सत्तामा पुग्न पार्टी एकताको नाटक रचेर आफ्ना आसेपासेलाई मोजमस्ती गर्ने बाटो बनाउने उद्देश्य पूरा गर्न बाहेक ओलीले केही गरेको पाइएन । तर प्रचण्डका लागि भने पार्टी एकता देशको विकास र समृद्धिका साथै समाजवादी आन्दोलनलाई सफल बनाउने नै थियो भन्ने कुरा अहिले आएर पुष्टि हुँदै गएको छ । पार्टी एकताको बेला दुई अध्यक्षले आलो-पालो सरकार चलाउने स्पष्ट लेखिएको भएपनि प्रचण्डले पाँचै वर्ष सरकार चलाउन दिनु ओलीका लागि ठूलो उपहार थियो । वास्तवमा यति सदासयता हुँदाहुँदै पार्टी केन्द्रीय समितिको निर्णयनै नमान्ने र स्वेच्छाचारी ढङ्गले सरकार चलाउने अनि उद्दण्ड बन्दै आखिर संसद विघटनसम्म पुग्नु ओलीका लागि यो ऐतिहासिक दुर्भाग्यको कुरा हो ।
ओलीले सत्ता प्राप्त गर्नु र आफ्ना गुटलाई राज्यको सम्पत्तिमाथि हालिमुहाली गराउनु बाहेक अरु काम गरेको देखिएन । अन्यथा चुनावको बेला भाषण गर्दा बृद्धलाई रु. ५,०००/- घरमै पुर्याएर सलाम ठोकेर फर्कन्छौँ भनेको चुच्चे रेल २०७६ भित्र केरुङबाट काठमाडौँ-पोखरा कुश्मा र बेनी अनि पाल्पा हुँदै लुम्बिनी पुर्याउने, पानी जहाजको टिकट लिनु भन्दै हिँडेको सायद तिनले बिर्से होलान् । घर-घरमा ग्याँसको पाइप जोड्ने र खाना पकाउने सुविधा दिने गफ निक्कै फलाके तर मिटरले जति ग्याँस देखाउँछ, पैसा तिर्ने भनेको यही संसद भंग गर्ने पौरख नै थियो त ?
पार्टीभित्रबाट र संसदबाट समेत काम गर्न दिएनन् भनेर दुईतिहाइ बहुमत ल्याउन चुनावमा जान परेको भन्ने संसद विघटन गर्ने सिफारिस गर्दाको भाषा पढ्दा नै अचम्म मान्नुपर्ने हुन्छ । फेरि यस्तै सिफारिसलाई राष्ट्रपतिले हाताहातै दस्तखत गरेर स्वीकृति दिनु पनि गैरजिम्मेवारपूर्ण मनोवृतिले काम गरेको देखिन्छ । के राष्ट्रपतिले त्यतिबेला कानूनी सल्लाह लिने, असन्तुष्ट नेतासँग छलफल गर्ने, प्रतिपक्षीको विचार लिने गर्न सक्दिनथिन् । अहिले यस्तै खालका गैरजिम्मेवार नेता देशले खोजेको हो ? चुनावको नाटक रचेर आफैले बहुमत पाएको घोषणा गरिहाल्ने डरलाग्दो कुरा देखा परिरहेको थियो । तर ओलीले देखेको त्यो दिवासपनालाई सर्वोच्च अदालतले धुलो चटाइदिएको छ, नत्र जनताले चटाइदिन्थे ।
जनता विकास र समृद्धिका लागि आतुर छन्, ओली मच्चाएको भ्रष्टाचारबाट मुक्ति चाहेका छन् । दुईतिहाइको सरकारले सामान्य रुपमा नै गर्न सक्ने धेरै काम थिए । तर ओलीले केही पि गरेनन् । झन् सँधैका लागि राजनीतिक खिचलो हुने स्थिति बनाइदिए । परन्तु अहिले आफूले राष्ट्रवादको मुखुण्डो लगाएर देशलाई सताउने ओलीको सक्कली अनुहार जनताले देखिसकेका छन् । के रअ का प्रमुख सामन्त गोयललाई बोलाएर प्रधानमन्त्री निवासमा रातारात मन्त्रणा लिने र देशमा यत्रो बबण्डर मच्चाउने ओली अझै पनि राष्ट्रवादी ? सीमाको चुच्चे नक्सा मैले निकाले, ‘लोड सेडिङ अन्त गर्ने पनि मै हो’ भनेर पत्याउने कति होलान ? चारजना लठैतलाई नेपाल ट्रष्टको सारा सम्पत्ति सुम्पेर बोल्न लगाउँदैमा राष्ट्रवादी र कर्मवीर भइन्छ ?
