बितेका वर्षका अनेक बोझहरुको भारी नयाँ वर्षले पनि बोकेर हिँड्नुपर्ने बाध्यता सिर्जना भएको छ । कोरोना महामारीको महापीर थपिँदो छ । अर्थतन्त्र डामाडोल छ । यसले कति परसम्म पिर्ने हो यकिन छैन । देशको राजनीतिले देश र जनताको सेवा होइन, तिनको दोहन गरेर हामी नेपालीहरुलाई जिल्लाराम र खिन्न पारिहरेको छ । मानिसहरुमा यसप्रति ठूलो वितृष्णा र ब्यामोह छ । तर यसबाट निस्कने बोटोको पनि खोजी हुँदो छ । हुनु नै पर्छ ।
यस परिप्रेक्ष्यमा जर्जियन क्यालेण्डर अनुसार अन्तर्राष्ट्रिय नयाँ वर्ष २०२१ सुरु हुँदैछ । नव वर्ष मनाउने र यसको स्वागत गर्ने पनि आफ्ना आफ्नै तरिकाहरु छन् । कतिपय मानिसले भन्छन्ः प्रत्येक पल उत्सवका रुपमा बाँच्नु नै नव वर्षको स्वागत हो । यस विचारअनुसार कुनै पनि उत्सवले मानिसभित्रको प्रसन्नतालाई प्रकट गरिदिन्छ । अनि नव वर्षोत्सवले आ-आफ्नो धर्तीको सुगन्धसँग मानिसहरुलाई जोडिदिन्छ । वास्तवमा सत्यनिष्ठ मानिसको हृदय यति उदार हुन्छ कि ‘वसुधैव कुटुम्बकम’(अर्थात् विश्वलाई नै आफ्नो घर ठान्ने मान्यता) लाई आत्मसात गर्दै आफ्नो स्थानीय पात्रोका साथसाथै विश्वपात्रोसँग हरेकले आफूलाई कुनै द्विविधाबिना सम्बन्धित तुल्याउन र जोड्न पुग्दछन् । बितेको वर्षको विदाई र नव वर्षको पदचापको अमूर्तनताले एउटा यस्तो मौन सञ्जाल खडा गरिदिन्छ, त्यसले मानिसको सोचको सिर्जनालाई अझ बढी पुष्पित पल्लवित तुल्याउन मद्दत गर्दछ । फलतः मानिसका स्वरहरु आत्मझंकृतिको यो समयको संरचनामै निर्माण हुन थाल्दछन् र यसरी नयाँ अनुभूति गराउँदछन् ।
वास्तवमा बाहिरका सारा दृष्यहरुभित्रको अँध्यारोमा सूर्य समान जलिरहेका हुन्छन् । पटक-पटक हामी विगत समय या वर्षलाई सानो या सरल किसिमले बुझ्ने गर्दछौँ । तर पछिबाट थाहा हुन्छ कि त्यो हाम्रो अज्ञानता थियो । बितेको वर्ष पनि आफ्नो अस्तित्वमा सम्पूर्ण नै थियो, सम्पूर्णनै हुन्छ र त्यसलाई त्यही समुच्चयमा नै बुझ्नु पर्दछ । नव वर्ष एक किसिमको सुन्दर फूल हो जसमा भविष्यको बीज देख्न सकिन्छ । हाम्रो समय अनुहारको ज्योति, आँखाको आभा रेखाचित्रहरुको सरलताको प्रकाशलाई नव वर्षको द्वारमा देखिन्छ, जतिबेला मनिसले त्यसलाई हेर्न चाहन्छ र सम्भावना पनि हुन्छ । समयको सिँढीको रेखाचित्र वास्तवमा सरलतामा जटीलताको अर्को रुप हो । अगाडिको जटिलता या संश्लिष्टतालाई बुझ्नका लागि सम कालको गठनको परिप्रेक्ष्यलाई बुझ्नुपर्ने हुन्छ । मानुषिक दीप्तिको तटबन्ध भएर समय या परम्पराको नदी नव वर्षका रुपमा अबिराम गतिले बगेर गइरहेको हुन्छ । बस्, गोधुलीको सघन छाँयाबाट बढ्दै गएको अन्धकार तथा बितेको समयको गति पथलाई पहिचान गर्नु आवश्यक हुन्छ । त्यसैले, अवश्य पनि विश्वका नयाँ शताब्दीका चुनौतीहरुको सामना गर्न सकिन्छ । किनभने मानिसप्रति प्रवाहमा पनि त्यही खडा भएर रहन सक्तछ, पुनर्परीक्षण गर्न सक्तछ र भविष्यको भाव भंङ्गिमालाई रुपाकार दिन सक्तछ । यो खडा रहने र हिँड्ने बिचको द्वन्द हो । यो द्वन्द्व अविरल चलिरहन्छ । अर्थात यो द्वन्द्वात्मक छ ।
