नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, झण्डा, Flag, Communist Party of Nepal, CPN Maoist Centre,
 

कम्युनिज्म एउटा यस्तो आन्दोलन हो, जसमा भविष्यको समाजका लागि अपनाइने सिद्धान्तहरू र कार्यक्रमहरूबारे छलफल, बहस र निर्णय गरिन्छ । समाज जहिले पनि गतिशील छ र साम्यवाद पनि । साम्यवादलाई भावी समाजको सिद्धान्त पनि भन्न सकिन्छ । त्यसकारण यसमा क्रान्तिको प्रश्न पनि जोडिएको छ ।

सर्वहारा क्रान्तिमार्फत समाजवादको स्थापना अन्त्य होइन, यो त सुरुवात हो । समाजवादी क्रान्तिपछि क्रान्ति जारी रहनेछ । कम्युनिस्ट समाज स्थापना भएपछि भने क्रान्तिको टड्कारो आवश्यकता पर्दैन । तर मजदुर वर्ग सतर्क रहनेछ ताकि प्रतिक्रान्तिकारी शक्तिहरूले पुनरूत्थानको अवसर नपाओस् । यो सतर्कता आवश्यक थियो, र छ ।

कृष अर्याल, krish aryal,
लेखक

जर्मन आइडियोलोजीमा मार्क्स र एंगेल्सले भन्नुभयोः साम्यवाद पहिलेका सबै आन्दोलनहरु भन्दा भिन्न छ किनकि यसले उत्पादन र संसर्गका सबै सम्बन्धहरुको आधारलाई उल्टाइदिन्छ र पहिलो पटक सचेतनरूपमा सम्पूर्ण प्राकृतिक परिवेश (वस्तु)हरूलाई हाल अस्तित्वमान मानव रचनाको रुपमा व्यवहार गर्दछ, तिनको प्राकृतिक विशेषताहरूलाई उघारिदिन्छ र तिनलाई मानिस (व्यक्ति) हरूको सामूहिक शक्तिको अधीनस्थ गर्दछ ।

तसर्थ यसको संगठन र त्यस एकताका सर्तहरूको भौतिक उत्पादन मूलत: आर्थिक हो । कम्युनिज्मले सिर्जना गरेको वास्तविकता भनेको व्यक्तिको स्वतन्त्र रूपमा केही पनि अस्तित्वमा रहनु असम्भव कुरा भनेर प्रस्तुत गर्ने वास्तविक आधार हो, यद्यपि वास्तविकता व्यक्तिको अन्तर्क्रियाको उपज मात्र हो ।

गोथा कार्यक्रमको आलोचनामा मार्क्सले कम्युनिस्ट समाजको प्रकृतिलाई निम्न शब्दहरूमा वर्णन गर्नुभएको छ: कम्युनिस्ट समाजको माथिल्लो चरणमा जब श्रमविभाजनमाथि व्यक्तिको दासतापूर्ण निर्भरता लुप्त हुन्छ, जब यसको साथसाथै मानसिक र शारीरिक श्रमका बिचको अन्तरविरोध लुप्त हुन्छ, जब श्रम जीविकोपार्जनको एक साधन मात्र नभएर जीवनको प्रमुख चाहना बन्दछ, जब व्यक्तिको सर्वांगीण विकासका साथसाथै उत्पादक शक्तिहरू पनि बढ्दै जान्छन्, सहकारी (सामाजिक) समृद्धिका सबै स्रोतहरू पूर्ण रूपले प्रवाहित हुन्छन्, त्यसैबेला मात्रै बुर्जुवा अधिकारको संकृर्ण क्षितिजलाई पूरै पार गर्न सकिन्छ र समाजले आफ्ना ब्यानरहरूमा लेख्न सक्नेछः प्रत्येकबाट आफ्नो क्षमताअनुसार, प्रत्येकलाई आफ्नो आवश्यकताअनुसार ।

