आज विश्वभरि क्रान्तिकारी सन्नाटा छाइरहेको बेला नेपालमा सडकधारी नेकपाको नेतृत्वमा एकीकृत सर्वहारावादी जनक्रान्तिको जुन शानदार प्रयोग र विकास भइरहेको थियो, यसले सर्वहारा वर्गको एउटा तप्काको मगजमा नयाँ तरंग सिर्जना गरेको थियो । एकीकृत जनक्रान्तिसँगै झलमलाउँदो समाज र राष्ट्रको परिकल्पना, आशा र विश्वास युवा र जनताको एउटा सानै तप्काले भए पनि सडकधारी नेकपालाई गरेको अवस्था थियो । भलै निरंकुश तानाशाही खड्गे सरकारको प्रतिवन्धका कारण बाहिर खुल्न नचाहे पनि ।
नेपालमा कम्युनिस्ट पार्टी भनेकै विप्लवले नेतृत्व गरेको नेकपा हो भन्ने कुरा अन्य कम्युनिस्ट पार्टीका कतिपय सदस्यहरुको भित्री मनमा पनि लागेको थियो । तर आज नेपाली राजनीतिक आकाशमा निराशाको बादल फेरि देखापरेको छ । मुख्य नेतृत्व मिल्दा सबै समस्या हल हुने जुन विचार र सोच छ, यसले राजनीति गर्ने नयाँ पुस्तामा नैराश्यता ल्याएको छ ।
यसभन्दा पहिले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिच २०७४ असोज १७ गते वाम एकतासँगै पार्टी एकता गर्ने निर्णय खड्ग ओली र प्रचण्ड बिच भयो, यसले पनि शीर्ष नेताहरू स्वार्थका लागि मिलेपछि सिद्धान्त विचार आम नेताकार्यकर्ताको मनोभावना सबै ओझेलमा पर्ने रहेछ भन्ने पुष्टि गर्छ । साथै, २०७७ फागुन २१ गते खड्ग ओली र नेत्रविक्रम चन्द बिच भएको सहमतिले पनि यसै तथ्यलाई प्रमाणित गर्छ ।
विप्लवप्रति मेरो व्यक्तिगत पूर्वाग्रह केही छैन तर मैले सोचेको, पढेको र बुझेको विप्लव रहेनछन् कि भन्ने अनुभूति र अनेक प्रश्न आज गरेको सहमति र बग्रेल्ती भइराखेका प्रचारले मनमा उब्जाएको छ । के सर्वहारा शब्द कमाइखाने भाँडाे मात्रै हो? आम सर्वहारा निश्चित शासकलाई सत्तामा पुर्याउने भर्याङ मात्रै हुन? सर्वाहारा वर्गीय आम जनता सधैँ शासित भइदिराख्नुपर्ने? यी यावत प्रश्न र तर्कना उब्जिएका छन् ।
रुस, चीन, भियतनाम, कोरिया, क्युवालगायतका समाजवादी र जनवादी क्रान्तिहरु आ-आफ्नै मौलिकतासहित सम्पन्न भए त्यसैगरी नेपालमा पनि सम्भावना छ भन्ने कुरा क्षितिजपारिको घामजस्तै भएको छ ।
क्रान्ति कसैको मनोगत चाहानाअनुसारभन्दा पनि विद्यमान राष्ट्रिय र अन्तर्राष्ट्रिय वर्गीय तथा राजनीतिक शक्ति सन्तुलनको वस्तुनिष्ठ आकलनका आधारमा सम्पन्न गरिने सचेत प्रक्रिया भएकोले सच्चा क्रान्तिकारीहरुले हमेशा पहिले अरुले नहिँडेको बाटो हिड्ने साहस गर्नै पर्दछ । मूल गन्तव्य र दिशालाई दह्रोसँग समातियो भने त्यहाँसम्म पुग्ने बाटो जति कठिनाइपूर्ण र जोखिमपूर्ण भए पनि हिँड्न् क्रान्तिकारीहरु पटक्कै डराउनु हुन्न । तर कमरेड विप्लवमा देखिएको क्रान्तिकारिता आज धर्मराएको छ, कतै विचलित भएको जस्तो, स्खलित भएको जस्तो ।
विश्वमा सबै क्रान्तिको आफ्नै मौलिकता हुन्छ । क्रान्तिका ठाेस चुनौती र सम्भावनाहरुको सामना गर्ने क्रममा नै ती मौलिकताहरुको पहिचान र विकास हुन्छ । नेपालको पुँजीवादबाट समाजवादी क्रान्ति पनि विगत लामो समयदेखि आफ्नै मौलिकतासहित अगाडि बढिरहेको छ । क्रान्तिको वेग कहिले तीव्र त कहिले मन्द, क्रान्तिको दिशा कहिले पूर्व त कहिले पश्चिम । क्रान्तिको स्वरुप कहिले हिंसात्मक त, कहिले शान्तिपूर्ण हुँदै यो निरन्तर अगाडि बढिरहेको छ जसअन्तरगत महान १० वर्षे जनयुद्धलाई लिन सकिन्छ, जो आफ्नै मौलिक ढंगले सम्पन्न भयो ।
जनयुद्धले दस वर्षको छोटाे अवधिमा नै वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक मुक्तिका सवालहरुलाई एकीकृत ढंगले संयोजन गरेर र फौजी तथा गैरफौजी संघर्षका रूपहरुलाई वस्तुवादी तवरले विन्यास गरेर यति चमत्कारिक ढंगले विकास गर्यो कि अघिल्लो पाँच दशकमा प्राप्त हुन नसकेका उपलब्धिहरु पछिल्लो एक दशकमा प्राप्त भए ।
बृहत् शान्ति सम्झौता, ऐतिहासिक संविधान सभामार्फत जनताको संविधान निर्माण देशमा हजारौँ वर्षदेखिको राजतन्त्र उन्मूलन भएर गणतन्त्रको स्थापना, राज्य तथा समाजको चौतर्फी अग्रगामी पुनसंरचना लगायत अन्य तमाम उपलब्धिहरु जनयुद्धमार्फत मात्रै सम्भव भएका हुन र जसको नेतृत्व नेपाली क्रान्तिका नायक प्रचण्डले गर्नुभएको भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ ।
(लेखक प्रेस संगठन कर्णालीका नेता हुनुहुन्छ ।)