नयाँ वर्ष मानिसको कलास्मृतिलाई उत्कीर्ण गर्ने साधन पनि हो । जडता तोड्नु नै नयाँ समयको अर्को नाम पनि हो । जसमा दमित, निश्प्रेषित, अत्याचारित, हाहाकार भरिएका आर्तनाद र बन्दी स्थितिलाई चुनौतीहरु दिनसक्ने शक्ति हुन्छ, त्यो नै सही अर्थमा नव वर्ष हो । नव वर्षको ब्यक्तिनिष्ठ सामाजिकता भविष्य हो – व्यक्ति र देशको भविष्य । समाज र विश्वको भविष्य । वास्तवमा आजको समयका यिनै तानाबानाबाट हाम्रो (मानिसको) जीवन निर्मित छ । एक-एक क्षण महत्त्वपूर्ण छ । प्रत्येक क्षण हाम्रो गतिको क्षण होस्, स्थितिको क्षण होस् । यसैले हामी मानिसलाई समूहवाची बनाउँदछ । सबैसँग हामीलाई जोडिदिन्छ । आजको विश्वको इतिहास सबै ‘हामी’ बन्नका लागि हो, हुनु पर्दछ ।
वास्तवमा प्रत्येक पल पल उत्सव जस्तै जीवन बाँच्नु नै नव वर्षको स्वागत हो । हुन पनि उत्सव साँच्चै उत्सव हो भने त्यसले हामीलाई भित्रैदेखि प्रफुल्लित बनाउँदछ, जगाउँदछ । नव वर्षले पनि हामीलाई आफ्नो धरतीको सुगन्धसँग जोडिदिन्छ । हाम्रो हृदय यत्तिको उदार छ कि विश्वको पात्रोलाई हामी आफ्नो माटोसँग सम्बन्धन गर्दछौँ । कोही पराई छैन किनकि हामी पृथ्वीलाई नै घर मान्दछौँ । बितेको वर्षको विदाई तथा नव वर्षको पदचापको अमूर्तनताले एउटा यस्तो सुनसान मौनता खडा गरिदिन्छ, त्यसमा हाम्रो सोचका सिर्जना पुष्पित पल्लवित भएर उठ्छ । त्यसले हाम्रो स्वरको आत्मालाई झंकृत तुल्याइदिन्छ ।
आजको विश्वमा आएका सूचनाहरुको महाबाढीले निश्चय नै हामी कतै हराएजस्तै भएका छौँ । कथित खुल्लापनाको स्वागतमा कतिपय बेला वेभसाइटहरुको स्तरहीन भाषा, एक अर्काप्रति हिलो छयापाछयाप, राजनीतिक समुदायका अन्य वर्गको तुलनामा महाबलिष्ठ बन्दै जानु, सञ्चार माध्यमहरु प्रायः कला, साहित्यरहित बन्दै जानु, विपन्नप्रति पनि असहाय स्थिति आदि हाम्रो समकालीन कुरा बन्दै गइरहेको प्रतीत हुन्छ । आडम्बरी मुखुन्डोको बढ्दो महत्त्वले मानिसलाई दोहोरो जीवन जिउन प्रेरित गरिरहेको देखिन्छ । यसले व्यक्ति स्वयम्लाई विभाजित गरिदिएको छ । यसमा दृष्टि हराउँदछ र त्यहाँ सपना, जीवन, वेदना, मृत्यु सबै पराई हुन थाल्दछन् । अर्थात् समय पनि कपुर उडेजस्तै चिप्लिन्छ गत-विगत वर्षका रुपमा ।
विश्वमा आज पनि समाजका अत्यधिक मानिसहरुको तल्लो वर्गका विभिन्न तप्काहरुमा विषादको छाया परेको छ । जसले असीम दुःख, निस्तरंगा सागरजस्तै जुन कति गहिरो, कति अन्धकार, कति पर्वत गुफा आदिलाई आफ्नो पेटमा समेटेको छ, बाहिर त केवल समयको स्वप्न आाभाष मात्र देखिने गर्दछ । नव वर्षमा आफूलाई ल्याउनु मर्म, आशा, भरोसा तथा सही प्रकाश दिनु हो । आखिर कसैले पनि कालखण्डको गर्भको तितिर्षा देख्नु त हो । एउटा मानिसले कतिसम्म अन्धकार सहन सक्तछ ? बितेका वर्षहरुमा अन्धकार, हत्याहरु, मानवद्वेषी अमानवीय र प्राकृतिक घटनाहरुले जुन हस्ताक्षर गरेका छन्, त्यो केवल एउटा पक्ष हो । भाविष्यको मागको रुपायन पनि विचार तथा साहित्यको काम हो । नव वर्ष त्यसपछि मात्र बन्दछ । नव विश्व पनि तब मात्र बन्दछ ।
