युभल नोह हरारी, Yuval Nohal Harari, Sapiens, Homo dues, 21 problems
 

एक्काइसौँ शताब्दी अहिलेसम्मका केही चर्चित पुस्तकहरू चयन गर्नु परेमा एउटा साधारण पाठकको हैसियतले मेरो सानो अध्ययनमा सन्‌ २००० मा प्रकाशित ली क्वान यीको फ्रम थर्ड वर्ल्ड टु फस्ट  निकै चर्चामा रह्यो । सन्‌ १९६५ देखि २००० सम्ममा सिंगापुरको चमत्कारिक आर्थिक विकासको यस पुस्तकमा राम्रो चित्रण गरिएको छ । सन्‌ २०१२ मा प्रकाशित डारोन एसमग्लु र जेम्स ए. रोविन्सनको ह्वाइ नेसन्स फेललाई धेरैले मन पराए । सन्‌ २०१४ (अंग्रेजी संस्करण) मा प्रकाशित थोमस पिकेटीको क्यापिटल इन द ट्वन्टी-फस्ट सेन्चुरीले विश्वभरि ख्याति कमायो । अहिले विश्वमा सेलिब्रेटी लेखकको रूपमा युभल नोह हरारी चर्चामा छन् । विल गेट्स, बाराक ओबामाहरू हरारीका फ्यान छन् ।

हरारीको पहिलो पुस्तक (अंग्रेजी संस्करण) सन्‌ २०१४ मा प्रकाशित सापियन्सले विश्वको पुस्तक बजारमा हलचल ल्यायो । हरारीले यो पुस्तकमा नेपालबारे विशेष रूपमा केही नलेखे पनि बुद्धका बारेमा बृहत प्रसङ्गहरू ब्याख्या गरेका छन् । बुद्धलाई कपिलवस्तुको भनी उल्लेख गरेका छन् ।

bharat pokharel, economist, tu, professor, भरत पोखरेल
लेखक

उनको दोस्रो पुस्तक सन्‌ २०१७ मा प्रकाशित होमो डेउस उनका विपश्यना गुरु एस. एन. गोयनकालाई समर्पित गरेका छन् । यो पुस्तकमा बेलायती पत्रकार ओलिभिया ल्याङको गार्जियनमा प्रकाशित नेपालको बारा जिल्ला गढीमाई पशुवली प्रथाबारे उल्लेख गरेका छन् । बरियापुरको गढीमाई मेलामा २ लाख ५० हजार पशुवलीको प्रसङ्ग उठाएका छन् । यसै पुस्तकमा एउटा उपशीर्षक यदि तपाईं बुद्धलाई भेट्नु हुन्छ भन्ने रहेको छ ।

तेस्रो पुस्तक सन्‌ २०१८ मा प्रकाशित ट्वेन्टि वन लेसन्स फर द ट्वेन्टि फस्ट सेन्चुरीमा नेपालको झन्डा विश्वमा फरक रहेको लेखेका छन् । हालै २०२० मा हरारीको पहिलो पुस्तक सापियन्सको ग्राफिक संस्करण प्रकाशित भएको छ । यसलाई प्रसिद्ध कमिक्स आर्ट डिजाइनर डेभिड भान्डेरमुलेन र डानियल कासानाभेले कलाकृति दिएका छन् । तीनवटा पुस्तकहरू ४९८ + ५१३ + ३५२ = १३६३ पृष्ठहरू पढ्न पाठकहरूमा थोरै धैर्यता चाहिँ चाहिन्छ ।

इजरायलको जेरुसेलमस्थित हिब्रु विश्वविद्यालयका ४४ वर्षीय इतिहासका प्राध्यापक हरारीका पुस्तकहरू विश्वका ६० भाषामा २ करोड ७५ लाख प्रति बिक्रि भएका छन् । वैचारिक आधारमा हेर्दा हरारी उदारवादका अनुयायी हुन् तर उनका पुस्तकहरूमा सूचना र विश्लेषणको दमदार प्रस्तुति देखिन्छ । हरारीका पुस्तकहरू प्रकाशनपछि विश्वका बुद्धिजीवीहरूको फिक्सन लेख्ने र पढ्ने रूचिमा ठुलो ह्रास आएको देखिएको छ । अबको समय नन-फिक्सन लेखनको भन्न थालिएको छ ।

नेपालमा एक वर्षमा हरेक दिन ३ देखि ५ वटा पुस्तकहरू प्रकाशित हुन्छन् तर वर्षभरिमा मुश्किलले ५ पुस्तकहरू पढ्न लायक पाइन्छन् । हामीले नेपालीका विश्वस्तरीय पुस्तकहरू पाउन लामो समय अझै प्रतीक्षा गर्नुपर्ने होला, जुन हाम्रै पालामा प्राप्त होला नहोला ? म्याराडोना र मेस्सी उत्पादन गर्न सायद लामो समय, संस्कार र संस्कृति चाहिन्छ ।

(लेखक पोखरेल त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ ।)