छवि सुवेदी, दैलेख, chhabi subedi, dailekh, छवी
 

सन् २०१८ मे २५ को दिन जापानको एक दैनिक पत्रिका “निकी एसिया” को अङ्ग्रेजी संस्करणमा भारतीय लेखक विश्लेषक ब्रम्हा चेलानीको एउटा लेख प्रकाशित भयो । शीर्षक थियो – के नेपालमा प्रजातन्त्र र कम्युनिज्म एकसाथ रहन सक्छन् ? उक्त लेखमा चेलानीले चुनावबाट आएको एक मात्र कम्युनिस्ट सरकारले आफूलाई प्रजातान्त्रिक साँचोमा ढाल्न सक्छ कि सक्दैन भन्ने परीक्षा सुरु भएको लेखेका थिए । उनकाअनुसार विश्वको छैटौँ कम्युनिस्ट मुलुक नेपालमा कम्युनिस्ट पार्टीको एकतामा चीनले सुडेनीको भूमिका निर्वाह गर्‍यो । नेपालका कम्युनिस्टहरू भारतको हितमा छैनन् ।

त्यो लामो विश्लेषणसहितको लेख प्रकाशित भएको ठिक तीन वर्षपछि निकी एसियाले आयोजना गरेको “एसियाको भविष्य” विषयक २६औँ अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी ओलीलाई निम्ता गरियो । सन् २०२१, मे २० र २१ गते सम्पन्न भएको उक्त सम्मेलनपश्चात् सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी ओली एसियाका नेताका रूपमा सम्मानित भएको भन्दै प्रचार भयो । सन्‌ २०१८ मा हङकङमा भएको चीनविरोधी प्रदर्शनमा अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको आरोप लागेको निकी जापानको पुरानो पत्रिका हो, जसले सुरुमा आर्थिक समाचार छाप्थ्यो । ‘एसियाको भविष्य’ नामक सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी ओलीले पश्चिमा लगायत मुख्यतः दुई छिमेकी मुलुक भारत र चीनसँग कोरोना भाइरस विरुद्धको खोप माग गरेका थिए ।

प्रधानमन्त्री केपी ओलीलाई भारतले लगाएको नाकाबन्दीले राष्ट्रवादीको तक्मा प्रदान गरेको थियो । संविधान जारी भएको पाँच वर्षपछि नेपालले कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको भूभाग समेटेर नक्शा जारी गर्‍यो । यसपटक भने भारतले नाकाबन्दी लगाउने गल्ती गरेन । उसले फरक तरिका प्रयोगमा ल्यायो । नेपालका लागि पूर्व भारतीय राजदूत मन्जिवसिंह पुरीकाअनुसार प्रधानमन्त्री ओली आफ्नो नाम जोडिने कुनै कामको खोजीमा थिए । नेपाली काङ्ग्रेसलाई प्रजातन्त्र स्थापना र माओवादीलाई गणतन्त्र स्थापनासँग जोडिने गरेको तथ्यसँग ओली राम्रै परिचित थिए । भारतका विरुद्ध चर्को बोल्ने गरेका केपी ओलीले नक्शा सार्वजनिक गरेको केही महिनापछि भारत विरुद्ध अभिव्यक्ति दिन छाडे ।

एक वर्ष अगाडि सन् २०२० मे ३१ मा एक भारतीय पत्रिका ‘द हिन्दु’मा पूर्व भारतीय राजदूत राकेश सुद भन्छन् – सन् २०१५ भन्दा अगाडि भारतसँग सम्बन्ध सुदृढ गर्न लागीपर्ने नेपाली राजनीतिज्ञमा केपी ओलीकै नाम आउँथ्यो ।

सन् २०२० को डिसेम्बर २३ मा ‘द प्रिन्ट’ ले लेख्यो – केही मानिसहरू नेपाललाई विश्वको छैटौँ कम्युनिस्ट मुलुक भन्छन् तर नेपाल प्रतिबद्ध कम्युनिस्ट मुलुक होइन । यसलाई कम्युनिस्ट मुलुक भनिएको छ किनकि एकहदसम्म कम्युनिस्ट पार्टीहरू शक्तिमा छन् । त्यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चरम विवादमा थियो । संसद विघटन भएको थियो ।

