काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको मौन अवधिमा मतदाताहरूलाई आचारसंहिता विपरीत धम्काएकोमा नेकपा (माओवादी केन्द्र) ले गम्भीर आपत्ति जनाउँदै सरकार प्रमुखले ओलीले अमूक उम्मेद्वारलाई विजयी गराउन मतदाताहरूलाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु, स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको आधारभूत सिद्धान्तको खिलाफमा भएको जनाएको छ ।
भोलि २०७८ जेठ ६ गते वागमती प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुन गइरहेकोले जेठ ३ गते राति १२ः०० बजेबाट सुरु भएको मौन अवधिलाई उलंघन गर्दै खुला रूपमा प्रत्यक्ष मतदान गर्ने मतदाताहरूलाई धम्काउँदै विज्ञप्ति नै जारी गरेको विरोधमा आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष क. प्रचण्डको निजी सचिवालयका प्रमुख स्वकीय सचिव तथा माओवादी नेता क. जोखबहादुर महरा ‘प्रताप’ले एक विज्ञप्ति जारी गर्दै विरोध जनाउनु भएको हो ।
प्रेस वक्तव्यको पूर्ण पाठः
आज मिति २०७८ जेष्ठ ५ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीद्वारा भोलि हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनमा वागमती प्रदेशका एमाले उम्मेद्वार रामबहादुर थापालाई विजयी बनाउन मतदातालाई गर्नुभएको अपिलले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । जेष्ठ ३ गते राति १२ बजेदेखि मौन अवधि शुरु भइसकेको सन्दर्भमा गरिएको यसप्रकारको अपिल निर्वाचन आचार संहिता विपरित भएको स्वयम् निर्वाचन आयोगले सचेत गराइसकेको छ ।
केपी शर्मा ओली नेकपा (एमाले) का अध्यक्ष मात्र नभएर नेपाल सरकारका प्रधानमन्त्री समेत हुनुहुन्छ । स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व हो । यस विपरीत सरकार प्रमुखले नै अमूक उम्मेद्वारलाई विजयी गराउन मतदाताहरूलाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु, स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको आधारभूत सिद्धान्तको खिलाफमा छ ।
यो भन्दा पनि अझै गम्भीर त मौन अवधिमा सार्वजनिक वक्तव्य मार्फत अमूक उम्मेद्वारलाई विजयी गराउन आग्रह गर्दै मतदाताहरूलाई दिएको धम्कीले आचारसंहिताको गम्भीर उलङ्घन भएको छ । यस्तो स्थितिमा हुने निर्वाचन स्वच्छ र निष्पक्ष हुने कसरी अपेक्षा गर्न सकिन्छ ? प्रधानमन्त्रीको यस कार्यको निन्दा र भर्त्सना गर्दै आवश्यक कारवाहीका लागि निर्वाचन आयोग समक्ष आग्रह गर्दछु ।
निर्वाचन आयोग, राजनैतिक पार्टीहरू, निर्वाचन पर्यवेक्षकहरू, नागरिक समाज, पत्रकार तथा आम जनसमुदायमा यस प्रकारको अलोकतान्त्रिक हर्कतप्रति चनाखो हुँदै लोकतान्त्रिक मूल्य मान्यताको रक्षाको निम्ति एकजुट हुन अपिल गर्दछु ।
५ जेष्ठ, २०७८
जोखबहादुर महरा ‘प्रताप’
प्रमुख स्वकीय सचिव
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालय