हिजोआज ओली भन्ने वित्तिकै विकृति, अनुसाशनहीनता, निरङ्कुशता, भ्रष्टाचार आतंकको प्रतीक भन्ने पर्याय बनिसकेको छ । कसैलाई गाली गर्नु परे ‘ओली’ भनिदिए पुग्ने भयो । यसले हजारौँ नकारात्मक शब्द बराबर ‘ओली’ भनेपछि पुगिहाल्छ । जसरी हामी २०३६ तिरको आन्दोलनमा ‘प्रधान’ भन्ने गर्दथ्यौँ । त्यतिबेला ‘प्रधान’ भन्ने बित्तिकै पञ्चको दुश्चरित्रता उदाङ्ग भइहाल्थ्यो ।
पञ्चायतकालमा पनि जनपक्षीय सरकार भएको भए कसले पो विद्रोह गर्ने थियो र ? तर पञ्चायतको विरोध गर्ने बित्तिकै जोसुकै पनि माटोमुनि पुगिहाल्थ्यो । विद्यार्थीकालमा जीविकाको क्रम शिक्षण पेशाबाट धानिएको अवस्थामा विद्रोहको सूत्रबद्ध आन्दोलनमा लेखक आफै परेको सम्झना अहिले भइरहेको छ । यसै विद्रोहमा होमिइरहँदा २०३८ साल जेष्ठ २ गते न्यूरोड पिपल बोटमा पत्रिका किनिरहेको अवस्था केही ठिटाहरु आएर तपाईँ शिव अधिकारी हो भनेर सोधेको आज याद भइरहेको छ । त्यतिखेर ‘शिव अधिकारी म त होइन’ भनिरहँदा ‘ए केटा हो’ भन्ने बित्तिकै ‘जय नेपाल साप’ गर्दै आएकाहरूले हात पछाडि बाँधेर भ्यानमा राखी डिएसपीखोर हनुमान ढोकामा पुर्याएको सम्झँदा किन त्यसो गरेको होला जस्तो लागिरहन्छ । डिएसपी खोरमा ९ दिन बस्नु पर्यो । त्यतिखेर सीताराम मास्के, इन्द्रबहादुर श्रेष्ठ, किरन श्रेष्ठ, ठाकुर श्रेष्ठ, विनोद खतिवडा, दिपेन्द्र श्रेष्ठ, शिव सापकोटा नै हुनुपर्छ एकिन भएन विमलेन्द्र निधीसहित सानो गनाउँने चिसो कोठामा थुनिएर बस्नुपर्दाको पीडा तत्कालीन पञ्चायतको हामीले उपहार ठानिरहेका थियौँ ।
त्यहाँ ९ दिनपछि डिएसपी खोरबाट सेन्ट्रल जेल सारियो । त्यतिबेला मोदनाथ प्रश्रित पनि सेन्ट्रलमा नै थिए । हामी त्यहाँ प्रवेश हुने बित्तिकै प्रश्रितलाई गोलघर पुर्याइयो । त्यहाँ रहँदा बन्दीहरूसँग राम्रै घुलमेल भयो । खास त्यहाँ पढ्ने काम हुन्थ्यो । यसैक्रममा सोही जेलमा कप्तान यज्ञबहादुर, भीमनारायण श्रेष्ठसहित थिए भन्ने कुरा त्यहाँका बन्दीहरु हामीलाई सुनाउँथे । यसरी बन्दी बनाइएका उनीहरूलाई राति नै एकाएक सैनिक आएर लिएर गए । तर कहाँ लगे, अहिले हामीले थाहा पाएनौँ भन्ने साधारण बन्दीहरु थिए । यद्यपि हामी जेल पर्नु अघिनै उनीहरुलाई जंगलमा लगेर मारेको कुरा जानकारी भइसकेको थियो । पञ्चायतले जेलमा थुनिएको मान्छेलाई निहत्था जंगलमा लगेर मारेको मार्मिक कथा र त्यसको निरङ्कुशताले समाज त्रसित नै थियो । यस्ता धेरै अथाह हत्याका घटना पञ्चायत सरकारका आचरण नै हुन् । यसैकारण जनआक्रोश बढ्दै गएपछि २०४६ को आन्दोलनबाट यो व्यवस्था नै समाप्त हुन पुगेको हो ।
