मनुष्य जाति कृषक जीवनमा आएको १२-१३ हजार वर्ष भयो भन्ने त पढिएको हो । मेरो बुझाइमा के थियो भने यो सभ्यताको विकासक्रममा भएको हो । तर यसो होइन रहेछ। मनुष्यलाई खेतीपातीमा आउन बाध्यता आइलागेको रहेछ । एकप्रकारले सुखदेखि दुःखमा झर्नुः स्वर्गदेखि नर्कमा झर्नुजस्तो हो रहेछ । यो पढेपछि यसलाई सेयर गर्न उचित सम्झेँ । इन्टरनेटमा रहेका दुई-चारवटा रिसर्च लेख पनि हेरियो । एउटा पूरा किताब र थप यी सूचना लिएर छोटो सरल लेख लेखेको छु ।
अन्नको इतिहास
मनुष्य जाति पृथ्वीमा भएदेखि लाखौँ वर्षसम्म आहारको निम्ति पूर्णतया प्रकृतिमा निर्भर थियो । भोक मेटाउन सिकार र वनजङ्गलमा पाइने फलादि बटुलबाटुल गर्थ्यो । जताततै घनघोर जङ्गल थियो । जङ्गलमा अनेकौँ प्रकारका पशुप्राणी थिए । थोरै परिश्रम गरेर धेरै खाद्यान्न सङ्ग्रह गर्न सक्थे । वन जङ्गलबारे उसको ज्ञान अपार थियो । अनेकौँ प्रकारको वृक्ष, तरुल, फलफूलको ज्ञान भएको कारण उसको खानपिनमा कुनै समस्या मात्र नभएर थरीथरीका आहार उपभोग गर्न सहज भएको थियो । प्रशस्त पौष्टिक आहार उसले सहज रूपमा पाउन सक्थ्यो । यस समयको मानव जीवनको चित्रण यो कविताले देखाउँछः
“नजरले भ्याएसम्म भूमि थियो असीमित,
असीमित भूमिभित्रको –
छहरा छङछङ
हरियो वनस्पतिका सुगन्ध,
गिट्ठा, भ्याकुर र कन्दमूल सबै
चर्ची आएको जिमीभूमि, बारी, स्वाँरा,
अलैँचीबारी, खेतपाखो, खर्क वनजङ्गल, जगर बगर
तित्या ढाली महभीर, तोतामैना, मोम खयर
साल सरङ्गा कठैया, सखुवा, लकडी बेतबाँस” – देखि
उडन्तागडन्ता
रहता बहता, जलकर, वनकर” सबै सबै
प्राकृतिक स्रोत र सम्पदाहरूको ती थिए अधिपति –
घामको न्यानो र जुनको शीतल
वनको हरियालीसँगको नाता
खोलाको कलकल र पन्छीको कलरव
हामी प्रकृतिका सन्तति
सबै समान थियो, विचारहरू थिए समान
आफ्नै वन, आफ्नै जङ्गल, आफ्नै भूमि
चाहिँदा चाहिँदो मात्र लिन्थ्यौँ ।”
– बैरागी काइँला, शरणार्थी विचार र मालीगाउँमा चितुवा
तर उसले यो सुविधा त्यतिबेला समाप्त हुन लाग्यो, जब पृथ्वीमा जलवायु परिवर्तनको कारण शीतयुग आयो । पूरा संसार हिउँले ढाकियो । धेरै आबादी भिषण शीतको प्रकोपबाट लोप भए । हजारौँ सालपछि जब शीतयुगको प्रभाव कम हुन थाले । पृथ्वीको ताप बढ्न थाल्यो । हिमशैलहरू सरेर उत्तरतिर लागे । वृष्टि कम हुन थाल्यो । वन जङ्गल वृक्षमय नभएर हरियो झार मात्र भएको नांगो पठार देखिन थाले । सुकौरो लागेर जलस्रोत समाप्त हुन थाल्यो । कतै घनघोर वृष्टि हुनथाल्यो भने कतै पानीको हाहाकार भयो । धेरै ठाउँ जलमग्न भयो । पशु प्राणी मारिए । यसले वन जङ्गल नष्ट मात्र भएन तर त्यहाँ भएको पशु र खाद्यान्न पनि विनाश भएर गयो ।
अब मान्छेलाई खानपिनको संकट पर्नु थाल्यो । साविकबमोजिम खाद्यान्न पाउन सहज नहुन थालेपछि मान्छेले यसको विकल्प खोज्न थाल्यो । खाद्यान्नको जोहो आफैले गर्नुपर्ने रहेछ भन्ने चेतनाको विकास भएपछि उसले खेती गर्न आरम्भ गर्यो ।
खेतीको ज्ञान मान्छेले सहजरूपमा पाएको होइन । यो आकस्मिक भएको पनि होइन । धेरै लामो समयसम्म प्रयास गरेर सफल भएको हो ।
शिकारी र सङ्ग्रहकर्ताबाट अब खेतीको जीवनमा अवतरण हुने जब वाध्यता आइपर्यो उसको जीवन भने अझ कष्टकर हुने भयो ।