रअ प्रमुख सामन्त गोयलले ओलीलाई भेटेर फर्किएपछि अमेरिकी विदेशमन्त्री माइक पोम्पियोसमेत सहमतिमा जयशंकर र राजनाथ सिंहहरुको छलफलबाट नेपालको राजनीतिक, सामाजिक तथा आर्थिक संरचनालाई खलबल्याउने र ओलीलाई हात लिएर नेपालको सम्पूर्ण साधन श्रोत कब्जा गर्ने जस्ता गम्भीर योजना बनेको सवत्र चर्चा छ । सोही योजनाअनुसार जी न्युजका सुधीर चौधरीले भारतमै तयार भएको पटकथा ओलीलाई दुईदिन समय दिएर अभ्यास गराई अन्तर्वार्ता प्रसारित गरेको चर्चा भइरहेको छ । उनले अन्तर्वार्तामा दिएको जवाफ भने स्तरीय नै भएको भएपनि ओलीले जे बोलिरहेका थिए, त्यो उनको क्षमता अध्ययन र दिमागले भ्याउने स्तरको थिएन । फेरि यिनै चौधरीले सगरमाथामाथि भारतको दावा रहनुपर्छ भन्ने अभिव्यक्तिको ओलीले बचाउ गरिरहेका छन् । यसर्थ मोदीले ओलीलाई एकमात्र राष्ट्रवादी नेताको रुपमा प्रस्तुत गरेर सत्तामा टिकाई राख्न यो षड्यन्त्र भएको कुरा स्पष्ट हुन पुग्दछ ।
देश कानुनसम्मत चलाउनुपर्छ । त्यसैले सबै जनप्रतिनिधिहरु मिलेर मूल कानुनको रुपमा संविधान बनाएका हुन्छन् । यसैले संविधान बनाउन २००७ साल भन्दा अघि देखिको प्रयत्नको समेत सम्झना गर्नु पनि सान्दर्भिक हुन्छ । तत्कालीन राजा त्रिभूवन भारत पलायन भएपछि देशमा घटेका घटनाहरुले राणाको निरङ्कुशता निकै अतालिएको अवस्थामा थियो । यतिमात्र नभएर यो देशै रहने कि नरहने भन्ने त्रासदी मडारिरहेको अवस्थामा मोहन शमशेरले तत्कालीन राजा त्रिभूवनलाई बर्खास्त गरेर फुच्चे ज्ञानेन्द्रलाई राजा बनाउनु सत्ता जीवित राखेर देश बचाउन गरेको सकारात्मक कदम मान्नुपर्छ । अन्यथा राजा त्रिभूवनबाट नेपाललाई भारतमा गाभ्ने प्रस्ताव राखेका थिए तर नेहरुले मानेनन् भन्ने भनाइसहितको प्रणव मुखर्जीको पुस्तकको आशयले पनि यहाँका शासकको बुद्धि विवेकले देशको हितमा काम गर्न सकेको थियो ? प्रश्न उठिरहेको पाइन्छ ।
ठूलो देश भएर पनि एकमुठी छिमेकीको माटो नभई भारतका शासक अघाउँदैनन् । अन्यथा कालापानीमै किन कचिङ्गल गर्न आउनुपर्ने थियो त । रातारात सुस्ता, पशुपतिनगर लगायतका सीमा स्तम्भ भत्काएर सार्नु अपराध होइन ? आफै अपराध गर्ने अनि नेपालमाथि अत्तो थाप्ने काम भारतीय शासकले गरिरहेका छन् । यसै क्रममा अहिले ओलीलाई हतियार बनाएर नेपाललाई निल्न सकिन्छ कि भनेर संसद विघटन गर्न लगाएको हो भन्ने कुरा कतै लुकेको छैन । अन्यथा, ओलीले संसद विघटन गर्दा भारतीयहरुले हामी चुनावको पक्षमा छौँ भनेर भनिरहनु आवश्यक थिएन । यहाँ चुनावको नाटकबाट संसद आफ्नो हात पार्ने भारतीयहरूको षडयन्त्र सर्वोच्च अदालतले तुहाइदिएको छ ।
