फ्रान्सेली राज्यक्रान्तिको पूर्वसन्ध्यामा लुई सोह्रौँ राजा भए । समाजमा मध्यम वर्ग हुर्किरहेको थियो । चर्च र सामन्तहरुको हातमा सत्ता थियो । आम जनताको भागमा गरिबी र भोक थियो । राजा लुई सोह्रौँ राजीनामा दिएर आरामको जिन्दगी बिताउन चाहान्थे । तर उनलाई सुनाइएको थियो – राजाले राजीनामा दिन मिल्दैन ।
ताल्चा बनाउने सौख भएका राजा लुई सोह्रौँ रोटीको माग गर्दै निस्किएको जुलुसदेखि तर्सिन्थे । उनकी रानी एन्टोइनेट भने जुलुसलाई भनिरहेकी हुन्थिन् – तिमीहरुले रोटी नपाएर के भो केक खाऊ न ! राजाले ढुकुटी रित्तिँदा पनि पादरी र सामन्तहरुबाट कर असुल्न सकेनन् । कर नतिर्नेहरुको राजदरबारसँग अन्तरंग सम्बन्ध थियो । नवीन दर्शनको उदयले राज्यशक्तिको दुरुपयोग गर्ने पुरानो वर्गका विरुद्ध हतियार तयार पारिसकेको थियो । राजाले क्रान्तिको झञ्झावातलाई रोक्न सकेनन् ।
फ्रान्सेली क्रान्तिले विश्वमा पुँजीवादको ढोका खोल्यो । त्यो समयमा सामन्तवादलाई विस्थापित गरेर प्रगतिशील शक्तिका रुपमा उदाएको पुँजीवादले आफ्नो सत्ता र नाफाका निमित्त बितेका सवा दुई सय वर्षमा बल प्रयोगद्वारा झन्डै एकतिस करोडभन्दा बढी मानिसको ज्यान लिएको छ । आफ्नो दमनकारी अनुहार जोगाउन यसले हत्या हिंसाको आरोप भने अधिकारविहीन निहत्था जनतालाई तथा तिनीहरुको पक्षमा वकालत गर्ने कम्युनिस्ट पार्टीलाई लगाउने गरेको छ । आफ्नो शरीरमा परेका मानव रगतका छिटाहरु पखाल्न कानुन, प्रजातन्त्र, मानव अधिकार र स्वतन्त्रता जस्ता कुराहरुलाई साबुनको रुपमा प्रयोग गरिरहेको छ ।
पुँजीवादको सुरवातताका नै आधुनिक राजनीतिक पार्टीको अवधारणाको विकास हुन थालेको मानिन्छ । बेलायत र युरोपका अन्य मुलुकहरुमा पार्टीहरु जन्मिए । ती पार्टीहरुले राष्ट्रियता र लोकतन्त्रको नारा लगाए । फ्रान्सेली क्रान्तिको झन्डै पचास वर्षपछि सन् १८४७ मा कम्युनिस्ट पार्टीको जन्म भयो । उक्त पार्टीको घोषणा पत्र आज पनि कम्युनिस्ट घोषणापत्रका नाममा विश्वप्रसिद्ध छ । त्यो घोषणापत्रले मानवजातिको इतिहासलाई वर्ग संघर्षको इतिहासका रुपमा चित्रित गर्यो । पुँजीवादलाई समाजवादले विस्थापित गर्ने घोषणा गर्यो ।
राजनीतिक पार्टीहरुले आफ्नो वर्गअनुकूलको स्वार्थ राख्छन् । निश्चित आर्थिक चरित्र भएको वर्गको निम्ति राजनीतिक काम गर्न पार्टी खोलिन्छ । पुँजीपति वर्गले आफ्ना लागि पुँजीवादी स्वरुपका पार्टीहरु खोलेको हुन्छ । गरिब किसान, मजदुर, बेरोजगार, बेघरबार वर्गले कम्युनिस्ट पार्टी रोजेको हुन्छ । वर्ग स्वयं गतिमा रहने हुँदा पार्टीहरु पनि ठुलो-सानो हुने, एकीकृत हुने, विभाजित हुने, विघटित