ऊ संसारमा स्वर्गजस्तै भूमिमा थियो । केही बढी परिश्रम नगरी आरामको जीवन बिताएर पौष्टिक एवम् स्वादिष्ट भोजन उपलब्ध हुन्थ्यो । फुर्सद धेरै थियो । वनजङ्गल घुमेर मनोरम प्राकृतिक दृश्यमा ऊ रमाउन सक्थ्यो । भोक र भकारीको चिन्ता थिएन । तर कृषिजन्य जीवनमा उसले कठिन परिश्रम गरेर जमिनबाट अन्न उब्जाउनुपर्ने भयो । रातदिन खटेर, घामपानी केही नभनेर शरीर गलाएर अन्न उब्जनी नगरी धर थिएन, यदि आफू बाँच्नु छ भने । यसैले उसको सिकार र सङ्ग्रहको जीवनबाट कृषकको जीवनमा आउनु भनेको स्वर्गबाट नर्कमा झरेको समान देखियो। बाइबलमा भनिएको आइफल सेवन गरेर स्वर्गबाट आदम र हव्वालाई बहिष्कार गरिएको प्रकरण यही खेतीपातीलाई रूपकीय कथामा हेरिँदो रहेछ ।
किसानको जीवनमा उसलाई नयाँ समस्या आइलाग्यो । शरीरमा अनेक प्रकारको रोगले आक्रन्त पारे । ढाड दुख्ने, कम्मर दुख्ने, ज्यादा परिश्रम गर्न परेको कारण थकान बढी हुने, फुर्सद नहुने र खानपिनको थोक पनि सीमित हुन थाले । पहिला ऊ जङ्गलमा पाउने अनेक थरीका खाद्य पदार्थको स्वाद लिन सक्थ्यो । उसले ५०० भन्दा अधिकप्रकारका अन्न फलादि खान पाउँथ्यो । अब यो संख्या घटेर ५० भन्दा कम हुन थाल्यो । आधुनिक मान्छेले पनि हरदरमा ५० भन्दा अधिक थरीका खान पाउँदैन ।
यो समस्या आए तापनि ऊ अब फर्केर फेरि सिकारी र सङ्ग्रहकर्ताको जीवनमा जानसक्ने सम्भावना रहेन । उसलाई यही जीवनमा रहन अभिशप्तजस्तै हुने भयो ।
वनका पशुहरू घरेलु बनाउने प्रयास मान्छेले अघिबाटै गरेको थियो तर वनमा भएका फलफूल र अन्न भने घरेलु वा कृत्रिम रूपमा उमारिने प्रयास भएको थिएन । वनजङ्गलको विनाश र आहारको निम्ति वनजङ्गलबाट पर्याप्त नभएको कारण जो जति छ, त्यसको जोगाड गरेर उमार्ने प्रयास मान्छेले गर्न थाले । प्राकृतिक रूपमा गहुँ, जौ, धान उम्रेको पाइन्थ्यो । यही उद्भिदहरू छेउछाउको जग्गाजमिनमा मान्छेले उमार्ने कोशिस गरे । यस्तो बिजन सार्ने काम महिलाहरूबाट भएको थियो । यसैले आदिम खेतीको युक्ति भने पुरुषबाट नभएर महिलाहरूले गरेका मानिन्छन् । यसो हुनुको कारण पुरुषवर्ग पहिलेदेखि उनीहरूको लगानी मुख्यतया सिकार गर्नुमै हुन्थे। वनबाट कन्दमूल, फलफूल र अन्य खाद्यान्न वस्तुको सङ्ग्रह भने महिलाहरूको दायित्वमा रहेका थिए । प्राकृतिक देनअनुसार महिलाहरूमा रङ्ग पहिचान गर्ने क्षमता पुरुषभन्दा धेरै बेशी हुन्छ । एक पुरुषले ५० वटासम्म रङ पहिचान गर्न सक्छ भने महिलाले २५० सम्म सक्छे । नजर डुलाउनलाई शिरको लचकता पनि महिलामा बढी हुन्छ । यही विशेष क्षमताको कारण खेतीपातीको महत्त्वको पहिचान र विकास महिलाबाट हुनसक्यो ।
यो समय थियो अनुमानित १३ हजार वर्षअघि । यसको अर्थ कृषिको इतिहास १३ हजार वर्ष पुरानो मात्र हो । मान्छेले कृषि उत्पादन यही कालदेखि गर्न लागेको भनिन्छ । दुई लाख वर्षसम्म मान्छेको जीवनयापन वनजङ्गलमा निर्भर थियो तर यसपछि भने खेतीपातीको जीवनमा रूपान्तरण भयो । यसलाई कृषि आन्दोलन भनिएको छ । आधुनिक कालसम्म हेर्नु हो भने यो सभ्यताको अवधि मनुष्यजातिको आजसम्मको समयको पाँच प्रतिशत मात्र हो ।
पहिलोपटक गरिएको खेती मध्यपूर्व एसियामा बताइएको छ। यद्यपि विश्वको विभिन्न ठाउँहरूका मान्छेले स्वतन्त्ररूपमा कृषि अपनाउन थालेको बुझिन्छ। चीन, अफ्रिका, दक्षिण अमेरिका, मध्य अमेरिका र उत्तर अमेरिकामा पनि खेतीको सुरुआत भएको थियो ।
