१. क्रान्तिमा बल प्रयोगको सिद्धान्त र सशस्त्र संघर्षको बाटो व्यावहारिक रुपमै अवलम्बन गरिसकेका हाम्रा नेपाली कामरेडहरुलाई समेत जनआन्दोलनको अर्थात् शान्तिपूर्ण आन्दोलनको सीमा थाहा होला कि नहोला?
२. मात्रात्मक परिवर्तन, आंशिक उपलब्धि, उपरिसंरचनामा फेरबदल र रुपमा बदलाव आदि आएर मात्र क्रान्ति अर्थात् गुणात्मक परिवर्तन होला त?
३. इतिहासमा कहिले काहीँ प्रतिक्रियावादी कुनै शासक उदार, नरम र दयालु भयो र कुनै क्रान्ति नै भइहाल्यो भनेर प्रतिक्रियावादी वर्ग, त्यो पनि आजको जस्तो साम्राज्यवादी युगमा, बुद्धवादी बनेर सत्ता छोड्देलान् र सर्वहारा वर्गीय सत्ताको प्राप्ति, संरक्षण र सम्बर्द्धन होला र?
४. नेपालमा राजा वीरेन्द्रले जनआन्दोलनलाई दमन गर्नभन्दा आफ्ना अधिकारहरुको कटौती गर्न तयार भई गरेको जनमत संग्रह र बहुदलीय व्यवस्थाको स्वीकार अनि आफ्नो वंश नाशकै खतरालाई मोलेर पनि माओवादी जनयुद्ध र योद्धालाई देशभक्त नेपाली सम्झेर रक्तपात मच्चाउन सेना परिचालन गर्न नमानेको घटनालाई सामान्यीकरण गरेर प्रतिक्रियावादीहरु देशभक्त, जनप्रेमी र अग्रगामी हुन्छन् । तसर्थ क्रान्तिका लागि हतियारबद्ध आन्दोलन जरुरी हुन्न भन्न मिल्ला?
५. राजा वीरेन्द्रको पूरै सन्तति-परिवारको हत्यापश्चात् परम्परागत राजतन्त्रको औपचारिक समाप्तिपछि पनि राजा बने-बनाइएका निवर्तमान राजा ज्ञानेन्द्रले जनयुद्धको जगमा भएको १९ दिने जनआन्दोलनको बललाई सम्मान गर्दै नरसंहार नगरी राज्यसत्ता सहजै जनतालाई हस्तान्तरण गर्नाले हुन गएको राजतन्त्रको उन्मूलन र गणतन्त्रको प्राप्तिलाई सैद्धान्तीकरण गरेर प्रतिक्रियावादी राज्यसत्ताको हिंस्रक चरित्र बदलियो भन्ने संश्लेषण गर्न सकिएला त?
६. आज दुईतिहाइभन्दा बढी नेपाली जनमत वामपन्थी, कम्युनिस्ट, क्रान्तिकारी र समाजवादी भएको पुष्टि हुनाले भोलि हुने जनमत संग्रहमा पनि वैज्ञानिक समाजवादकै पक्षमा बहुमत प्राप्त हुन्छ नै भनी विश्वास गरेर संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था भन्नेमा जनमतसंग्रहमा जानु ठिक होला र?
७. फेरि त्यस्तो जनमत संग्रह गर्दा कथम् वैज्ञानिक समाजवादको पक्षमा बहुमत प्राप्त भएमा त्यसको स्थापना, रक्षा, विकास र विस्तार गर्दै मार्क्सीय साम्यवादतिर लान-जान सकिएला कि नसकिएला हँ?
८. अमेरिका र भारतजस्ता विश्व र दक्षिण एसियाका साम्राज्यवादी र विस्तारवादी दादाहरुले नेपालजस्ता देशहरुका लोकतान्त्रिक आन्दोलनलाई समर्थन र सहयोग गरेर राजतन्त्रलाई उन्मूलन गर्न सघाएको वा लगाएको हुनाले उनीहरु पूर्ण लोकतन्त्रवादी भएको निष्कर्ष निकाल्न मिल्ला त?
