रमणका साथै अर्थिक संक्रमणकालीन अवस्था बन्न पुग्यो, जतिबेला चारैतिरबाट मादुरोको सरकारमाथि हस्तक्षेप भयो । नाकाबन्दी बढ्यो । डलरको खेल, व्यापारीबाट कालोबजारी तथा अन्य संकट निम्त्याइयो । त्यसकारण समस्या नभएका होइनन् तर त्यसको गलत र भ्रमपूर्ण रुपमा प्रचार गरिएको छ । तर पनि अझै ठुलो संख्याले आफ्नो सम्प्रभुता, स्वाभिमान र विचारका लागि संघर्ष गर्न मात्र होइन, आफ्नो जीवन बलिदान गर्न पनि तयार छन् । साम्राज्यवादसँगको लँडाइ लड्न तयार छन् । भेनेजुयला साम्राज्यवादविरोधी आन्दोलनको केन्द्र बनेको छ । अझै पनि सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य र खाद्य सम्प्रभुताको क्षेत्रमा भेनेजुयलामा अनुकरणीय प्रयास छन् । त्यहँको कम्युन, नागरिकको परिचय पत्र, खाद्य सुरक्षा कार्यक्रम (क्याल्प) र सेनाको क्रान्तिकारीकरण थुप्रै समाजवादी कार्यक्रमका उदाहरणीय र अनुकरणीय कार्य हुन् । तर यसको निरन्तरता आवश्यक छ ।
अन्त्यमा, क्रान्तिको जग, व्यापक जनसमर्थन तथा कार्यकर्तामा आधारित पार्टी भएको कारण नै बारम्बारको ‘कू’ र सत्ता परिवर्तनको साम्राजयवादी श्रृंखलालाई भेनेजुयलाले परास्त गर्न सफल भएको छ । तेलखानी राष्ट्रियकरण गर्ने, न्यायपालिका र संसदको शक्तिमा सुधार गर्ने तथा खुल्ला बजार अर्थतन्त्र, पुँजीवादी हस्तक्षेप र नवउदारवादको विपक्षीमा तथा वैकल्पिक विकास नीतिको वकालतमा समाजवादी आय वितरण, समान हैसियतको वैदेशिक नीति र लोक कल्याणको पक्षमा व्यापक सुधारमार्फत बोलिभारियन क्रान्ति सम्पन्न गरेपछि भेनेजुयलाको नामले साम्राजयवादीहरुको होश-हवास उडेको छ । साम्राज्यवाद र पुँजीवादीहरुको सातो जानेगरी चाभेजले सुरु गरेको आमूल परिवर्तनले उनीहरुलाई त्रसित गरिरहेको छ । उनीहरु भेनेजुयलाको समाजवादी सरकार ढाल्न निरन्तर षडयन्त्रमा छन् । तर भेनेजुयला समाजवादी आन्दोलनको एक आशा हो ।
भेनेजुयलामाथि भएको अमानवीय चरम नाकाबन्दी तथा सार्वभौम राष्ट्रमाथिको हमला कुनै पनि स्वतन्त्र नागरिकलाई स्वीकार हुन सक्दैन । त्यसैले पनि यो निर्वाचनमा सार्वभौम जनाताको मत तथा समाजवादी आन्दोलनको आशाको रुपमा रहेका भेनेजुयलाको एकीकृत समाजवादीको विजय भएको छ । मादुरो तथा उनको पार्टीलाई जितका लागि वधाई शुभकामना ।
(लेखक अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य हुनुहुन्छ।)