अहिले नेपाली धेरै सचेत भइसकेको अवस्थामा भारतले नेपालमाथि षड्यन्त्रपूर्ण पञ्जा फैलाउने प्रयास गर्नुभन्दा सुगौली सन्धि पहिलेको अवस्थामा रहेको नेपालको भूभाग टिष्टा, काँगडा र सतलजसम्मको भूमि फिर्ता गर्नुनै भारतीयका लागि लाभदायक हुन्छ । यसो नगरेर अझै नेपालप्रति कुदृष्टि दिइरहने हो भने भारतले आफै बिखण्डनको अवस्थामा पुग्ने दिन पर्खिरहनु पर्दैन ।
भारतको इतिहास आफैमा स्वाधीनताको हिसाबले खण्डित नै छ किनभने अनेकौँ टुक्रामा रहेको अवस्थालाई मौकाको रुपमा लिँदै अंग्रेजहरु (बेलायती) सन् १७५७ मा इष्ट-इण्डिया कम्पनीको नामले व्यापारिक उद्देश्यका साथ भारत पसेका थिए । यो कम्पनीको कार्यक्रम सन् १८५८ सम्म निरन्तर रहँदाको अंग्रेजहरुको प्रभावाको कारण सोही अवधिदेखि सन् १९४७ सम्म भारतमा ब्रिटिस इण्डियाको साम्राज्य कायम भएको थियो । यस अवधिमा अंग्रेजले भारतका ५६५ साना-साना राज्यका नवावहरुको गरगहना लगायका सम्पत्तिहरु लुटेर ठूला-ठूला पानी जहाजमा राख्दै बेलायत पुर्याएका थिए । यतिसम्म कि भारतको कोहिनुर हीरासमेत अहिले बेलायतमा लगिएको हो भन्ने चर्चा चलिरहेको छ ।
अंग्रेजहरु भारतमा शासन गर्दा उनीहरुले आफ्नो हैकम जमाउन भाषा संस्कृतिमाथि आक्रामक हुँदै अंग्रेजी भाषा नै कार्यालय प्रयोजनको भाषा बनाउन सफल भए । भारतीयहरु पनि अंग्रेजको जतिसुकै दमन र दबदबा भएपनि भारतको एकीकरण र त्यहाँको पूर्वाधार निर्माणमा अंग्रेजहरुले गरेको योगदानको सम्मान गर्दछन् । यदी अंग्रेज भारतमा नआएको भए भारत क्षतविक्षत भएर टुक्राटुक्रामा रहेको अवस्था हुने थियो । यसैले पराधीनताको सिकार भएपनि भारतीयहरु अंग्रेजहरुलाई देवता नै ठान्दा रहेछन् ।
भारत जतिसुकै विकसित र धनी भने पनि अहिलेको कोभिड-१९ को अवस्थामा ८० करोड जनतालाई ५ पाँच किलो चामल बाँड्नुपर्ने अवस्थामा रहेका जनताको जीवनस्तर उठाउन मोदीको बुताले भ्याउनसक्ने अवस्था देखिँदैन । जनताको समस्या समाधान गर्नेतर्फ भन्दा भारत अहिले चारैतिरका छिमेकीलाई आतंकित बनाउने काम गरिरहेको छ । साना छिमेकीको त के चीनजस्तो शक्तिशाली देशको सीमामासमेत सिङ्गौरी खेल्न भारत पछिपरेको छैन । यस अर्थमा लद्दाखमा भइरहेको खिचलोमा दुईलाख भन्दा बढी संख्यामा भारतीय सेना तैनाथ गर्नु पर्ने अवस्था कति जोेखिमपूर्ण हुन्छ भन्ने कुरा भारतीयले बुझेको छ जस्तो लाग्दैन ।
