प्रधानमन्त्री ओली अहिले एउटा लज्जास्पद हाँस्यपात्रको रूपमा राजनीतिक वृत्तमा उपस्थित छन् । ‘हेर्नेलाई भन्दा देख्नेलाई लाज’ भनेजस्तै यिनका क्रियायाकलापहरू जताततै आलोचनाको सूत्रबद्ध विषयवस्तु बनिरहेका छन् । हरेक टोलमा यिनको कुरूप प्रस्तुतिको चर्चा हुन्छ र यो यिनको क्रुरताबाट देशको शासन व्यवस्थालाई मुक्त राख्ने प्रयास गर्नुपर्ने कुरा उठिरहन्छ । यसरी सबै युवा तथा सक्षम नागरिकहरु ओलीको निरंकुशता विरुद्धको आन्दोलनमा एकाकार हुन आतुरताका साथ प्रतीक्षामा रहेको देखिन्छन् ।
अहिले जनसाधारणको ध्यान देशको निर्मण अभियान सञ्चालनमा केन्द्रित भएको पाइन्छ भने जेजति समाजमा उपलब्धिहरु भएका छन्, ती सबै मैले गरेको भन्ने दाबा गर्न ओलीलाई लाज मानिरहेका छैनन् । उदाहरणका लागि प्रचण्डको कार्यकालमा जनार्दन शर्माले नियुक्त गरेका विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले रात-साँझ मेहनत गरेर लोडसेडिङ अन्त गरेर देशलाई उज्यालो अवस्थामा पुर्याए । अहिले त्यो काम आफैले गरेको भन्ने ओलीको पाखण्डीपूर्ण दावा सुन्ने जो सुकैलाई पनि अचम्म लाग्ने कुरा होइन र ?
त्यतिमात्र नभएर अब त मैले मेलम्ची पनि ल्याइसकेँ, माथिल्लो तामाकोसीको बिजुली पनि बालेँ भनेर फाइँफुइँ गर्दै यति धेरै काम कसैले पनि गर्ननसक्ने बताउन थालेको पाइयो । आखिर अन्तिम अवस्थामा बिना मगरले जे जति मेहनत गरिन्, उनलाई जस दिने पक्षमा ओली छैनन् । जसरी कुलमानलाई त्यति मेहनत गरेर जनप्रिय भएको अवस्थामा पनि उनलाई सोही पदमा निरन्तरता दिनु त के धन्यवाद सम्म दिएनन् । प्रचण्ड बुहारीभन्दा पनि बिना मगर जनयुद्धकी सिपाही र कमाण्डर हुन् । उनले ज्यानको बाजी लगाएर युद्धमा सहभागी भएको के ओलीलाई प्रधानमन्त्री बनाउन र ओली मण्डलीलाई भ्रष्टाचार गरेर अकूत सम्पत्ति आर्जन गर्ने बाटो फराकिलो गर्नु नै थियो त ? जे भए पनि मन्त्री भएको अवस्थामा उनले जस्तो काम गरिन्, देशको लागि नै समर्पित भएर गरेको कामको परिणाम अहिले मेलम्ची खाने पानी आयोजनाको सफलताले नै देखाएको छ । यसरी क्रियाशील हुने बिनालाई धन्यवाद त होइन, उल्टै भ्रष्टाचार गरेको भनेर आरोपित गर्ने र प्रचण्डको बुहारीलाई पद दिनु परेको भनेर खेदो खन्ने काममा ओलीले समय खर्चिरहेका छन् ।
वास्तवमा मेलम्ची योजनामा तीव्रता आएको बिना मगरकै पालामा हो । उनले जतिसुकै आरोपित हुनुपरे पनि सहनशील हुँदै रातदिन काम गराउन सकेकोले आज सायद मेलम्चीको पानी घर-घरमा पुग्न सकेको छ । आफ्नो सक्रियताले मेलम्चीको पानी सुन्दरीजलमा झरिरहेको अवस्थामा आफू पदमा नरहे पनि सो क्षेत्रको निरिक्षण गर्न बिना मगर पुगेको देखियो । यसरी बिना मगर आफै परियोजना स्थल पुगेर आफूले गरेको कामको स्मरण गरिरहेकी मात्र होइन, आफ्नै अथक प्रयासबाट मेलम्ची आउन सकेकोमा सबैभन्दा खुसी भएकी छन् । यद्यपि खानेपानी मन्त्री भएका मणि थापा र उनका मालिक ओली भने यो काम आफूले गरेको भनेर खुट्टा बजारिरहेका छन् । कसले पत्याउने ?
