मानव जीवनका आधारभूत आवश्यकता अन्न र पानी हुन् । घर, वस्त्र आदि त्यसपछिका आवश्यकता हुन् । अन्न नै प्रथम कुरा हो । कृषि भनेको पनि मूलतः त्यही अन्न उत्पादनको व्यवस्था हो । प्रष्ट छ, समुन्नत कृषिले नै भरपेट अन्नको प्रत्याभूति दिन्छ । हाम्रा पुराना वैदिक शास्त्रहरू पनि अन्न प्रतिष्ठाका धेरै कुराहरूले भरिएका छन् । त्यसमध्ये एक हो – ऐतरेय उपनिषद् जसको सम्बन्ध ऋग्वेदसँग छ । तिनमा अन्न र आयुको अन्तर-सम्बन्धको कुरा छ । अन्न नभइकन आयु हुँदैन । त्यसैले अन्नलाई ‘अन्नायु’ पनि भनिएको छ । अन्न नभइकन जीवन चल्न सक्तैन । अन्न कृषि कर्मसँग सम्बन्धित कुरा हो । तसर्थ कृषिविना अन्न उत्पन्न हुन सक्तैन । त्यसैले कृषिको समृद्धि अनिवार्य छ भन्ने कुरा त्यतिबेलैदेखि रहँदै आएको हो ।
हुन पनि ऋग्वेदमा कृषि कार्यहरूको भरिपूर्ण उल्लेख रहेको पाइन्छ । ऋग्वेदका देवता पनि किसानलाई नै बताइएको छ । यसबाटै प्रष्ट मान्न सकिन्छ कि ऋग्वैदिक समाजमा कृषिको कति उच्च प्रतिष्ठा थियो । कृषि त्यतिबेला अत्यन्तै उच्च सम्मानको कर्म थियो । ऋग्वैदिक ऋषिहरूले आफ्ना कवितामा आफ्ना देवहरूलाई पनि कृषि कार्य गर्दै गरेको देखेका र तिनका बारेमा गाएका छन् ।वैदिक समाजमा कृषि नगर्ने कोही पनि मानिस सम्मानित थिएनन् । त्यतिबेला अश्विनी कुमारहरूलाई श्रेष्ठ वैद्य बताइएको छ । तर तिनले पनि हलो जोत्दछन् । इन्द्रले पनि हलो जोत्दछन् । एउटा देवता छन् – क्षेत्रपति । उनले पनि कृषि कार्यमा सहयोग पुर्याउँदछन् । वर्षात्का देवता पनि कृषिसँगै सम्बन्धित छन् ।
वैदिक समाजमा वर्ण र जातिको विभाजन भएको देखिँदैन । गण समूह आदि थिए । गणका नेता या आस्थाका केन्द्रलाई गणपति भनिने गर्दथ्यो । गणभन्दा ठुलो सामाजिक एकाइ थियो – जन । ऋग्वेदमा पाँच मुख्य जन समूहको विभिन्न चर्चा गरिएको छ । तिनलाई पञ्चजना, पाञ्चजन्य आदि नामले पुकारिएको छ । त्यस्ता सबै पाँच जन समूह कृषिसँग सम्बन्धित छन् । त्यसैले तिनलाई ‘पञ्चकष्टयाः’ पनि भनिएको छ । यसरी त्यतिबेला कृषिलाई अन्नदायिनी भनेर अति सम्मानित स्थान मिलेको थियो ।
उत्तरवैदिककालको साहित्यमा पनि अन्नको व्यापक महिमा पाइन्छ । अन्न पृथ्वीदेखि आकाशसम्म प्रतिष्ठित छ । तेतरीय उपनिषद्मा भनिएको छः ‘सबै प्राणी अन्नबाटै पैदा हुन्छन्, अन्नबाटै जीवित रहन्छन् र अन्नमै फर्किन्छन् ।’ ‘अन्नं हि भूतानाम् श्रेष्ठम्’ (अन्न सबैभन्दा श्रेष्ठ कुरा हो । यो सर्वोपरि औषधि – ‘सर्वरेषधय’ हो । त्यसै उपनिषद्मा भनिएको छः ‘अन्नं न निन्द्यात्’ (अन्नको निन्दा नगर्नु !) ‘तत् व्रतम्’ (यो त व्रत हो ।) प्राण अन्न हो । मानव शरीर यो अन्नको भोक्ता हो । शरीरमा प्राण छ, अन्न प्राण हो । अन्नमा अन्न नै प्रतिष्ठित भइरहेको छ । यस सन्दर्भमा ऋषिको उदात्त घोषणा के छ भने जसले यो कुरा बुझ्दछन्, ती अन्नसम्पन्न र यशस्वी हुन्छन् । अन्न प्राप्ति आवश्यक छ । अन्न अपरिहार्यताको समझ त अझै बढी आवश्यक छ ।