हुने आदि घटनाक्रमबाट गुज्रिन्छन् । समाज विज्ञानको नियमअनुसार ती प्रक्रियाहरु स्वभाविक हुन्छन् । पार्टीको स्वरुप र भूमिकालाई तिनीहरुको वर्गीय ताकतले मात्र निर्धारण गर्दैन, राज्यसत्ता र अन्तर्राष्ट्रिय सम्बन्धले पनि प्रभाव पारेको हुन्छ । राज्यसत्ता वर्गरहित हुँदैन, न त यो हेगेलले भनेजस्तो समावेशी नै हुन्छ । कार्ल मार्क्स, एङ्गेल्स र लेनिनले विस्तारै राज्यसत्ताको विघटन हुन्छ भन्नुभएको छ । राज्यसत्ताको विलोपीकरणलाई उहाँहरुले साम्यवादका रुपमा परिकल्पना गर्नुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी त्यस्तो बेला स्थापना भयो, जतिबेला विश्वमा कम्युनिस्टको लहर सिर्जना भएको थियो । नेपालको उत्तरी छिमेकमा कम्युनिस्ट पार्टीको नेतृत्वमा क्रान्ति सम्पन्न हुने चरणमा थियो । शिशु अवस्थाको नेपाल कम्युनिस्ट पार्टीमाथि वि.सं. २००८ सालको माघमा मातृकाप्रसाद कोइरालाको नेतृत्वमा रहेको सरकारले डा. केआई सिंहको विद्रोहलाई साथ दिएको आरोपमा प्रतिबन्ध लगायो । उक्त प्रतिबन्ध वि.सं. २०१३ साल बैशाखमा शान्तिपूर्ण आन्दोलन गर्ने एवं वैधानिक राजतन्त्र मान्ने शर्तमा टंकप्रसाद आचार्यको नेतृत्वमा रहेको सरकारले फुकुवा गर्यो । पञ्चायतले दलीय व्यवस्था निलम्बन गरेपछि वि.सं. २०१७ को फागुनमा भारतको दरभङ्गामा बसेको केन्द्रीय समितिको विस्तारित बैठकबाट कम्युनिस्ट पार्टी विभाजित भयो । जुन विभाजन आज पर्यन्त कुनै न कुनै रुपमा यथावत छ ।
नेपालको वरिपरि विश्वका दुई ठुला जनसंख्या भएका मुलुकका साथसाथै विश्वका ठुला दुई राजनीतिक पार्टीहरु पनि छन् । भारतको भारतीय जनता पार्टी संसारको सबैभन्दा ठूलो पार्टी मानिन्छ, जसको सदस्य संख्या उक्त पार्टीको दाबीअनुसार १८ करोड रहेको छ । चिनियाँ कम्युनिस्ट पार्टी विश्वको दोस्रो ठुलो पार्टी हो, जसको सदस्य संख्या ९ करोड रहेको छ । यति ठुला पार्टीहरुको व्यवस्थापन र सञ्चालन साँच्चिकै रोचक विषय हो ।
विगत एक सय वर्षदेखि चिनियाँ कम्युनिस्ट पार्टी निरन्तर कर्मशील छ । यसको प्रत्येक पाँच वर्षमा महाधिवेशन हुन्छ । हाल चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिमा पूर्ण २०५ जना र वैकल्पिक १७१ जना गरी जम्मा ३७६ जना सदस्य छन् । विगत ७२ वर्षदेखि सत्तामा रहेको उक्त पार्टीले फुटको पहिरो व्यहोर्नु परेको छैन । यसले अन्तरसंघर्ष र बाह्य चुनौतीहरुको लामो शृङ्खला पार गरेको छ । हरेक समस्यामाथि पार्टीले अध्ययन-अनुसन्धान गर्छ र उचित समाधान निकाल्छ । विधि र अनुशासनमा ध्यान दिन्छ । अर्कोतर्फ चिनियाँ जातिको जीन, परम्परा र इतिहासले फुटबाट