कोप्रेखोलाबाट उकालो लागेपछि ढाडगाउँ आउँछ । हामी त्यहाँ पुग्दा रात परिसकेको थियो । यामबहादुर कमरेडकी छोरीले रोटी र तरकारी पकाएकी थिइन् । बिहान उठेर भाडे जाने तयारी गर्यौँ । हावामा चिसो करेन्ट बगिरहेको थियो । गाउँ सुनसान छ । मात्र लोहोरे खोला सुसाएको सुनिन्छ । उत्तिसघारीको बिचमा अजङ्गका ढुङ्गाहरु पसारिएका छन् । बारीमा गहुँ हरियो छ । तोरीबारीमा लाही किराले मनपरी गरेको छ । अलैँचीका बुटाहरु बिहानीको चिसो सिरेटोमा सुस्त-सुस्त हल्लिरहेका थिए ।
ढाडगाउँको सिरानमा रहेको भिरमा सानो धर्सो जस्तो गोरेटो छ । जहाँ मुस्किलले एउटा पाइला मात्र अटाउँछ । गोरेटोबाट तलतिर हेर्न सकिँदैन, चक्कर आउँछ । छङ्गाछुर भिरको बिचमा मानिसहरू घाँस काट्दै थिए । यो भिरमा गाउँलेहरुले घाँस काट्न थालेको जुगौँ भइसक्यो । एक ठाउँमा एक जना युवाले डोको बुन्ने निगाला काट्दै थिए । छेउको गुराँसले फूलका लाल पत्रहरु फिँजाइरहेको थियो । खोलापारिका गाउँहरु नौफेरी, काग्ते र चम्लायमा घाम चहकिलोसँग टल्किरहेको थियो । भाडे गाउँ नजिकै गाई बाख्राहरु जङ्गलतर्फ लगिँदै थिए । यतापट्टि गोरेटो अलिक फराकिलो थियो ।
भाडे गाउँ ऎतिहासिक गाउँ हो । जनयुद्धकालका केही वर्षहरु भाडेका निमित्त चहलपहलले भरिएका थिए । बाटैमा सहिद वीरबलका बा भेटिनुभयो । भन्नुभयो – “यी यसरी नै बाँचिरहेको छु । काल आएको छैन ।”
नजिकै एउटा सहकारीको कार्यलय थियो । भित्तामा युएसएडले सहयोग गरेको कार्यक्रमको पोस्टर झुण्डिएको थियो । सहकारीले आलु भण्डारणका निमित्त एउटा रस्टिक स्टोर बनाउँदै रहेछ । गाउँमा फोनको नेटवर्क छैन । रेडियो पनि राम्रोसँग सुनिँदैन । टेलिभिजनको अनुहार गाउँले देखेकै छैन । तर यो गाउँले जनमुक्ति सेनाको परेड हेरेको छ । हुलका हुल भूमिगत नेता कार्यकर्ताको जोसिलो कुराकानी सुनेको छ । गणतन्त्र प्राप्तिको लँडाइमा घाइते भएकाहरुको घाउमा चिराइतो घोटेर लगाएको छ । माघको पहिलो हप्ता भाडेमा घाम कमजोर छ । तिनचुले र गोरुजुरेका नाङ्गा डाँडाहरुबाट हावा उड्दै आउँछ र चिसो थप्पड लगाउँछ ।
पाटन कमरेडको घरछेउ गर्जन कमरेडको घरबाहिर धेरै ठूलो जमघट छ । प्रत्येक अनुहारमा प्रश्न छ । देशमा के हुन लागेको हो भन्ने चिन्ता छ । कहिल्यै विद्यालय नपुगेका निरक्षर मनहरुले संविधानका धाराहरुको सन्दर्भ खोतलिरहेका छन् । भाडे गाउँमा अग्रगामी चेतना सुस्ताएको छैन । यो त जागेकै छ । आज पनि प्रतिगमनको खतराका विरुद्ध खबरदारी गरिरहेको छ । गणतन्त्रमाथि मनपरी गर्न खोज्नेहरुका विरुद्ध औँला ठड्याइरहेको छ ।
बेलुकि घाम डाँडामाथि पुगेपछि हामी भाडे गाउँबाट विदा भयौँ । बाटोमा जीवन सरले प्रतिनिधि सभा विघटनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आयामहरुबारे थुप्रै प्रश्न गरे । धेरैलाई चिन्ता छ – कोभिड महामारीले थलिएको मुलुकलाई प्रधानमन्त्रीको संसद विघटनको कदमले अनिश्चय र अस्थिरताको दलदलमा धकेलिदिएको छ । साँझ ढाडगाउँमा नै बास भयो । युवा कमरेड मिलनले भने – “गाउँमा बस्छु । धेरै पढेको छैन । तर पनि केही कुरा बुझेको छु । प्रधानमन्त्री ओलीले संसद हटाएर राजा ल्याउन खोजेको छन् । राजा ल्यायो भने फेरि लँडाइ हुन्छ ।” धेरै बेरसम्म उनका कुरा सुनिरहेँ ।
