प्रचण्ड, पुष्पकमल दाहाल, नेकपा माओवादी केन्द्र, prachanda, cpn maoist centre
 

एमालेसँग पार्टी एकता गरियो, असल नियतका साथ । कम्युनिस्ट केन्द्र निर्माणका लागि गरिएको थियो । तर केपी ओली प्रवृत्तिसँग जुध्नुपर्ने भयो । ओलीले सबै भताभुंग पार्ने काम गरे । माधवजी र हामी मिलेर लडिरहेका थियौँ । ओलीले प्रतिनिधिसभा असंवैधानिक ढंगले विघटन गरे । हामीले लड्यौँ । सर्वोच्चले पुर्नस्थापना गर्‍यो । फेरि सर्वोच्चले अर्को फैसला गर्‍यो । त्यसले एमाले र माओवादी छुटाइदिने गरेर विल्कुल राजनीतिक निर्णय गरेको थियो ।

अदालतको त्यस्तो राजनीतिक निर्णयको प्रतिवाद कसरी गर्ने ? हामी छलफलमा थियौँ । हाम्रै संसदीय दलको कार्यालयमा पार्टीका वरिष्ठ नेतादेखि कानुन व्यावसायीसँग कुराकानी गरेका थियौँ । यो राजनीतिक निर्णय भयो अदालतको । यस्तोमा राजनीतिक प्रतिवाद गर्ने कुरा भयो । वरिष्ठ अभिवक्ता शम्भु थापादेखि सबैले राजनीतिक रूपमा प्रतिवाद गर्ने कुरा गर्नुभएको थियो । ‘तपाईंहरू दृढतापूर्वक एकताबद्ध भएर जानुभयो भने लडाइँ जितिन्छ’ शम्भुजीले भन्नुभएको थियो ।

त्यसपछि अधिवक्ताहरूलाई बिदाइ गरेपछि माधव, झलनाथ, नारायाणकाजी लगायतका हामी सचिवालयका साथीहरू त्यहीँ छलफलमा बस्यौँ । अब के गर्ने? तुरुन्तै बाहिर प्रतिवाद कसरी गर्ने भन्नेमा स्थायी कमिटीको बैठक बस्यौँ । त्यहाँ अद्यावधिक बहुमत छ । जहाँसुकै केपीलाई परास्त गरेकै थियौँ । भोलि ११ बजे स्थायी समितिको बैठक बस्यौँ । त्यहाँ छलफल गरेर व्यवस्थित ढंगले एउटा प्रस्ताव पारित गरौँ । वक्तव्य दिऔँ र जनताका बिचमा जाऔँ भन्ने भयो ।

त्यहीअनुसार ११ बजेको बैठक र वक्तव्यको तयारी चलिरहेकै बेला बिहान ८ बजेतिर माधवजीको फोन आयो – “हाम्रोभित्र विभिन्न मत देखा परे, जटिलता देखा पर्‍यो, मैले केही साथीहरुसँग छलफल गर्नुपर्ने भयो । यतापट्टिको स्थायी समितिको बैठक बस्नुपर्ने भयो । त्यसकारण ११ बजे स्थायी समितिको बैठक नभ्याइने भयो ।” त्यसमा मैले धेरै आशंका गरिन । सायद कसरी जाने भन्ने बारेमा होमवर्क गरेर आउन खोज्नुभयो होला भन्ने लाग्यो ।

माधवजी पार्टीको अर्को अध्यक्ष भइसक्नुभएको थियो । उहाँले एक दुईघण्टा समय भनेपछि १, २ भन्दै ३ बजे पुराइयो । त्यसपछि उहाँहरु छलफल गर्नुभयो र आउनुभयो । माधवजीले मलाई अलग्गै भन्नुभयो, “अदालतले निर्णय गरिसक्यो, यसलाई मान्दैनौँ भन्दा झन् जटिलता पैदा हुन्छ, माओवादी केन्द्र पनि भइसक्यो, एमाले पनि भइसक्यो । हामी अहिलेलाई एमाले नै भएर जाने, त्यहीँभित्र संघर्ष गर्ने भयौँ ।” माधवजीले मलाई तल अलग्गै यस्तो सुनाइसकेपछि म भावुक भएँ, अलिक स्तब्ध पनि भएँ ।