संसदीय प्रणालीमा समेत नेपाली कांग्रेसका गिरीजा प्रसाद कोइराला निरङ्कुश बन्ने दुस्साहस गर्न थालेपछि कांग्रेस समेतमा अहिलेसम्म उठ्न नसक्ने गरी गञ्जागोलको अवस्था छ । यसै संसदीय अवधिमा दरबारको एकाधिकार समाप्त भएको अवस्थामा समेत शक्ति हत्याउने अनेकौँ षड्यन्त्रको शिकार राजपरिवार नै हुनु परेको अवस्था पनि देशले भोगेकै हो । यसै अवस्थालाई लिएर देशबाट सदाका लागि सामन्ती शासन व्यवस्थाको समाप्त गर्ने उद्देश्यका साथ समाजवादी अर्थव्यवस्थाको स्थापना गरी जनतालाई समान रूपमा अधिकारा सम्पन्न बनाउन र देशलाई संसारकै धनी बनाउने उद्देश्यका साथ माओवादी जनयुद्धले सफलता हासिल गरिसकेको अवस्थामा आज देशमा गणतन्त्रको स्थापना भइसेकेको छ ।
यो परिवर्तनका लागि माओवादी जनयुद्धले चुनौतीपूर्ण नेतृत्व दिएको र जनता यसै अभियानमा एकाकार भएको कारण नेपालमा अहिले लोकतान्त्रिक संघीय गणतन्त्रको स्थापना भएको छ । गणतन्त्रको स्थापनापछि यो व्यवस्थालाई स्थायित्व दिन संविधान सभाको चुनाव भएको थियो । यो पनि २००७ सालमा प्रजातन्त्रको स्थापनापछि तत्कालीन राजा त्रिभुवनले समेत देशमा जनताले बनाएको संविधनअनुसार देशको शासनव्यवस्था सञ्चालन हुने भन्ने अभिव्यक्तिअनुसार जनप्रतिनिधिहरू समेतको युद्धरत प्रयासअनुरूप संविधान सभाको चुनाव २०६४ साल चैत्र २८ गते भएको थियो । यसरी पहिलो पटक गठन भएको ६०१ सदस्यीय संविधान सभाले पनि संविधान लेखनमा सफलता हासिल गर्न सकेन । फलस्वरुप दोश्रो संविधान सभाको निर्वाचन २०७० साल मंसिर ४ गते सम्पन्न भएको थियो । यसरी गठित दोश्रो संविधान सभाका सबै दलको एकीकृत प्रयासले सफलतापूर्वक संविधान लेखनको काम सम्पन्न गरेपछि २०७२ साल असोज ३ गते नेपालको संविधान २०७२ घोषणा भएको थियो ।
जनताको बलिदानी संघर्षबाट प्राप्त यो उपलब्धिलाई संरक्षण गर्दै जनतालाई अधिकार सम्पन्न बनाउन लामो अथवा ७० वर्षभन्दा लामो संघर्षको प्रतिफलको रूपमा जारी भएको संविधानअनुसार गठन भएको सरकारको जिम्मेवारी यो संविधानअनुरूप देशको शासनव्यवस्था सञ्चालन गरेर उदाहरणीय कार्यक्रमको प्रस्तुति दिन सक्नुपर्ने थियो । यद्यपि यसपछिको निर्वाचित सरकारले झण्डै दुईतिहाइको शक्तिशाली अवस्था ग्रहण गरिरहेको भए पनि निर्वाचित प्रधानमन्त्री केपी ओलीको हठ र घमण्डको कारण बनेर यो सरकार पाँच वर्षको पूर्णकालीन अवधिसम्म काम गर्ने ऐतिहासिक अवसर समेत सफलतापूर्वक ग्रहण गर्न नसक्नुले नेपालको राजनीतिक इतिहासमा कालो वादल मडारिन थालेको छ ।
प्रधानमन्त्री ओलीले हठात प्रतिनिधि सभालाई २०७७ पौष ५ गते विघटन गरी चुनावमा जाने सन्दर्भमा गरेको सिफारिसलई राष्ट्रपतिले अक्षरसः स्वीकार गरी २०७८ वैशाख १७ र २७ गते गरी दुई चरणमा चुनाव गर्न निर्वाचनको मिति घोषणा गरेपछि राजनीतिक अन्योल फेरि सुरु भएको छ । यति मात्र नभएर छँदाखाँदाको पार्टी एकता भई शक्तिशाली भएको नेपाल कम्युनिस्ट पार्टीलाई समेत २०७७ फागुन २३ गते तत्कालीन एमाले र माओवादी केन्द्रमा फर्कने भन्ने अदालतले गरेको असान्दर्भिक निर्णय गराउन ओली सफल भएपछि अदालतको सम्मान गर्दै आज एमाले र माओवादी केन्द्र छुट्टाछुट्टै पार्टी क्रियाकलामा लागेका छन् ।
