मार्च ८ तारिखको दिन । सडकमा अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा जुलुस निस्किएको थियो । बाजा बजिरहेको थियो । बितेको एक शताब्दीभन्दा केही ज्यादा समयदेखि यो मार्च ८ गते यसरी नै आउँछ र महिलाहरुले समान अधिकारका निमित्त गरेका संघर्षका गाथाहरुको स्मरण गराउँछ । जुलुस हिँड्दैगर्दा एउटा खबर आयो – निमाइलकी सुकी बडुवाल हराइन् । उनीसँगै उनका चार जना छोराछोरी हराएका थिए । नारी दिवसको समारोह नसकिँदै अर्को खबर आयो – कर्णालीमा सुकीका दुईजना छोरीको शव भेटियो । समाचार पिडादायी थियो ।
आजभन्दा ३५ वर्षअघि जन्मिएकी सुकी बडुवालको घर कर्णाली नदीदेखि केही माथिको निमाइल गाउँमा छ । कर्णालीको तिरैतिर बनेको सडकबाट झण्डै पौने घण्टा उकालो हिँडेपछि सुकीको घरमा पुगिन्छ । शान्त भएर आफ्नै लयमा बगिरहने कर्णालीको शीतल हावा हरेक दिन निमाइलमा आइरहन्छ र सुकीहरुका दुःखी दिनहरु सुम्सुम्याइरहन्छ । बोल्न त सक्दैन कर्णाली, तर अनगिन्ती मानवीय व्यथाहरु भङालोभरि समेटेर यो बगिरहन्छ ।
स्थानीयहरुको भनाइअनुसार गएको फागुन २४ गते बिहान साढे चार बजे सुकी आफ्ना बच्चाहरुसँगै ओरालो झरेकी थिइन् । सोध्नेहरुलाई “कर्णाली किनारमा रहेको खेतमा पानी चाहार्न जान्छु” भनेकी थिइन् । बिहानीपख कर्णालीको किनार चिसो थियो । त्यो रातभर सुत्न नसकेकी सुकी खेत हुँदै सिधै कर्णालीतर्फ बढिन् । साथमा रहेका चारजना छोराछोरी पनि उनीसँगै अघि बढे । उज्यालो भइसकेको थिएन । ती पाँचजनाले जिन्दगीको अन्तिम घडीमा केही बात गरे । सुकीले छोरी कल्पना र सरिताका हातहरु साथमा बाधिदिइन् । आफ्नो पटुकालाई छोराको टिसर्टमा बाँधिन् । कान्छी छोरी रजनीलाई खुलै छाडिन् । यसरी उनीहरु अन्तिम यात्राका निमित्त तयार भए ।
कर्णालीको बलियो प्रवाहमा हेलिएको केहिबेरमै पाँचैजना प्राणविहीन भए । दुई छोरी कल्पना र सरिताको शव फागुन चौबिस गते अपरान्हमा फेला पर्यो । आमा-छोराको शव पच्चिस गते भेटियो। कान्छी छोरीको शव भने चैत्र तीन गते फेला पर्यो । घटनाको प्रत्यक्षदर्शी अहिलेसम्म कोही भेटिएको छैन । प्रहरीको अनुसन्धान जारी छ ।
कलिलो उमेरमै सुकीको मानसिंहसँग विवाह भयो । सुरुको सन्तान चौध वर्ष अघि छोरी जन्मिएपछि मानसिंहले ‘छोरो किन नजन्माएकी’ भनेर सुकीसँग झगडा गरे । दुई वर्षपछि अर्को सन्तान पनि छोरी नै जन्मिइन् । त्यसपछि सुकीमाथि मानसिंहको उत्पीडन झन् बढ्यो । मानसिंह रक्सी सेवन गर्थे । घरमा अभाव त छँदै थियो ।
