प्रिय साथी,
सप्रेम न्यानो अभिवादन ।
धर्ती तुवाँलोले ढाकिएको छ । चैत जान लाग्यो, न त खुलेर हुरिबतास चलेको छ, न त फूल फुलेको नै देखिएको छ । वन-पाखामा न्याउली, कोइली र काफल पाक्यो चरीको आवाज सुनिएको छैन । वसन्त आएको छैन भनौँ भने तपाईंको जन्मदिन आइसक्यो, जो प्रत्येक वसन्त ऋतुसँगै आउने गर्छ । त्यही जन्मदिनमा म यो धर्तीमा फुलेको एक अजम्बरी फूल हेर्छु, सम्झिन्छु र जिन्दगीभरि आशाको सुगन्ध अनुभूत गर्छु । कुहिरो, तुवाँलो सबै हटेर दुनियाँ नामको फूलबारीमा पारिलो घाम फैलिएको पाउँछु । जन्मदिनको अनगिन्ती शुभकामना ।
प्रिय साथी,
तपाईं हाम्रो भेट जनयुद्धको मध्य-भागमा भएको थियो । नीतिगत रुपमा दीर्घकालीन जनयुद्धमा सशस्त्र विद्रोह थपिएको थियो । गाउँहरु लाइन लागेर होलटाइमर भएका थिए । सहर जनविद्रोहको पर्खाइमा थियो । हाम्रो बाटो एउटै थियो, हाम्रो सपना एउटै थियो । बाटो चुनौतीपूर्ण थियो, तर हामीले धोका देखेका थिएनौँ । हामीले त जस्तोसुकै अँध्यारोमा पनि अविचल बलिरहने विचारको दियालो देखेका थियौँ । जनताको विशाल पंक्तिले मृत्युलाई समेत पो लखेटिरहेको थियो । ठाउँठाउँमा जनताले आफ्नै सरकारको अभ्यास गरिरहेका थिए । आफ्नै सेना निर्माण गरेका थिए । भूगोलले कति टाढाका हामीलाई त्यही जनयुद्धले एउटै बाटोका यात्री बनाएको थियो ।
तपाईंको सरल जीवन, वैचारिक दृढता र सांगठानिक खटनपटन अनुकरणीय थियो । उच्च शिक्षाका प्रमाणपत्रहरुले तपाईंलाई क्रान्तिमा होमिनबाट रोक्न सकेनन् । न त सहरको मध्यम वर्गीय जीवनशैलीले नै तपाईंलाई जीवन उपभोगको यथास्थितिमा थुनेर राख्न सक्यो । जनयुद्धको सुरुआतकालदेखि नै तपाईं निरन्तर प्रचण्ड गर्मीले पोल्ने तराईदेखि हिमालका फेदीसम्म कत्ति पनि हतास नभइकन संगठन निर्माणमा खट्नुभयो । सुरु सुरुमा आफ्नो खर्चबापत प्राप्त हुने रकमबाट पार्टीका कमरेडहरुको तत्कालको समस्या हल गर्न सघाउनुभयो । ब्रोन्काइटिसले चिसोमा कति सतायो, तर पनि तपाईंलाई हराउन सकेन । म सल्लोघारी या धैरेनीघारीमा एक्लै हुँदा ती दिनहरु सम्झिन्छु । चे ग्वेभारालाई सियारा माइस्त्राका पहाडहरुमा दमको बिमारले सताउँथ्यो । चेले भने दमलाई धन्यवाद दिन्थे किनकि त्यसले उनलाई पढ्ने समय उपलब्ध गराउँथ्यो । तपाईं पनि बिरामी हुँदा पढ्नुहुन्थ्यो । स्वस्थ हुनेबित्तिकै कुदिहाल्नु हुन्थ्यो । त्यो कुदाइमा कुनै व्यक्तिगत स्वार्थ र महत्त्वाकांक्षा थिएन । लाखौँ करोडौँ उत्पीडित जनताको अधिकारप्राप्तिका निमित्त एउटा सचेत मानव हुनुको नाताले तपाईंले क्रान्तिको बाटो रोज्नुभएको थियो ।
