आज डिसेम्बर २६, कमरेड माओत्सेतुङको जन्मदिन । चिनियाँ आकाशमा एक लाल सूर्य उदाएको दिन । त्यसैले सर्वप्रथमत: यो दिनमा म यी लाल सूर्यको हार्दिक स्मरण र दर्शन गरी स्वागत, श्रद्धा र सलामी गर्न चाहन्छु ।
द्वित्तीय, उहाँले गर्नुभएका चिनियाँ नयाँ जनवादी क्रान्ति र महान् सर्वहारा सांस्कृतिक क्रान्ति लगायतका महान् क्रान्तिहरुको मूल्य र महत्ता एवं औचित्य र आवश्यकताको मर्मबोध गर्न चाहन्छु ।
तृतीय: माओले आफ्नो देश, जनता, क्रान्ति र मुक्तिका अतिरिक्त विश्व सर्वहारा वर्गका लागि विश्व पुँजीवादका विरुद्ध विश्व क्रान्ति र विश्वका उत्पीडित राष्ट्रहरुका लागि विश्व साम्राज्यवादका विरुद्ध विश्व मुक्तिका निम्ति गर्नुभएका दुःख-कष्ट, युद्ध-संघर्ष, त्याग-तपस्या र बलिदान-योगदानको मुक्तकण्ठले हार्दिक सह्राना गर्न चाहन्छु ।
चतुर्थ, उहाँका केही रचनाहरु, महावाणीहरु र जीवनदर्शनहरु जो अहिलेको हाम्रो पार्टी र आन्दोलनका सन्दर्भमा सान्दर्भिक र मननीय छन्, तिनलाई याद गर्न चाहन्छु । ती हुन् – हुनान किसान आन्दोलनको रिपोर्ट, चिनियाँ समाजमा वर्गहरुको विश्लेषण, नयाँ जनवादबारे, दीर्घकालीन जनयुद्धबारे, अन्तर्विरोधबारे, व्यवहारबारे, जनताको सेवा गर, सत्यानास भयो त के भो? धेरै राम्रो भयो, तीन खराबी र पाँच खराबीबारे, अनुशासनका तीन नियम र ध्यान दिनुपर्ने आठ कुराहरु, तीन गर-तीन नगर, बेस्सरी समात र सादा जीवन उच्च विचार तथा कडा संघर्ष र कठोर परिश्रमको जीवनदर्शन आदि । यसैगरी गृहयुद्ध, जापानी साम्राज्यवाद विरुद्धको युद्ध, त्यस क्रममा च्याङ काइसेकसँगको संयुक्त मोर्चा, अफिम युद्ध, लङ मार्च र महान् सर्वहारा सांस्कृतिक क्रान्ति र यी सबैको क्रममा भएका रस्साकस्सी, दुःख-कष्ट र क्षति-उपलब्धिहरुको समेत स्मरण र अनुभूतीकरण गर्न चाहन्छु ।
पञ्चम, माओको यो सर्वाधिक महत्त्वको भनाइ कि “विचारधारा र राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्दछ । यदि यो सही छ भने नभएका सबै कुराहरु प्राप्त हुन्छन् तर जब यो गलत छ भने भएजतिका सबै कुराहरु गुम्छन्” भन्ने महान्वाणीको सत्यता, गहनता र महत्तालाई अबलम्बन र कार्यान्वयन गर्नुपर्ने अनि यसको पुष्टि नेपाली माओवादी आन्दोलनका क्रममा पनि भएकोलाई स्मरण गर्दै गराउँदै यसमा अन्तर्निहित सार, औचित्य र आवश्यकताको सम्बन्धित सबैले बोध गर्न-गराउन सकियोस् भन्न चाहन्छु ।
षष्टम, नेतृत्व अर्थात् एउटा मात्र शीर्ष व्यक्तित्व सही वा गलत हुनुले पनि कति धेरै मात्रात्मक र गुणात्मक अन्तर पर्दो रहेछ; सिङ्गो पार्टी, क्रान्ति, देश, जनता (वर्ग) र विश्वलाई भन्ने कुरा नेपालको माओवादी नेतृत्वका सन्दर्भमा लागू भएको कुरा समेत सम्बन्धित सबैलाई हृदयङ्गम होस् भन्न चाहन्छु ।
सप्तम, माओले मार्क्सवादका तीन संघटक अङ्गः दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा गर्नु भएका वैचारिक र व्यावहारिक, राजनीतिक र फौजी, आर्थिक र सांस्कृतिक, सांगठनिक र भावनात्मक, विनिर्माणात्मक र सिर्जनात्मक अर्थात् समग्रमा शोषित र उत्पीडित जनता र राष्ट्रहरुको क्रान्ति र मुक्ति एवं प्रगति र उन्नतिका क्षेत्रमा गर्नुभएका योगदानहरुको स्वच्छ, सत्य र निष्पक्ष मूल्याङ्कन होस् र माओवादको रुपमा संश्लेषण होस् । अनि, तिनलाई विश्वका कम्युनिस्ट क्रान्तिकारीहरुबाट पार्टी र क्रान्तिको सन्दर्भमा मात्र होइन, जीवन र जगतका सन्दर्भमा समेत अबलम्बन र कार्यान्वयन गरियोस् भन्न चाहन्छु ।
अष्ठम, माओको नाम र सिद्धान्त माओवाद/विचारलाई भजाएर भ्रष्टाचार गरी भुँडी भर्ने, भजन गरेर भोजन गर्ने, विक्री गरेर बार्गेनिङ गर्ने, बहानाबाजी गरेर बदनाम गर्ने काम महाआपराधिक, महाकृतघ्नी, महाजाली, महादुष्ट र महानिकृष्ट काम हुने हुँदा यसो नगर्न नेपाली माओवादी जनयुद्धको थालनीको निर्णयकर्ता एक नेताका हैसियतले सम्बन्धित सबैलाई हार्दिक अनुरोधसहित सुझाव र दबाब दिँदै आवश्यक परे खबरदारी र हस्तक्षेप समेत गर्ने प्रतिबद्धता र कटीबद्धता पनि जाहेर गर्न चाहन्छु ।
हार्दिक श्रद्धाञ्जली महान् नेता कमरेड माओ !
(लेखक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य हुनुहुन्छ ।)