यतिबेला सम्पूर्ण विश्व कोरोना महामारी व्याधिसँग संघर्ष गरिरहेको छ । बितेको ७३ वर्षदेखि चल्दै आएको इजरायल – प्यालेस्टाइन बिचको विवाद सुल्झिएको छैन । पश्चिम एसियाको यो क्षेत्र एउटा तातो युद्ध क्षेत्रकोरूपमा रहँदै आएको छ ।
यद्यपि यताका केही वर्षहरूमा इजरायल र त्यस क्षेत्रका अरब देशहरूका बिच कुनै युद्ध भएको छैन । तर त्यो क्षेत्रमा आन्तिरकरूपमा प्यालेस्टिनी र यहुदीका बिचमा साना ठुला संघर्ष प्रायः निरन्तर जारी रहँदै आएका छन् । इजरायलले आफ्ना सैनिक तथा राजनैतिक दृष्टिले त्यस क्षेत्रमा आफ्नो वर्चश्व कायम राख्दै त आयो । तर पूरै पेलिस्टिनीहरूको प्रतिरोधलाई दबाउन सकेन, असफल रह्यो ।
सन् १९४८ मा यहुदीको देशकोरूपमा इजरायल अस्तित्वमा आएको थियो र त्यसलाई विश्वले यहुदीहरूका विरुद्ध अतितमा भएको अन्याय र अत्याचारको क्षतिपूर्तिको रुपमा स्विकारेको देखिन्थ्यो । तर एउटा जातीय समुदायलाई न्याय दिलाउने प्रयासमा अन्तर्राष्ट्रिय समुदायले एउटा अर्को जातीय समुदाय – प्यालेस्टिनी समुदायका साथ ठुलो अन्याय गरेको छ । उनीहरूलाई आफ्नो घरबार त्यागेर पलायन हुन विवश तुल्याइयो । कालान्तरमा इजरायलले प्यालेस्टिनीहरूका लागि निर्धारित भूभागमाथि पनि निरन्तर अतिक्रमण र नियन्त्रण गर्ने विस्तारवादी प्रयास जारी राख्यो । जसले गर्दा प्यालेस्टिनीहरूले आफ्नो भूमिमा नै निरन्तर शरणार्थीको जस्तो स्थिति भोग्न बाध्य हुनु परेको छ र परिरहेको छ ।
अहिले मुस्लिम समुदायको पवित्र रमजानको महिनामा भएको घटनाक्रमको पनि यही पृष्ठभूमि हो । जेरुसेलमलाई अन्तर्राष्ट्रिय समुदायले इजरायली कब्जाको क्षेत्र मान्दछ । तर अमेरिकाको आडधापमा इजरायली प्रधानमन्त्री नेतान्याहुले तेल अभिवको साटो जेरुसेलमलाई नयाँ राजधानी घोषणा गरेको छ । यसको साथै इजरायली सरकारले पूर्वी जेरुसेलममा नयाँ यहुदी वस्तीहरूको निर्माणको काम पनि तीव्र पारेको छ । प्यालेस्टिनी परिवारहरूलाई बेदखल तुल्याइएको या बेदखल हुने स्थितिमा धकेलिदिएको छ । यसको विरुद्ध वर्षौंदेखि बढ्दै गएको प्यालेस्टिनी असन्तोष ज्वालामुखीकोरूपमा विस्फोट हुनु कुनै आश्चर्य र अस्वाभाविक कुरा भएन ।
प्यालेस्टिनीको पश्चिमी किनारा तथा गाजापट्टीको नेतृत्व क्रमशः त्यहाँको नरमपन्थी र उग्रपन्थी मानिने शक्तिहरूले गरिरहेका छन् । पश्चिमी किनारमा यदि प्यालेस्टिनीहरुले ढुंगा हानेर इजरायली सेनालाई चुनौती दिइरहेका देखिन्छ भने गाजापट्टीबाट प्यालेस्टिनीहरूको हमास समूहले इजरायली सहरहरूमा मिसाइल रकेटहरूले हमला गरिरहेको पनि देखिन्छ । हमासको हमलामा इजरायली पक्षका मारिनेहरूको संख्या दुई अंक पनि पुगेको छैन भने मारिने प्यालेस्टिनीहरूको संख्या सयौँ पुगिसकेको छ । पछिल्लो समयमा हताहत हुनेमा बालबालिका र महिलासहित १३९ पुगेको बताइएको छ ।