मान्छे किसानको जीवनमा अवतरण भएपछि उसको जीवनशैलीमा व्यापक परिवर्तन आयो । पहिला समाज, जाति, सम्पत्तिजस्ता अवधारणा थिएनन् । गाउँ, बजार, सहर वा देश थिएन । सबै स्वतन्त्र थिए । अनि प्राकृतिक संसाधनमाथि सबैको समान अधिकार थियो ।
खेती गरेर जब अन्न अधिक उब्जनी हुनथाल्यो सबैले खेती नै गर्नपर्ने आवश्यकता रहेन । कोही खेती र कोही अन्य पेसा निभाउने भए । यसबाट समाजमा श्रम विभाजन सुरू भयो । खेतीको उपज सामूहिक हुन्थ्यो तर कालान्तरमा निजी सम्पत्ति हुन थाल्यो । खेती भूमि पनि सामुदायिक स्वामित्वबाट वैयक्तिक स्वामित्वमा आउनथाल्यो । निजी सम्पत्ति सुरू भएपछि यो विधान परिवारमा लागु हुनथाल्यो । समाज परिवार सम्पत्तिको निम्ति कठोर नियमहरू बनिए । कृषि जमिन, घरेलु पशुजस्तै महिला पनि अब पुरुषको निजी सम्पत्ति हुनपुग्यो । जनजाति समाजको मुखिया जातिको नेतृत्व गर्ने भयो । सबै उसको अधीन वा उसले निर्धारण गरेको नियमअनुरूप आचरणभित्र बाँधिए । समाज पितृसत्ताको बलियो बन्धनमा बाँधियो । गाउँ, सहर र देश निर्माण भए ।
अन्नबालीको जन्म:
खेती गरिने धेरैजसो वनस्पति प्राकृतिक रूपमा वनमा पाइने हो । त्यही बीउबिजन वनबाट निकालेर किसानले बनाएको जमिनमा उमारेको अन्नबाली हो । यसरी ल्याएर रोपिने जुन ठाउँको हावापानी मिल्थ्यो, त्यहाँ सप्रेर गएको हुन्थ्यो । यही बिउबिजन अलि हावापानी नमिल्ने ठाउँमा लगेर रोप्दा कि त फल्दै फल्दैन, नभएर राम्रो फसल नदिने खालको हुन्थ्यो । पछिगएर त्यो बीउबिजनले त्यो नयाँ हावापानीअनुसार अनुकूल हुने बन्दथ्यो । अनि फेरि फसल राम्रो हुन्थ्यो । हुनत यो नयाँ ठाउँमा फलेको फसल स्वाद, बासना, पौष्टिकतामा भिन्नता आउने हुन्छ । यसरी एउटा नयाँ ठाउँ र फरक हावापानीमा हुर्केका बालीलाई ‘ल्याण्ड रेस’ भनिन्छ । उनीहरूले बुझे यो नयाँ थरीको हो भनेर र यसको फरक नाम दिएर जतन गरी आउँदो मौसममा रोप्नलाई राख्थे । यसरी अन्नको विभिन्न प्रजाति खेती गर्ने क्रममा विकास हुँदै गए । अहिले आएर धानको भिन्नभिन्न प्रकारको बिजन तीन हजार भन्दा धेरै थरीका पाइन्छन् । मेक्सिकोमा मकैको पचासभन्दा धेरै जातका मकैहरू छन् । यो जातभित्र पनि सयौँ थरीका हुन्छन् र जसको स्वाद, आकार र पौष्टिकता भिन्न हुने गर्दछ ।
यहाँ तीनस्तर देखिन्छ । पहिलो हो प्राकृतिक रूपमा पाइने वा उम्रेको अन्नको बाली । दोस्रोस्तरमा यो प्राकृतिक रूपबाट किसानले घरेलु बनाएर उमारेको र तेस्रो स्तरमा अन्य नयाँ परिवेशमा उमारेको बाली । यही दोस्रोस्तरलाई घरेलु केन्द्र वा ‘सेन्टर अफ डोमेस्टिकेसन’ भनिन्छ । यसको नयाँ नाम हो ‘बायोडाइभर्सिटि स्पट’ वा ‘जैविक विविधता केन्द्र’ । यो तेस्रोस्तरको थरीलाई ‘ल्याण्ड रेस’ भनिएको हो ।
निकोलाय भाविलोभ (१८८७- १९४३):
धान, मकै वा कुनै पनि अन्य अन्न बाली लगाएको समय समयमा रोग लागेर नष्ट भएर जान्छ ।
यसले किसानलाई ठुलो नोक्सानी र भोकमरीको स्थितिमा पुरयाइदिन्छ । खेतीमा विशेषज्ञता हासिल गर्नेहरूलाई ज्ञान भयो, पहिलोपल्ट वनबाट ल्याएर त्यसको छेउछाउको जुन जमिनमा खेती गरिएको छ, त्यो जमिनमा भएको खेतीको बीउ रोगमुक्त हुन्छ । त्यसैले त्यहाँको बिउको संरक्षण गर्नुपर्छ । रूसका कृषि वैज्ञानिक निकोलाय भाविलोभले यसैले ती कृषिभूमिहरूको खोजी गर्ने र त्यहाँ फलाइएका सबै फसलका बिउ सङ्ग्रह गर्ने अठोट गरे । यसको निम्ति उनले पाँच महादेशका ६५ देशहरूको भ्रमण गरे । बिस वर्ष लगाएर उनले २ हजार ५ सय अन्न, फल, कन्दमूल इत्यादिका बिउ सङ्ग्रह गरे । यी २,५०० प्रजातिका ३ लाख ५० हजार बिजनहरू एकत्र गरे । यसलाई सुरक्षित राख्नको निम्ति भण्डार बनाए, जसलाई बिउ बैंक (सीड ब्याङ्क) भनियो । रूसको लेनिनग्रादमा स्थापित यो नै विश्वको अन्नको पहिलो बिउ बैंक हो ।