एक अध्ययनअनुसार भोकको शृङ्खलामा नेपाल ७३औँ स्थानमा पर्दछ । धेरै नेपाली परिवारहरु पोषणयुक्त खानेकुराबाट वञ्चित छन् । सुकीले पोषणयुक्त खानेकुरा त पाइनन् नै, छोरी मात्र जन्माउने भनेर घरपरिवारबाट माया पनि पाइनन् । दुईवटी छोरीपछि छोरा जन्मियो । छोरापछि जन्मिएकी कान्छी छोरी रजनी पाँच वर्ष पुगेकी थिइन् भने उनको पेटमा चार महिनाजतिको भ्रूण हुर्किरहेको थियो । मानसिंहको एकोहोरो रटान थियो कि ‘त्यो भ्रूण छोरा नै हुनुपर्छ’ । दिनहुँको गाली र पिटाइले सुकी उमेर छँदै सुकेकी थिइन् । फागुन २३ गतेको साँझ पनि रक्सीले मातेका मानसिंहले सुकीसँग झगडा गरेका थिए । मानसिंहको हिंसाजन्य व्यवहारको नकारात्मक प्रभाव सुकीमा मात्र परेको थिएन, छोराछोरीमा पनि परेको थियो । घरको सबै कामधन्दाको जिम्मा सुकीको नै थियो । घर चलाउन सुकीले गरेको परिश्रमको कुनै हिसाब थिएन । रोजा लक्जेम्बर्गले त्यतिकै कहाँ भन्नुभएको थियो र – “महिलाको श्रमको हिसाब हुने दिनमा मानव इतिहासको सबैभन्दा ठुलो चोरी पत्ता लाग्नेछ ।”
संयुक्त राष्ट्र संघको एक अध्ययन प्रतिवेदनअनुसार विश्वमा झन्डै सत्तरी प्रतिशत महिला शारीरिक तथा यौन हिंसाबाट पीडित छन् अर्थात तीन जना महिलामा एक जना हिंसापीडित हुन्छन् । पैँसट्ठी करोड महिलाहरुको अठार वर्ष नपुग्दै विवाह हुनेगरेको छ । अमेरिकाका १८-२९ वर्ष उमेर समूहका युवतीहरुमा दशजनामध्ये दुईजना अनलाइन यौनहिंसाबाट पीडित छन् । निजी सम्पत्तिको सुरुआतसँगै सुरु भएको महिलामाथिको विभेदले सोच्ने तरिकामा समेत प्रभाव पारेको छ । ६ वर्षको उमेरपछि केटीहरुले केटाहरु आफूभन्दा शारीरिक तथा मानसिक हिसाबले बलिया हुन्छन् भनी सोच्न थाल्छन् । सबैभन्दा बढी बलत्कारका घटना हुने मुलुक दक्षिण अफ्रिकामा ४ जना पुरुषमा एक जना बलत्कारी हुन्छ । सन् २०१९ मा भारतमा दैनिक सतासी बलत्कारका घटना घटेका थिए ।
इतिहासकार युवाल नोआह हरारीकाअनुसार बितेको शताब्दीमा भएका क्रान्तिहरुमध्ये महिला क्रान्ति नै यस्तो क्रान्ति थियो, जसले धेरै कम रगत बगाएर धेरै महत्त्वपूर्ण उपलब्धिहरु हासिल गरेको थियो । बितेका २० वर्षमा संसदमा जाने महिलाको संख्या दोब्बर भएको छ । तथापि त्यो संख्या अहिले २३ प्रतिशत मात्रै पुगेको छ ।
सन् १९७५ को अक्टोबर २४ मा आइसल्याण्डमा ९० प्रतिशत कामदार महिला समान ज्यालाको माग राख्दै सडकमा आए । अर्को वर्ष त्यहाँको सरकारले समान वेतनको कानुन बनायो । यद्यपि आज पनि विश्वमा पुरुष र महिलालाई दिइने ज्यालामा २३ प्रतिशत अन्तर रहेको छ । पाँच वर्षपछि आइसल्याण्डमा संसारकै पहिलो महिला राष्ट्रपति बनिन् ।
मार्च ८, १९१७ मा रुसका महिलाहरुले “रोटी र शान्ति” को नारा लगाएर जुलुस निकाले । सन् १९१८ को मार्च ८ देखि सोभियत संघले उक्त दिनमा सरकारी विदा दिने निर्णय गर्यो । कामदार महिलालाई सुत्केरी विदा दिने पहिलो मुलुक पनि सोभियत संघ नै थियो । समाजवादले महिलाका गुमेका अधिकारहरु पुनर्स्थापित गर्न धेरै नै मद्दत गरेको थियो ।