वनभरि डढेलो लागेको छ । धुँवा र धुलो मिसिएको हावाले गर्दा आँखा पिरो भएका छन् । यादवजीले सामाजिक सञ्जालमा डढेलोमा जलेको चराको तस्वीर राख्नुभएको रहेछ । छेउमा अण्डाहरु छन् । भविष्यका आफ्ना सन्तानहरुको रक्षा गर्दागर्दै आमाको ज्यान गएको अनुमान गर्न सकिन्छ । हरेक आमालाई आफ्नो भन्दा बढी आफ्ना सन्ततिहरुको माया हुन्छ । जनयुद्धमा हतियारधारी सत्ताले निहत्था जनताका वस्तीहरुमा आगो झोसेको थियो । अधिकारसम्पन्न गणतन्त्रका निमित्त कति कति अमूल्य जीवनहरु सचेततापूर्वक त्यसरी नै जल्न तयार भएका थिए । त्यो बलिदानमा भविष्यप्रति अटल विश्वास थियो । हत्या र दमनको डढेलोका बाबजुद गाउँमा वसन्त आउँथ्यो, सयौँ फूलहरु फुल्थे । फूल र जिन्दगीको नियति उस्तै-उस्तै हुँदोरहेछ, जतिपटक चुँडे पनि फुल्न नछाड्ने । बाटोमै आफ्ना सहयोद्धाहरुको लाशको व्यवस्थापन गरेर हिँड्नुपर्थ्यो । अध्यक्ष कमरेड प्रचण्डले भनेझैँ रुँदारुँदै हाँस्नुपर्थ्यो, हाँस्दा हाँस्दै रुनुपर्थ्यो । आज पनि जनयुद्धका उपलब्धिमाथि आगो लगाउने षड्यन्त्र भइरहेको छ । यस्तो संवेदनशील घडीमा तपाईँको याद कति-कति आइरहेको छ ।
तपाईंको क्रान्तिमा प्रवेश आफैमा प्रेरणादायी थियो । अपरिचित र कठिन भूगोलमा तपाईं त्यसरी नै हिँड्नुहुन्थ्यो, जसरी रैथानेहरु हिँड्ने गर्दछन् । किसानको खेतदेखि भान्सासम्म सहयोग गर्ने तपाईंको बानीले मन सजिलै जितिदिन्थ्यो । एकआपसमा हार्दिकतापूर्ण सम्बन्ध थियो । को पूर्वको, को पश्चिमको ? को कुन जातको ? को महिला, को पुरुष ? कुनै भेदभाव थिएन । क्रान्तिले जात, ठेगाना र नागरिकता सोध्ने रहेनछ । जब जनयुद्धले शान्तिपूर्ण चरणमा प्रवेश गर्यो, तब आफैले त्याग गरेको आफ्नो परिचय खोज्नुपर्ने भयो । आफूले छाडेका घर-आँगनहरु र सम्बन्धहरुमा पुनर्स्थापना कति कठिन थियो । विभेदका विरुद्ध लडेका भन्नेहरुको दिमागमा समेत विभेद पुनर्स्थापित भएको थियो । पार्टीमा व्यक्तिकरण हावी हुन थालेको थियो ।
नयाँ परिवेशले नयाँ सम्बन्धहरु निर्माण गर्यो । नेता-कार्यकर्ताको आश्रयस्थल फेरियो । धेरैजसो कार्यकर्ता आफ्नै घर फर्किए । नयाँ सम्बन्धले नयाँ वर्ग जन्मायो । सामूहिकताको भावना कमजोर बन्यो । सीमित नेता-कार्यकर्ता रातारात धनी पनि बने । तर धेरैको दैनिक गुजारा नै कठिन बन्यो ।
पार्टी एउटा औपचारिक संगठन मात्र होइन, यो त जीवन हो । यसले निश्चित दर्शन र विचारको सम्प्रेषण गरिरहेको हुन्छ । यसले बैठक गर्ने, आदेश गर्ने काम मात्र गर्दैन, आम कार्यकर्ता र जनतालाई बाँच्ने कला सिकाउँछ । हिजोको आन्दोलनले मानिसलाई बोल्न सिकायो । त्यो ठुलो उपलब्धि थियो । तर यो सत्य हो कि भोको मानिस बोल्न सक्दैन । बहस गर्न सक्दैन ।
प्रिय साथी,
समाजवादको सपना जनयुद्धकालमा बन्दुकको मात्र निशानामा थियो । आज यो धेरै खाले आक्रमणको निशानामा छ । कम्युनिस्ट पार्टीको भरणपोषणमा पुँजीपतिहरुको निगाहको अपेक्षा राख्न थालिएको छ । पार्टीका बैठक, प्रशिक्षणहरु व्यापारिक घरानाका ठुला होटलहरुमा आयोजित हुन्छन् । पार्टी सदस्यता नवीकरण शुल्क तिर्न धनी व्यापारीको खोजी हुन्छ । पार्टीका विभिन्न कमिटीका नेताहरुको यातायातदेखि अन्य खर्च व्यवस्थापन गर्ने तिनै धनी व्यापारी र ठेकेदारहरु हुन्छन् । राज्यको ढुकुटीबाट चोरी गर्ने, जनताको पसिनाको शोषण गर्नेहरुबाट खर्चको अपेक्षा गर्ने