उनले यो पनि जानकारी हासिल गरे कि विश्वमा त्यस्ता आठ प्रमुख क्षेत्रहरू रहेछन्, जहाँ मान्छेले प्रथमपटक खेती गरेका रहेछन् । ती आठ क्षेत्रका वन्य क्षेत्रमा त्यहाँ लगाइएका फसलको प्राकृतिक रूप पाइन्छन् । यही आठ क्षेत्रलाई घरेलुकरण केन्द्र वा ‘सेन्टर फर डोमेस्टिकेसन’ भनियो । भाविलोभको मृत्युपछि फेरि अर्को एक क्षेत्र पनि घरेलुकरण केन्द्र रहेको खोज गरियो । अहिले यसकारण नौ केन्द्रहरू छन् । यही केन्द्रहरूलाई जैविक विविधता केन्द्र वा ‘बायो डाइभर्सिटि सेन्टर’ भनिन्छ । यो भण्डार बनाउनुको उद्देश्य थियो, रोगग्रस्त बिउबिजनको उपचार त्यस्ता केन्द्रबाट आएका बिउबिजनसित प्रतिरोपन गराउनु । प्रतिरोपन गरेको बीउमा रोग प्रतिरक्षण क्षमता अधिक हुन्छ र फसल राम्रो हुन्छ । यसले संसारभरको कृषि उत्पादनमा ठुलो सहायता पुर्यायो र अन्नबाली नष्ट हुनबाट जोगाउने महत्त्वपूर्ण दिशानिर्देशन दियो ।
भाविलोभको जीवनको अन्तिम क्षण भने हृदयविदारक रह्यो । भ्रष्टाचारको आरोपमा जेलमा हालियो । त्यस समय रूसमा खाद्यान्न संटक चलिरहेको थियो । जेलभित्र उनले खान पाएनन् र भोकले १९४३ मा मरण भयो ।
अन्नको विनिमय (कोलम्बियन एक्सचेञ्ज):
आजभोलि सुपर मार्केट वा साधारण सब्जी बजारमा अनेक थरीका सब्जी पाइन्छन् । रासन दोकानमा धेरै प्रकारका दाल, चामल, आटा, चिनी, चियापत्ती आदि सबै उपलब्ध हुन्छ। आजभन्दा चार-पाँच सय सय वर्षअघि भने अवस्था यस्तो थिएन । धान, गहुँ, जौ, दाल भए पनि हामीसित मकै, आलु, गोलभेडा, सखरखण्ड, स्कुस, फर्सी, मेवा, भुइँकटहर, सिमी आदि थिएनन् ।
यिनीहरूको जङ्गली रूप हाम्रो वनजङ्गलमा पाइँदैन । हामीले यी खाद्य सामग्री देख्न र खान पाएको तीन सय वर्ष पनि भएको छैन । एसिया, युरोप र अफ्रिकी मुलुकमा यी खाद्यान्न कोलम्बसले अमेरिका आविष्कार गरेपछि मात्र देख्न पाएका हुन् । अमेरिकालाई उपनिवेश बनाउने क्रममा यताबाट केरा, धान, गहुँ उता लगिएको हो । हलिवुडको सिनेमामा रेड इन्डियनहरू घोडा चढेर हावाको वेगजस्तै आक्रमण गरेको देखाउँछ । तर अमेरिकी महादेशमा घोडा थिएन । त्यहाँ युरोपेलीहरूले पुर्याएका हुन् । गर्मीको मौसममा तरबुजा इन्डियामा खुबै स्वाद मानेर खाइन्छ । यसलाई बाबरले हिन्दुस्तान विजय गर्न आउँदा मध्य एसियाबाट ऊसित आएका सैनिकले ल्याएर रोपेका रहेछन् । लसुन र प्याज भारतका केही सम्प्रदायले खाँदैन । कुनै अन्य भौगोलिक क्षेत्रबाट ल्याइएको हुनाले विदेशी तत्त्व वहिष्कारमा परेको हो ।
पृथ्वीनारायण शाहकालीन कवि सुवानन्ददासको कवितामा नेपाली खानपिनको उल्लेख छः
“नेपालको सिन्कि लुटि मंरातको घिले भुटी
पालपाको ल्याव हिंग जिरो रिसिंगको ल्याव पिरो
तनहुँको भातसित भीर्कोटको दालसित
कन्चन कटोरा भरि स्ववर्णका थलिया भरि
अष्टदल चौकि वसि गंगाजल झारि भरि
पुरुव मुहुंडा गरि महाराजको जिवनार वनाव है ।”
यहाँ चामल, दाल, खुर्सानी, हिङ, सिन्किको चर्चा छ तर मकै, आलु, गोलभेडाजस्ता अहिलेको नेपाली भान्सामा हुनेको छैन । यसले बुझाउँछ, अठारौँ शताब्दीसम्म पनि नेपाली भोजनमा यी अन्नहरू सामेल भएका थिएनन् ।