मोदी राजनीतिक रुपमा पुरानो परम्पराका हुन् । हिन्दु समुदायलाई प्राथमिकता दिएर अरु जातजातिको हुर्मत लिन उनी ताहुरमाहुर गरिरहेका छन् । गरिब जनताको नाममा आफ्नो हैसियत बनाएका मोदीले अहिले किसानमारा कानुन ल्याएर कृषिमा विदेशी लगानीको बाटो खोलिदिएको कुराले तल्लो वर्गका जनता अन्योलमा परेका छन् । कृषिमा बहुराष्ट्रिय कम्पनीलाई खुला गरिदिएपछि साना किसानहरु गाउँ-गाउँबाट विस्थापित हुने अवस्था भारतले भोग्न तयार हुनुपर्ने दिन यी कानुनहरूले ल्याइरहेका छन् । यसर्थ भारतको सामाजिक आर्थिक र राजनीतिक अवस्था करिब नाजुक नै रहने र कमनवेल्थको आडमा राष्ट्रवादको झण्डा बोकिरहेका मोदीलाई भारत भन्ने देश कतै खोज्नुपर्ने दिन पर्खिनु बाहेक अर्को विकल्प देखिँदैन । अहिले ओलीले पनि कृषिमा विदेशी लगानीको नीति ल्याउनु मोदीकै निर्देशनको पालन भएको हो र यो नीतिको विरुद्धमा नेपालमा पनि सबै कृषि व्यावसायिक संगठन र किसान समेत विरोधमा उत्रेका छन् ।
देशमा अहिले ओलीको अत्याचार बढ्दै गएको छ । भ्रष्टाचार, महंगीजस्ता चरम अपराधको केन्द्र ओली सरकार बनेको छ । जुनकुरा यति होल्डिङलाई सरकारी स्वामित्वका जग्गा तथा भवनहरु जिम्मा लगाउनु, ओम्नीलाई कोभिडको मेडिकल उपकरण खरिदमा करोडौँ घोटाला गर्ने माध्यम बनाउनु, सेक्युरिटि प्रेसको चमत्कारिक घटनाबाट अरबौँ कुम्ल्याउने प्रपञ्च रच्नु र वाइड बडी लगायतका अनेकौँ काण्डमा आफ्ना आसेपासे गुण्डाहरुलाई मोजमस्तिको बाटो बनाउने लगायतका अपराधले देशको अवस्था ओलीकै कारण नाजुक बनिरहेको छ ।
ओली किन यस्तो चरित्र देखाइरहेका छन् भनेर जान्नका लागि उनको विगततर्फ नियाल्नुबाट धेरै कुरा जान्न सकिएला जस्तो लाग्छ । यसका लागि लेखनाथ पौड्यालले लेखेको कविताको पंत्ति सान्दर्भिक हुन पुग्छः
सानैदेखि छुचो हुन्छ दुष्ट मानिसको मति,
घोच्ने ती जंगली काँडा पहिले नै तीखा कति ।
सबैले बुझ्नैपर्ने ओली ज्यानमारा रहेछन् भन्ने उनको विगतले स्पष्ट पारिरहेको छ । उनी राजनीतिक कारण १४ वर्ष जेल बसेका होइनन् भन्ने कुरा उनीसँगै जेल सजायँ पाएका नेपाली नेल्सन मण्डेला मोहनचन्द्र अधिकारीले भनिरहेका छन् । उनी ज्यानमारा मुद्दामा जेल बसेका हुन् । जेल बस्दा उनले मोहनचन्द्रलाई मार्नेसम्मको षड्यन्त्र गरेका थिए भन्ने कुरा एउटा अन्तर्वार्तामा मोहनचन्द्रले नै भनेको सुन्दा अचम्म मानिरहनु परेन । त्यसैले ज्यानमारा नै हुन् भन्ने कुरा उनले बुटन चौधरीको हत्या गरेर रगत पञ्चामृत जस्तै गरी पिएका थिए भन्ने समाचारले पनि सबैलाई सजग बनाएको छ ।
