देशभरि पुस व्याप्त भएको छ । पुस ५ गतेदेखि देश नयाँ मोडमा पुगेको छ ।संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओली उर्फ केपी ओलीले २०७७ पौष ५ गते आफ्नै पार्टीभित्रको किचलो मिलाउन नसकेर आउन लागेको अविश्वासको प्रस्तावलाई सामना गर्न नसकी कायरतापूर्वक गणतन्त्रको जगमा बनेको संविधानमाथि खड्ग प्रहार गर्नुभएको छ । खड्ग प्रहार भन्नुको मतलब लोकतन्त्रको मर्मअनुरुप बनेको जनताको सम्मानित सदन संसद विघटन गर्नुभएको छ । ताजा जनादेशको हवाला दिँदै २०७८ बैशाख १७ र २७ गतेलाई कथित मध्यावधि चुनावको मिति राष्ट्रपतिले तोक्नुभएको छ ।
पुस महिनाभरि देशमा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ । प्रधानमन्त्री खड्गप्रसादले सनकको भरमा सार्वभौम संसदलाई दनक दिएका छन् । हिजो ०३५/३६ सालतिर पञ्चायत र बहुदलको बिचमा भएको रस्साकस्सी जस्तै अहिले खड्गप्रसाद समूह र अन्य राजनीतिक पार्टीहरु बिचमा भइराखेको छ । देश खड्गप्रसादको असंवैधानिक, अलोकतान्त्रिक कदमको विरुद्धमा एक भएर सडक तताइरहेको छ भने खड्गप्रसाद समूह त्यसको विरुद्धमा मण्डले प्रवृत्तिबाट खड्गको कदमको बचाउ गरिरहेको छ ।
खड्गप्रसाद कम्युनिस्ट पार्टीको नेता हुन तर उनले कम्युनिस्ट पार्टीको सामान्य गुण पनि कहिल्यै देखाउने हिम्मत गरेनन् । तर आफू असली कम्युनिस्ट भएको र राष्ट्रवादी भएको भ्रम छर्नमा माहिर र चतुर छन् खडगप्रसाद । उनको त्यो कस्मेटिक राष्ट्रवाद असली रुपमा सामान्य मान्छेले बुझ्न सक्दैनन् । उनका समूहमा भएका सदस्यहरुले झनै बुझ्ने कुरै भएन किनभने खड्गप्रसादलाई बा भनेर कुदिरहेका छन् । खड्गप्रसादका सबै गलत काम र भ्रष्टाचारको समेत समर्थन गर्न पछि नपर्ने नपुसक मतियारहरु अहिले भजनकिर्तनमा लिप्त छन् । के हो राष्ट्रघात, के हो प्रतिगमन उनीहरुलाई बालमतलब छैन । जुवा तास, अनैतिक क्रियाकलाप, भ्रष्टाचार गर्नेहरु नै देखिन्छन् तलदेखि माथिसम्म खड्गप्रसाद समूहमा । अपवादको रूपमा एकाध व्यक्तिमा राजनीतिक अब्बलता होला तर धेरैजसो चाकरी र चाप्लुसी गरेकै भरमा नेता भएका अराजक व्यक्तिहरु मात्रै छन् । उनीहरुको लेखनशैली, तर्क गर्ने शैली हेर्दा उनीहरुको दयनीय अवस्थाको असली रुप उदाङ्ग हुन्छ । जस्तो खड्गप्रसादको नभएको कुरालाई पनि भएको र भएको कुरालाई पनि नभएको भनेर तथ्यहीन तरिकाले आत्मसन्तुष्टि लिनका लागि आफैले जित्ने प्रवृत्ति छ, त्यो स्कुलिङ तल्लो तहका नेता कार्यकर्तामा पनि छ । तथ्य र तर्कका आधारमा होइन, भावनामा बहकिएर र आवेशमा बोल्ने र लेख्ने अनि जनतालाई भ्रममा पारिरहने, गुमराहमा राखिरहने प्रवृत्ति खड्ग ओली समूहमा हावी भएको छ । यसो हेर्दा खड्ग ओली लगायत उनको समूहका मान्छेहरु राजनीतिक जोक्करजस्ता देखिन्छ । वैचारिक, राजनैतिक धरातल जिरो तर आफू नै जान्ने आफू नै सुन्ने सर्वैसर्वा हुँ भन्ने खोक्रो दम्भ ओली समूहका सदस्यहरुमा देखिन्छ ।
खड्ग ओली समूहमा लागेका हिजोको माओवादी केन्द्रका नेताहरूको प्रवृत्ति पनि ओली कम्पनीका मान्छेहरुका भन्दा फरक छैन । किनभने उनीहरु मन्त्री पदसँग साटिएका छन् । हाम्रै कर्णाली प्रदेशका दुई जना प्रदेश सांसद ओली कित्तामा लाग्नुको कारण प्रदेश मन्त्री खान पाइन्छ भन्ने थियो र उता लागेका थिए तर उनीहरुको सपना तुहिएको छ ।