यथावत पार्टी कायम भएपछि माओवादी केन्द्र आफ्नो कार्यक्रम पूर्ववतः सञ्चालनमा छ भने एमाालेमा केपी ओलीकै उद्दण्डताको कारण ठुलो विग्रह उत्पन्न भएको छ । लामो संघर्षबाट निर्माण भएको एमाले पार्टीको १५ वर्षसम्म महासचिव जस्तो गरिमामय पदमा रहेर पार्टीलाई जीवन्त बनाउन समर्पित नेता माधवकुमार नेपाललाई समेत ओली तुच्छ गालीगलौज गरिरहेका छन् । यतिमात्र नभएर शालीन रूपमा नेतृत्व दिइरहेका झलनाथ खनालजस्ता वरिष्ठ नेताहरूसमेतलाई ओलीले हुर्मत लिन थालेपछिको एमालेको अवस्था नाजुक बन्दै गएको छ । यतिखेर ओलीलाई पार्टीको कुनै मतलव भएन । देश पनि जतासुकै जाओस आफू र आफ्ना गुटलाई मनग्गे भ्रष्टाचार गर्न छुट दिएर मालामाल बनाइरहेका छन् ।
नैतिकताको प्रवाह रहेन ओलीमा अहिले । यतिखेर दिनमा हजारौँ उद्घाटन गर्ने र मैले मात्रै यो देशमा काम गरेको देखाउन उनी तल्लीन छन । यतिसम्म कि निर्माणाधीन धरहरा निर्मण सम्पन्न नहुँदै हतारमा वैशाख ११ गते तामाझामका साथ उद्घाटन गरे । त्यतिखेर धरहराको रङरोगन गराएर उनलाई लिफ्ट चढेर माथिल्लो बरण्डामा पुग्ने रहर मात्र मेटिएको थियो । अरबौँ खर्चेर बनिरहेको धरहरा पूरा हुन अझै एक वर्ष कुर्नुपर्ने अवस्था बाँकी नै देखिन्छ । तर पनि उनलाई लाज लागिरहेको थिएन उद्घाटन गर्न ।
ओलीले यतिखेर फेरी संसदमा विश्वासको मत लिने भनेर विशेष अधिवेशन बोलाएका छन् । नेपालको संविधान २०७२ को धारा ९३ (३) मा नियमित अधिवेशनको बाहेक संसदमा रहेका सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले दस्तखत गरेको पत्र राष्ट्रपतिसमक्ष विशेष अधिवेशन बोलाउन माग गरेमा सो मागअनुसार राष्ट्रपतिले संसदको बैठक बोलाउने व्यवस्था गरेको छ । यद्यपि अहिले प्रधानमन्त्रीले नियमित बजेट अधिवेशन बोलाउने बेलामा आफै विशेष अधिवेशन बोलाउन सिफारिस गर्नु र राष्ट्रपतिले पनि यसलाई अक्षरसः स्वीकार गरी सो अधिवेशन विश्वासको मत लिने बहाना बनाएर बोलाउनु पनि रहस्यमय नै मान्नु पर्छ ।
प्रधानमन्त्रीको त विश्वासको मत लिने अध्याय प्रतिनिधि सभाको पुनःस्थापनापछि नै समाप्त भइसकेको हो । प्रतिनिधि सभा विघटन गर्नु असंवैधानिक हो भनेर अदालतले समेत पुनःस्थापनाको आदेश दिएपछि यस्तो असंवैधानिक काम गर्ने प्रधानमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्ने थियो । तर त्यो नैतिकता ओलीमा रहेन ।
उनी अहिले दलहरूसँग घर-घरमा पुगेर ‘मलाई विश्वासको मत दिनोस्’ भन्दै चाहार्दै आफ्नो कुरूपताको प्रस्तुति गरिरहेका छन् । सम्झना भए उनले “प्रतिनिधि सभा पुनःस्थापनापछि चितवनमा रहेका प्रचण्ड र माधव नेपाललाई लड्डु ख्वाइख्वाई गरेछन्, अनि त्यहाबाँट काठमाडौँ आउँदा त कोटेश्वर र खुमलटार नगएर सरासर बुढानीलकण्ठ पुगेको” कुरा रोचक ढंगले प्रस्तुत गरेका थिए । ओलीले सभामा भनिरहेका थिए, “बुढानीलकण्ठमा सुतिरहेका विष्णु भगवानको दर्शनमा गएको भनेको त उनीहरु त जिउँदो जाग्दो देउवाको दर्शनमा पुगेछन्” । त्यो कुरा उनले सम्झेको भए अहिले देउवाको शरणमा आफैपुग्दा लाज लाग्नुपर्ने होइन र ?