झापामा २०२८ जेठ ३ गते ज्यामिरगढीका कर्णबहादुर गौतम लगायतका १३ जना निर्दोष किसान मारिएका थिए । यस्तै अपराधमा ओली लगायत केही व्यक्तिलाई २०३० चैत २३ गते अदालतले ज्यानमाराको दण्ड–सजायँ सुनाएको थियो । यसैगरी झापामै विष्णुप्रसाद बिमली र उनका नातेदार इश्ररीप्रसाद चुडाल काटिएका थिए । फेरि २०२९ साल मंसिरमा पूर्व सांसद (रापस) धर्मप्रसाद ढकाल र उनका माहिला छोरा ज्ञानी (ज्ञानेन्द्र) समेत काटिएका थिए । यी सबै घटनाले ओलीको क्रुर चरित्रको पुष्टि गरिरहेको छ ।
अहिलेका संसद विघटन र अन्य हर्कतहरू उनका दुष्ट चरित्रकै परिणति हुन् । ओलीले नै आफ्नो हातमा अथवा कम्युनिस्टहरुको हातमा परेको सूवर्ण मौका बाँदर प्रवृति देखाएर ध्वंस गरे भन्ने फेसवुक वालमा छ्यासछ्यास्ती भेटिन्छ । यिनका शब्दमा गरिब किसानको कुरा छैन । देशमा दुःखलाई नै भाग्यको रुपमा स्विकारिरहेका जनताको सामाजिक न्यायको कुरा यिनबाट सुन्न पनि पाइएन । जे सुनिएको छ त्यो काम भएको पाइँदैन ।
देशलाई नै अमेरिकी सैनिक अखडा बनाउने एमसीसी भित्य्राउने र इण्डो-प्यासिफिक रणनीतिको पिछलग्गु बनेर यो अनौठो हर्कतमा ओली लागेका छन् ।
कामचलाउ सरकारले तल्लो अरुण भारतलाई बुझाउने, चुच्चे नक्सा प्रकाशित गरेपछि भारतीय सैनिक फिर्ता गर्न पहल गर्नु त कहाँ हो कहाँ उल्टै नक्सा छापिएको पाठ्य पुस्तक वितरण नगर्नु भन्ने आदेश दिनुले यी को हुन् बुझ्न गाह्रो पर्दैन । सांघाई तिरको निकास खोलेँ भनेर हल्ला गर्ने तर छोटो दुरीको राधिकापुर फुलबारीबाट बंगलादेशसँगको पहुँच सरल पार्ने काममा बेवास्ता गरिरहेका छन् । विप्लवको राजनीतिक दलमाथि प्रतिबन्ध, गरिब जनताको कोभिड आतंक लगायतले गर्दा हातमुख जोड्ने समस्या लगायत दलित, भूमिहीन, सुकुम्बासी, हलिया, कम्लहरी तथा घरेलु कामदारको समस्या समाधानमा यिनको ध्यानै नजानुले यिनलाई जनताले को हुन् भनेर जान्न गाह्रो परेन ।
विदेशमा नेपाली चेलीहरुले भोगिरहेको दुर्दशा, युवाहरुको पलायन, विप्रेषणको भरमा देश चलाउनुपर्ने अवस्था निर्मला, भागिरथी भट्ट लगायत निर्दोष चेलीको बलात्कारपछि हत्या, खान नपाएर परिवारै आत्महत्या गर्नुपर्ने दुर्गम बस्तीका जनताको दर्दनाक अवस्थामा ओलीको सोचाइ पुग्ने कुरै भएन । नेपालको रैथाने बिउको विनास भएको छ । भइरहेको बिउबिजन र उत्पादनको अधिकार विदेशीले लिइरहेको छ । देशमा बहुराष्ट्रिय कम्पनीको बिगबिगी बढिरहेको छ । जनताले ओखतिमूलो पाएका छैनन । सेक्युरिटी प्रेस काण्ड, ओम्नी, यति काण्डका मतियार विरुद्ध अख्तियारमा परेको उजुरीलाई पत्रु उजुरी भनेर बचाउ गर्ने र क्याबिनेट निर्णयबाट अपराधीलाई सफाइ दिने । कुलमानजस्तो कुशल व्यवस्थापकलाई हटाएर आफ्नो सालो हितेश शाक्यलाई प्रधिकरणमा नियुक्ति दिने, आफ्ना भरौटेलाई राजदूत, संवैधानिक निकाय प्रमुख बनाउने जस्ता उत्पात मच्चाएर देशलाई दुर्दशाको खाडलमा हाल्न अहिले ओली तल्लिन छन् ।