ओलीलाई जस लिन अर्को कार्यक्रम पनि तयार अवस्थामा छ । त्यो फास्ट ट्रय्राक हो । केही वर्ष अझै प्रधानमन्त्रीमा बसिरहन पाए मेची-महाकाली राजमार्ग नै मैले बनाएँ भन्न पनि ओलीले बेर लाउँदैनन् । फास्ट ट्य्राक समेत मैले बनाएँ भन्ने रहर पनि ओलीलाई होला, जबकि यो कार्यक्रम नेपाली काँग्रेस र ओलीले मिलेर भारतीय ठेकेदारलाई दिने तयारी अवस्था थियो । प्रचण्ड प्रधानमन्त्री भएकोले उनकै साहसपूर्ण निर्णयले नेपाली सेनाले यो कामको जिम्मा पाएको हो । विभिन्न कार्यक्रममा तत्कालीन भारतीय राजदूत मञ्जितसिंह पुरीले फास्ट ट्य्राक भारतले बनाउने निश्चित भएको छ भनिरहेको अवस्थामा प्रचण्डले नेपाली सेनालाई यो कार्यक्रम दिएर भारतलाई लोप्पा खुवाएका हुन् ।
हरेक क्षेत्रमा भारतीय एकाधिकार रहने र भारतलाई नै आन्तरिक निर्माण कार्यहरु दिनैपर्ने सरकारी निरीहतालाई प्रचण्डले फास्ट ट्य्राक निर्माणको जिम्मा सेनालाई दिएर त्यो प्रचलन सहजै तोडिदिएका हुन् । यति मात्र नभएर अझ अन्तर्राष्ट्रिय रुपमा नेपालको सहज उपस्थिति राख्नका लागि चीनको सडक सञ्जाल (BTI – Belt and Road Initiative) कार्यक्रममा नेपाललाई जोड्ने प्रचण्ड नै हुन् । यो कार्यक्रमबाट निश्चय पनि नेपालले चीनको सडक सञ्जालसँग जोडिएका देशहरुमा सम्पर्कमा पुग्न अवश्य पनि सहयोग पुग्नेछ । यतिमात्र नभएर चीनलाई भारतीय सीमावर्ती क्षेत्रका दक्षिण एसियाली मुलुकमा आफ्नो सडक सञ्जाल विस्तार गर्न समेत नेपाली भूभागबाट सहज बन्ने मात्र नभएर नेपाली भूभागबाट यो अन्तर्राष्ट्रिय सडक सञ्जाल सञ्चालन हुँदा नेपाल विश्वकै गतिलो व्यापारिक केन्द्र बन्न सक्ने संभावनाको चमत्कारिक उपस्थिति दिने प्रचण्डनै हुन् । यद्यपि यो कार्यक्रममा भारत जोडिन चाहिरकेको छैन । तर पनि यो सञ्जालमा जोडिन सके भारतलाई नै अत्यधिक फाइदा पुग्ने कुरा विभिन्न क्षेत्रका विज्ञहरुको अभिव्यक्तिबाट बुझ्न सकिन्छ । यसर्थ भारतले पनि यस्तो महत्त्वपूर्ण कार्यक्रममा साथ दिने हो भने सडक सञ्जाल कार्यक्रम एसियाबाट सुरु भएर संसारलाई नै ऐक्यबद्ध गर्ने संयुक्त प्रयासबाट विश्व समुदायले अत्यधिक लाभ हासिल गर्नसक्ने छ ।
विगतलाई सम्झिरहँदा जनताको मुक्तिका लागि राखिएका माग पूरा नगरे जनयुद्धमा जान्छौँ भनेर क्रान्तिकारीहरुले भनिरहँदा सरकारले यो कुरा पत्याएको अवस्था पनि थिएन । यस्ता फुच्चे आन्दोलनले के नै गर्न सक्छ र ? भन्ने सोचका साथ दमनमा उत्रेको सरकारलाई देशव्यापी रूपमा सरकारी संयन्त्र समेत माओवादीहरुको कब्जामा पुगेको कुरा मात्र होइन माओवादीसँग लज्जास्पद