अष्ट्रलियाली बाजहरूको (कुटनीतिक भाषामा युद्धमा जोड दिने कुटनीतिज्ञ वा नेताहरूलाई बाज भनिन्छ) चर्को स्वर वा संकेत हेर्दा ताइवानमा युद्ध भड्केको अवस्थामा अष्ट्रेलियाले अमेरिकी सेनालाई सहयोग गर्ने र युद्धमा भाग लिने देखिएको र अष्ट्रेलियाली सञ्चार माध्यमहरूले त्यस्तो भावनालाई सक्रियतापूर्वक बढावा दिइरहेको सन्दर्भमा, म चीनलाई दुई-भूमि बिचको परस्पर सम्बन्धमा सैन्य हस्तक्षेप गर्न आउँछ भने अष्ट्रेलियाको विरुद्ध जबाफी दण्ड दिने योजना बनाउन सुझाव दिन्छु ।
यदि साँच्चिकै उसले चिनियाँ तटक्षेत्रमा आफ्नो सेना पठाउँछ र युद्धमा आउँछ भने अष्ट्रेलियाली भूमिका सैन्य सुविधाहरू र अन्य उपयुक्त मुख्य स्थानहरूमा लामो दुरीको हमला (क्षेप्यास्त्र) गर्ने कुरा समेत यस्तो योजनामा समावेश गर्नुपर्छ ।
यस्तो योजना बनाउनुका साथसाथै, अष्ट्रेलियाका अतिवादी शक्तिहरूको सामना गर्न र तिनीहरूलाई गैरजिम्मेवार हर्कत गर्न र खतरा मोल्नबाट रोक्नका लागि चीनले अनौपचारिक माध्यमहरूबाट यस्ता योजनाहरूलाई सार्वजनिक समेत गर्नुपर्छ ।
चीनलाई शान्ति मन पर्छ र त्यति टाढाको अष्ट्रेलियासँग लडाइँ गर्न निहुँ खोज्ने छैन, तर अष्ट्रेलियाली बाजहरूले सुझबुझ राख्नै पर्छ । यदि तिनीहरू ताइवानको प्रश्नमा शैन्य हस्तक्षेप गर्न अमेरिकासँग सहकार्य गर्ने दुस्साहस गर्छन् र जनमुक्ति सेनासँग युद्ध भड्काउनका लागि सेना पठाउँछन् भने तिनीहरूले आफ्नो मुलुकमा के कस्तो विपत्ति निम्त्याउनेछन् भन्ने कुरा थाहा पाउनु पर्छ ।
यदि अष्ट्रेलियासँगको सम्बन्ध अति तनावपूर्ण हुन गएमा अष्ट्रेलियाका सैन्य ठेगानाहरूमा मार हान्न सक्ने परम्परागत विष्फोटक परमाणु हतियार (वारहेड) का साथै लामो दुरीका थप क्षेप्यास्त्रहरू उत्पादन गर्न चीनसँग दह्रो क्षमता छ ।
(लेखक ग्लोबल टाइम्सका प्रधान सम्पादक हुनुहुन्छ ।
(ग्लोबल टाइम्ससँगको सहकार्यमा । अनुवादः नहेन्द्र खड्का ।)