खड्गप्रसादको कस्मेटिक राष्ट्रवादको मुकुन्डाे भारतीय जी न्युजले उदाङ्गो पारिदिएको छ । अस्ति मात्रै खड्गप्रसादले निर्धक्कका साथ उसैलाई अन्तर्वार्ता दिए कस्मेटिक राष्ट्रवाद झल्काउँदै । तर उसैले भोलिपल्ट सगरमाथामा भारतले दावी गर्नुपर्छ र नाम नै भारतीय हुनुपर्छ भनेर दावी गर्दैछ । यसैलाई भन्छन् कस्मेटिक रास्ट्रवादको असली रुप । प्रधानमन्त्री खड्ग ओली नै राष्ट्रवाद र राष्ट्रवाद नै खड्ग ओली जसरी उनैका सदस्यहरुले फलाक्दै हिँड्ने काम गरे र अहिले पनि गरिरहेका छन् । अहिले खड्ग ओलीको राष्ट्रवादको पारो ह्वात्तै घटेको छ । खड्ग ओलीको पछिल्ला हर्कतहरुले उनलाई राष्ट्रघाती हुन भन्ने कुरा पुष्टि गरिरहेको छ । खड्गप्रसादले गणतन्त्रलाई स्वीकार गरेका मात्रै हुन् भन्ने प्रमाण उनका पछिल्ला गतिविधिले देखाउँछ । हुन पनि कुनै पनि अधिनायकवाद र तानाशाहका लागि लोकतन्त्र पहिलो निशाना हुन्छ । लोकतान्त्रिक प्रणालीका मूलभूत मूल्य र मान्यता अधिनायकवादी राजनीतिक दर्शनका लागि अवरोध हुने गर्दछन् । त्यसैले हिजो अर्थात ३० वर्षे पञ्चायतले पनि लोकतन्त्रका आधारभूत मूल्य र मान्यतामाथि प्रतिबन्ध लगाएर निरंकुशता लादेको थियो कथित राष्ट्रवादको नाममा ।
कस्मेटिक सामानले शृङ्गारित कुनै मानिसको वास्तविकता धेरै दिन ढाकछोप गर्न सकिँदैन र कामचलाउ सरकारका प्रधानमन्त्री खड्गप्रसाद र उनको नक्कली राष्ट्रवाद पछिल्ला समयमा एकपछि अर्को खुइलिँदै जाँदा बादशाहको नयाँ कपडा सावित हुँदैछ । इतिहासमा कहिल्यै पराधीनताको अनुभव नगरेका नेपालीका निम्ति वर्तमान खड्ग सरकारको कारण नेपालीको स्वाभिमानमाथि आँच पुर्याएको छ, नक्कली राष्ट्रवादको ढ्वाङ फुकेर । यस्ता दलालका मतियारहरुले कहिलेसम्म कस्मेटिक राष्ट्रवादलाई काँध थापिरहने हुन्, प्रतीक्षाकै विषय भएको छ ।
मानिसलाई एकपटक मूर्ख बनाउन सकिन्छ तर धेरै पटक सकिँदैन । खड्गप्रसादले धेरै पटक नेपाली जनतालाई मूर्ख बनाउने प्रयत्न गरे । ओलीले कम्युनिस्ट आन्दोलन नै क्षतविक्षत पार्छ भनेरै उनीमाथि लगाम लगाउन उनकै समकक्षी प्रचण्डले अध्यक्ष या प्रधानमन्त्रीमध्ये एउटा पद छाड्न ओलीलाई दबाब दिन बाध्य भए । त्यसको जवाफमा ओलीले अध्यक्ष छाड्नुपरे महाधिवेशनपछि छाड्छु र प्रधानमन्त्री छाड्नुपरे आगामी निर्वाचनपछि छाड्छु भन्नेजस्ता धम्किको भाषा बोले । ओलीको यो धम्किपछि प्रचण्ड समूह झस्कियो किनभने पार्टी एकता गर्दा एकता महाधिवेशनबाट प्रचण्डलाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति ओलीले गरेका थिए । तर जब प्रचण्डले २०७६ मंसिर ४ गते आधा-आधा कार्यकाल प्रधानमन्त्री चलाउने सहमति सच्याए, त्यसपछि प्रचण्डलाई अध्यक्ष नबनाउन ओलीले जबजलाई मान्नेहरु एक ठाउँमा उभिनुपर्ने अर्को बखेडा झिके । त्यसपछि प्रचण्ड र ओलीको सम्बन्ध चिसिन थाल्यो ।
