विद्यार्थी भनेका कुनै शिक्षण संस्था, विद्यालय, विश्वविद्यालय आदिमा आबद्ध भई नियमित रूपमा ज्ञान आर्जनमा लागिरहने व्यक्तिहरु हुन् । आजको आधुनिक युगमा हरेक मानिसले विद्यार्थी जीवन पार गर्दै अगाडि बढिरहेको हुन्छ । विद्यार्थी जीवन ज्ञान आर्जनको स्वर्णिम समय हो ।
युवा विद्यार्थीहरु हरेक दृष्टिकोणले जागरुक र सचेत हुन्छन् । विद्यार्थीहरु हरेक प्रकारका विकृति र विसंगतिका विरुद्ध एक भएर मुकाबिला गर्दै अधिकार प्राप्तिको लडाइँमा अग्रसर हुन्छन् । विगतका उदाहरणहरूले पनि त्यसको पुष्टि गर्छ, जस्तो राणा शासनको विरुद्धमा आवाज उठाउने र संघर्षको मैदानमा आफ्नो ज्यानको बली दिने काम युवा विद्यार्थीहरुले गरे । २००४ सालमा जयन्तु संस्कृतम् आन्दोलन पनि युवा विद्यार्थीहरु कै नेतृत्वमा सम्पन्न भएको थियो । पञ्चायतकालमा पनि कुलिन तन्त्रका विरुद्धमा आवाज बुलन्द गर्ने युवा विद्यार्थीहरु नै थिए ।
२०४६/४७ को आन्दोलन होस् या १० वर्षे जनयुद्ध र २०६२/६३ को जनआन्दोलन यी सबै आन्दोलनमा युवा विद्यार्थीहरु नै अग्रमोर्चामा हुन्थे । थुप्रै पटकका परिवर्तनकारी आन्दोलनमा विद्यार्थीको अहम् भूमिका रहेको थियो र हुन्छ । विद्यार्थीहरु राज्य व्यवस्थाका विरुद्ध रगत बगाउन अग्रसर भए, त्यसैले पनि भन्ने गरिन्छ, विद्यार्थी आन्दोलन रक्तरञ्जित गौरवपूर्ण गाथाले भरिएको एउटा गौरवमय इतिहास हो । यो इतिहासलाई बिर्सिने र मेटाउने छुट कुनै पनि विद्यार्थी नेताहरूलाई छैन ।
शिक्षा क्षेत्रमा सल्बलाएका विकृति, विसंगति र अराजकताको विरुद्धमा, विद्यार्थीको हक, हितका लागि सम्बन्धित सरोकारवाला पक्षका गलत हर्कतका विरुद्ध एक भएर संघर्ष गर्ने मोर्चा हो, विद्यार्थी संगठन । निश्चितरूपमा नयाँ व्यवस्था स्थापना गर्न शिक्षामा पनि नयाँ संरचना र चिन्तनको आवश्यकता पर्छ नै तर राजनीतिक आन्दोलनले क्रान्तिकारी कदम नचाल्दासम्म शिक्षामा नयाँ व्यवस्थाको कुरा गर्नु कोदो पेलेर तेल निकाल्नु जस्तै हो ।
झनै अहिले त विद्यार्थी आन्दोलनमा विभिन्न खाले समस्या देखा परिरहेका छन् । दलाल र शैक्षिक तस्करहरु शिक्षा क्षेत्रमा हाबी भएका छन् । शैक्षिक दलाल र तस्करहरूले विद्यार्थीहरुले राजनीति गर्नु हुँदैन भनिरहेको पाइन्छ । जस्तो निजी स्कुलहरूमा संगठन विस्तार गर्न नदिनु यसको एउटा ज्वलन्त उदाहरण हो । यसको अर्थ उनीहरू विद्यार्थी चेतनशील भएर शैक्षिक क्षेत्रमा भएको लुटतन्त्रलाई विद्यार्थीले बुझे भने आफ्नो कर्तुत उदाङ्गो हुने भयले यसो गरिरहेका छ्न् । यस्तो अवस्थामा विद्यार्थीसमक्ष सही कुरा पुर्याउनुपर्ने अहिलेको विद्यार्थी नेतृत्वको जिम्मेवारी हो ।