तपाईंहरूको यो फाइनल हो भनेर मैले उहाँलाई सोधेँ । उहाँले भन्नुभयो, “फाइनल हो । यसमा सबैको सर्वसम्मत कुरा भयो ।” त्यसपछि त्यही कुरा राख्नुस्‌ न त बैठकमा भनियो । उहाँहरूसहित बैठकमा गइयो । त्यहाँ माधवजीले त्यही कुरा राख्नुभयो । खासगरी नारायणकाजी कमरेडले, “यो गर्नै हुन्न, एक दुई दिन पर्खौं, अहिले यसरी जानै हुँदैन भनेर अलिक जोड दिइरहनु भएको । अरु साथीले पनि भनिरहनु भएको थियो । तर उहाँहरूले सोचे-सल्लाह गरेर, “अब हामी एमाले नै हुनुपर्छ, यतापट्टि भयो भने माओवादी भए भन्दिन्छन्, झन्‌ अफ्ठ्यारो पर्ने हुन्छ” भन्ने निष्कर्षसहित आएपछि स्थिति अर्को ठाँउमा गयो ।

त्यसपछि हामी माओवादी केन्द्रकै रूपमा अगाडि बढ्नुपर्ने अवस्था रह्यो । तर पनि माधव कमरेडहरूसँग सहकार्य गरिराख्ने नै हो, छलफल गरिराख्ने हो, मिल्ने विषयमा मिल्दै जाने हो र भोलि फेरि कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध र पार्टीलाई एकताबद्ध गर्न बातावरण बनाउने हो भन्ने खालको समझदारी त्यहाँ थियो । त्यसपछि हामी माओवादी संगठनतिरै फर्कियौँ । उहाँहरू एमालेमै जानुभयो । त्यहाँ पनि उहाँहरू आफ्नै ढंगले संर्घषमै हुनुहुन्छ । त्यो स्थिति देखिन्छ । तर यहाँ हामीले गल्ती गर्‍यौँ भनेर पश्चाताप गर्नुपर्ने कहीँ पनि ठाँउ म देख्दिन । हामीले कमजोरी गर्‍यौँ । कहाँकहाँ कमजोरी गर्‍यौँ र आउँदा दिनमा सच्चाएर कसरी जाने भन्नेमा ध्यान केन्द्रित गर्नुपर्छ भन्ने मेरो निष्कर्ष छ पहिलो ।

दोस्रो, अब यो हुँदो रहेनछ । एमालेसँग एकता गरेर टिकेन । माधवजीहरूले पछि राजीनामा दिने भनेपनि के-के भयो, नहुने रहेछ । अब माओवादी मात्र मिल्नुपर्ने रहेछ । जनयुद्धमा सहभागी भएकालाई छिटो मिलाउनुपर्ने रहेछ । उनीहरूसँग मिल्न केही कमरेडहरूले अलिक बढी त्यस्ता सुझाव मलाई पठाउने पनि गर्नुभएको छ । बाहिर मिडियामा धेरै समर्थक-शुभचिन्तकहरूको पनि हेर्छु, सुनिरहेको छु, अब माओवादी मात्र एकताबद्ध हुनुपर्छ । अझ त्यसमा पनि जनयुद्धमा सहभागी भएकाहरू पहिला एक हुनुपर्छ भन्ने टिप्पणी आएका छन् ।

मेरो विचारमा त्यो सोचाइ जो साथीहरूको इमान्दारीपूर्वक, एउटा पृष्ठभूमिलाई आधार बनाएर, भावनात्मक विचार गरेर, भावनामा आएर इमान्दारितापूवर्क भन्नुभएको छ, उहाँहरूप्रति म कुनै टिप्पणी गर्दिन ।