अन्नको आदर प्राचीन भावना हो । यसै प्रसंगमा अगाडि भनिएको छः ‘अन्नं न परिचक्षित’ (अन्नको अपहेलना नगर ) । यो व्रत संकल्प हो । जल अन्न हो । अन्न जल-ज्योति हो । ज्योति-तेजले अन्न लिन्छ । अन्नमा अन्न प्रतिष्ठित छ (‘अन्नम् अन्ने प्रतिष्ठितम्’) ।
यसमा अझ अगाडि थप के आग्रह गरिएको छ भने – ‘अन्नं बहुकुर्वित’- बहुविधि अन्न पैदा गर । यो व्रत हो । पृथ्वी अन्न हो, आकाश पनि अन्न हो । पृथ्वीमा आकाश प्रतिष्ठित छ । अन्नमा अन्नको प्रतिष्ठा छ । पृथ्वी, जल, आकाश र तेज अर्थात् वायुलाई अन्न भनिनु अमिल्दो कुरा लाग्न सक्तछ । तर ऋषि वेदान्तको मनोभूमिमा अन्न आवश्यकतामाथि यो टिप्पणी गरिरहेका छन् । अन्न उत्पादनको कर्म खेतीपाती हो, किसानी हो । कुनै कारखानामा अन्न उत्पादन हुने गर्दैन ।
तर आज खेतीपाती सर्वनाशतर्फ अभिमुख छ । वैदिककालको सम्मानित कृषि परम्परा नै ग्रामीण उपमामा आज पनि कतिपय स्थानमा सुन्न पाइन्छ । उत्तम खेती मध्यम व्यापार, निषिद्ध चाकरी (कर्मचारी) भन्ने कुरा वैदिककालकै कुरा हो ।त्यतिबेला कृषिलाई यसरी सम्मानपूर्ण स्थान दिइएको थियो ।
आज कृषिकर्मलाई त्यस्तो सम्मान र आकर्षण नदिइएकोले गर्दा किसानहरूले नै कृषिकर्म परित्याग गर्ने स्थिति बनेको देखिँदैछ । खाद्य सुरक्षा र खाद्य सम्प्रभुता खतरामा छ । कृषि विज्ञान र यस सम्बन्धी जानकारी पनि बढेको छ । मौसमको पूर्वानुमानको शक्ति पनि बढेको छ । यी सबै कुराहरू हुँदाहुदै पनि आज कृषि क्षेत्र उपेक्षित छ । किसान ऋणमा डुबेका छन् । उनीहरूको लगानी उठिरहेको छैन । भारत लगायत कतिपय देशमा त किसानहरूले आत्महत्यासम्म पनि गरिरहेका छन् ।
यी सब कुराले प्रष्ट पार्दछ कि आज कृषि पहिलो प्राथमिकतामा छैन । प्रष्टसँग भन्ने नै हो भने आज त ‘औद्योगिक-व्यापारिक क्षेत्रमा सुविधा, कृषि क्षेत्रमा द्विविधा’ जस्तो कृषिमा नाजुक स्थिति छ । त्यसैले कृषिको चौतर्फी विकासका लागि जमिन, भूउपयोग, किसान र कृषि समस्यासँग सम्बन्धित समस्याको शीघ्रातिशीघ्र उपचार आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय आवश्यकता बन्नगएको छ । कृषिमा अग्रगामी व्यापक र आमूल सुधारविना देशको राष्ट्रिय बजार अभिवृद्धि हुँदैन र त्यसो नभइकन राष्ट्रिय औद्योगीकरणले पनि सही दिशा र गति प्राप्त गर्न सक्तैन । यो आजसम्मको अनुभवको यथार्थ निचोड हो ।
यसर्थ मानव जीवनको अपरिहार्य आवश्यकता कृषिको समुन्नतिको कुनै विकल्प छैन । विज्ञान र प्रविधिले आकाश-पाताल एक गरिसकेको आजको अत्याधुनिक विकासको जमानामा पनि कृषिकर्मको कुनै विकल्प नभएको स्थितिले कृषिको दिगो र सतत् विकासका लागि कृषि र किसानको जीवनमा रहेका जमिन, जल, जंगल, जडीबुटी, जनशक्ति र पर्यावरण सबै क्षेत्रमा रहेका समस्या हल गर्दै पर्यावरण र जनसंख्यामैत्री सर्वव्यापी वैज्ञानिक कृषि विकासको अनिवार्यता र अपरिहार्यता आज अझ बढ्न गएको छ । वैदिक र उत्तरवैदिककालीन कृषिकर्मप्रतिको उच्च मान्यता र समर्पणले पनि यही वास्तविकतालाई दर्शाउँछ । वैदिककालबाट पनि यसको महत्त्वलाई बुझ्न र अवलम्बन गर्न सिके र सके मानवजातिका लागि धेरै उपयोगी हुने कुरा निश्चित छ ।
(लेखक नेपाल कम्युनिस्ट पार्टीका सहअध्यक्ष हुनुहुन्छ ।)