भारतीय कम्युनिस्ट पार्टीको स्थापना सन् १९२० मा तत्कालीन सोभियत संघको तासकन्द सहरमा भएको थियो । संस्थापकहरूमा एमएन रोय, अवानी मुखर्जी, मुहम्मद अली आदि नेताहरु थिए ।
डिसेम्बर २५, सन् १९२५ मा कानपुरमा भारतीय कम्युनिस्ट पार्टीको सम्मेलन भयो, जसमा ५०० जति प्रतिनिधिहरूको सहभागिता थियो । बृटिश भारतमा कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइएको थियो । तसर्थ सन् १९२६ देखि भारतीय कम्युनिस्ट पार्टीले विभिन्न प्रान्तहरूमा रहेका किसान तथा मजदुर मोर्चामार्फत क्रियाकलापहरु सञ्चालन गर्यो ।
सन् १९३४ मा स्थापना गरिएको काङ्ग्रेस समाजवादी पार्टीका जयप्रकाश नारायण, राममनोहर लोहिया, आचार्य नरेन्द्रदेव आदि नेताहरूले आफ्नो पार्टीमा कम्युनिस्टहरूलाई पनि स्थान दिनुपर्ने राय व्यक्त गरे । प्रजातान्त्रिक समाजवादको वकालत गर्ने काङ्ग्रेस समाजवादी पार्टीमा एक अर्कोलाई सम्बोधन गर्दा कमरेड भन्ने गरिन्थ्यो ।
यो पार्टीले सन १९३६ मा मार्क्सवाद अङ्गीकार गर्यो । सोही सालदेखि कम्युनिस्ट पार्टीले आफ्ना नेता कार्यकर्तालाई काङ्ग्रेस समाजवादी पार्टीमा रहेर काम गर्ने अनुमति दियो । सन् १९४० मा रामगढमा भएको अधिवेशनमा भारतीय कम्युनिस्ट पार्टीले बृटिश उपनिवेशवादका विरुद्ध आम हडताल गर्ने, कर नतिर्ने, भाडा नतिर्ने नीतिका साथसाथै सशस्त्र संघर्षको उठान गर्ने घोषणा गर्यो । कम्युनिस्ट पार्टीको सो घोषणा पश्चात् काङ्ग्रेस समाजवादी पार्टीले सबै कम्युनिस्टहरूलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गर्यो ।
सन् १९४८ को फेब्रुअरीमा कलकत्तामा कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशन भयो । पार्टीले तेलङ्गना क्षेत्रलाई मुक्त गर्दै पूरा भारतमा क्रान्तिको झण्डा फहराउने रणनीतिका साथ अघिबढ्दै गर्दा चर्को सरकारी दमनको सामना गर्नुपर्यो । सन् १९५१ मा भारतीय कम्युनिस्ट पार्टीले जनवादी प्रजातन्त्रको कार्यक्रम परित्याग गरी राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम अख्तियार गर्यो ।
सन् १९५७ मा केरलामा कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार बन्यो । उक्त सरकारले भूमिहीन किसानलाई जमिन वितरण गर्यो । किसानको ऋण मिनाहा गर्यो । शिक्षालाई राज्यको मातहतमा ल्यायो । सन् १९६२ को भारत चीन सीमायुद्ध पश्चात् भारतीय कम्युनिस्ट पार्टी रुसी लाइन र चिनियाँ लाइनमा विभाजित भयो । चिनियाँ लाइनका पक्षधरहरुलाई विदेशी दलाल करार गर्दै जेलमा हाल्ने क्रम चल्यो ।