आश्चर्यको कुरा त अझ के छ भने इजरायलको यो आपराधिक बल प्रयोग त्यतिबेला भइरहेको छ, जतिबेला प्रमुख अरब र मुस्लिम देशहरूले इजरायलसँग कूटनीतिक सम्बन्ध कायम राखेका छन् । विश्वका ठुला देशहरूको सरोकार यस विश्व घटनामा पनि कति मात्र छ भने उनीहरूको हितमा कुनै चोट नपुगोस् । उनीहरूले अन्याय गर्ने इजरायलसँग पनि राजनैतिक, सैनिक तथा कूटनैतिक सम्बन्ध कायम राखेका छन्, त्यसलाई नयाँ उचाइमा पुराएको पनि भनिरहेका छन् । अनि त्यस्ता देशहरूमध्ये कतिपयले प्यालेस्टिनी क्षेत्रमा मानवीय सहयोग पनि गरिरहेका छन् । तर स्थिति हेर्दा ‘जसको लाठी, उसैको भैँसी’ जस्तै स्थिति दोहोरिइरहेको छ । न्याय-समानताका लागि लडिरहेका समुदाय र देशहरूको सहयोग र समर्थनका लागि पनि आफ्नो लागि प्रतिफलको खोजी गर्ने प्रवृत्ति शक्ति राष्ट्रहरूको रहेको छ ।
वर्तमान संघर्षमा यसपटक एउटा नयाँ घटनाक्रम पनि सामुन्ने आएका छन् । इजरायलका प्रमुख सहरहरूमा जातीय र साम्प्रदायिक दंगाफसादहरू पनि भएका छन् । इजरायलमा प्यालेस्टाइन मूलको जनसंख्या बिस-पच्चिस प्रतिशत जति रहेको छ । यद्यपि तीमध्ये धेरैले आफूलाई इजरायली नै मान्ने गरेका छन् । प्यालेस्टिनी क्षेत्रमा रहने गरेका आफ्ना भाइवन्धुहरूसँग भलै उनीहरूको भावनात्मक सम्बन्ध रहेको छ र उनीहरूले आवश्यक सहानुभूति राख्ने गर्दछन् । तथापि उनीहरूले प्रत्यक्षरूपमा त्यसलाई व्यक्त गर्दैनन् । तर यसपटक अति भएपछि भने उनीहरू पनि प्यालेस्टिनी वन्धुहरूमाथि भइरहेको अत्याचारका विरुद्ध सडकमा उत्रिएर विरोध जनाएको देखिएको छ । राजनैतिक विश्लेषकहरूका अनुसार गाजापट्टीमा हिंसाको जस्तो क्रुर ताडण्व मच्चिरहेको थियो । त्यसभन्दा कम इजरायली सहरहरूमा पनि घटना घटिरहेका थिएनन् । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले प्यालेस्टिनी असन्तोषलाई आतंकवादको संख्या दिए पनि वास्तवमा यथार्थ के हो भने ठुलो जनसंख्या भएको अल्पसंख्यक समुदायलाई कहीँ पनि जबर्जस्ती शक्तिको भरमा दबाएर राख्न सकिन्न । कथित लोकतान्त्रिक प्रणालीमा चलेको देश भने डिङ हाँक्ने इजरायलमा पनि त यो कुरा मान्नु पर्ने होला ।
त्यसैले पनि आज प्यालेस्टिनीहरूमाथिको अत्याचारका बारेमा इजरायली दमनको विरुद्ध विश्वभरि प्रदर्शन भइरहेका छन् । हुन पनि न्यायपूर्ण संघर्षको जहिले पनि जहाँ पनि समर्थन हुने गरेको विश्वको इतिहास छ ।
(लेखक नेकपाल कम्युनिस्ट पार्टीका सहसंयोजक हुनुहुन्छ ।)