सन् १९४२ को अगस्ट १५ को साँझ सात बजेपछि अङ्ग्रेज प्रधानमन्त्री विन्स्टन चर्चिल क्रेमलिन प्रवेश गरे । मौसम युद्धको थियो । सोभियत भूमिमा फासिवादी अतिक्रमणकारीहरुका विरुद्ध घमासान युद्ध भइरहेकोले मस्को यसै पनि तनावमा थियो ।
क्रेमलिनमा सोभियत संघका प्रमुख कमरेड स्टालिनसँगको बैठकपछि चर्चिल फर्किन खोज्दै थिए । स्टालिनले आफ्नो निवासमा निम्तो दिएपछि चर्चिल उतै लागे । क्रेमलिनस्थित स्टालिनको चार कोठे डेरामा प्रवेश गरेपछि चर्चिलले मोलोतोभसँगै उभिएकी एउटी किशोरी देखे । ती किशोरीसँग स्टालिनले चर्चिलको परिचय गराए । तिनै थिइन् – स्टालिनकी छोरी स्वेतलाना । स्वेतलानाको शिष्टता र आफ्ना बाप्रतिको न्यानो व्यवहारबाट चर्चिल द्रवीभूत भए । उनले मनमनै भने – बोल्शेभिकहरुको पनि परिवार हुँदोरहेछ । स्टालिनका जेठो छोरा याकोभ त्यतिबेला हिटलरको सेनाद्वारा बन्दी बनाइएका थिए । उनलाई नाजी सेनाले लँडाइको मोर्चाबाट पक्राउ गरेको थियो ।
त्यो साँझ चर्चिल र स्टालिन बिच नेपोलियनसँगको युद्ध, लाल सेना, सामूहिक खेतीदेखि धेरै विषयमा अन्तरङ्ग कुराकानी भए । बिचबिचमा जर्मनसँगको लँडाइको मोर्चाबाट आएका खबरहरु दुवै नेताले ध्यान दिएर सुन्थे । चर्चिलले कम्युनिस्ट राष्ट्रप्रमुखको डेरामा खानपिन गरेको र झन्डै रातभर कुरा गरेर बिताएको त्यो पहिलोपटक थियो । चर्चिलले बुझे – कम्युनिस्टहरुमा पनि भावना हुँदोरहेछ । आँसु र हाँसो हुँदोरहेछ ।
पुँजीवादी संसारले भयंकर क्रुर तानाशाह भनेर प्रचार गरिएका स्टालिनप्रति उनकी किशोर छोरीको प्रेमभाव र आत्मीयताले चर्चिललाई साँच्चिकै सोचमग्न बनाइदियो । स्टालिन आफ्नी कान्छी छोरीलाई खुब माया गर्थे र “सानी भङ्गेरी” भनेर बोलाउँथे । सोभियत संघलाई समृद्ध समाजवादी मुलुक बनाउन स्टालिनले धेरै काम गर्नुपर्यो । विश्व जित्छु भनेर चौतर्फी युद्ध छेडेको हिटलरलाई धुलो चटाउने लँडाइको मोर्चा उनैले सम्हाल्नुपर्यो । त्यही लँडाइमा उनले जेठो छोरा गुमाउनुपर्यो । सन् १९४३ मा याकोभको बन्दी अवस्थामा रहस्यमय मृत्यु भयो । सायद हिटलर छोराको हत्या गरेर स्टालिनलाई मनोवैज्ञानिक हिसाबले ध्वस्त बनाउन चाहान्थे ।
स्टालिनको देहान्त भएको झन्डै चौध वर्षपश्चात छोरी स्वेतलानाले सन् १९६७ को मार्च ९ गते नया दिल्लीस्थित अमेरिकी दूतावासमा शरण मागिन् । त्यसको केही समयपछि युरोप हुँदै न्युयोर्क पुगिन् र सोभियत सरकारको आलोचना गरिन् । स्वेतलानाले यसो गर्नुको पछाडि धेरैले मृत स्टालिनलाई दोषी देखे । स्टालिन त सानी भङ्गेरीलाई औधी माया गर्थे । आफ्नो सन्तानले पार्टी र नागरिकता त्याग गरेको कल्पना पनि स्टालिन गर्न सक्दैनथिए । त्यसैगरी स्वेतलाना आफ्नो विवेकले भ्याएको निर्णय लिन त्यतिकै स्वतन्त्र थिइन् । उनले छाडेको सोभियत संघ भित्रभित्रै मक्किँदै थियो । गोर्वाचेभ सत्तामा आएपछि रुस फर्केकी स्वेतलानाले आफ्नै आँखाअगाडि आफ्ना बा र बाका साथीहरुले ठूलो मिहिनेत गरेर हुर्काएको सपना गर्ल्यामगुर्लुम्म ढलेको देखिन् । उनले सन् १९९२ मा पुनः रुस छोडिन् । उनले रुस छाडे पनि, कम्युनिस्ट पार्टी छाडे पनि मानिसहरूले उनलाई स्टालिनकी छोरी भन्न छाडेनन् ।
माओ त्सेतुङ्गका जेठा छोरा माओ एनिन्ङ्ग सन १९५० मा कोरिया युद्धमा कोरियाली स्वतन्त्रताको निमित्त अमेरिकी सेनासँग लड्दालड्दै मारिए । सन् १९२९ मा जन्मिएकी माओकी जेठी छोरी जिन्हुआले आफ्ना बा-आमालाई धेरै लामो समयसम्म देख्न समेत पाइनन् । उनलाई ती कठिन दिनहरुमा स्थानीय एक किसान परिवारले जिम्मामा लिएर हुर्कायो । कम्युनिस्ट नेताहरुको भूमिगत या खुला पार्टी जीवनका उतारचढावहरुको प्रभाव आफ्नो परिवारमा पर्ने नै हुन्छ । कम्युनिस्ट विरोधीहरुले प्रचार गरेजस्तो विलासी जीवन न त स्टालिनले बाँचे, न त माओले नै । यी नेताहरुले सामना गर्नु परेको आँधी तुफानको भुमरीबाट सन्तानहरु एकाध अपवादबाहेक टाढाको सुखसयलमा हुर्किन पाएनन् ।
नेपालमा कम्युनिस्ट पार्टीले सत्तरी वर्ष पार गरेको छ । यसका नेताहरुले कठिन भूमिगत जीवन व्यहोर्नुपरेको इतिहास छ । कति सहिद भए । आफ्ना अभिभावकहरुको संघर्षमय जीवनको प्रभाव छोराछोरीमा परेको छ । धेरैजसो नेताका सन्तानहरु राजनीतिमा छैनन् । वि. सं. २०५२ मा जनयुद्धको थालनी गरेपछि नेपाली कम्युनिस्ट आन्दोलनको एक क्रान्तिकारी धार नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) को नेतृत्व भूमिगत भयो ।
जनताको बिचमा, सङ्गठनको सुरक्षा कवचमा नेताहरुको भूमिगत दिनचर्या पार्टी काममा बित्थ्यो । आफ्ना छोराछोरीको पढाइ र पालनपोषण भूमिगत नेतृत्वको निमित्त चुनौतीपूर्ण थियो ।
पार्टीका तत्कालीन महामन्त्री कमरेड प्रचण्डले आफ्ना छोराछोरीलाई विद्यालयबाट निकाल्नुभयो र पार्टीमा भर्ती गराउनु भयो । धेरै राजनीतिक पन्डितहरुले नपढेको र हेप्ने गरेको जनयुद्ध स्वयंमा एक विश्वविद्यालय थियो । कमरेड रेनु दाहालहरुले पढेको त्यही विश्वविद्यालयमा हो । विद्यार्थी, महिला, किसान र मजदुरहरुको बिचमा सङ्गठन गर्नु, नेपाली क्रान्तिको गडगडाउँदो नदीमा हेलिनु उक्त विश्वविद्यालयमा कमरेड रेनु दाहालहरुले पढ्ने मुख्य पाठ्यक्रम थियो । राजाका सन्तान मात्र राजा हुने संस्कारमा हुर्किएकाहरुलाई जनयुद्धको घामपानी सहेर आएका सन्तानहरुले राजनीति गरेको मन नपर्नु स्वभाविक हो ।
नेतृत्व भनेको निर्जीव यन्त्र होइन । नेताहरुसँग पनि कोमल भावना हुन्छ । त्यही कोमल भावनामाथि मनपरि आक्रमण गर्नु राजनीतिक कायरता र बेइमानी हो । आज कमरेड प्रचण्डको परिवारसँग जोडेर उहाँमाथि जति पनि अराजनीतिक आक्रमण भएको छ, त्यसले हाम्रो कमजोर सांस्कृतिक परिचयलाई अभिव्यक्त गरेको छ । धेरै नेताका सन्तानहरु राम्रा र महङ्गो विद्यालयमा पढ्छन् । थप अध्ययनका लागि विदेश जान्छन् । भूमण्डलीकरणको आकर्षक पासोमा झुन्डिन्छन् र उतै हराउँछन् ।
जनयुद्धको नेतृत्वमा रहेका केही नेताहरुले आफ्ना सन्तानलाई संघर्षको मोर्चामा पठाए । कमरेड प्रचण्ड, कमरेड पोस्टबहादुर बोगटी, कमरेड कृष्णबहादुर महरा आदि नेताका छोराछोरीहरुले सयौँ, हजारौँ नेपाली छोराछोरीहरुलेझैँ संघर्षको कठिन पाठ्यक्रम रोजे ।
जेलनेल बसेको, भूमिगत राजनीतिका कठिनाइँहरु भोगेको नेतृत्वले संघर्षको बाटो रोजेका, आफ्नै पहिचान बनाएका नेताका सन्तानहरुको मुक्तकण्ठले प्रशंसा गर्नुपर्ने हो । उनीहरुलाई इमान्दारीपूर्वक भुइँमान्छेहरुको पक्षमा उभिन प्रेरित गर्नुपर्ने हो । अपमान, असहिष्णुता र अविश्वासले नेताको उचाइ बढ्दैन ।
वेनिटो मुसोलिनीले सन् १९२५ मा इटालीको शासन आफूमा केन्द्रित गरे । उनको विपक्षमा बोल्नेहरुलाई कठोर सँजाय दिइन्थ्यो । सन् १९४३ मा मन्त्रीसमेत रहेका उनका ज्वाइँ ग्यालेजो कायनो मुसोलिनीको विपक्षमा उभिए । सन् १९४४ को जनवरी ११ का दिन मुसोलिनीले आफ्नै ज्वाइलाइ झुण्डाएर मारे। त्यसको दुई दिनअघि नै छोरी इड्डा मुसोलिनी भेष बदलेर जेनेभातर्फ भागेकी थिइन् । अन्यथा फासिवादविरुद्ध षड्यन्त्र गरेको आरोपमा ज्वाइँसँगै छोरीलाई समेत मुसोलिनीले झुण्ड्याउने थिए ।
छोरी इड्डाले भनिन् – “म आफूलाई तानाशाहकी छोरीका रुपमा भन्दा फासिवादद्वारा हत्या गरिएका कायनोको जीवनसाथीको रुपमा चिनाउन मन पराउँछु।” इड्डाले मुसोलिनी थर त्यागेको घोषणा गरिन् । अजम्बरी शासनको सपना देखेका मुसोलिनीलाई आफ्नै छोरीले छोडिन् । क्रुर फासिवादको विरुद्ध निर्भिकतापूर्वक उभिइन् । छोरीले छाडेको एक वर्षभित्रै अनन्तः शासनको सपनामा डुबेका मुसोलिनीको सत्ता मात्र ढलेन, भौतिक जीवन नै समाप्त भयो ।
इतिहासले पुष्टि गर्छ – नेता या शासकका सन्तानहरु आफ्ना अभिभावकका फगत अन्ध अनुयायी मात्र हुँदैनन्, आलोचक र विरोधी पनि हुन्छन् । सही बाटोमा सहयोगी मात्र हुँदैनन्, नेतृत्व गर्ने हैसियत पनि राख्छन् ।
(नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता सुवेदी बुद्धिजीवी संगठनका नेता हुनुहुन्छ ।)