पेले, Pele, Edson Arantes do Nascimento
 

विश्वमा निकै कम व्यक्तिहरुले मात्र आफ्नो क्षमता र प्रतिभा प्रस्तुत गरेर विश्वभरि आफ्नो नाम फैलाएका छन् । यो संसारमा कोही राजनीतिज्ञ, कोही वैज्ञानिक, कोही साहित्यकार, कोही लेखक त कोही कलाकार भएर आफ्नो उज्ज्यालो छरिरहेका छन् । त्यस्तै खेलकुदको पनि आफ्नै संसारमा पनि फुटबलको आफ्नै महत्त्व रहेको छ । त्यही फुटबल खेलकुदको संसारमा आफ्नो प्रतिभा र क्षमता प्रस्तुत गरेर आफ्नो क्षेत्रमा सबैभन्दा अग्रस्थानमा नाम र दाम कमाउन सफल व्यक्तित्व हुन्‌, विश्व प्रसिद्ध शताव्दी वर्ष खेलाडीः पेले ।

पेले, जुन नाम नै फुटबलको उपमा बनिसकेको छ, त्यस्ता प्रिय व्यक्तिको जन्म आजभन्दा करिब १९४० अक्टोबर २३ का दिन ब्राजिलको राजधानी रियो डि जेनेरियो भन्दा तीन सय किलोमिटर पश्चिममा पर्ने त्रेस कोराकोस भन्ने ठाउँमा भएको हो । उनका पिताको नाम डोडिन्हो थियो भने आमाको नाम सेलेस्टी थियो ।

शिशिर श्रेष्ठ, मिलन आफन्त, Shishir shrestha, milan afanta
लेखक

अत्यन्तै गरिब परिवारमा जन्मेका पेलेका बुवाले मजदुरी गरेर जीविकोपार्जन गर्ने भए पनि यिनका बुवाले पनि फुटबल खेल्थे, त्यसैले पाँच वर्षको कलिलो उमेरमा नै यिनलाई पनि फुटबलको नशाले छोइसकेको थियो । त्यसो त उनका बुवा-आमा उनलाई डाक्टर वा वकिल भएर खुसीसाथ आफ्नो जीवन चलाएको हेर्न चाहन्थे । तर उनी विश्वप्रसिद्ध महान्‌ फुटबल खेलाडी बन्न पुगे । जीवनको उत्कर्षमा आइपुग्दा उनले फुटबलबाट नाम मात्र होइन, अरबौँको दाम पनि कमाए । एक गरिब परिवारमा जन्मिएका उनी एक सम्पन्नशाली व्यक्तित्व हुन सफल भए ।

उनको बालककाल तिर फर्केर हेर्ने हो भने उनले अत्यन्तै गरिबीको रेखामुनि रहेर आफ्नो जीवनका दिनहरु व्यतित गर्नुपर्‍यो । उनले फुटबल र जुत्ता समेत किन्न नसकेर सिनेमा हल, नाचघर अगाडि बसेर चना मात्र बेचेनन्, जुत्ता पालिस गर्ने काम पनि गर्न पछि परेनन् । तर आफ्नो फुटबलप्रतिको तीव्र मोहले गर्दा स्कुल जाँदा-आउँदा विद्यार्थीहरुको बिचबाट फुटबल लाने र भकुण्डोलाई कतिन्जेलसम्म भुइँमा नझारिकन राख्न सकिन्छ भनेर अभ्यास गर्ने गर्दथे । यसरी सानै उमेरमा उनले आफ्नो फुटबलमा असाधारण प्रतिभा देखाउन थालिसकेका थिए । यही असाधारण प्रतिभाबाट प्रभावित भएर उनका पिताका साथी ब्रिटोले उनलाई चौध वर्षको उमेरमा ब्राजिलको प्रसिद्ध सान्तोस क्लबमा लगे । त्यस क्लबका प्रशिक्षकहरुको राम्रो तालिम पाएर उनले दक्षता हासिल गरेको परिमाण स्वरुप १७ वर्षको कलिलो उमेरमा नै उनी राष्ट्रिय खेलाडीको रुपमा देखा पर्न सफल भए ।