सबै प्रकारको दासत्वबाट व्यक्तिको मुक्ति भनेको साम्यवादको प्राथमिक र एकमात्र उद्देश्य हो । कोलाकोव्स्कीको विचारमा मार्क्सको उद्देश्य व्यक्तिलाई अभावग्रस्त गरीबीबाट उचाल्नु र अमानवीकरणलाई रोक्नु हो, जसबाट मानिस पीडित छ ।

श्रम विभाजनको उन्मूलनले नैतिक र बौद्धिक पतनको अन्त्य गर्ने सुनिश्चित गर्दछ भने यदि अमानवीकरण रोकियो र प्रशस्त धन-सम्पत्ति उत्पादन भयो भने व्यक्तिको चौतर्फी विकास स्वचालित रूपमा देखा पर्नेछ ।

कम्युनिस्ट समाजका विशेषताहरु:

लेनिनको परिभाषाअनुसार कम्युनिस्ट समाज एउटा यस्तो समाज हो, जसमा सबै चीज जग्गा, कारखानाहरू साझा स्वामित्वमा हुन्छन् र मानिसहरू साझा काम गर्छन् । कम्युनिस्ट समाजमा उत्पादनका साधनहरू मात्र साझा हुँदैनन्, बरू उत्पादित सबै वस्तुहरू समेत कम्युनिस्ट समाजका सदस्यहरूको आवश्यकताअनुसार वितरण गरिन्छ ।

यसैले निजी उत्पादनबाट स्वतन्त्र भई उत्पादन र वितरण गर्ने दुबैलाई समान लाभ हुनेछ । साम्यवादबाट बहिष्कार गरिएको पहिलो चीज विभेद हो ।

यो कम्युनिस्ट समाजको आधारभूत विशेषता हो कि प्रत्येक व्यक्तिले आफ्नो योग्यताअनुसार आफ्ना कर्तव्यहरू पूरा गर्नुपर्दछ । यो कम्युनिस्ट समाजको एकदम महत्त्वपूर्ण विशेषता हो । प्रत्येक व्यक्तिले केही प्रकारको कर्तव्य निर्बाह गर्नुपर्दछ । त्यहाँ कुनै बाध्यता छैन कि प्रत्येक व्यक्ति निश्चित कर्तव्य गर्नुपर्छ । उसले उपयोगी काम गर्नेछ र फेरि यो आफ्नो क्षमताअनुसार हुनेछ ।

कुनै पनि काम नगर्ने मानिससँग रोटी खाने अधिकार छैन । यो कम्युनिस्टको आदर्श हो कि जसले काम गर्दैन उसले खान पाउँदैन । कम्युनिस्ट समाज निकम्मा वर्ग र अवैधानिक आयको प्रणाली समाप्त गर्न चाहन्छ ।

काम अनिवार्य छ । यसको मतलब सबै मानिसहरू काम गर्न बाध्य हुनेछन् भन्ने होइन । लेनिनले भनेका छन्, “हामी यस प्रणालीलाई नाम कम्युनिज्म दिन्छौँ, जसअन्तर्गत मानिसहरूलाई परिचालित गरिन्छ, कुनै विशेष जबरजस्ती बिना ।” साम्यवादले जबरजस्ती गर्ने कुनै पनि सम्भावनालाई अस्विकार गर्दछ र स्वतन्त्रतामा जोड दिन्छ । व्यक्तिहरूले आफ्नो सामाजिक कर्तव्य स्वेच्छाले गर्नेछन् ।

यहीँ पुँजीवाद र साम्यवाद बिचको भिन्नता छ । साम्यवाद नैतिक र मानसिक उत्थानको अभिव्यक्ति हो, चेतनाको उच्च रूप हो, जहाँ मानिसहरूले काम बिना बाँच्न मन पराउँदैनन् । तिनीहरू काम गर्न मन पराउँछन् ।