हामीले सबैलाई साथ लिने हो । तर आजको वर्गसंघर्ष, आजको वैचारिक राजनीतिक संघर्षको आवश्यकता, परिमार्जनको आवश्यकता जे भन्नुस्, त्यसलाई हेर्दा माओवादी मात्र एक भन्यौँ भने त्यो त्रुटीपूर्ण हुन्छ । गल्ती हुन्छ भन्ने छ मेरो । हामीले त्यसो भन्नु हुँदैन । माओवादी हिजो जनयुद्धमा सहभागी भएकैमध्ये आज एकथरी साथीहरू ७ जना मन्त्री तपाईं हामीले देखेका छौँ नि । माओवादी नै थिएनन् र ? थिए । अझ माओवादीका पनि चानचुने खालका भएका भए पनि हुन्थ्यो । धेरै वरिष्ठ खालकै थिए । के हुँदो रहेछ त ? के भयो त ? हिजो हामीले जति उपलब्धि छन्, तिनलाई संस्थागत गरौँ र बाँकी अरु उपलब्धिका लागि लडौँ भन्दा हामी विभाजित भएका हौँ । के कारणले गर्दा भयो ? को प्रमुख दोषी हो ? कसको कारणले विभाजित भयौँ ? कुन विचार र प्रवृत्तिले गर्दा ?

हामीले नजिकबाट हेरेका छौँ । त्यसकारण माओवादी एक हुनुपर्छ भन्ने भावना राख्ने साथीहरूप्रति मेरो कुनै गुनासो छैन । टिप्पणी आलोचना पनि होइन । तर मार्क्सवादी दृष्टिकोणले हेर्दा, वर्गसंघर्षको आजको आवश्यकताको दृष्टिकोणले हेर्दा, आजको देशको राजनीतिक आवश्यकताको दृष्टिकोणले हेर्दा त्यो सोचाइ साह्रै सानो र संकीर्ण सोचाइ हुन जान्छ । हामीले एकताको झण्डा उठाउनै पर्छ । त्यो ठिक छ । हामीले कम्युनिस्ट आन्दोलनकै एकताको झण्डा उठाउनुपर्छ । हामीले बृहत्‌ कम्युनिस्ट आन्दोलन निर्माणकै झण्डा उठाउने हो । यो वा त्यो गुटसँग एकता गरेपछि हुन्छ भन्ने/ठान्ने सोचाइले हामीलाई काम दिँदैन । त्यसकारण मैले के भन्ने गरेको छु भने हामीले कम्युनिस्ट आन्दोलनको एकताको कुरा गर्ने हो । त्यसमा जो हामीसँग ‘इस्यु’मा नजिक छन्, तिनीहरुसँग अलिक छिटो सहज ढंगले एकता होला । अहिले पनि केपीको अलोकतान्त्रिक, निरंकुश, स्वेच्छाचारी कदमको विरुद्ध एक हुने, सबै कम्युनिस्ट आन्दोलनका समूहलाई कोहीसँग कार्यगत एकता, कोहीसँग मोर्चा, कोहीसँग पार्टी एकताको अधार बनाउने गरी जानु सही हुन्छ । त्यसकारण हामीले कम्युनिस्ट आन्दोलनको एकताको झण्डा उठाउने हो । माओवादी मात्रको एकता होइन ।

आजको परिस्थितिले त्यसलाई मान्दैन । ठिक छ, माओवादी आन्दोलनमा लागेकाहरू एकतामा आउने, प्रतिक्रियावादीहरूका विरुद्ध संर्घषमा आउने र मिलेर जाने कुरा हुँदा खुसीको कुरा हो । मैले जहिले पनि त्यो अपिल गर्ने गरेको छु । तर कम्युनिस्ट आन्दोलनको नेतृत्वको हैसियतले र आजको दिनको वर्गसंर्घषको, क्रान्ति, संघर्षको कुर्सीमा म बसेको छु र त्यसको पीडाको स्थितिबाट हामी गुज्रिएका छौँ । त्यसरी हेर्दा हामीले कम्युनिस्ट आन्दोलनको एकताको झण्डा उठाउने हो । यो वा त्यो गुटसँग मात्र एकताको कुरा होइन ।