९. अनि यसैलाई आधार मानी भारत र अमेरिकी शासक वर्गको सल्लाह-सुझाव, नीति-निर्देशन, योजना-षड्यन्त्र र दबाब-हस्तक्षेपलाई शिरोपर गरेर वा नजरअन्दाज गरेर अर्थात देशलाई वैदेशिक शोषण-उत्पीडनबाट मुक्त नगरी जनवादी क्रान्ति पूरा भएको र समाजवादी क्रान्तिको मार्गप्रशस्त भएको ठान्न सकिएला र?
१०. यस्तै, सामन्तवादको एउटा प्रतिनिधि संस्था राजतन्त्र ढल्दैमा जनताबाट चुनिएका भनिएका शासकहरुमा राजर्षी शानशौकत बढाएर सामन्तवादको उन्मूलन भएको र संघीय लोकतान्त्रिक गणतन्त्र नामक जातीय (वर्गीय होइन) समानुपातिक-समावेशी संसदीय व्यवस्था आउँदैमा नयाँ जनवादी क्रान्ति हुँदै समाजवाद-साम्यवादसम्म पुग्ने लक्ष-उद्देश्यमा पुग्ने प्रतिबद्धता गरेको पूरा भएको ठहर्छ र?
११. दश वर्षे जनयुद्ध, सत्र हजारको बलिदान, हजारौँ हजार बेपत्ता, घाइते-अपाङ्ग र जेल-हिरासतको यातना, तथा लाखौँको विस्थापन-आप्रवासन र निर्वासनको दुःखकष्ट अनि करोडौँ नेपालीले भोगेको प्रत्यक्ष मारको अर्थ र औचित्य देश र जनताको यही व्यवस्था र अवस्थाबाट पुष्टि भएको छ त?
१२. नेपालका सबैजसो पार्टीहरुले आफ्ना दस्तावेजहरुमा र नेपालको संविधानमै यो संसदीय व्यवस्थालाई समाजवाद उन्मुख राज्यव्यवस्थाको रुपमा नामाकरण गर्दैमा संवैधानिक, कानुनी र विधि-पद्धतिसम्मत तरिकाले सच्चा समाजवादमा पुगिएला त?
१३. कम्युनिस्टहरुको दुईतिहाइ बहुमतको सरकार, समाजवादीहरुको सर्वसम्मत संसद र तीन चौथाइ वामपन्थी जनमत भएको यो मुलुकमा आज राज्यमा, राजनीतिक शक्ति र व्यक्तिहरुमा अनि समाजमै पनि बढे-बढाइएका विचलन, विघटन, विसर्जन र विकृति-विसङ्गतिका बिचबाट यसरी नै समाजवाद-साम्यवादमा पुग्न सकिएला कि नसकिएला?
१४. वर्तमानको यो भ्रष्टता, भद्रगोल र भाँडभैलो विरुद्ध भीषण र भयङ्कर लडाइँ नलडेर अनि नेता-शासकहरुमा शुद्धीकरण, सर्वहाराकरण र क्रान्तिकारीकरण नगरिकनै क्रान्ति, शान्ति र समृद्धि सम्भव होला कि न होला?
१५. अब नेपालमा कम्युनिस्ट क्रान्तिका लागि क्रान्तिकारी व्यवहार, भूमिगत संगठन, अवैध गतिविधि, वर्ग संघर्ष, गाउँ-सहर जागरण अभियान, किसान-मजदुर आन्दोलन, वैचारिक-राजनीतिक स्कुलिङ, सर्वहारा अनुशासन र सांस्कृतिक क्रान्ति र रुपान्तरणजस्ता काम-कुराहरुको आवश्यकता समाप्त भएकै हो त?
(लेखक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता तथा संविधान सभा सदस्य हुनुहुन्छ। )