ढाडगाउँबाट काठमाडौँ देखिदैन । निलो आकाश देखिन्छ । यहाँबाट सिंहदरबार बोलेको या घुरेको सुनिँदैन । अनवरत खोलो सुसाएको सुनिन्छ । खोलो निदाउँदैन । कमरेड मिलनहरुमा सत्ताको छिटा परेको छैन । मन निलो आकाशझैँ सफा छ । बुझाइ सहरको वागमतीझैँ धमिलो छैन ।
प्रतिनिधि सभाको हठात विघटन भएको एक महिना पुगेको छ । गाउँ होस् या सहर, सबै ठाउँमा प्रश्न छ – हुँदाखाँदाको प्रचण्ड बहुमतको सरकारलाई कस्तो प्रकारको कोरोना भाइरसले संक्रमण गर्यो ? एकताको दुई वर्ष बितिसक्दा पनि चुपचापझैँ बसेको, गुटको महामारीले गलेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधि सभा विघटनको पक्ष र विपक्षमा बाँडिएको छ ।
प्रधानमन्त्रीको उपस्थितिमा राजधानी र बाहिरका सहरहरुमा समेत उक्त कदमको पक्षमा ठुला ठुला भेलाहरु भएका छन् । देश गम्भीर बनेको बेला पनि प्रधानमन्त्रीको ठट्यौली शैली हटेको छैन । त्यसैगरी प्रचण्ड र माधव नेपाल अध्यक्ष भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्रीको कदमलाई प्रतिगामी र असंवैधानिक कदम भनेको छ । यस कदमको विरोधमा देशव्यापी ठुला ठुला जुलुस र सभाहरु भएका छन् । पार्टी फुटेको औपचारिक घोषणा नभए पनि व्यवाहारतः पार्टी एक छैन । एक अर्का विरुद्ध गालीगलौजको ओइरो लाग्ने गरेको छ । गाली र व्यङ्ग्यमा प्रधानमन्त्री नै प्रथम देखिनुभएको छ । सुन्ने श्रोताहरुका निमित्त ती निम्छरा गालीहरु प्रिय छैनन् । उल्टै वितृष्णा पैदा गराउने खालका छन् । आखिर यस्तो दिन पनि आउने रहेछ । आफैलाई प्रिय लागेर गला मिलाएका सहयात्रीहरुलाई कुहिएको भेट्नो भन्नुपर्ने, कुहिएको फर्सी भन्नुपर्ने !
तोली डाँडामा भएको बैठकबाट फर्किने क्रममा घट्टबाट फर्किरहेका थापा दाइले भनेका थिए – “सुन्न पनि लाज लाग्ने भयो । कम्युनिस्टहरु जुट्न ढिला फुट्न छिटो गर्छन् ।” फुट त कसलाई मन पर्छ र? तर पनि पटक पटक पार्टी फुट्छ । फुटको पहिरोमा फेरि उत्तिसझैँ पार्टी पलाउँछ । पार्टी हाम्रा निर्दोष चाहनाहरुको बेवास्ता गर्दै किन घरीघरी फुट्छ ? प्रश्न त बाटो छेउमा फुलेको बुकीले पनि सोधिरहेको छ ।
प्रतिनिधि सभा विघटन भएपछि जिल्ला जिल्लामा थुप्रै कार्यक्रमहरु भएका छन् । पार्टीभित्रको विवाद जुलुस बनेर सडकमा निस्किसकेको छ । पार्टी एकताको निर्णय सडकमा भएको थिएन । कुनै कोठामा सीमित नेताहरुको उपस्थितिमा भएको थियो । निश्चय नै उक्त एकता तत्कालीन अवस्थामा चुनाव जित्न गरिएको एक सम्झौता थियो, जसको कार्यान्वयनमा समस्याहरु देखा परे । कतिपय नेतालाई आफैले भङ्ग गरेको पूर्व पार्टी र छाडिसकेको कार्यक्रम प्रिय लाग्न थाल्यो । अन्तर्राष्ट्रिय शक्ति केन्द्रका केही स्वार्थहरु