जोगिन सिकाएको अनुमान पनि गरिन्छ । जब पार्टीको नेतृत्व तहमा निजी सम्पत्तिको होडबाजी र अविश्वास हुँदैन, तब पार्टी फुटबाट जोगिने धेरै सम्भावना रहिरहन्छ । चिनियाँ समाजमा निजी सम्पत्तिको प्रवेश नियन्त्रित छ । नेतृत्व तह कार्यकर्ता र जनतादेखि धेरै माथिको अभिजात बनिसकेको छैन । चीनमा राज्य नवउदारवादी दलाल र दमनकारी जस्तो नभएर राष्ट्रको सीमाभित्र बस्ने विभिन्न समूहको समावेशीता र स्वायत्ततालाई स्थान दिने समाजवादतर्फ उन्मुख चरित्रको छ भन्ने गरिन्छ । यसकारण पनि सत्तामा रहेको पार्टी एकताबद्ध छ ।
भारतीय जनता पार्टीले हिन्दु राष्ट्रियतालाई केन्द्रभागमा राखेको छ । धर्म र राष्ट्रियताको नारा धेरै नै संवेदनशील हुन्छ, यसले आम नागरिकलाई सहजै मूल मुद्दाबाट विच्छेद गराइदिन्छ ।
विश्वमा अहिले सबैभन्दा बढी चलेको व्यवस्था नै दलीय व्यवस्था हो । त्यसैले दलहरु बढी नै आलोचनाका विषय बनिरहेका हुन्छन् । नेपालमा हरेक ठाउँमा दल र नेताहरुप्रति नकारात्मक टिप्पणी सुन्न पाइन्छ । संसदीय व्यवस्थामा राजनीतिक दलहरुको मुख्य उद्देश्य चुनाव लड्ने र सरकारमा जाने हुन्छ । चुनाव जित्न सबै हत्कण्डाहरु प्रयोग गरिन्छ । कम्युनिस्ट पार्टीले समेत चुनावमा अनेक वाचाहरु गर्दछन् ।
राजनीतिक दल त चुनाव कम्पनी जस्तो मात्र प्रतीत हुन्छ । चुनाव कम्पनीमा व्यावसायिक लगानीकर्ताहरु हुन्छन् । कुनै पनि पार्टीका निमित्त जब सैद्धान्तिक मूल्य मान्यताहरु व्यापारिक चिन्ह जस्ता मात्र हुन्छन्, तब ती पार्टीहरुमा गुट र फुटको संभावना एकदमै धेरै रहन्छ । नेता, कार्यकर्ता कम्तिमा उपभोक्ता समितिको पदाधिकारी हुन्छ । त्यसपछि ऊ गच्छेअनुसार ठेकेदार हुन्छ, निजी विद्यालय, अस्पताल र बैंकको मालिक हुन्छ । निर्माण कार्यमा विनियोजित रकमबाट उपभोक्ता समितिले केही प्रतिशत आफ्नो भागमा पार्छ । सडक, खानेपानी, सिचाइँ आदि निर्माणका समितिमा दुई-चार वर्ष बसेका पदाधिकारीहरुले घडेरी जोड्छन । घर बनाउँछन् । गाडीहरु किन्छन् । चुनावताका टिकट र मत किन्न पनि त्यही प्रतिशत प्रयोग गर्दछन् । पार्टीका नेता कार्यकर्ताहरुले विकासे सरकारी अड्डाहरुबाट, विभिन्न परियोजनाहरुबाट समेत प्रतिशत मागेका र असुलेका उदाहरणहरु छन् । यसरी चोर बाटोबाट असुलेको रकम नेता कार्यकर्ताहरुले जग्गा दलालीदेखि अनेक थरी व्यवसायमा लगानी गरेको पाइन्छ । यो पाटोबाट हेर्दा राजनीतिक पार्टीहरु सरकारी सेवा सुविधा र बजेट अपचलन गर्न खोलिएका उपभोक्ता संस्थाहरु जस्ता मात्र देखिन्छन् ।
