नेपाल कम्युनिस्ट पार्टी (मशाल) को पाँचौँ महाधिवेशन अयोध्याको रुसी धर्मशालामा वि.सं. २०४१ मङ्सिर महिनामा चलिरहेको थियो । एक हप्तापछि विवादको अन्तरविरोध यति चर्कियो कि बैठक विराम (pause) को अवस्थामा पुग्यो । मोहनविक्रम सिंह (क. अनन्त), मोहन वैद्य (क. किरण), भक्तबहादुर श्रेष्ठ (क. शेरसिंह), पुष्पकमल दाहाल (क. विश्वास), चित्रबहादुर केसी, बाबुराम भट्टराई (क. लालध्वज), रामबहादुर थापा (क. आकाश), रामवृक्ष यादव लगायत सहभागीहरूमा अन्योलता देखियो ।
रणनीति र कार्यनीतिमा बहस बहकिएको थियो । सन्नाटा तोड्दै फौजी जिउडालका अर्धफौजी पहिरनमा रहेका पाका उमेरका क. अडिगले सन्नाटाको माहोल सम्हाल्नु भयो । आफ्ना अनुभव, अनुशासनबाट रणनीति र कार्यनीतिको व्याख्या गर्नुभयो । रणनीति ‘दशका विरुद्ध एक’ र कार्यनीति ‘एकका विरुद्ध दश’ (Strategy: one against ten and Tactics: ten against one) प्रष्ट पार्नु भयो । वातावरण सहज बन्यो र बैठक सुचारु भयो ।
पार्टी नाम क. अडिग वास्तविक नाम खम्बासिंह कुँवर र जनताले दिएको सामाजिक सम्मान ‘काजी बा’ हिजो ९६ वर्षको उमेरमा हामीबाट सधैँका लागि बिदा हुनुभयो ।
२०४५ साल फागुनमा वीरेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन पेशामा प्रवेशपछि चितवन बस्दाका ६ वर्ष काजी बासँग सहकार्यको समयबारे लेख्ने सही समय सायद यो नै हो । नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन चितवनको संस्थापक अध्यक्षको जिम्मेवारी सम्हालेपछि काजी बासँग सम्पर्क सघन हुँदै गयो । उपाध्यक्षमा काजी बाका आफन्त नारायणी माविका पूर्व प्रधानाध्यापक तथा चितवनका सम्मानित व्यक्तित्व टेकबहादुर थापा, सचिवमा २०३६ सालको विद्यार्थी आन्दोलनका अगुवा नेता, रामपुर कृषि क्याम्पस स्ववियु पूर्व सभापति मित्रराज दवाडी र अन्य साथीहरूको सहयोगमा कामहरू सहज हुन्थ्यो । काजी बाको अभिभावकत्व थियो हामीलाई । प्राध्यापकहरूको पार्टी कमिटीको सचिवका नाताले इन्चार्ज काजी बासँग सम्पर्क झनै बढ्यो । जाडोको ठिहिर्याउने चिसो होस् वा चितवनको चिलचिलाउने गर्मीको मध्याह्न गोडामा चुँडिन लागेका चप्पल, पुरानो साइकलमा सर्कुलर बोकेर ६७ वर्षको उमेरमा गतिशील हुनुहुन्थ्यो काजी बा ।
काजी बाको इमानदारीता, लगनशीलता, सादगीपन वेमिसाल उदाहरण हुन् । सत्ताको स्वार्थले उहाँलाई कहिल्यै सम्मोहित गरेन । सतिसालझैँ हुनुहुन्थ्यो काजी बा । कुनै दल विशेषले काजी बालाई अपनत्व लिने स्वाङ गर्छ भने त्यो नाटकै हो । एक दल, एक थलभन्दा माथि सबैमा सम्मानित हुनुहुन्थ्यो काजी बा । अलबिदा काजी बा ।
(लेखक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ ।)