हार स्वीकार गर्नुपरेको थियो । यस अवस्थामा सत्ताको स्वाद पाइरहेका ओली भने माओवादीले गणतन्त्रको माग गर्नुभनेको ‘गाडा चढेर अमेरिका जानु’ जतिकै हो भनिरहेका थिए । सायद यो कुरा उनले अहिले बिर्सिसके कि ? गणतन्त्र आइसकेपछि प्रधामन्त्रीको कुर्सीमा मोजमस्ती गरिरहेको अवस्थामा त गणतन्त्र मैले नै ल्याएको हो भन्न पनि बेर मानिरहेका छैनन् ।
अहिले उनको व्यवहार हेर्दा माओवादीसँग गरिएको पार्टी एकता आफू प्रधानमन्त्री हुनको लागि मात्र रहेछ भन्ने कुरा प्रमाणित हुँदै गएको छ । उनले संविधान बनाउने वेला प्रधानमन्त्रीको लहडमा संसद विघटन गर्न नसक्ने गरी संविधान बनाएको भन्दै संसदले नै प्रधानमन्त्री बनाएकोले संसदकै निर्णयले मलाई हटाए हट्छु भनेको पनि अहिले बिर्सिसकेका छन् । सत्ताको धङधङीले मातिएको अवस्थामा अरुलाई पदलोलुप भएको भन्दै पदमा टाँसिइरहने बहानामा संसद विघटन गरेर संविधानमाथि नै बलात्कार गरिरहेको कुरामा उनलाई अहिले पछुताउ नै छैन । फेरि अरुलाई पदलोलुप भन्ने अनि आफू अवैध तरिकाले भए पनि पदमा बसिरहनुपर्ने कुरा सर्वसाधारणका लागि पाच्य कुरा होला र ? यतिमात्र नभएर पार्टी एकता विथोलेर आफै संविधान भन्दा माथि छु भन्दै सबैलाई हुर्मत लिने दुस्साहस गर्नु उनकै लागि पनि हानिकारक कुरा हो । सायद यो उनको क्रुर र निरंकुश व्यवहारले उनकै राजनीतिक भविष्य अन्धकारतिर धकेलिएको कुरा भने बुझ्नुपर्थ्यो । तर अधम मतिले चुलिएको हुनाले उनलाई देश र जनता भाँडमा जाओस्, आफ्नो कुर्सी र मतियारको सम्पन्नता सिवाय के नै नयाँ सोच विचारले ठाउँ पाउने अवस्था आउँछ र ?
देशमा जनता नै सर्वेसर्वा हुन्छन् । जनता बाहेक कुनै व्यक्ति निरंकुश हुन्छ भने त्यो क्षणिक हो भन्ने कुरा हिटलरको पतनले समेत देखाएको छ । यस्तै धेरै चुरीफुरी गर्ने तानाशाहको पतन दुर्दान्त भएको इतिहासले नै प्रमाणित गरिसकेको छ । अहिले विश्वमा टिक्न नसकेको निरंकुशताको रक्षक ओली भएका छन् । केही समय अघि यो दुस्साहस अमेरिकामा डोनाल ट्रम्पले गरिरहेका थिए । उनी टिक्न सकेनन् । यहाँ भने केपी ओली ताहुर-माहुर गरिरहेका छन् । यो क्षणिक मस्ति त होला तर प्रधानमन्त्रीको कुर्सीबाट ओर्लेपछि यिनको हालत हेर्न लायक हुनेछ ।
राजनीति विचित्रको बाटोमा दौडँदो रहेछ । प्रतिपक्षी भनाउँदाहरु संसद विघटनको विरुद्धमा जसरी एकाकार भएका थिए, संसद नै ब्युँतिसकेपछि भने पद पाउने आशाले बार्गेनिङ गर्दै लाखा-पाखा लाग्नु उनीहरुकै लागि लज्जास्पद कुरा हो । नेपाली काँग्रेस अहिले विघटित संसदकै बेला जस्तो सिधने कि ब्युँतिने दुविधापूर्ण अवस्थामा पुगेको छ किनभने कांग्रेसका सभापति शेरबहादुरले ओलीले जबर्जस्त विधेयक ल्याएर अपूर्ण संवैधानिक परिषद्को नामबाट आफ्ना १४ जना मान्छे संवैधानिक निकायमा नियुक्ति दिलाउन सफल भएकोमा ओली प्रति नतमस्तक छन् भन्ने सुनिन्छ । यतिमात्र नभएर उनले सरकार टिकाउन मोटो रकमको रिश्वत पाएको कारण ओलीको बचावटमा लागेको भन्ने चर्चा छ, सत्य कति हो उनैलाई थाहा होला । यसै बिच देउवापत्नी आरजुको अकूत सम्पत्तिको छानबिनको खबर आइरहनु र देउवाले सरकारको पक्षपोषण गर्नुले पनि ओली देउवा बिच मिलेमतोबाट ठुलो भ्रष्टाचार भएको कुरा साँचो हो भन्न सकिने अवस्थामा पुगेको पाइएको छ ।
अर्को राजपा भनेर ताहुर-माहुर गरिरहेको पार्टी पनि मौकामा चौका पार्न लागी परेको छ । यो गुटलाई ओलीको कुर्सी बचाएर आफ्ना गुटका तस्करहरुलाई पोस्न भारतसँग दलाली गर्नु छ । यतिमात्र नभएर मधेसी दलले नागरिकता लगायतका सवालमा संविधानमा संशोधन गराउन कबुल गराएर देशलाई नै धरापमा पुर्याउने मौका खोजेको पाइन्छ । यतिखेर यो गुटको बार्गेनिङ दह्रो देखिएको छ । यसर्थ यो जटिल अवस्थामा जनयुद्ध जस्तो जोखिमपूर्ण संघर्षको नेतृत्व गरेका प्रचण्डले नै गम्भीर भएर सबैखाले षड्यन्त्रलाई चिर्दै देशको स्वाधीनताको रक्षा गर्नुपर्ने अवस्था आएको छ । अहिलेको परिवर्तन प्रचण्डकै नेतृत्वको जनयुद्ध र जनआन्दोलनको परिणति हो । ओली जस्ता कायरहरू जति चिच्याए पनि त्यस्ता फटाहा दलालबाट यो परिवर्तन संभव थिएन । तसर्थ ओलीको अहङ्कारलाई चकनाचुर पारेर रछ्यानमा फालिदिनु जरुरी भएको छ । यो काममा जति-जति ढिलो हुन्छ, त्यति-त्यति देशको दुर्दशा हुन पुग्छ भन्ने कुरा बुझेर यो निरंकुशता विरुद्धको कार्यक्रममा सबै एकाकार हुनुपर्ने बेला आएको छ ।
सबै एकजुट भएर ओलीको क्रुर पञ्जामा रहेको साशनलाई मुक्त गरेर देशको समृद्धिका लागि नमूना गाउँ विकास कार्यक्रम सञ्चालन गरेर हरेक गाउँ टोल टोलमा नयाँ आर्थिक संरचनामा जनतालाई आबद्ध गर्दै नेपाललाई संसारकै धनी राष्ट्र बनाउन एकाकार भएर लागौँ । यो अवस्थामा प्रचण्डको यो देशलाई समृद्ध बनाउँछु भन्ने संकल्प प्रतिबद्धता र रातदिनको क्रियाशीलताले सार्थक उपलब्धि पाउन सकोस् । केपी ओलीको एमसीसी, होली वाइन, ओम्नी, यति होल्डिङ, सांसद अपहरण, संसदको विघटन, अवैध नियुक्ति, आसेपासेको पालनपोषण, दैनिक सयौँ कार्यक्रमको शिलान्यास र उद्घाटनको नाटकीय कुरूपतालाई चकनाचुर पारेर यिनले गरेको भ्रष्टाचारको छानविन गरी उचित सजायँ दिन सबै एकाकार भएर आन्दोलित बनौँ ।
(लेखक विकास अर्थशास्त्री हुनुहुन्छ ।)