पार्टी विभाजनपछि बनेको भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) को साङ्गठनिक पकड रहेको बङ्गालमा चारु मजुमदारलगायतका केही जिल्लास्तरका नेताहरू किसान संघर्षलाई नयाँ जीवन दिने प्रयत्नमा लागे । सन् १९५३/५४ देखि चारु मजुमदारले नक्सालबाडीलाई केन्द्र बनाएर काम गर्न थालेका थिए । उनका सहकर्मी थिए – कानु सन्याल, सोरेन बसु ।
सन् १९६६ मा तराई किसान परिषद् सिलगुडीको सम्मेलनले नारा लगायो – “लाङ्गोन जार, जमी तार” अर्थात् “जसको हलो, उसैको जमिन” । सन् १९६७ अप्रिल १ को साँझ किसान नेता जङ्गल सन्थालको टोलीले जमिनदार नागेन रोय चौधरीलाई कारबाही गर्यो । मे २४, १९६७ का दिन पिठ्युँमा पन्ध्र दिनकी छोरी बोकेकी नेता शान्ती मुण्डाको नेतृत्वमा झोरजोतमा जमिनदारको जमिन कब्जा भयो । पश्चिम बङ्गालका तत्कालीन भूमिमन्त्री वरिष्ठ कम्युनिस्ट नेता हरेकृष्ण कोनारले समस्याको शान्तिपूर्ण समाधानका लागि अपिल गरे । सशस्त्र क्रान्तिका पक्षधरहरूलाई भाकपा (मार्क्सवादी) बाट निष्कासन गरियो ।
सन् १९६७ को अगस्टसम्ममा नक्सालबाडीबाट एक हजार नेता, कार्यकर्ता र किसानहरुलाई सरकारले गिरफ्तार गर्यो । चारुले कालिम्पोङका नेता कृष्णभक्त शर्मालाई चीनमा माओत्सेतुङलाई भेट्न पठाए ।
सन् १९६७ को जुलाइ ५ मा चाइना डेलीले “भारतमा वसन्त गर्जन” शीर्षकको आलेख छाप्यो । त्यसमा लेखिएको थियो – दार्जिलिङको सशस्त्र संघर्षबाट भारतीय प्रतिक्रियावादीहरू भयभीत छन् । तिनीहरूले आफ्नो विनाशको महसुस गरेर रुन थालेका छन् । सन् १९६७ को सेप्टेम्बरमा कानु सन्याल, दिपक विश्वास, सुरेन बोस, खोकोन मजुमदार र खुदोन मल्लिक चीन गए । चारुले सन् १९७५ सम्ममा भारतमा क्रान्ति सम्पन्न भइसक्ने घोषणा गरे ।
२२ अप्रिल, १९६९ का दिन लेनिन जयन्तीको अवसर पारेर चारु मजुमदारको नेतृत्वमा भाकपा (माले) को गठन भयो । त्यो समय कलकत्ताका भित्ताहरु नाराले रङ्गिएका हुन्थे – “तोमार बाडी, अमार बाडी, नक्सालबाडी अर्थात तिम्रो घर, हाम्रो घर, नक्सालबाडी ।”
नक्सालबाडीको मसाल भारतभरि फैलियो । भारतको केन्द्र सरकारसमेत भयभीत भयो । अमेरिकी गुप्तचर निकाय सिआइएलाई नक्सालबाडी आन्दोलनको अध्यन गर्न दिइयो । सन् १९७० को अक्टोबर २६ मा सिआइएले नक्सालबाडी आन्दोलनमाथि गोप्य प्रतिवेदन तयार पार्यो ।
सन् १९७२ को जुलाईमा कलकत्ताबाट चारु मजुमदार गिरफ्तार भए । मुटुका बिरामी चारुलाई हिरासतमा जुलाई २७, १९७२ को दिनमा मृत घोषणा गरियो । अत्यन्त कडा सुरक्षाका बिच उनको अन्त्येष्टी सरकारले गर्यो । चारुको हत्यापछि भाकपा (माले) एकताबद्ध रहन सकेन । चारुको गिरफ्तारीमा संलग्न भएको आरोपमा नेता दिपक विश्वासको भौतिक कारबाही भयो । सन् १९७५ मा भाकपा ( माले) बाट फुटेका पार्टीहरूको संख्या २८ पुगेको थियो ।
नक्सालबाडी आन्दोलन सन् १९४६ ताकाको तिभागा आन्दोलन, सन् १९५९ को विशाल किसान प्रदर्शन आदिको उत्कर्ष थियो । चारुले भारतीय क्रान्तिका दुश्मनका रूपमा अमेरिकी साम्राज्यवाद, रुसी नवसाम्राज्यवाद, भारतीय बुर्जुवा वर्ग र सामन्तवादलाई किटान गरे । विविध कमजोरीका बाबजुद नक्सालबाडी आन्दोलन एक क्रान्तिकारी झिल्को थियो, जसले हजारौँ विद्यार्थीहरूलाई, युवाहरूलाई आफूतर्फ तानेको थियो ।
आज नक्सालबाडी शान्त छ । त्यहाँ वसन्त क्रान्तिका कुनै अवशेषहरू फेला पर्दैनन् । साठी नाघेका चारुका छोरा अभिजित अध्यापन गर्छन् । चारुका सहयोद्धा कानु सन्यालले सन् २०१० मा आफ्नै झुपडीमा आत्महत्या गरे । उनको सानो घरलाई कानु मेमोरियल ट्रष्ट बनाइएको छ । कानुको भाषण सुनेर नक्सालबाडी आन्दोलनमा जोडिएकी दिपु हल्दारले उक्त ट्रष्ट कुरिरहेकी छन् ।
केरलाका ७० नाघेका भूपू क्रान्तिकारी बासु सानो भाडाको कोठामा छाता बेच्छन् । उनकाअनुसार शोषण र गरिबीको उपयुक्त जबाफ क्रान्ति नै हो । त्यस्तै भूपू क्रान्तिकारी फिलिप यमप्रसाद जेल परेपछि आध्यात्मिक कार्यमा लागे । भाकपा (माले) सँग वैचारिक मात्र नभई भौतिक लडाइँ समेत लडेको भाकपा (मार्क्सवादी) ले पश्चिम बङ्गालमा सन् १९७७ देखि सन् २०११ सम्म एकलौटी सरकार सञ्चालन गर्यो ।
भाकपा (माले) को मूलधारका रुपमा आज भारतमा भाकपा (माओवादी) रहेको मान्न सकिन्छ। यसको उद्देश्य जनवादी राज्यसत्ता स्थापना गर्नु रहेको छ । भाकपा (माओवादी) को साङ्गठनिक प्रभाव ११ वटा प्रान्तको ६० वटा जिल्लाहरूमा फैलिएको छ । भारतको जनसंख्याको ८.२ प्रतिशत हिस्सा ओगटेका आदिवासीहरू माओवादीका मुख्य लक्षित समूह हुन् । भाकपा (माओवादी) ले आदिवासीले भोगिरहेको गरिबी, पिछडापन तथा वातावरणलाई कार्यनीतिक मुद्दाका रुपमा उठाएको छ । आन्ध्र प्रदेशको श्रीकाकुलममा जन्मिएका नम्बाला केशवराव उर्फ वसबराजु यो पार्टीका वर्तमान महासचिव हुन् । भारत सरकार भारतीय माओवादी, जसलाई ‘नक्सली’ पनि भन्ने गरिन्छ, का विरुद्ध कठोरतापूर्वक पेश भएको छ । अर्वन नक्सलीको आरोपमा बुद्धिजीवी, पत्रकार, लेखकहरूलाई मुद्दा लगाएर थुनेको छ ।
चारुले सोचेझैँ नक्सालबाडी र श्रीकाकुलम भारतका चिनकाङशान र येनान् बन्न नसके पनि पुँजीवादका क्रुर र निर्दयी हर्कतहरूले अझै पनि नक्सालबाडी र यसका नेता चारुको ताजा स्मरण गर्न धेरै भारतीय नौजवानहरूलाई प्रेरित गरिरहेको छ ।
(लेखक नेकपा (माओवादी केन्द्र) का युवा नेता तथा बुद्धिजीवी संगठनका नेता हुनुहुन्छ ।)