त्यसो गर्दा माधव नेपाल, झलनाथ खनालसँग मात्र होइन, केपी ओलीको भ्रममा भएका अरु थुप्रै साथीहरू त्यहाँ छन्, तिनीहरूलाई पनि हामीले एकतामा ल्याउने कोसिस गरिरहनु पर्छ । र, माओवादी आन्दोलनको पृष्ठभूमि भएका साथीहरूसँग पनि हामीले एकताको कोसिस गरिरहनु पर्छ । हामीले ठुलो छाती बनाएर मार्क्सवादी दृष्टिकोणअनुसार, ठुलै एकता र ठुलै आकांक्षा, ठुलै झण्डा एकताको उठाउने हो, सानो होइन ।

हामीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको प्रमुख बाहकको रूपमा भूमिका खेल्यौँ । सबै उत्पीडित जाति, क्षेत्र, वर्ग, लिङ्ग जसको समावेशीता र समानुपातिकताका निम्ति सबैभन्दा बढी हामी लड्यौँ, उनीहरू सबै र हिजो शान्ति-सम्झौता पक्षधर र गणतन्त्र पक्षधर सबै शक्तिलाई एकताबद्ध गर्ने कुरालाई बिल्कुलै हामीले नजरअन्दाज गर्न हुँदैन । उनीहरूलाई राष्ट्रिय एकताको निम्ति हामीले के नेपाली काँग्रेस, के जनता समाजवादी पार्टी, के अरु साना-ठुला पार्टी/शक्तिहरू । सबै जाति, क्षेत्र, समुदाय सबैलाई एकताबद्ध गर्ने गरी राष्ट्रिय एकताको झण्डा नै हामीले उठाउनुपर्छ । राष्ट्रिय स्वाधीनताकै झण्डा उठाउनुपर्छ ।

हामीले जनवादी क्रान्तिका मूलभूत कार्यभार, आधारभूत पक्ष पूरा भए भन्दै गर्दा राष्ट्रिय स्वाधीनताको पक्ष चुनौतीपूर्ण छ भन्ने बिर्सन हुँदैन । हामीले सामान्तवादमाथि राजनीतिक रूपले, अन्य रूपले आधारभूत रुपमा विजय हासिल गरे पनि हामीले वैदेशिक हस्तक्षेपका विरुद्ध विजय हासिल गरिसकेका छैनौँ । त्यसकारण राष्ट्रिय एकता, राष्ट्रिय स्वाधीनताको पक्षमा, सबै जातिको एकताको पक्षमा पनि हामीले अगाडि बढेर झण्डा उठाउनै पर्छ । हामीले सानो चित्त गरेर यसले हामीलाई यसो भन्यो, उसले यसो भन्यो भन्ने आधारमा वा एकछिन यो नेता रिसायो, ऊ रिसायो, कुन नेताले के टिप्पणी गर्‍यो भन्ने आधारमा हामीले बृहत्तर राष्ट्रिय हितलाई हेरेर आजको दिनमाभन्दा संविधानको पक्षमा उभिने, संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिने, शान्ति सम्झौताको पक्षमा उभिने, समानुपातिक समावेशिताको पक्षमा उभिने र केपी प्रवृत्ति निरंकुश छ, प्रतिगमनकारी छ भन्ने र सबै शक्तिलाई लिएर जानुपर्छ । त्यसपछि मात्र हामी कम्युनिस्ट आन्दोलनको पनि नेतृत्व गर्न सकिन्छ । उतारचढावहरू जतिसुकै आए पनि ।

