माओ, Maotsetung, Mao Zedong, mao tse tung, क. माओत्सेतुङ
 

आज २६ डिसेम्बर माओ जयन्ती । चीनको जनवादी क्रान्ति सफल भएको वर्ष सन १९४९ सम्म चीनको अर्थव्यवस्था क्रयशक्तिको कमी तथा मुद्रास्फीतिको मारले थिलथिलो थियो । चीनमा सन् १९३७ मा १०० युआनमा २ गाई किन्न सकिन्थ्यो । सन् १९३९ मा त्यही पैसाले १ सुँगुर, १९४१ मा १ बोरा पीठो, १९४३ मा १ कुखुरा, १९४५ मा २ अन्डा, १९४७ मा १ डल्लो कोइला र १९४९ मा त्यही १०० युआनले १ सिट ट्वाइलेट पेपर मात्र किन्न सकिन्थ्यो ।

माओ त्से-तुङको नेतृत्वमा चीन सरकारले आर्थिक उन्नतिका साथै सन् १९५२ सम्ममा मुद्रास्फीतिलाई पूर्ण नियन्त्रणमा ल्यायो । अचम्म त के भने झन्डै माओ बाँचुन्जेल २३ वर्ष सन् १९५२ देखि १९७५ सम्म चीनमा मुद्रास्फीति नै थिएन । “नियन्त्रणमा राजनीति (पलिटिक्स इन कमान्ड)” रहेकाले चीनमा माओ नेतृत्वको समयमा आर्थिक छलाङहरू पनि लागे । माओले निर्माण गरेको आर्थिक उन्नतिको जगमा आजको चीनको अर्थव्यवस्था जगमगाइरहेको छ । चीन तथा विश्वले आज महान् माओको १२८ औँ जन्मजयन्ती मनाइरहेको छ ।

Bharat Pokharel, भरत पोखरेल
लेखक

बिडम्बना हाम्रो नेपालमा झन्डै दुई तिहाइको नेकपाको सरकार तीन वर्ष नपुग्दै संसद विघटनसँगै सोत्तर भएको छ । पार्टी फुटाउँदै फटिचरहरू फटफटाउन थालेका छन् । अपवित्र गठबन्धन उदाङ्गिएको छ । सरकार सत्ताको चरम दुरुपयोग गरिरहेको छ । सडक नाटक मञ्चन सुरु भएको छ । संसद विघटनको निर्णयले सत्ताको सिंहासनमा बिराजमान चार पूर्वप्रधानमन्त्रीहरू सडकमा “हामी यहाँ छौँ” भन्दै रोदनमा छन् ।

संसदीय व्यवस्था नेपालमा फिट भएन । नेपालमा राजनीतिक अस्थिरतासँगै आर्थिक असमानता र अराजकता बढिरहेको छ । मुद्रास्फीतिको मार त नेपालीहरूले वर्षौँदेखि खप्तै आएका छन् । आजभन्दा ७७ वर्ष अगाडि अर्थात् २००० साल मङ्सिर १ गते त्यस बखतका केही वस्तुहरूको बजार भाउ हेरौँ: चामल मार्सी पाथीको १ रुपैयाँ, गेडा दाल ६ मानाको १ रुपैयाँ, आलु धार्नीको १० पैसा, घिउ पाउको २५ पैसा, चिनी पाउको १० पैसा, खसीको मासु पाउको १० पैसा, अन्डा गोटाको ४ पैसा, दूध मानाको १० पैसा, सुन तोलाको ६० रुपैयाँ, चाँदी तोलाको ६० पैसा । आज यी वस्तुहरूको बजार भाउ दाँजौ र मुद्रास्फीति नापौँ । अब दोषीहरूलाई दण्ड दिने बेला भएन र ?

(लेखक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ ।)