किम जोङ इल, kim jong il, dprk, dear leaders, eternal general secretary, उत्तर कोरिया
 

पृथ्वीमा झण्डै सात अरब मानिसहरु रहेका छन् । हरेक दिन हजारौँको संख्यामा मानिसहरुको जन्म हुन्छ र हजारौँको संख्यामा नै मानिसहरुको मृत्यु हुन्छ । परन्तु चिनियाँ जनताका महान् नेता तथा जनवादी गणतन्त्र चीनका संस्थापक क. माओत्सेतुङले भनेझैँ कसैको मृत्यु चराको प्वाँखजस्तै हलुका हुन्छ र कसैको मृत्यु पहाडजस्तै गह्रौँ हुन्छ । त्यस्तै महान्‌ जीवन बाँच्ने र गह्रौँ मृत्युवरण गर्ने एक आदर्श समाजवादी नेताको नाम हो – क. किम जोङ इल ।

कोरियाली जनताका प्रिय नेता, विश्व सर्वहारावर्ग र साम्राज्यवादविरोधी संघर्षका एक आर्दश क. किम जोङ इलको जन्म सन् १९४२ फेब्रुअरी १६ (जुछे ३१) मा कोरियाली स्वतन्त्रता र क्रान्तिको साक्षी रहेको कोरियाली जनताको आस्थाको प्रतीक पेक्तु पर्वतको काखमा भएको थियो ।

कोरियाली जनताका मुक्तिदाता, प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका संस्थापक राष्ट्रपति क. किम इल सुङ र क्रान्तिकारी वीराङ्गाना क. किम जोङ सुकका सुपुत्रकोरुपमा क. किम जोङ इल जन्मँदा कोरिया जापानी उपनिवेशवाद विरुद्धको संघर्षमा होमिएको थियो । बम–बारुदको धुँवा र कोरियाली पितृभूमिको मुक्तिका नाराहरुको गुञ्जनसँगै महान नेता किम जोङ इल हुर्कनुभयो । युद्धभूमि र क्रान्तिका पाठशालाहरुमा ज्ञान हासिल गर्दै शैशवकालदेखिनै क. किम जोङ इल एउटा क्रान्तिकारी र देशभक्तिले ओतप्रोत वातावरणमा हुर्कनुभयो । उहाँ किशोरावस्थामा पुग्दा नपुग्दै फेरि कोरियाली भूमिमाथि अमेरिकी साम्राज्यवादले थोपरेको कठोर युद्धको सामना गर्नुपर्‍यो । यसरी उहाँको जीवनमा निरन्तर युद्ध र क्रान्तिको प्रशिक्षण प्राप्त भइरह्यो ।

Nahendra Khadka, नहेन्द्र खड्का, peasant leader
लेखक

समाजवादी राजनीति र विचारका लागि विश्वव्यापी रुपमा प्रसिद्ध पिता र कोरियाली सर्वहारा वर्गको प्यारो पार्टीको सैद्धान्तिक प्रशिक्षण र जापानी उपनिवेशलाई पराजित गरी स्थापना भएको प्रजातान्त्रिक जनगणतन्त्रले कोरियाली युद्धमा अमेरिकी साम्राज्यवादलाई पराजित गरिसकेपछि समाजवाद निर्माणको अभियान अगाडि बढाउने सन्दर्भमा प्राप्त व्यावहारिक ज्ञानबाट सुदीक्षित हुने अवसर प्राप्त गर्नुभएका महान नेता किम जोङ इल एक प्रतिभावान क्रान्तिकारी, समाजवादी चिन्तक र दूरदर्शी विचारक हुनुहुन्थ्यो । त्यसैले उहाँलाई कोरियाली जनताले ‘चम्किलो तारा’को रुपमा विभुषित गरेका छन् ।

सोभियत संघको विघटन र समाजवादी व्यवस्थाले विश्वव्यापी धक्का महसुस गरिरहेको परिस्थितिमा राष्ट्रपति किम इल सुङको दुःखद निधन हुन पुग्यो । उहाँको निधनपश्चात समाजवादी कोरिया पतन हुने भविष्यवाणी गरेर बसेका प्रतिक्रियावादी ज्योतिषीहरुलाई गलत सावित गर्दै उहाँले कोरियाली श्रमिक पार्टी र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको सफल नेतृत्व गर्नुभयो । क. किम इल सुङका सपनाहरुलाई पूरा गर्ने प्रतिबद्धता, सिद्धान्त र व्यवहारप्रतिको तालमेल, विचारको क्षेत्रमा महान योगदान र समाजवाद निर्माणको दिशामा अद्भूत सफलताहरु प्राप्त गर्दै उहाँ कोरियाली जनताको आस्था र भरोसाको केन्द्र बन्नुभयो । त्यति मात्र होइन, सोभियत संघको विघटनपश्चात एक ध्रुवीय विश्व निर्माणको भूत सवार रहेको अमेरिकी साम्राज्यवादलाई खुलेआम चुनौती दिएर उहाँले विश्वभरका समाजवाद पक्षधर र साम्राज्यवादविरोधी जनसमुदायको समेत आस्था र भरोसाको केन्द्र बन्न सफल हुनुभयो ।