प्रकृतिमा दुई लाख पचास हजार थरीका उद्भिद रहेको थाहा लागेको छ । यसमा तीस हजार खानयोग्य छन् । एक सय पच्चिसको मात्र खेती गरिएको छ ।
चिनी र दासप्रथा:
भारतीयहरूलाई चिनीको स्वाद प्राचीनकालदेखि रहेको अथर्ववेदमा ईक्षु शब्दले प्रमाणित गर्छ । ईक्षु भनेको इच्छा वा चाहना हो । मीठो वा गुलियोको इच्छुक नै हुन्छ । ईक्षु वनस्पति पनि भनिएको छ । ईक्षुबाट हिन्दीमा ईख बनियो र नेपालीमा रूपान्तरण भएर उखु भयो । उखु भारतमा प्राचीनकालदेखि पाइए तापनि उखुको रसबाट दाना बनाउने प्रविधि भारतीयलाई जानकारी थिएन । चीनमा भने यो प्रविधि विकास भइसकेको थियो । यही दानादार चिनी चीनबाट आयो र पछि भारतमा पनि प्रविधि आयो । चीनबाट आएको हुनाले यसलाई चिनी अर्थात् चीनबाट आएको भनिएको हो ।
युरोपवासीले चिनीको स्वाद पहिला थाहा पाएका थिएनन् र उनीहरूले महको स्वाद मात्र जान्दथे । जब चिनीको स्वाद पाए, उनीहरू हुरुक्क भए । अब उनीहरूलाई चिनी जसरी भए पनि चाहिने भयो । यसको माग अत्यन्तै बढेर गयो । चिनीको उत्पादन बढाउनको निम्ति पहिलोपटक पोर्चुगेलीहरूले उखुको वगान क्यारेबियन राष्ट्रहरूमा बनाए । त्यहाँ कारखाना लगाउन सजिलो थियो, कारखाना लगायो तर काम गर्ने श्रमिक त्यहाँ थिएन । पश्चिम अफ्रिकामा पोर्चुगेलीहरू पहिलैदेखि हात्तीको दाँत लुट्न अभ्यस्त थिए । उनीहरूलाई यहाँका गरिब निवासीलाई कमाराकमारी बनाएर लानु सहज भयो । तिनीहरूलाई अमेरिकी महादेश लगेर उखुको वगान र कारखानामा काम दलाउन थाले । यहीँबाट अफ्रिकी कमारा कमारीको कालो इतिहास सुरु भएको हो ।
पोर्चुगेलीको सिको गरेर युरोपका अन्य देशहरू इङल्याण्ड, स्पेन, फ्रान्स, डचले पनि यस्तै उखुको कोलोनी दक्षिण अमेरिकाको देशहरूमा बनाए । यी बगान र कारखानामा काम गर्न अफ्रिकाका निवासी दास दासी बनाएर लगे । एकपटक यसरी पानी जहाजबाट अङ्ग्रेजहरूले लाँदा जहाजमा पिउने पानीको अभाव भयो । पानीको अभावको समस्या हल गर्न एक सय पचास दासहरूलाई समुद्रमा फेकिदिए । कामदार लाने क्रममा भारतको गरिब हिन्दु समूह पनि चपेटामा परे । यद्यपि यिनीहरूलाई भने तनखा दिने (एग्रिमेन्ट) प्रावधान बनाएर लगे । यसरी कमारा बनाएर नलगिएको भए पनि जीवनस्तर भने दासदासी जस्तै रहेको थियो । यिनीहरूलाई गिर्मिटिया भनिन्थ्यो । यिनीहरू निश्चित समय सुविधा र पारश्रमिक अनुबन्ध गरी लगिएको हुन्थ्यो । अनुबन्ध अङ्ग्रेजीमा एग्रिमेन्ट हुन्छ । ती गरिब मजदुरहरू एग्रिमेन्ट उच्चारणलाई गिर्मिट भन्थे । गिर्मिटबाट गएका यसैले गिर्मिटिया । दक्षिण अफ्रिका, त्रिनिदाद, गुयाना, फिजी, मौरिसस जस्ता देशहरूमा बसेका भारतीय मूलका बासिन्दाहरू यही गिर्मिटियाहरू हुन् ।
यी हिन्दु श्रमिकहरू म्याद पुगेर घर फर्कन सक्थे तर यिनीहरू घर फर्केनन् । हिन्दु आचरणमा गाउँघर नभए देशै छोडेर कतै पनि जान राम्रो मानिँदैन । उनीहरू सात समुद्र नाघेर गएका र गोराहरू, जसलाई म्लेच्छ भनी घृणा गर्छन्, उनीहरूको मातहतमा थिए, झन् ठुलो विपतमा परे । यी गिर्मिटियाहरूलाई डर भयो आफ्नो गाउँ फर्केर गए समाजबाट बहिष्कार हुने र जातै पनि काटिन सकिने भनेर ।