नेपालको सन्दर्भमा महिलाहरुको उल्लेख्य सहभागिता रहेको क्रान्ति जनयुद्ध थियो । त्यति धेरै महिलाहरुको सहभागिता रहँदैनथियो भने जनयुद्धले त्यो उचाइ हासिल गर्न सम्भव थिएन । पहिलो संविधान सभामा १९७ जना महिलाको प्रतिनिधित्व रहेको थियो । जुन कुल सदस्यको ३३.८ प्रतिशत थियो । नेपालको इतिहासमा त्यो सहभागिता आजसम्मकै उच्च हो ।
सुकी बडुवालको कारुणिक अवसान एक प्रतिनिधिमूलक घटना हो । जीवन यसै पनि अभूतपूर्व समय हो । हरेक प्राणीलाई आफ्नो जीवन भरपुर बाँचौ भन्ने लाग्छ । मानव जातिसँग विकसित चेतना भएको कारणले गर्दा ऊ खुसी र सुखपूर्वक बाँच्ने प्रयत्नमा हुन्छ । कोही पनि युवा या युवती ३५ वर्षको उमेरमा आफ्ना सन्तानहरुलाई साथमा लिएर सजिलै आत्महत्या गर्न सक्दैन । सन्तानहरु पनि आमाको अनुसरण गर्दै सहजै नदीमा हाम्फाल्दैनन् । यो परिस्थिति निम्त्याउने पुरुष चिन्तन र व्यवहार निन्दनीय छ ।
लामो समयको शारीरिक तथा मानसिक यातनाले सुकी र उनका अबोध बच्चाहरुलाई मानसिक रोगी बनाइसकेको थियो । सुकीका निमित्त जीवन सुख्खा र निरस थियो । अर्कोतर्फ यो वसन्त ऋतुको समय, मानिसको दिमागमा मेलाटोनिन लगायतका हर्मोनहरुको मात्रामा आउने परिवर्तनले मनोदशामा परिवर्तन ल्याउन मद्दत गर्छ ।
हावर्ड विश्वविद्यालयका प्राध्यापक म्याथ्यु नककाअनुसार सूर्यको अधिक प्रकाशले दिमागलाई अधिक उर्जा दिन्छ । चिन्तारोगीहरुलाई यस्तो उर्जाले आत्महत्याजस्तो कदमतर्फ डोर्याउन सक्छ ।
विश्वमा ७९ प्रतिशत आत्महत्या गरिब मुलुकहरुमा हुन्छ । पुँजीवादले निर्माण गरेको “गरिबी” त्यस्तो विनाशकारी हतियार हो, जसद्वारा शासकहरुले चौतर्फी आक्रमण गर्छन् । पत्तै नहुने गरी प्रत्येक वर्ष यस हतियारमार्फत लाखौँको हत्या भइरहेको हुन्छ । आत्महत्या गर्ने महिलाको संख्यामा लेसेथो, दक्षिण कोरिया र भारत क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । एक अध्यनअनुसार प्रति १० जना नेपालीमध्ये १ जनामा आत्महत्यातर्फ उद्धत हुने प्रवृति छ ।
अस्थिरता र अन्यौलताको व्यथाले नेपाल घरिघरि थला परिरहन्छ । त्यसैले पनि सुकीहरुको घाउ समय छँदै ठिक पार्नेतर्फ सरोकारवालाहरुको ध्यान जान सक्दैन । दरबारको जस्तै सुखसयलको डरलाग्दो सुरुङभित्र पसेका सुखीहरु त सुकीहरु पनि यो संसारमा छन् भनेर दङ्ग पर्छन् । सुकीले ऋण खोजेको पैसा मानसिंहले रक्सी दोकानलाई बुझाउने, मालिकले रक्सी बेचेर सरकारलाई राजस्व बुझाउने, अनि सुकीले नै ज्यान गुमाउनुपर्ने ज्यानमारा चक्रको अन्त्य नगरेसम्म सुकी र सुकीका सन्तानहरुले कर्णालीमा ज्यान गुमाइरहनुपर्छ । भव्य महलको बालकोनीमा बसेर सुखीहरुले सुकीहरु नदीमा हाम्फालेको समाचार पढिरहन्छन् ।
(लेखक नेकपा माओवादी केन्द्रका युवा नेता तथा बुद्धिजीवी संगठनका सचिव हुनुहुन्छ ।)