क. किम जोङ  इल एक महान विचारक तथा चिन्तक पनि हुनुहुन्थ्यो  । उहाँले बिसौँ शताव्दीमा समाजवादले धक्का खाएकोबेला त्यसको रक्षाका लागि अहोरात्र खटिनुभयो । उहाँले समाजवाद निर्माणको ऐतिहासिक शिक्षा र हाम्रो पार्टीको विचार, समाजवादको निन्दा असह्य छ, समाजवाद एक विज्ञान हो भन्ने जस्ता महत्त्वपूर्ण विचारहरू अघि सार्नुभयो ।

कोरियाली श्रमिक पार्टीका अनन्तकालीन महासचिव क. किम जोङ इलले राष्ट्रपति क. किम इल सुङद्वारा अघि सारिएको जुछे विचारधारालाई व्यावहारिक रुपमा प्रयोग तथा विकास गर्नुभयो र यसलाई कोरियाली विशेषतामा ‘किमइलसुङवाद’को रुपमा विकास गर्नुभयो ।

प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र कोरियाली श्रमिक पार्टीको मार्गदर्शक विचारको रुपमा रहेको जुछे विचारधाराले जनसमुदायलाई क्रान्ति र निर्माणका मालिक तथा चालक शक्ति मान्दछ । जुछे विचारले ‘मानिस नै सबै कुराको मालिक हो र सबै कुराको निर्णय आफै गर्दछ भन्ने मान्यता राख्दछ । मानिसले आफ्नो भाग्य आफै निर्माण गर्छ भन्ने जुछे विचार एउटा सुस्पष्ट भौतिकवादी विचार हो । यो मानव–केन्द्रित विश्व दृष्टिकोणसहितको राजनीतिक दर्शन हो, जसले कोरियाली समाजलाई सही ढंगले राजनीतिक रुपमा निर्देश गर्दछ । अर्थतन्त्रमा आत्मनिर्भरता तथा आत्मसम्पन्नता र राष्ट्रिय सार्वभौमसत्ताको रक्षा तथा स्वतन्त्रता जुछे विचारका महत्त्वपूर्ण पक्ष हुन् । समाजवादको निर्माण यसको अर्को महत्त्वपूर्ण विषय हो । जुछे विचारको प्रयोग र विकासमा क. किम जोङ इलको योगदान सर्वदा स्मरणीय र प्रशंसनीय छ ।

त्यसरी नै प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको राष्ट्रिय सुरक्षा आयोगका अध्यक्ष क. किम जोङ इलले ‘सनगुन नीति’लाई अघि बढाउँदै कोरियाली जनता र कोरियाली राष्ट्रको सार्वभौमसत्ताको रक्षा मात्र गर्नुभएन, कोरियाली पितृभूमिको शान्तिपूर्ण पुनर्एकीकरणको अवधारणा समेत अघि सार्नुभयो । कोरियाली पितृभूमिको रक्षा र कोरियाली प्रायद्वीपमा शान्तिको बहालीका लागि ‘कोरिया प्रथम’ नीतिलाई अघि सार्दै उहाँले कोरियाली जनताको समस्यालाई कोरियाली जनता नै मिलेर समाधान गर्ने विचार अघि सार्नुभयो र अमेरिकी साम्राज्यवादको दादागिरीलाई चुनौती दिनुभयो भने कोरियाली राष्ट्रको शान्तिपूर्ण पुनर्एकीकरणका लागि जीवनभर प्रयत्न गरिरहनुभयो । आज पनि कोरियाली पितृभूमिको शान्तिपूर्ण पुनर्एकीकरणका लागि उहाँले अघि सारेको विचार अत्यन्तै महत्त्वपूर्ण छ ।

‘जनता प्रथम’ नीति अन्तर्गत कोरियाली जनतामाथि भरोसा गर्ने र जनतालाई अत्यन्तै माया गर्ने नीतिलाई दृढतापूर्वक अघि बढाउँदै प्रिय नेता क. किम जोङ इलले राष्ट्रपति क. किम इल सुङले प्रतिपादन गर्नुभएको जुछे विचारको कार्यान्वयन गर्नुभयो । कोरियाली जनता र कोरियाली श्रमिक पार्टीको बिचमा नङ–मासुको सम्बन्ध स्थापित गर्दै समाजवादी निर्माण अभियानलाई तीव्रता दिनुभयो, जसबाट कोरियाली समाजवाद सम्पूर्ण प्रतिकूलताहरुलाई चिरेर एउटा विशिष्टताका साथ अघि बढ्न संभव भयो ।

क. किम जोङ इल एक कुशल राजनेता तथा सैन्य रणनीतिकार पनि हुनुहुन्थ्यो । सोभियत संघको विघटनपश्चात आफूलाई एकल महाशक्ति घोषित गर्दै संसारभर युद्ध थोपरेको अमेरिकी साम्राज्यवादले दक्षिण कोरिया, जापान र ग्वाम द्वीपमा सैन्य शिविर स्थापना गरेर निरन्तर आक्रमणको धम्की दिइरहेको बेला उहाँले राष्ट्रपति किम इल सुङद्वारा अघि सारिएको ‘सनगुन नीति’लाई ‘सेना प्रथम’ नीतिका आधारमा अघिबढाउन सफल हुनुभयो । यसबाट कोरियाली श्रमिक पार्टी, प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको सरकार, नागरिक र कोरियाली जनसेनाको बिचमा प्रगाढ सम्बन्ध स्थापित हुनपुग्यो । पुँजीवादी मुलुकहरुमा जस्तो सेनालाई भाडाका सिपाहीको रुपमा जनताको दमन गर्ने साधनको रुपमा नभई उहाँले कोरियाली जनसेनालाई जनताको सेवा गर्ने, पितृभूमिको रक्षा र विश्व शान्ति कायम गर्नका लागि जतिसुकै बेला बलिदान गर्न तयार जनताको प्यारो सेनाको रुपमा विकास गर्न सफल हुनुभयो । कोरियाली जनसेना त्यहाँको विकास निर्माणमा सबैभन्दा बढी योगदान गर्ने निकाय हो । प्राकृतिक विपदहरु पर्दा लाखौँको संख्यामा जनसेना परिचालित हुने र उद्दार तथा पुनःनिर्माणका कामहरु गर्ने गरेको छ । सेना, पार्टी र जनता बिचको एकमना एकता देखेर नै उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) बनाएर विश्वभर युद्ध भड्काउँदै हिँडेको अमेरिकी साम्राज्यवादले कोरियातर्फ आँखा लगाउन पनि सकेको छैन । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको नाम सुन्दैमा साम्राज्यवादी शक्तिहरु र तिनका पिछलग्गुहरुको मुटु थरथर काँप्ने गरेको छ । यो कुरा राष्ट्रपति क. किम इल सुङको एक असल उत्तराधिकारीको रुपमा कोरियाली जनताका प्यारा नेता क. किम जोङ इलको अद्वित्तीय नेतृत्व क्षमताको परिणाम हो ।

सन् २०११ (जुछे १००) डिसेम्बर १७ मा क. किम इल जोङले समाजवाद निर्माण र साम्राज्यवादविरोधी संघर्षको जिम्मेवारी कोरियाली तथा विश्वभरका जनसमुदायको काँधमा छाडेर यस धर्तीबाट विदा लिनुभयो । उहाँका सपनाहरुलाई साकार पार्ने, विश्व शान्ति कायम गर्ने एवम् न्याय, स्वतन्त्रता र समनतायुक्त नयाँ समाजवादी विश्व निर्माण गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ । जनतामाथि भरोसा गर्दै शोषण, दमन, अन्याय, अत्याचार र विभेदमुक्त समाजवाद निर्माणको दिशामा अघि बढ्नु नै महान नेता क. किम जोङ इलप्रति हाम्रो सच्चा श्रद्धाञ्जली हुनेछ । पेक्तु पर्वतको काखमा जन्मेका कोरियाली जनताका महान् नेता तथा विश्व समाजवादी आन्दोलनका चम्किलो तारा क. किम जोङ इललाई सगरमाथाको देशबाट हाम्रो रातो सलाम छ । महान कोरियाली तथा न्यायप्रेमी नेपाली जनताको मित्रता, पारस्परिक भाइचारा र समाजवादी क्रान्तिप्रतिको एक्येबद्धता अमर रहोस् ।

(लेखक जुछे विचार अध्ययन केन्द्र, नेपालका अध्यक्ष हुनुहुन्छ।)