कार्यान्वयन गर्न पार्टी एकता बाधक भयो । भाडेको खरबारीमा घाँस काटेर आफ्नै बारीमा उब्जेको अनाजले छाक टार्नेहरुलाई देशमा कम्युनिस्ट पार्टीको सरकार छ या अन्य पार्टीको सरकार छ भन्ने अत्तोपत्तो भएन । केही बिचौलिया र दलालहरु नै रातारात धनी हुने क्रम यथावत चलिरह्यो । पुर्ख्यौली सम्पत्ति नभएका र व्यवसाय पनि नगरेका कम्युनिस्ट पार्टीका केही नेताहरुको जीवनशैली भद्दा र विलासी भयो ।
हामी झन्डै महिना दिनदेखि यात्रामा छौँ । गुराँसेदेखि धरमपोखरातर्फ जाँदा सडक सुर्खेत दैलेख सिमाना हुँदै अघि बढ्छ । धेरै पटक हामी एक्लै-दुक्लै या हुल बाँधेर यो बाटो पैदल हिँडेका छौँ । यसपटक भने मोटरसाइकलमा थियौँ । सडकको कुनामा तुषारो जमेको थियो । धरमपोखरा बजार आफ्नै लयमा थियो । अनुहारहरूमा जिज्ञासा थियो । हामी चाँदनी चोक पुग्यौँ । बखत कमरेडले भन्नुभयो – “म त संस्थापन पक्ष हुँ ।” प्रश्न त छँदैछ – संस्थापन को हो, विद्रोही को हो ? सबैका आ-आफ्ना दाबी छन् । मुद्दा सर्वोच्च अदालतमा मात्र होइन, निर्वाचन आयोगमा पनि छ । चाँदनी चोकको डाँडामा हाम्रो जमघट भयो । डाँडाबाट सुर्खेत र दैलेखको टाढा टाढासम्मको भुभाग देख्न सकिन्छ । गाउँमा थरीथरीका भ्रमपूर्ण प्रचारहरु भएका छन् – केपी ओली भनेकै एमाले हो । माधव-प्रचण्ड छिटै फुट्छन् । एमालेमा माओवादी पस्यो र एमाले फुट्यो । पार्टी फुटेपछि पद पाइन्छ । आदि इत्यादि । धेरैको बुझाइमा प्रधानमन्त्रीको कदमले २०७२ को संविधानमाथि आक्रमण गरेको छ । गणतन्त्रसम्मको यात्रामा नेपालका धेरै वर्षहरु बितेका छन् । हजारौँ सहिद भएका छन् । घाइते र अपांग छन् ।
हिउँद यामको जाडोमा कोरोना महामारीको सन्त्रासलाई उछिनेर नेपालमा भएको राजनीतिक भाइरसको संक्रमणले मानिसहरूलाई घरभित्र होइन, सडकमा ल्यायो । देश अप्ठ्यारोमा परेको बेला, गणतन्त्रमाथि बादल देखापरेको बेला जिउँदो नेपाली चुप लागेर घरमा बस्न कहाँ सक्छ र !
सहर, बजारदेखि गाउँसम्म आज एउटै चर्चा छ – प्रधानमन्त्रीलाई के भयो ? किन संविधानमै व्यवस्था नभएको काम गर्न उहाँ उद्दत हुनुभयो ? मुलुकको विकास गर्न, अन्तर्राष्ट्रिय सन्धि-सम्झौता कार्यान्वयन गर्न एउटै दललाई दुई तिहाइ बहुमत चाहिने भएकोले प्रतिनिधि सभा विघटन गरेको हुँ भन्नु हाँस्यास्पद भएन र ? दुईतिहाइ नै चाहिएको भए थप दुई वर्ष कुर्नुपर्ने थियो । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग मात्र गर्नुभएन, कम्युनिस्ट पार्टीलाई मतदान गर्ने आम नागरिकको भावनामा हमला गर्नुभयो । गाउँमा भन्दैछन् – कम्युनिस्टलाई भोट पचेन । आफूलाई जन्माउने आमा प्रतिनिधि सभाको हत्या गरे । यसको सँजाय भोग्नुपर्छ । नेताको एउटा त्रुटीका कारण सिङ्गो पार्टी र देशले दुःख पाउछ । धेरैको आशा छ – अदालतले संविधानतः निर्णय गर्नेछ र प्रधानमन्त्रीको कदम सच्याउने छ ।
(लेखक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता तथा बुद्धिजीवी संगठनका नेता हुनुहुन्छ।)