कम्युनिस्ट समाजले ‘प्रत्येकबाट उसको क्षमताअनुसारको काम र प्रत्येकलाई आफ्नो आवश्यकताअनुसार’ घोषणा गर्दछ । यसका लागि विकास आवश्यक छ । मार्क्सवाद स्विकार्छ कि बौद्धिक क्षमतामा भिन्नताले पेट र शारीरिक आवश्यकताहरूको प्रकृतिमा कुनै पनि भिन्नतालाई संकेत गर्दैन । कम्युनिस्ट समाजको अवस्थाले मानिसका सबै सामर्थ्यहरूको फूल फुल्छ र यसैले श्रमले उसको क्षमताको पूर्ण मापनलाई अझ फलदायी बनाउँछ । यसबाहेक, कम्युनिस्ट समाजले प्रत्येक व्यक्तिलाई आफ्नो स्थिति जस्तोसुकै भए पनि आवश्यकताअनुसार प्राप्त गर्ने आश्वासन दिन्छ । यहाँ तथ्य यो छ कि मानिसका आवश्यकताहरू उसको स्थिति वा बौद्धिक प्राप्तिमा निर्भर हुँदैन । त्यसकारण काम गर्नु र श्रमको सट्टामा उसलाई चाहिने कुरा प्राप्त गर्नु कम्युनिस्ट समाजको आधारभूत सिद्धान्त हो । मागको विस्तार र बौद्धिक क्षमताको विकास दुवै सँगसँगै अगाडि बढ्नेछन् ।

अर्को कम्युनिस्ट समाजको उद्देश्य होः क्षमताहरु पत्ता लगाउनु र यथार्थमा रूपान्तरण गर्नु । पुँजीवादी प्रणालीमा कामदारलाई मानसिक श्रम र शारीरिक श्रम बिचको विरोधाभासको सामना गर्नुपर्दछ ।

कम्युनिस्ट समाजले कामका घण्टा छोट्याएर नयाँ र उच्च मेसिनरीको प्रयोग गरेर व्यक्तिलाई कामको दिक्क लाग्ने अवस्थाबाट मुक्त गर्नेछ । कामदारहरूले मनोरन्जन र उत्तम गुणहरूको विकासका लागि प्रशस्त अवसर पाउनेछ ।

साम्यवादी समाजबारे पुँजीवादी सिद्धान्तकारहरूको आरोप गलत र पूर्वाग्रही तथा द्वेषपूर्ण छ । यी व्यक्तिहरूलाई कम्युनिस्ट समाजको प्रकृति र कामकाबारे थाहा छैन ।

बरु साम्यवादले व्यक्तिलाई उच्च महत्त्व दिन्छ । यहाँ भन्नुपर्ने कुरा छ कि कम्युनिस्ट समाजमा विज्ञान र प्रविधिको प्रगति व्यक्तिको बौद्धिकताको सर्वश्रेष्ठ विकासका लागि चिनिएको छ, न कि केही व्यक्तिको नाफा र रुचिमा बढेको ।

कम्युनिस्ट संस्कृति पनि पुँजीवादी संस्कृति भन्दा फरक छ । भ्रातृत्व, मित्रता र उत्तम गुणहरूको उचित विकासले कम्युनिस्ट संस्कृति निर्माण हुन्छ । दैनिक श्रम मानिसको एकलता र स्वार्थबाट स्वतन्त्र भएर आफ्नो समय र शक्ति संस्कृति र सौन्दर्यवादी गुणहरूको विकासमा समर्पित गर्दछ ।

फेरि विचारधारा कम्युनिस्ट संस्कृतिको एक हिस्सा हो । साम्यवादले मानिसलाई विश्व संस्कृतिको बारेमा सोच्न र विश्वव्यापी दृष्टिकोण बनाउन सिकाउँछ । कसैलाई आफ्नै देश वा वातावरणमा सीमित राख्दैन ।

सामान्यतया भनिन्छ कि कम्युनिस्ट समाजले नैतिकताको अनुमोदन गर्दैन । सम्पत्ति प्रणाली नष्ट हुन्छ । केही पुरुषहरू अवैधानिक र जबरजस्ती उनीहरूको जायजेथाबाट वञ्चित गरिन्छन् । त्यसैले साम्यवाद नैतिकहीन हो । तर मार्क्स र उनका अनुयायीहरूले यो निराधार विचार स्विकार गर्दैनन् ।