त्यसो भए ‘अब हाम्रा प्राथमिकता के ?’ भन्ने आउँछ । अहिले घटनाक्रमले के देखायो भने हामी आफ्नो विचार, आफ्नो राजनीतिक मूल्य-मान्यतालाई, आफ्नो संगठनलाई, आफ्नो संस्कार र आचरणलाई राम्रो बनाउने । आफ्नो विचारलाई अझ परिमार्जन गर्न मेहनत गर्ने, राजनीतिक कार्यदिशा विकसित गर्न मेहनत गर्ने, संगठनलाई व्यापक र सुदृढ गर्न बल गर्ने, अनि जनयुद्ध या जनआन्दोलनको बेलामा हामीलाई साथ दिएका शक्तिहरूसँगको सम्बन्धलाई विशेष रूपले लिने, हाम्रा सहिद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते, अपांगहरूसँगको सामीप्यता, उनीहरूलाई सहयोग गर्ने कुरालाई प्राथमिकतामा राख्ने, हाम्रो जनाधारलाई सुदृढ गर्ने र आफ्नै खुट्टामा उभिने, आफनो संगठनलाई बलियो बनाउने, आफ्नै जनाधारलाई सुदृढ बनाउने, हामीलाई यहाँसम्म ल्याउन त्याग, बलिदानको कीर्तिमान कायम गरेका जनसमुदाय र आन्दोलनका सहभागीहरूको सम्वन्धलाई सुढृढ बनाउने कुरालाई पहिलो प्राथमिकता दिनैपर्छ । अहिले हामीले निकाल्ने निष्कर्ष यही हो ।

फागुन २३ को सर्वोच्चको निर्णय आएपछि मैले कुनै न कुनै रूपमा अब तल नफर्किएसम्म हुँदैन भनेर एउटा संकल्पसहित साथीहरूलाई अपिल पनि गरिरहेको छु । म आफै पनि जनताका कुराहरू सुन्ने कोसिस गरिरहेको छु । मैले सहिद परिवार, बेपत्ता परिवारको योद्धाहरूको बिचमा जाने कोसिस पनि यो बिचमा गरिरहेको छु । म दौडिरहेकै पनि थिएँ । तपाईंहरूले देखिरहनु भएको पनि थियो । तर अहिले कोभिडका कारण जान संभव भइरहेको छैन । तर पनि त्यो कोसिस भइरहेको छ । त्यसकारण हाम्रो पहिलो प्राथमिकता आफ्नै विचार, आफ्नै राजनीति, आफ्नै संगठन र जनआधारलाई सुदृढ गर्ने कुरामा हामीले प्राथमिकता दिएर लाग्नै पर्छ । जनतातिर फर्किनै पर्छ । यो बिचमा हाम्रो त्रुटी भएको क्षेत्र भनेको यही हो । हामीले कामठमाडौँमा विभिन्न दलहरूसँग अन्तरक्रिया, छलफल गर्दागर्दै सरकार बनाउने, सरकार ढाल्ने, ढल्ने के-के यस्तै यस्तैबाट पहल लिन सकिन्छ कि? भने जस्तो गरी अलिक बढी नेतृत्वको तागत, हामी केन्द्रीय सदस्यहरूको तागत बढी यता खर्च भयो ।

आफ्नो संगठन बनाउने, आफ्नो सहिद परिवार, बेपत्ता परिवारलाई राहत उपलब्ध गराउने, उनीहरूका गुनासा के छन् ? त्यसलाई सुन्नेतिर हामीले त्रुटी गरेकै हो । सायद यो ठुलै त्रुटी गर्‍यौँ । यसो गर्ने छुट हामीलाई थिएन । जसले हामीलाई यहाँसम्म ल्याउन योगदान गरे, तिनै जनता, गाउँघरका उत्पीडित वर्ग, टोलटोलका, काठमाडौँ उपत्यकाभित्र पनि कस्तो जटिल स्थितिमा पनि हामीलाई साथ दिने जनता, कार्यकर्ता, सहिद बेपता परिवार र देशभरका ग्रामीण इलाकामा हजारौँ-हजारौँमा रहेकाहरू हाम्रो प्राथमिकताबाट छुटे यो बिचमा ।