राष्ट्रिय टिममा सामेल भइसकेपछि उनले सन् १९८५ मा स्वीडेनमा आयोजना गरिएको छैठौँ विश्वकप प्रतियोगितामा खेल्ने सुर्वण अवसर पाए । उक्त खेलमा उनले अत्यन्तै चमत्कारिक र विशिष्ट कौशलताका साथ आफ्नो खेल प्रस्तुत गरेर ब्राजिललाई पहिलो पटक विश्वकप जिताउन सफल भए । यस प्रतियोगितामा उनले सर्वश्रेष्ठ खेलाडीको साथै “ऐतिहासिक फुटबल खेलाडी” को उपाधि समेत पाउन सफल भए ।

त्यसपछि उनको ख्यातिले ब्राजिलको सिमाना नाघ्दै विश्वको कुना-कुनामा पुग्यो । सारा संसारभरका फुटबलप्रेमीको माझ पेले नयाँ तारा बनेर उदाए । फुटबल संसारमा पेलेको स्थान आजसम्म कसैले पनि लिन सकेका छैनन्, त्यसपछि फुटबल संसारमा म्याराडोना, रोनाल्डो, मेस्सी जस्ता हस्तीहरु नजन्मिएका होइनन् तर पनि तिनीहरुले पेलेको जस्तो कीर्तिमान कायम गर्न सकेका छैनन् ।

पेले, pele, covid-19 vaccine
मार्च २, २०२१ मा कोभिड-१९ विरुद्धको खोप लगाएपछि थम्ब्स् अप गर्दै पेले

फुटबल संसारको ‘कालो मोती’ को रुपममा परिचित पेलेका बारेमा जति नै कलमको मसी खर्च गर्दा पनि कम हुन्छ । पेले त्यस्ता व्यक्ति हुन्, जसको अद्धितीय खेल प्रर्दशनले सन् १९६२ र सन् १९७० मा पनि ब्राजिलले विश्वकप जित्न सफल भयो र दुवै पटक पेलेलाई नै उत्कृष्ट खेलाडी घोषित गरियो । यसरी पेले तीनवटा विश्वकपका सर्वश्रेष्ठ खेलाडी भएका थिए । यति ठुलो अवसर कुनै फुटबल खेलाडीले पाएका छैनन् । त्यसैले उनलाई फुटबल संसारको एक मात्र ‘महारथी’ भनिएको हो ।

यतिमात्र नभएर विश्व फुटबल इतिहासमा एक हजार गोल गरेर विश्व कीर्तिमान कायम गरेका पेलेलाई एउटा सुनको थाल र चार पाउण्ड भन्दा बढी वजन भएको एउटा सुनको भकुण्डो पुरस्कार दिइएको थियो । त्यसपछि पनि उनले तीन सय जति गोल गरेर विश्वमा सर्वाधिक गोल गर्ने व्यक्ति बनेका छन् ।

पेलेलाई ब्राजिल सरकारले राष्ट्रिय सम्पत्ति (विभूति) घोषणा गरेको छ, उनले विभिन्न देशको भ्रमण गरी त्यहाँका राजा, महाराजा, राष्ट्रपतिलाई भेटघाट गरिसकेका छन् भने उनी विभिन्न देशको मानार्थ नागरिक पनि बनेका छन् । यिनको सम्झनामा विभिन्न गीत, कविता, कथा, उपन्यास, किताब लेखिएका छन्‌ ।

वास्तविक नाम एड्सन एरान्तेस दो नासिमेन्टो भएका यी अद्धितीय खेलाडीको नाम र कामबाट ब्राजिल मात्र होइन, सारा विश्व नै गौरवान्वित भएको छ । केही समय अगाडि मात्र फिफाले पेलेलाई शताब्दीको सर्वश्रेष्ठ फुटबल खेलाडी घोषणा गरेको छ । पेले जस्ता सर्वाधिक सफल, चमत्कारिक, अभूतपूर्व खेलाडीलाई विश्वभरका फुटबल तथा खेलप्रेमीहरूले सदासर्वदा सम्मान गरिरहनेछन् । सर्वहारा वर्गीय धरातलबाट उठेर विश्वमा पहिचान बनाउन सफल पेलेलाई सुस्वास्थ्य र दीर्घायुको कामना ।

(श्रेष्ठ प्रगतिशील युवा लेखक हुनुहुन्छ।)