यसैगरी छँदाखाँदाको संसद असंवैधानिक तरिकाबाट विघटन गरेर एक्लै चुरीफुरी देखाउने उनको हर्कतले देशको अवस्था नाजुक भएको छ । उनलाई यतिखेर म कुन भूमि टेकिरहेको छु भन्ने पनि थाहा छैन । सर्वेसर्वा आफै र अरु कोही होइनन् भन्ने घमण्डले उनी चुलिएका छन् । यसैले फेसबुक वालमा उनलाई संकेत गर्दै सम्झना गरिएको राष्ट्रकवि स्व. माधव घिमिरेको कविताको पंक्ति “नाशैलाई छ सिर्जना सब भने, रोएर के हुन्छ हे” पनि यहाँ सान्दर्भिक छ । यसैले एउटा संस्कृत श्लोकलाई पनि यो सन्दर्भमा उल्लेख गर्न उचित हुन्छः
अतिदर्पे हता लंका अतिमाने च कौरवा
अतिदाने वलिर्बद्ध अति सर्बत्र गर्हितम
यसको भावार्थ हो – धेरै घमण्डले रावण मारिए, धेरै मान मर्यादामा छु भन्ने घमण्डले कौरवको विनास भयो, अति नै दान दिँदा बलीराजा बाँधिन पुगे । भनेपछि अति कहिले पनि गर्नु हुँदैन भन्ने यो श्लोकबाट जान्न सकिन्छ । यसैले अहिले ओली रावण र दुर्योधन जस्तो देखिए भने प्रचण्ड बलीको जस्तो भूमिकामा पाइन्छन् । आफूले पाएको आधा-आधा अवधि सरकार चलाउने अधिकार समेत ओलीलाई सुम्पनु नै अति दान भएको हो । यसर्थ अहिलेको राजनीतिमा ओलीको भूमिकाले देशलाई कहिल्यै राम्रो हुँदैन । यो अवस्थामा ओलीले पनि अब घमण्ड गर्दिन भनेर आफ्नो मति सुधार्दा अझै पनि उनीसँगै काम गरेका नेताहरु र उनलाई र विद्या, माधव, झलनाथ समेतलाई उचित स्थान दिने दानवीर प्रचण्डले माफी दिने अवस्था बाँकी रहला ।
संसद पुनःस्थापना भइसकेको छ । ओलीले कामै छैन भनेर विघटन गरेको संसदलाई पुनःस्थापना गरेर ओलीको कामलाई सर्वोच्च अदालतले रद्ध गरिसकेको छ । अझै पनि संसदको सामना गर्छु भन्नुजस्तो ओलीको जबर्जस्त लुठ्याइँ संसारमा अर्को खोज्नु पर्दैन । यो ओलीको मुर्ख्याइँलाई पराजीत गरेर अब देशलाई आर्थिक समृद्धिको बाटोमा लैजानसक्ने गरी प्रचण्डले नै देशको नेतृत्व गर्नुपर्छ । उनकै नेतृत्वमा देशमा कृषि क्रान्ति गरौँ, सबै गाउँलाई नमूना गाउँमा परिणत गरौँ । सबै जनताले निःशुल्क शिक्षा, स्वास्थ्य र अन्य सुविधा पाऊन् । हामी समृद्ध देशका नागरिक बन्न सकौँ । देश खरानी बनाउने ओलीजस्तो तुच्छ प्रवृतिलाई सबै मोर्चाबाट परास्त गर्न सबै एकजुट बनौँ ।
(लेखक विकास अर्थशास्त्री तथा वामविश्लेषक हुनुहुन्छ ।)