विभिन्न समूहका कर्मचारी भर्ना, सरुवा, बढुवामा समेत नेताले कमिसन उठाउँछ । विकासे योजनामा बजेट पारिदिएबापत पनि कमिसन उठाउने चलन छ । पुरातात्त्विक महत्त्वका बहुमूल्य वस्तुहरु, दुर्लभ वन पैदावरको चोरी निकासीमा समेत नेता कार्यकर्ताहरुको संग्लग्नता रहेको हुन्छ । नेता जब दलाल हुन्छ, पार्टी जब दलाल र भ्रष्टहरुको छहारी हुन्छ, तब उक्त पार्टीको विभाजन मात्र होइन, विघटन अनिवार्य हुनुपर्ने हो ।
तर दलाल पुँजीवादले आफ्नो बजारमा दलाल एजेन्सीहरुको संरक्षण गरिरहेको हुन्छ । कमिसनबाट प्राप्त रकम पार्टीको खातामा नगन्य मात्र जम्मा हुन्छ । यही कमिसनले पार्टीमा रातारात नवधनाढ्य वर्गको उदय हुन्छ । ती पार्टीहरुमा सिद्धान्त र सङ्गठनप्रति इमान्दार मानिसहरुको संख्या पनि कम हुँदैन । फरक फरक वर्गको एउटै पार्टी धेरै समय टिक्दैन, त्यो अनिवार्य विभाजन हुन्छ ।
नेपाली समाजको ठुलो हिस्साले पूर्वीय संस्कृति र परम्परामाथि विश्वास गर्दछ । कम्युनिस्ट सिद्धान्त भौतिकवादमा आधारित छ । यहाँका धेरैजसो कम्युनिस्ट नेता कार्यकर्ता धार्मिक मठ, मन्दिर, गुम्बा या चर्चमा जान्छन् । पार्टीका प्रशिक्षणहरुमा भने भौतिकवादको लामो व्याख्या गर्छन् । जीवन दर्शन र पार्टी दर्शन फरक पर्दा कठिनाइँ उत्पन्न भएको छ ।
पार्टीमा नेताहरुको भविष्य छ वा छैन भन्ने बहस पनि भइरहेको हुन्छ । भविष्यको अर्थ अमुक नेताले निर्वाचित हुने, नियुक्ति पाउने वा अन्य हिसाबबाट आर्थिक लाभ पाउने संभावनाको हिसाबकिताब हुन्छ । यस्तो लाभको लाइनमा रहेका र नरहेका बिचमा दरार पैदा हुन्छ । पार्टीमा लाभ र व्याजको हिसाब खोज्ने पुँजीवादी मान्यता स्थापित हुनु तर पार्टीको नाम भने कम्युनिस्ट रहनु या कम्युनिस्ट नरहे पनि पार्टीको काम जनताको सेवा गर्नु हो भन्नु बिडम्बना हो ।
यस्ता केही प्रतिनिधिमूलक समस्याहरु नेपालका राजनीतिक पार्टीहरुले सामना गर्नु परिरहेको छ । त्यसो त धेरैजसो मुलुकका राजनीतिक पार्टीमा उस्तै-उस्तै समस्याहरु भेटिन्छन् । पार्टीहरुले आफ्नो सदस्यता दिँदा, बढुवा गर्दा वा सरकारी पदमा पठाउँदा क्याडरको योग्यताका विषयमा कुनै मापदण्ड लागु गर्दैनन् । कुनै एउटा पदमा एउटा व्यक्ति कति समय बस्ने भन्ने मापदण्ड सकभर बन्दैन, बने पनि लागु हुँदैन । परिमाणमा जोड दिन्छन्, गुणस्तर कायम गर्नेतर्फ अग्रसर हुँदैनन् ।
पार्टीले सैद्धान्तिक मूल्य-मान्यताको पालना मात्र गरे पनि धेरै समस्याहरु हल हुन्छन् । दलप्रति विश्वास पलाउँछ । नेताहरुमा दृढ इच्छाशक्ति भयो भने दलीय शुद्धीकरण संभव छ । इमान्दार र पारदर्शी राजनीतिक पार्टीहरुको अस्तित्व संभव छ ।
(लेखक नेकपा (माओवादी केन्द्र)का युवा नेता तथा बुद्धिजीवी संगठनका सचिव हुनुहुन्छ ।)