कम्युनिस्ट नैतिकता वैचारिक, राजनीतिक र नैतिक एकताको अभिव्यक्ति हो । यो सामाजिक एकरूपताको अग्रसरता हो । नैतिक मूल्यहरु बिना मान्छेमा इमानदारी र कर्तव्यको भावना विकसित हुन सक्दैन ।

कम्युनिस्ट समाजबारे कर्नफोर्थको विचार छ, त्यो समाज जसमा मानव चेतनाले नयाँ र विकसित भूमिकाबाट समाजको विकास निर्देशित हुन्छ र मानिसहरुका आफ्ना आवश्यकताहरुमाति विजय पाउँछन् ।

कम्युनिस्ट समाजको हरेक क्षेत्रमा मानव चेतनाले एक निश्चित भूमिका खेल्नुपर्छ । यो अत्यन्त महत्त्वपूर्ण छ कि कम्युनिस्ट समाजको स्थापना बिना यो स्थिति प्राप्त हुन सक्दैन ।

कम्युनिस्ट समाजको राजनीतिक संगठनको वास्तविक प्रकृति कस्तो हुने भन्ने कुरा महत्त्वपूर्ण छ । साम्यवादले वर्गविहीन समाजको परिकल्पना गरेकोले राज्यको आवश्यकता पर्ने छैन भन्ने कुरा उल्लेखनीय छ । राज्य अन्ततः विलोप हुनेछ । सबै बुर्जुआ तत्त्वहरू पूर्ण रूपमा समाप्त हुनेछन् । मान्छेले आफ्नो आवश्यकता, इच्छा र छनौटअनुसार आफ्नै सामाजिक संगठन गठन गर्नेछ । दमन वा जबरजस्ती स्थायी रूपमा समाजबाट विदा हुनेछ । केही मानिसको विशेष वा उच्च अधिकार र अरूको पराधीनतालाई नष्ट गरिनेछ ।

कम्युनिस्ट समाजले पूर्ण स्वतन्त्रता र लोकतन्त्रको सुनिश्चितता प्रदा गर्दछ । केवल कम्युनिस्ट समाजमा व्यक्तिले वास्तविक प्रजातन्त्रको स्वाद लिन सक्दछ । वर्गसहितको र जबरजस्ती थोपरिएको लोकतन्त्र स्वतन्त्रताका लागि अनुकूल हुँदैनन् ।

पुँजीवादी प्रणालीमा राज्यले व्यक्तिको व्यवहारमा धेरै प्रतिबन्ध लगाउँदछ । त्यहाँ राज्यको गतिविधिमा स्वतन्त्र सहभागिता एक दुर्लभ घटना हो । पुँजीवादमा केवल शासक वर्गका मानिसहरुसँग स्वतन्त्रता हुन्छ जबकि साम्यवादमा सबै मानिसहरुले स्वतन्त्रताका साथ पूर्ण सन्तुष्टि पाउँछन् । त्यहाँ राम्रो सम्बन्ध र भाइचारा सामाजिक जीवनको सबै पक्षमा हावी हुन्छ । कम्युनिस्ट समाजले सहर र गाउँ बिच कुनै भिन्नता राख्दैन । यो मात्र होइन, सबै कृत्रिम भिन्नताहरू कम्युनिस्ट समाजबाट हटाइन्छ ।

कम्युनिस्ट समाजमा संस्कृति, भाषा, जाति र धर्मको विविधता रहनेछ तर तिनीहरूले कुरूप आकार लिने छैन र समाजको विकासमा बाधा ल्याउने छैनन् । सबै व्यक्तिहरूले आत्मविकासका लागि पर्याप्त र समान अवसरहरू पाउनेछन् ।

(लेखक वामपन्थी युवा नेता हुनुहुन्छ।)