गान्धीजी १८९३ मा दक्षिण अफ्रिकामा भारतीय व्यापारीवर्ग र पूर्व गिर्मिटियाको पक्षमा मुद्दा लड्न गएका थिए । अर्को विश्व प्रसिद्ध लेखक नोबेल पुरस्कार विजेता भिएस नयपुल पनि गिर्मिटियाका सन्तान थिए ।
चिया:
चिया वनस्पतिको वैज्ञानिक नाम केमेलिया साइनेन्सिस हो । यसको मूल थलो उत्तरी बर्मा र दक्षिण पश्चिम चीनको वन्य क्षेत्र हो । चियाको आविष्कार ईशापूर्व २७०० मा चीनका सम्राटले आकस्मिक रूपमा गरेको हुन् । ईशापूर्व ३५० वर्षदेखि यसको नियमित प्रयोग देखिन्छ । सातौँ शताब्दीमा चीनमा ताङ वंश शासनकालमा लु यु नाम गरेका कविले काव्य लेखे “चा जिङ” शीर्षकमा । यसमा चियाको महिमा गाइएको थियो । चियालाई चिनियाँ बोलीमा ‘च्छा’ उच्चरण गरिन्छ । बंगाली बोलीमा ‘चा’ भनिन्छ । यही नेपालीमा चिया भएर आएको छ ।
पोर्चुगेली र डचहरूले चीनको मकाउ टापुबाट चियाबारे सोह्रौँ शताब्दीतिर जानकारी पाए । चियाको चस्कामा युरोपेलीहरू मस्त हुन थालेपछि यसलाई हासिल गर्ने प्रयास गर्न लागे । सुरूआतमा उनीहरूले चीनबाट चिया किने । चीन सबै कुरामा आत्मनिर्भर थियो । त्यसैले यी विदेशीहरूले आफ्नो समान बेचेर चिया खरिद गर्ने कुरा मिलेन । चियाको मूल्य सून र चाँदीले चुकाउनु पर्थ्यो । अङ्ग्रेजहरूलाई यसले अपठ्यारोमा पार्यो किनकि यसोगर्दा सूनचाँदीको भण्डार रित्तिने भयो । अफिमको चलन चीनमा प्रतिबन्धित थियो तर चोरीछिपी अफिमको लेनदेन भइरहेको थियो । अफिम बेचेर चिनियाँहरूबाट चिया किन्ने योजना बनाए ।
१७५८ को प्लासीको युद्धपछि अङ्ग्रेजको हातमा भारतको उत्तरी क्षेत्रको गएको थियो । बिहार, उत्तर प्रदेश, बंगाल र उडिसाका किसानहरूलाई बारीमा जबर्जस्ती अफिमको बिरुवा रोप्न लगाए । पटना र बनारसमा यसका लागि कारखाना बनाए । यसरी निकालेको अफिम कलकत्ताको बन्दरगाहबाट जहाजमा चीन पठाइन्थ्यो । अङ्ग्रेजहरूले अब चियापत्तीको भुक्तान अफिमबाट गर्न थाले ।
चिनियाँ जनता अफिमको कुलतमा फसेको देखेर त्यहाँको सरकारले अफिमको सेवन र व्यापारमा प्रतिबन्ध लगायो । चीनले अफिम लिएर गएको एउटा जहाज जफत गर्यो र त्यहाँ भएको अफिम डढाएर नष्ट गरिदियो । चीनमा अफिम बेच्न नदिएको र जहाज पक्डेको जबाफी कार्वाही गर्दै अङ्ग्रेजी सेनाले चीनको बन्दरगाह र समुद्री किनारका सहरहरूमाथि आक्रमण गरे । युद्ध भयो तर चिनियाँ सेनाले हारे, निकै हताहत भए । त्यसपछि अङ्ग्रेहरूलाई अफिमको व्यापार गर्न अनुमति दिए । उनीहरूले हङकङ पनि कब्जामा गरे । त्यसपछि अफिमको व्यापार अझ फस्टाएर गयो ।
उन्नाइसौँ शताब्दीको मध्यतिर यी अङ्ग्रेजहरूले चिया बगानको बिस्तार गर्नका लागि आफ्नो उपनिवेश भारतमा बोटबिरुवा ल्याएर प्रयोग गरे । सफल पनि भए । दार्जिलिङ, डुबर्स, आसाम र श्रीलंकामा चिया बगान लगाइयो ।
मकै:
मकै ल्याटिन अमेरिकाको प्रमुख खाद्यान्न हो । मकैको मुख्य थलो मेक्सिको हो । पछिल्लो ७ हजार वर्षदेखि यसको खेती हुँदै आएको अनुमान गरिन्छ ।
सोह्रौ शताब्दीभन्दा अघि अमेरिकादेखि बाहिरका कसैलाई मकैको बारेमा जानकारी थिएन । विश्वको अन्य ठाउँमा यसको खेती नै गरिँदैन थियो । युरोपका खोजकर्ताहरूले अमेरिका र यहाँ भएका वनस्पति पत्ता लगाएर फर्किदा लिएर पनि आए । त्यहीँदेखि विश्वका अन्य ठाउँमा पनि पुग्यो र खेती गरिन लाग्यो ।