छँदाखाँदाको दुईतिहाइको सरकार पाँच वर्ष निस्कंटक चलाउने अवस्था रहँदारहँदै यो कोभिडले आतंकित गरिरहेको अवस्थामा सरकारलाई यो दुर्दशामा पुर्याएर प्रतिगमनको खाडलमा हाल्न ओलीले आफ्नो सम्पूर्ण बलबुता लगाउनुले नेपालको राजनीतिले संसारलाई बेइज्जतिपूर्ण खेल प्रदर्शन गरिरहेको अवस्था छ । यतिखेर संविधानविद् डा. भीमार्जुन आचार्यसमेत संसारमा यस्तो नालायक र अनैतिक प्रधानमन्त्री अहिलेसम्मको इतिहासमै नभएको उदाहरण बनेको छ भनिरहेका छन् । यस अवस्थामा अब ओलीले गर्न खोजेको के? सुनिन्छ जनता समाजवादीका सांसद खरिदमा राजेन्द्र र महन्तलाई ३ अरब दिइयो अरे ? के यो सत्य हो हो भने त्यो पैसा कहाँबाट आयो भन्नु पर्यो नि । सामाजिक सञ्जालमा व्यापक रुपमा आइरहेको यो समाचार के झुठो हो ?
अहिले जनता कोभिडको दोश्रो लहर खेपिरहेका छन् । अस्पतालमा बिरामी उपचारका लागि बेड छैन भनेर सरकारले भनिरहेको लगत्तै ओलीले कोभिड उपचारका लागि प्रत्येक प्रदेशमा एक हजार बेडको कोभिड अस्पताल बनाउने, कोभिड उपचारमा लागेकालाई थप भत्ता दिने, सबै निजी तथा सरकारी अस्पताल सरकारले नै नियन्त्रण गर्नेजस्ता घोषणा गरेर एकपटक फेरि जनतालाई अलमलमा पार्न खोजेका छन् ।
जे जस्तो कुरा गरे पनि उनलाई आफ्ना भरौटेलाई पोस्ने र आफू जसरी पनि प्रतिगमनको बाटो फराकिलो पार्ने क्रममा भरतीय र को निर्देशन पालना गर्ने, अमेरिकी एमसीसी, युरोपियन युनियन र संसारका प्रतिक्रियावादीको कब्जामा देशलाई सुम्पने वफादार एजेण्टको रुपमा ओलीले काम गरिरहेको पाइएको छ ।
यो अवस्थामा आइपुगेको खतरालाई दृष्टिगत गर्दा ओलीलाई नै केही समय सरकारमा रिन्तरता दिने हो भने नेपाल अन्तर्राष्ट्रिय प्रतिक्रियावादी एवं अमेरिकीको सैनिक अखडा बन्ने दुर्भाग्यपूर्ण अवस्थामा पुग्छ । यो कुरालाई विचार गरेर सम्पूर्ण नेपाली जनता देशभक्तिपूर्ण आन्दोलनमा क्रियाशील माओवादी केन्द्रले सबै दललाई एकीकृत गरी ओलीलाई परास्त गरेर देश बचाउन लाग्नुपर्ने अवस्था आइपरेको छ ।
यो अत्यन्त संवेदनशील अवस्थामा क. प्रचण्डले बुद्धिमतापूर्ण नेतृत्व दिएर देशलाई स्वतन्त्र र समाजवादी व्यवस्था सञ्चालनबाट संसारकै समृद्ध राष्ट्र बनाउन सफल कार्यदिशा निर्धारण गर्नेछन् भन्ने आशय सबैको छ । अहिले सबैको ध्यान प्रचण्डप्रति नै लक्षित भइरहेको पाइएको छ ।
प्रचण्ड देशलाई गणतन्त्रमय बनाउने नेतृत्व दिन उनको जे जति ताकत र बौद्धिकता खर्च भयो, अब देश बचाउन त्यतिकै ताकतको आवश्यकता छ भन्ने कुरा बुझेर जनआकांक्षा पूरा गर्न पुनः देशको नेतृत्व गर्ने छन् । यतिखेर नैतिकताको कसीमा असफल भएर नाङ्गेझार भइसकेका ओलीलाई परास्त गर्न प्रचण्ड नै नेतृत्वदायी भूमिकामा रहने विश्वास जनमानसको छ भन्ने कुरा प्रचण्डले भुल्ने छैनन् ।
(लेखक विकास अर्थशास्त्री तथा वामविश्लेषक हुनुहुन्छ ।)