यस बिचमा थुप्रै बैठक भए, छलफल र सहमति भए । दुई अध्यक्षको बिचमा जिम्मेवारीको बाँडफाँड पनि भयो । तर खड्गप्रसादले मन्त्रिपरिषदको हेरफेर र राजदूत नियुक्तिमा फेरि पनि एकलौटी निर्णय गरे । जिम्मेवारी बाँडफाँडमा पार्टीलाई विधि, पद्धतिसम्मत ढंगले सञ्चालन गर्ने भनिएको थियो । तर खड्गप्रसादमा ‘मनै पार्टी मनै सरकार’ भन्ने दम्भ पलायो । पार्टीको लगाम उनलाई मन परेन र असनको साँढे जस्तै उन्मत्त भएर खड्गप्रसादले जनताको सम्मानित सदन संसद भङ्ग गर्ने अपराध गरे । खड्गप्रसादको यो अपराध नेपाल कम्युनिस्ट पार्टीको इतिहासमा अक्षम्य अपराधका रूपमा लेखिनेछ । यदि खड्गप्रसादले आफूलाई सच्याएको भए, उनले हाँगामा बसेर रुख काट्नुपर्ने दुर्भाग्य आउने थिएन । उनले आफ्नै दलभित्र विश्वासको मत जित्न सकेनन् र कायरतापूर्वक संसदको घाँटी निमोठ्ने काम गरे ।
खड्गप्रसादले संसद विघटन पूर्वविदेशी शक्तिहरुसँग गरेको रहस्यमय भेटघाटलाई हेर्दा विघटनको शृङ्खला वैशाख १७ र २७ गते गर्ने भनिएको कथित मध्यावधि चुनावसँग मात्रै जोडिएको छैन । यो त नौटङ्कि मात्रै हो । खड्गप्रसादले अहिलेको संविधानलाई उल्टाएर प्रतिगामी शक्तिहरुलाई सत्ता सुम्पने षड्यन्त्र यो संसद विघटनभित्र लुकेको छ । त्यसैले ७० वर्षदेखि जनताको बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन आम नेपाली जनताले फेरि एकपटक बलिदानी दिनुपर्ने बेला आएको छ । इतिहासमा अहिलेसम्म जनता हारेको इतिहास छैन । जनता नै इतिहासको अजय शक्ति हो ।जनताले नै इतिहास बनाउने हो । अहिलेसम्म जति पनि शासक ढलेका छन्, ती शासकहरु यस्तै निरङ्कुश तानाशाही भएर ढलेका छन् । खड्गप्रसादलाई इतिहासले सच्चिने समय अझै पनि दिएको छ । त्यससमयसम्म पनि खड्गले आफ्नो अपराध सच्याएनन भने उनलाई इतिहासले पनि माफी दिने छैन ।
खड्गप्रसाद आफैलाई, आफ्नै पार्टीलाई पनि विश्वास गर्न सकिरहेका छैनन् । जनतालाई त झन जोक्कर सम्झन्छन् । विश्वास गर्न छोडेको उहिल्यै हो ।निर्वाचनमा साम, दाम, दण्ड, भेदको अस्त्र प्रयोग गर्दा यदाकदा शाब्दिक रूपमा जनता शब्दको उच्चारण हुनु खड्गका लागि केवल बाध्यता मात्र थियो । यतिबेला खड्ग ओली फासीवादी त्यान्द्रोमा रमाइरहेका छन् ।
क्रान्ति भनेको राजनीति, आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनलाई संस्थागत गर्ने कार्य हो । यो निरन्तर अग्रगामी चरित्रयुक्त हुन्छ तर नेपालमा यस्तो भएन । परिमाणत: हरेक क्रान्तिपछि प्रतिक्रान्ति नै हावी बन्यो । प्रतिगामीहरुले कहिल्यै पनि क्रान्तिकारी परिवर्तनको जग हाल्दैनन् । हामीले उनीहरुबाट त्यस्तो अपेक्षा पनि गर्नु हुँदैन । खड्ग सरकार दलालको पनि महादलाल र कठपुतलीको महाकठपुतली साबित हुँदै गएको छ । ओलीका हरेक कदम जनविरोधी र राष्ट्रघाती छन् भन्ने कुराको प्रमाण पौष २९ गते बुधबार नेकपाका अन्तर्राष्ट्रिय विभाग प्रमुख तथा सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’को राजनीतिक आस्थाकै आधारमा गिरफ्तार गर्नुले पुष्टि गरिदिएको छ । जनताको नैसर्गिक हकअधिकारको विपक्षमा स्वयम् सरकार नै उभिएपछि यसबाट देश र जनताले अरु के नै आस गर्न सक्लान र !
(लेखक प्रेस संगठन, कर्णालीका सदस्य हुनुहुन्छ ।)