अङ्ग्रेजहरू भारतबाट गएपछि नेपालमा राणाहरूको दिनगन्ती सुरु भयो । भारतमा अंग्रेजविरुद्ध लडेको शक्तिबाट नेपाली युवाहरू प्रभावित भए । राणाहरूले त्यो प्रभावमा भारत देखे । तथापि आफ्नो सत्ता टिकाउन राणाहरूले स्वतन्त्र भारतलाई रिझाउन अनेक प्रयत्न गरे । यसले के पुष्टि गर्दछ भने नेपालको सत्ताधारी या सत्ताविरोधी दुवैथरी शक्ति भारतबाट अपेक्षा राख्दछन् ।

राजा त्रिभुवनले भारतमा शरण लिए । त्यति मात्र होइन, प्रणव मुखर्जीले लेखेअनुसार राजा त्रिभुवनले नेपाललाई भारतमा मिलाउने प्रस्ताव गरे । तर जबाहरलाल नेहरुले त्यो प्रस्ताव अस्वीकार गरे । सुगौली सन्धि पश्चात् अङ्ग्रेजहरूले नेपालमाथि थालेको घुमाउरो लगामलाई स्वतन्त्र भारतले निरन्तरता दिइरह्यो । वि. सं. २०७२ को संविधान जारी भएपछि भारत नेपालसँग वि.सं. २०१७ मा भन्दा बढी नै झस्कियो । जब चुच्चे नक्शा सार्वजनिक भयो, तब भारतले नेपाललाई नेपाल देखेन, चीन देख्यो ।

नक्शा प्रकाशन लामो समयदेखि अवरुद्ध एक आवाज थियो । जुन आवाजले भारतलाई कुनै ठुलो स्वर नगरेर चुपचाप काम गर्न बाध्य बनायो । काठमाडौँमा रअको सवस्टेसन छ । यसले आफ्नो मुलुकको रणनीतिक हितका निमित्त जुनसुकै अपरेसन गर्न स्वीकृति पाएको छ । रअ प्रमुख गोयलको रात्रिकालीन बालुवाटार बैठक त्यही अपरेसनको एक घुम्ती थियो । प्रधानमन्त्री केपी ओलीलाई संविधानको पालना गर्न नपर्ने वरदान त्यही रात्रि बैठकले प्रदान गरेको थियो । प्रधानमन्त्री ओलीमा देखिएको राष्ट्रवादी मैन त्यो रात पग्लिएको थियो । भ्रम सितिमिति मर्दैन । यसले थप भ्रम पैदा गरिरहन्छ । भारतको सहयोगमा केपी ओलीलाई अपदस्थ गर्न थालेको आरोप भने प्रचण्ड र माधव नेपालहरूलाई लगाइयो ।

गएको २०७७ साल माघ १२ गते प्रधानमन्त्री केपी ओलीले पशुपतिमा संकल्प पूजा गरे । उनी पशुपति गएर त्यसरी पूजा गर्ने पहिलो कम्युनिस्ट प्रधानमन्त्री हुन् । वर्तमान भारतीय शासक कट्टर हिन्दु हुन् । जसका कारण भारतमा नश्लीय राष्ट्रवादका संकेतहरू देखा परिरहेका छन् । प्रधानमन्त्री ओलीले आफू हिन्दु प्रधानमन्त्री भएको देखाउन त्यसो गरेका थिए । त्यो पूजालाई भारतीय सञ्चार माध्यमहरूले महत्त्व दिएका थिए । नेपालका प्रधानमन्त्री केही समय अघिसम्म आफूले सोचेको जस्तो कम्युनिस्ट नरहेकोमा भारतीय शासकहरू ढुक्क भएका थिए ।