मेक्सिकोमा मकैको खेती हजारौँ वर्षदेखि भइरहेको थियो । धेरै लामो समय खेती भएको कारणले जमिनको उर्वरता र उब्जनीमा प्रभाव परिरहेको थियो । उत्तरी अमेरिकाभन्दा उब्जाउ कम हुँदै थियो । यसले मकै खेती गर्ने कृषकलाई मर्का परिरहेको थियो । अमेरिकी कृषि वैज्ञानिकहरूको एक टोलीले त्यहाँ आएर अनुसन्धान गरे, अनि प्रत्यारोपण (क्रस ब्रिडिङ) प्रविधि प्रयोग गरे । पहिला एकस्तर र फेरि दुईस्तरमा । दुईस्तर वा डबल प्रत्यारोपण गरिएको मकै तीन गुणा ज्यादा उत्पादनशील भयो ।
प्रत्यारोपण गरिएको मकैको बिउ भने फरक उत्पादन गर्नुपर्थ्यो किनकि बोटबाट फलेको बिउ उर्वरशील हुँदैन्थे । यसले बिउ उत्पादनको वाणिज्यिक सफलता ल्यायो । किसानले बिउ जोगाउनु परेन । प्रत्येक पल्ट फसल लगाउने समयमा उसले बिउ खरिदमा पाइहाल्ने भयो ।
यसरी मकैको अनेकौँ थरी विकास भएको छ। अहिलेसम्म २८ हजार जात (भेराइटी) का बिउ सुरक्षित राखिएको छ ।
गहुँ :
गहुँको मूल थलो टर्की बताइएको छ । दस हजार वर्षदेखि यसको खेती हुँदै आएको छ । सात हजार वर्ष अघि गहुँको खेती एसिया महादेशका विभिन्न ठाउँहरूमा फैलिएको पाइएको छ । गहुँको पिठो सामान्यत: दुई भेराइटिमा पाइन्छ । ट्रिटिकम ड्युरम सेमलिना र पास्ता बनाउनु चलाइन्छ। रोटी, केक, ब्रेड बनाउने आटा ट्रिटिकम एस्टेविमबाट हुन्छ ।
नर्मन बर्लग (१९१४ – २००९):
गहुँको उन्नत जातको जातीय (भेराइटि) विकास गर्ने मुख्य श्रेय वैज्ञानिक नर्मन बर्लगलाई दिइन्छ । ग्रीन रिभोलुसन वा हरित क्रान्ति भनेर कृषि उत्पादनको बडोत्तरीमा गरिएको घटना उनको भूमिकाको केन्द्रमा रहेको छ ।
मेक्सिकोमा गहुँको फसल राम्रो भइरहेको थिएन । एक हेक्टर भूमिमा मुश्किलले एक टन फसल हुन्थ्यो । उत्पादन कम भएकोले सरकारलाई गहुँ आयात गर्नु पर्थ्यो । समस्याको समाधान गर्नका लागि अमेरिकाले युवा कृषि वैज्ञानिक बर्लगलाई पठायो । अधिक उत्पादन हुने गहुँको विकासको निम्ति नयाँ भेराइटि निकाल्नुपर्ने भयो । एउटा नयाँ भेराइटि निकाल्न दस वर्ष लाग्छ । उनले विचार गरे एकै वर्षमा दुई फसल लगाउन सके दस वर्षको सट्टा पाँच वर्षमा नयाँ भेराइटि निस्कनेछ । मेक्सिकोको दुई ठाउँमा भिन्दा भिन्नै समयमा गहुँको रोपाइँ हुँदोरहेछ र यसैको फाइदा उठाएर उनले पाँच वर्षमा गहुँको हाइब्रिड भेराइटि निकाल्न सफल भए । नयाँ भेराइटिको उत्पादन एक हेक्टर भूमिमा ८ टनसम्म भयो । यसले मेक्सिकोलाई आयातकर्ताबाट निर्यातकर्ता बनाइदियो ।
उत्तरी अमेरिकाको गहुँ रोगले धेरै विनाश गरिरहेको थियो । अर्को समस्या के भइरहेको थियो भने गहुँको बोट ७-८ फिट अग्लो हुन्थ्यो । फल लाग्दा फलको भारले बोट निहुरिने, फसल बिग्रेर जाने र हावा हुन्डरीले बोट भाँचिदिने समस्या भएको थियो । बर्लगले बिमार प्रतिरोधी बिउ र जापानमा पाइने होचो बिरुवाको बिउ प्रत्यारोपण गरेर रोग पनि नलाग्ने अनि हावा हुन्डरी थाम्नसक्ने नयाँ भेराइटि बनाए । उन्नत बिउ, रसायनिक मल, नयाँ मेसिनको सहयोगले कृषिमा क्रान्ति आयो । यसले लाखौँ मानिसहरूलाई भोकमरीबाट बचाए र धेरैलाई गरिबीबाट मुक्त गराए ।
धान : धानको बोट झार (ग्रास) वर्गमा पर्छ, जसलाई ओरिजा जातिको भनिन्छ । प्राकृतिक रूपमा २४ किसिमका पाइन्छन् तर मान्छेले दुई प्रकारका मात्र खेती गरेः ओरिजा स्याटिभा र ओरिजा ग्रेबरिमा ।
धानको खेती सबैभन्दा पहिलोपटक चीनको याङ्जे नदीको बगरमा ११ हजार वर्षअघि गरिएको भनिन्छ । भारतको गंगा नदी क्षेत्रमा ५ हजार वर्षदेखि खेती सुरु गरिएको हो । भारतमा खेती गरिएको प्रजाति ओरिजा स्याटिभा इन्डिका हो । संसारमा सबैभन्दा बढी यही ओरिजा स्याटिभाको खेती गरियो ।