पार्टीले समाजवाद स्थापनाको नेतृत्व गर्छ भनेर कसैले पत्याउँदैन । सुनिँदैछ, राज्यको अरबौँ बिल नतिर्ने पुँजीपतिले कम्युनिस्ट पार्टीलाई घर उपहार दिएका छन् । यसरी उपहार लिनुभन्दा शुभचिन्तक र कार्यकर्तालाई परिचालन गरेर केन्द्र, प्रदेश र जिल्लामा समाजवादी भवनहरु बनाउन सकिन्छ । जहाँ कम्युनिस्ट पार्टीका कार्यक्रमहरु मात्र हुदैनन्, ती नेता कार्यकर्ताका आश्रयस्थल पनि बन्दछन् । पार्टीहरु आत्मनिर्भर भए भने जनताको स्तर उठ्छ । भ्रस्टाचार र चुहावट घट्छ । यहाँ पार्टी र नेताको नाममा ठगीधन्दा चलाउने आसेपासे पुँजीपतिवर्गले उधुम मच्चाएको छ । बिचौलियाहरुले पार्टी एकताको सन्दर्भ पारेर रोपिएको जिङ्ग्को बाइलोबा उखेलेका मात्र छैनन्, अदालतको सहयोगमा च्यातिदिएका छन् । सरकारको नेतृत्वलाई तानाशाही लाद्न उक्साइरहेका छन् । राजनीतिक भाषा सकिएर होला, केही नेताहरुले प्राविधिक गाली मन्तव्य दिइरहेका छन् ।
प्रिय साथी,
के अब आशा गर्ने ठाउँ सकिएकै हो त? समाजवादको यात्रा सिसिफसको ढुङ्गो जस्तै भइसकेको हो त? अहँ, मलाई भने त्यस्तो लागेको छैन । यो तुवाँलो क्षणिक हुनेछ । क्षितिज फाट्नेछ । समाजवादको घाम चाँडै नै झलमल्ल लाग्नेछ भन्नेमा म ढुक्क छु । जेरेमी रिफ्किन् भन्छन् – पुँजीवादी युग छिटो नभए पनि अनिवार्य रुपमा समाप्त हुँदैछ । रुकुम लगायत देशका केही ठाउँहरुमा सकारात्मक थालनी भएको पनि सुनिएको छ । नवउदारवाद र आसेपासे पुँजीवादको खडेरीमा पनि जाग्दैछन् समाजवादका बिरुवाहरू । रणधीर सिंहले भनेझैँ दक्षिण एसियाका कम्युनिस्ट पार्टीहरुमा सांगठानिक समस्याभन्दा पनि वैचारिक समस्या छ । जुन समस्या हल भएन भने ढिलोचाँडो यहाँका कम्युनिस्ट पार्टीहरु खुम्चिँदै जान्छन् । यस्तो अवस्थामा तपाईंको इमान्दारिता, सरलता र दृढता एकदमै खड्किएको छ ।
तपाईं काममा यति बिघ्न केन्द्रित हुनुहुन्छ कि आराम र खानामा ध्यान दिन नै भुल्नुहुन्छ । बिमारले च्यापेपछि मात्र सरकारी अस्पतालमा भर्ना भएको कुरा भुलेको छैन । अप्रेसन भएको त्यो दिनभरि डक्टर आएन । छेउको बेडमा बिरामीको ज्यान गएको थियो । घाउ दुखिरहन्थ्यो, तपाईंले भने म्याक्सिम गोर्की पढिरहनुभयो । केही दिन अगाडि भवानीबाट एउटा बिरामी बालकलाई यहाँको एउटा नयाँ निजी अस्पतालमा ल्याइएको थियो । बालकलाई दिनमा तीसौँपटक पखाला चलेको थियो । बालककी आमा रुँदै भनिरहेकी थिइन् – डाक्टरले सन्चो हुन एक महिना लाग्छ भन्नुहुन्छ । दिनभरिमा एकपटक मात्र आउनुहुन्छ डाक्टर, हाम्रो कुरै सुन्नुहुन्न । स्वास्थ्य र शिक्षामा भएको व्यापारीकरणलाई रोक्न एकदमै जरुरी छ । घर परिवारको हेरविचार, काम र अध्ययनले तपाईं यसै पनि चापमा हुनुहुन्छ । प्रिय साथी, आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुहोला ।
अन्तमा, जन्मदिनको अवसरमा पुनः अनगिन्ती शुभकामना ।
उही तपाईँको भलो चाहने,
छवि ।
(नेकपा (माओवादी केन्द्र) युवा नेता सुवेदी बुद्धिजीवी संगठनका नेता हुनुहुन्छ ।)