१८ मे २०२१ को द इन्डियन एक्स्प्रेसमा प्रधानमन्त्री ओलीको चिनियाँ पक्षधरताबारे लेखिएको छ – चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसियटिभको कार्यान्वयनमा ध्यान नदिएको तथा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा कुरा भएअनुसारको सुपुर्दुगी सन्धिमा हस्ताक्षर गर्न नमानेकोबाट उनी चीनको पक्षमा नभएको पुष्टि हुन्छ । भारतीय मिडियाहरूमा यसरी समाचार छापिनु र नेपालमा पटक पटक संसद विघटन भइरहनु तथा ओलीको पालामै आजसम्म अठारौँ पटक मन्त्रीमण्डल पुनर्गठन हुनुलाई संयोग मात्र मान्न सकिँदैन ।

प्रधानमन्त्री केपी ओली सत्ताका निमित्त यति धेरै गले कि उनी जन्मको आधारमा नागरिकता दिने ऐन ल्याउन, चुरे मासेर गिटी, बालुवा निर्यात गर्न तथा २०७२ को संविधान जलाउने शक्तिलाई साथमा लिएर “कम्फर्टेबल सरकार” बनाउन तयार भए । हेर्दा सामान्य लागे पनि घटनाक्रमले नेपालमा गम्भीर दुर्घटनाको संकेत गरिरहेका छन् । उग्र राष्ट्रवादी, उग्र वामपन्थी र उग्र दक्षिणपन्थी झण्डै एक ठाउँमा उभिएका छन् । यिनीहरूको महागठबन्धनले घोर दक्षिणपन्थी राष्ट्रघाती फासीवादको अभ्यास गरिरहेको छ । रेल र पानीजहाजमार्फत भारतीय एकाधिकार पुँजीवादलाई अझै बलियो गरी भित्र्याउने तयारी लगभग पूरा भएको छ । सन् २०५० पछि खानेपानीको हाहाकार हुने भएकोले त्यो समयसम्म जलविद्युत र पानीजहाजको माध्यमबाट भारत नेपालका स्वच्छ पानी भएका सबै नदीहरूमा आफ्नो पकड बलियो बनाउने गरी लागेको छ । ओली राष्ट्रवाद यही भारतीय रणनीतिको सुर्के गाठोमा झुन्डिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी त फुट्यो नै, नेकपा एमाले पनि फुटको संघारमा उभिएको छ । कोमामा रहेको बिरामीझैँ यो पार्टी केहिबेरमा बिउँझिएलाझैँ देखिन्छ । क्षणभरमै आशा निराशामा बदलिन्छ । यस्तो अवस्था फुटभन्दा धेरै पीडादायक हुन्छ । नवउदारवादले थलिएको एमालेको पुनर्जीवन बालुवाटारको औषधिबाट संभव छैन । बालुवाटारको औषधिले कम्युनिस्ट सिद्धान्त र आचरणबाट जतिसक्दो चाँडो भाग्न तथा बिसर्जन भोग्न मद्दत गरिरहेको छ । त्यसैले त चेलानीको उक्त तीन वर्ष पुरानो लेखले शंका व्यक्त गरेको थियो – नेपालमा कम्युनिस्ट र प्रजातन्त्र एकसाथ रहन सक्दैनन् ।

मार्क्सवादमा हिन्दुवाद देख्ने वर्तमान बालुवाटारले कार्ल मार्क्समा पौराणिक पात्र राम भेट्छ । मार्क्सवादको यहाँभन्दा भद्दा भ्रष्टीकरण खोज्न हामीले गोर्वाचेभ, चाउचेस्कु या ल्योतारकहा पुग्नु नै पर्दैन । तर हरेक अँधेरी रातले सुन्दर बिहानीको जन्म दिएझैँ हरेक धोका र विचलनले समाजवादको सुन्दर उदयलाई अझ निकट र अवश्यम्भावी बनाइरहेको हुन्छ ।

(लेखक नेकपा माओवादी केन्द्र निकट बुद्धिजीवी संगठनका नेता हुनुहुन्छ।)