हुन त साच्चैको मानिस र एउटा संवेदनशील लेखक कसैलाई पनि थाहा हुन्छ कि मानिसहरुको दुःखको इतिहास तथा तिनको विजयको इतिहास दुवै असीम हुन्छन् । बितेको समयको कथा लामो हुन्छ । त्यो समाप्त हुदैन तर नव वर्ष वा आगामी वर्षको फूल पनि ओइलाएर मर्ने छैन किनभने त्यो दिन हामीभित्रको अजेय संकल्प र उन्मेषको सुगन्ध हो । मानिसका लागि बितेको वर्ष र नयाँ वर्षको सन्धि-विन्दू प्रकाश र अन्धकारका हरेक क्षण विपर्य हुँदै गइरहन्छन् र क्षण भंगुरतामा अन्तःप्रज्ञाको अन्तःप्रयोजन । परम्पराले चलेको मनुष्यताको यात्रा नव वर्षका भावातिरेकबाट संयुक्त व्यक्तिको संम्यक, सुसंंगत प्रथम चिन्तन पीठ हो – पार देख्नका लागि । जहाँ मानिसले आफ्नो मनको शाश्वत दिशा रचना गर्दै विचलित हुने समयलाई राम्रोसँग पार गर्ने सामर्थ्य राख्दछ । यो शातत्य नै पृथ्वीको श्रेष्ठतम् उद्दीप्त रङ्ग पनि हो ।
यसैले यथार्थतः नव वर्ष आवेगको मनवीयकरणको मात्र सहज पक्षधर प्रस्तुति हो । सबै कुरालाई प्रासांगिक बनाउन सकिँदैन । अभिप्रायको खोजी प्रकारान्तरले नव वर्षकै खोजी हो । यो अन्तहीन मेल पनि हो विगत र आगतको । अर्थात् समय र विवेकको । जसरी धानको बोटका पातहरुले धानको महक या बास्नालाई एक तुल्याएर सराबरी गरिदिन्छन्, त्यसरी नै नव वर्षले पनि नयाँ सपनाको आभासँग जोडेर हामीभित्र र बाहिर दुवैसँग सुचित्रित गरिदिन्छ । त्यो मानिसका लागि स्वप्नमय, कलामय, अन्नमय संसार तथा भविष्यको रचना हो । नव वर्षमा गहन आवेग र सिर्जनाशीलता, कल्पनाशीलता हुन्छ, जसमा पुनर्निर्माणका आधारमा विभिन्न प्रकारका यथार्थहरुको सिर्जना हुन्छ । जहाँ समृद्धि, मिठास, प्रकाशका रंगहरुको अकथनीय बिम्बवालीहरु हुन्छन् ।
यसर्थ पनि नयाँ समय विकल्पहरुको अन्वेषण गर्ने समय मानिएको र असहाय हुनु बिरुद्धको एउटा उद्घोष पनि हो । आधारहीन हुनु, एक्लो हुनुका साटो एउटा नयाँ प्रत्याशा । एउटा यस्तो निष्ठालाई बदल्नका लागि विकल्पतर्फ अग्रसर । राजनीतिक, आर्थिक व्यवस्थामा असन्तुष्ट तर सकारात्मक सोच भएका विचारलाई नियन्त्रण नगर्ने दिशामा अग्रसर, बहुविध सञ्चार माध्यम, जनमत, विचार, सिद्धान्तमा बहुआयामिकता देख्ने कलाप्रिय, सिर्जनशील या सिर्जनाधर्मीहरुले नव वर्षलाई परिवर्तन तथा मनुष्यताको मलद्वारको रुपमा लिएका हुन्छन्, लिनु पर्दछ । यहाँ आफूका अतिरिक्त अरुका लागि पनि सम्मानजनक स्थान छ । यही समय विभिन्न सयम पनि हो । पुरातनमा नूतन लुकेको छ, नूतनतामा अतिनूतनको उन्मेष । अनि संकल्पको आँच पनि । नव वर्षलाई सही बुझौँ र मानवीय शातत्यको दिशामा सही किसिमले अघि बढौँ । यिनै शब्द फूलहरुका साथ नव वर्षलाई स्वागतम्, सुस्वागतम् ।
(लेखक नेपाल कम्युनिस्ट पार्टीका सहअध्यक्ष हुनुहुन्छ ।)