हामीले तिनलाई प्राथमिकता दिएर, तिनलाई बलियो बनाउने र तिनको आधारमा जालीफटाहासँग लडिरहने, प्रतिक्रियावादीको षडयन्त्रका विरुद्ध लडिरहने कुरालाई, कार्यसूची जुनस्तरको बनाउनुपर्ने हो, हामीले त्यो बनाउन सकेनौँ । त्यसको निम्ति अब म प्रमुख नेता र अध्यक्ष हुनुको नाताले मैले कति लिनुपर्ने हो जिम्मा ? अथवा मैले के त्याग गर्नुपर्ने हो ? त्यसका लागि म तयार छु ।

तपाईंहरूमध्ये कतिलाई लाग्नसक्छ, “भनेको मात्र होला ।” त्यस्तो होइन । मेरो अब केही छैन । यही पार्टी, यही आन्दोलन, यही देश, यही जनता, यही समाजवादको निर्माण बाहेक मेरो केही पनि छैन । त्यसकारण तपाईंहरू सबैले भन्नुहुन्छ भने तैँले यति गरिस्, सहिद परिवारलाई पनि तैँले गरेर हामीले पनि ध्यान दिएनौँ, तपाईंहरूले पनि दिनुभएन । हिस्सा त तपाईंहरूलाई पनि छ । तर तपाईंहरूलाई मुख्य भन्दिन । म आफै हो ।

मैले के त्याग गर्नुपर्ने हो ? आउने बैठकमा तपाईंहरूले भने हुन्छ । म खुसीसाथ त्याग गर्न तयार छु । हामीले त्रुटी गरेकै हो । अब सच्चाउनुपर्ने त्यहीँ नै छ । जनता, वर्गतिर फर्किने । प्राथमिकता अब आफ्नै खुट्टामा उभिने हो । आफ्नै वर्गमा फर्किने हो । विचार राजनीतिमा भर पर्ने हो । आफ्नै जनाधार सुदृढ बनाउने हो । त्यसो गरेमा अझै पनि हाम्रो भविष्य उज्जवल हुन्छ किनकि एजेण्डाका हिसाबले, इतिहासको आवश्यकतालाई सम्बोधन गर्ने कुरामा हाम्रो तुलना अरुसँग हुन सक्दैन ।

त्यसो गरेनौँ भने हामी भइराख्ने किन ? भन्ने दिन आउन पनि सक्छ । तर जनतालाई बलियो बनाइयो भने हामीलाई कसैले पनि सिध्याउन सक्दैन । हिजो हामीलाई कसैले दयामाया गरेर बनेको होइन । हामीले लडेर नै लिएको हो । त्यहीँनेर हाम्रो ठुलो त्रुटी भयो ।

यसो भन्दैमा फेरि अर्को अतिवादमा जाने खतरा पनि हुन्छ । त्यसो भए, अरु सबै छोडौँ, सबैले काठमाडौँ छोडिदिऊँ, साथीहरूले अन्य पक्षसँग कुरा गर्न पनि छोडिदिऊँ, अब इस्युभित्र संसदभित्र संघर्ष गर्न पनि छोडिदिऊँ भन्नेतिर गयो भने त्यो अर्को अतिवाद हुन्छ । त्यसले पनि हामीलाई सही ठाँउमा पुराउँदैन । यसलाई प्राथमिकता दिँदै हाम्रो शक्तिको ठुलो शक्ति आफ्नै जनाधारतिर परिचालित गर्दै राष्ट्रिय एकता गर्ने जिम्मेवारी, राजनीतिक आन्दोलनको नेतृत्व गर्ने जिम्मेवारी, संविधानको रक्षा गर्नुपर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, समानुपातिक समावेशिक मूल्य मान्यताको रक्षा गर्नुपर्ने आवश्यकता र त्यसको जिम्मेवारी गर्नुपर्ने दायित्ववाट हामी पर जान सक्दैनौँ ।

(अध्यक्ष क. प्रचण्डले २०७८ जेठ ९ गते नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक (भर्चुअल) मा नेताहरूलाई गरेको सम्बोधनको सम्पादित अंश ।)