विद्यार्थीबाट जनस्तरमा जति आशा र अपेक्षा गरिएको हुन्छ, विद्यार्थी संगठनले वा क्रान्तिकारी आन्दोलनले जनअपेक्षा अनुसार कार्य पूरा गरेको पाइँदैन । यसो हुनुको मुख्य कारण विद्यार्थी आन्दोलनले सही र गलत छुट्टाउने भन्दा पनि दलीय राजनीतिक स्वार्थमा प्रयोग हुने परम्पराले विद्यार्थी आन्दोलन भ्रष्टीकरण भएको पाइन्छ । अहिले विद्यार्थी नेताहरु नै शैक्षिक माफियाहरूसँग मिलेर शिक्षामा व्यापार गरिरहेका छन् । हिजो जनवादी र वैज्ञानिक शिक्षाको पक्षमा सडक तताउने अनेरास्ववियु होस् या त अखिल (क्रान्तिकारी) गरिखाने जनताका छोराछोरीलाई भर्याङ मात्र बनाए । आफू सत्ताको नजिक पुगेपछि विद्यार्थीका मुद्दामा तुसारापत गर्ने प्रचलन हाबी भयो ।
अहिले देशमा दुई ठुला पार्टी पूर्व एमाले र माओवादी केन्द्र एकता भएपछि पार्टी एकता प्रक्रिया सेल कमिटीसम्म सम्पन्न हुन सकेन । यसो हुँदा पार्टीभित्र अराजक तत्त्वहरू हाबी हुने र असल र इमानदार नेतृत्व पाखा लाग्ने परिस्थिति सिर्जना भयो भने पार्टी विभाजनकै स्थिति आयो । पार्टीभित्र नीति, नियम, विधि, कानुन र विधान बनाउनेहरूले नै कानुन पालना गरेर देखाए पो अरु नेता-कार्यकर्ताले सिक्छन् । तर यहाँ कानुन मिच्नसक्ने र फाइँफुर्ती देखाउनेलाई ठुलो मान्छे भन्ने र त्यही कुखुरे डन प्रवृत्तिको नेतालाई मान्ने संस्कार बस्यो । यस्तो परिपाटीले भोलिको समाज गम्भीर दुर्घटनामा फस्ने सम्भावना देखिन्छ । त्यसैले खराब प्रवृत्तिका मान्छे राजनीतिमा हाबी हुँदा आम जनतामा निराशाको वादल मडारिएको छ ।
भ्रष्ट र तस्करहरू हरेक क्षेत्रमा अगाडि छन् । आज वडादेखि सिंहदरबारसम्म फैलिएको तुजुक, फजुल खर्च, अर्बौं रुपियाँको निरर्थक व्ययभार तथा ‘म मालिक हुँ’ भन्ने मानसिकता हेर्दा राजनीति फोहोरी खेलमा परिणत भएजस्तो लाग्छ । आज राजनीति क्षेत्रमा, समाज, जनता राष्ट्रका बारेमा कुनै चासो नराख्ने तर “मै खाँऊ, मै लाँऊ, अरु सबै मरून्”, भन्ने सोचका द्रव्य पिचासहरु टोलटोल र बस्तीबस्तीमा भेटिन्छन् । त्यस्ता लोभीहरु निजामति, प्रहरी, निजी क्षेत्र, व्यापार, उद्योग, राजनीति हरेक क्षेत्रमा वर्चस्व कायम गरेर बसेका छन् । हाम्रो समाजमा श्रीमतिलाई सुनकै दाम्लो भिराउनेदेखि सुनकै काम्लो ओडाउन चाहने छुद्र मान्छेहरू पनि छन् ।
पार्टी एउटा जिउँदो वस्तु हो । यसमा दुई लाइन संघर्ष हुन्छ । विचारको लडाइँ हुन्छ । बहस हुन्छ, हुनुपर्छ यी सबै कुरा पार्टी पद्धति अनुरूप हुनुपर्छ । संगठनको नियम अनुरुप हुनुपर्छ । तर अहिले फरक तरिकाले गरिएको छ । क्रान्ति र पार्टीप्रति चिन्ता र चासो हुनु र राख्नु स्वभाविक हो । पार्टी र संगठनलाई नयाँ उचाइमा पुर्याउनका लागि अहिले भइराखेको जस्तो तुच्छ र घृणित तरिकाले होइन, नयाँ विधि र पद्धति अपनाउनु पर्छ ।
मान्छेहरु वैचारिक राजनीतिक बहसलाई तर्कसंगत ढंगले खण्डन गर्न नसकेपछि गालीगलौजमा उत्रिन्छ्न् ।अहिले हाम्रो पार्टी र विद्यार्थी संगठनमा यस्तो प्रवृत्ति छताछुल्ल रूपमा देखिएको छ । यस्तो प्रवृत्तिलाई लेनिनले कमजोर मानसिकताको उपज हो भन्नुहुन्थ्यो । कसैलाई तर्क र तथ्यले जित्न सकिएन भने गाली गरेर आत्मसन्तुष्टि लिने घृणित प्रवृत्ति हो।पिछडिएको मानसिकता र संस्कार को अभिव्यक्ति हो । जो अहिले विद्यार्थी संगठनहरूमा पनि देखिएको छ । एक पक्षले अर्को मन नपरेको व्यक्ति वा पक्षलाई मिथ्या आरोप-प्रत्यारोप गर्ने र पार्टी र संगठनलाई विभाजन गर्न खोज्ने विखण्डनकारी तत्त्वहरू सल्बलाइराखेका छन् । उनीहरूलाई पार्टी, संगठनको बृहत् एकता पचेकै छैन । म नै सर्वैसर्वा हुँ, अरु सबै रैती हुन् भन्ने पिछडिएको मानसिकता बोकेका मानिसहरू संगठनलाई आफ्नै मुठ्ठिभर चलाउन खोज्दैछन् । युगको माग नबुझ्ने व्यक्ति, संगठन वा पार्टी जो सुकै भए पनि इतिहासबाट बिलाएर जान्छ । श्रमिक वर्गका छोराछोरीको पीर मर्का बुझ्न नसक्ने संगठन वा नेता पतन भएर जान्छ । सामान्यतया राजनीति तर्क र विवेकमा चल्नुपर्ने हो तर चलेको देखिँदैन । राजनीतिमा तर्कभन्दा भावना र भावनाभन्दा समूह स्वार्थ बलियो देखिन्छ । अहिले विद्यार्थी नेताहरु सीमित पार्टी नेताहरूको देवत्वकरण गर्नमै महत्त्वपूर्ण समय व्यतित गरिरहेका छन् ।
तमाम गरिखाने श्रमिक जनताका छोराछोरीको भविष्यका बारेमा चुँ नबोली सत्ताको जुठो खाएर चुप बस्ने छुट संगठनमा रहेका नेतृत्वलाई छैन । विद्यार्थी संगठन भनेको जहिल्यै सडक संगठन हो, त्यसैले सडकका मान्छेहरुको आवाज सुन्छ र बुलन्द गर्दै राज्यसम्म पुर्याई अधिकारको प्रत्याभूति गराउँछ । तर अहिले संगठनमा सत्ताको जुठो खान पल्केका जुठेहरु सत्ताको महिमागान गाउनमै व्यस्त छन्, उनीहरूलाई गरिब विद्यार्थीको हकहितका लागि बोल्ने र काम गर्ने फुर्सद छैन । यस्तो प्रवृत्तिले विद्यार्थी आन्दोलनमा खिया लगाइरहेको छ ।
अहिले नेपालको शिक्षा प्रणालीलाई नियालेर हेर्ने हो भने हाम्रा विश्वविद्यालयहरू शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखाना जस्तै भएका छन् । डिग्री हासिल गरेका लाखौँ युवा विद्यार्थीहरू आफूले प्राप्त गरेका शैक्षिक योग्यताका प्रमाणपत्रलाई बाकसमा थन्क्याएर रोजगारीका लागि विदेशिन बाध्य छन् । नेपालमा भएका अलिकति चलखेल गर्ने गलत नियत बोकी कमाउको राजनीति गर्ने विद्यार्थी नेताहरू दुई नम्बरी धन्दा गर्नमै लिप्त छन् । पछिल्लो विद्यार्थी पुस्ता नराम्रोसँग कुलतमा फसिसकेको छ । आ-आफै विद्यार्थी नेता बन्ने प्रचलन व्यापक भएको छ ।
राज्यले उत्पादन र व्यवसायमुखी शिक्षा प्रणाली लागु गर्नुपर्ने देखिन्छ । यसका लागि विद्यार्थी राजनीति गर्ने नेताहरूले गुरु योजना निर्माण गरी गरिखाने शिक्षा लागु गर्नका लागि पहल गर्नुपर्ने हो । प्राकृतिक स्रोत र साधनलाई उपयोग र परिचालन गरी हरेक क्षेत्रको रूपान्तरण गर्नसक्ने सैद्धान्तिक र व्यावहारिक ज्ञान सिप र दक्षता भएको जनशक्ति उत्पादनमा केन्द्रित शिक्षा प्रणाली लागु गर्न राज्यलाई दबाब दिऔँ । यसरी मात्रै सम्भव छ, सुखी नेपाली समृद्ध नेपालको परिकल्पना साकार पार्नलाई । विद्यार्थी नेताले क्षणिक मिठो फल प्राप्ति होइन, समग्र राष्ट्रलाई नै प्रगतिको मार्गमा डोर्याउने लक्ष्यसहित अगाडि बढ्नु अहिलेको आवश्यकता हो ।
(लेखक युवा पत्रकार हुनुहुन्छ ।)