प्राकृतिक रूपमा पाइने धानको रङ रातो हुन्छ । यसको चामल पाक्दा दाना सिता टाँसिने हुँदैन । तर पछि यसको भिन्न प्रजातिका बिउसित संक्रमण भएको कारण मान्छेले गरेको खेतीबाट उत्पादित चामल भने सिता टाँसिने र रङ सेतो भयो । भारतमा पाइने बासमती चामलको सिता नटाँसिने हुन्छ । धानको खेती अमेरिकी महादेशको कुनै ठाउँमा पनि हुँदैनथियो । अफ्रिकाबाट कमाराहरू अमेरिका लैजाने बेला ती कमाराहरूले धानको बिउ लगेर गए र उता फैलियो ।
ग्रीन रिभोलुसन र भारत :
१९६८ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले अमेरिकी सरकारसित अनुबन्ध गरेर ग्रीन रिभोलुसन भारतमा लागु गरिन् । यो भनेको उन्नत बिउ, रसायन मल, आधुनिक कृषि औजार र यन्त्र एवम् कृषि तालिमको एकमुष्ठ योजना हो । भारतीय किसान गरिब रहेको हुनाले बिउ-मल किन्न सक्ने थिएनन् । त्यतिबेला भारतका बैंकहरू निजी नै बेसी थिए । इन्दिरा गान्धीले १९६९ मा बैंकहरू राष्ट्रियकरण गरिन् । यसले ती किसानहरूलाई ऋण उपलब्ध गराउन सहज भयो । बैकमा रोजगारको अवसर पनि बढेर गयो । भारतमा भएको धानबाट पैदावार कम हुन्थ्यो र मनसुनले राम्रो साथ नदिएको बेला अकाल सिर्जना हुन्थ्यो । अन्न उत्पादनमा पूर्ण आत्मनिर्भर थिएन ।
देशको खेतमा रोपिने धान उचाइ बडी भएको कारण फसल लाग्दा ढल्थ्यो । यसैले योजनाको सुरूवातमा ताइचुङ धानसित मिलाइयो । यद्यपि पैदावार खासै बढेन । यसपछि आइआर-८ नामक नयाँ भेराइटिको विकास गरियो । पारम्परिक धान एक हेक्टरमा १ टन भन्दा थोरै अधिक मात्र उब्जाउ हुन्थ्यो भने नयाँ भेराइटिबाट रासायनिक मल र नहरको बन्दोबस्त गरेपछि ८-१९ टन हुन थाल्यो ।
हरित क्रान्तिको प्रयोगले गहुँ र धानको खेतीमा पैदावर वृद्धि भयो र यसले भारतमा खाद्यान्नको संकट समाधान गर्यो । आयात गर्नु परेन । बरु अतिरिक्त गहुँ र धान निर्यात हुनथाल्यो। पञ्जाब, हरियाणा, उत्तर प्रदेशका धेरै किसानहरूलाई गरिबीबाट मुक्ति दिलायो ।
आधा शताब्दीअघिसम्म विश्वका गरिब अनि पानी कम्ती पर्ने क्षेत्रमा अन्न उत्पादन थोरै हुने र अनिकाल सिर्जना भइरहन्थ्यो । यही हरित क्रान्तिको कारण पछिल्लो पचास वर्षमा उप-सहारा मरुभूमि क्षेत्र बाहेक अन्य क्षेत्रमा अनिकाल समाप्त भएको छ । जनसंख्याको वृद्धि धेरै बढे तापनि खाद्यान्नको अभाव खटकिएको छैन । यसरी विशाल जनसमूहलाई भोक र अकाल मरणबाट बचाएको छ ।
युवान लोङपिङ (१९३०-मई २०२१) र हाइब्रिड धान :
चीनका एक कृषि वैज्ञानिक युवान लोङपिङले १९६४ मा धानको हाइब्रिड भेराइटि विकास गरे । धानमा हाइब्रिड अघि गरिएको थिएन । यसैले उनलाई हाइब्रिड धानको जन्मदाता भनिन्छ । उनले गरेको अनुसन्धानले चीनको विशाल जनसमूहलाई खाद्यान्न संकटबाट मुक्ति दिलायो । १९९४ देखि भारतमा पनि हाइब्रिड धानको खेती गर्न लागियो ।
हरित क्रान्तिको सीमितता :
हरित क्रान्तिको सफलता धेरै भए पनि यसलाई दीर्घकालीन समाधान भन्न सकिएन । किसानले बिउ, रासायनिक मल, मेसिन किन्नपर्ने हुँदा उसलाई ऋणको बोझ बढ्यो । भारतका धेरै किसानहरूको आत्महत्या यसको कारण पनि हो । हरित क्रान्तिले एकै प्रकारको खेती लगाउन प्रोत्साहन गराउँछ, यसले गर्दा जमिनको उर्वरतामा प्रभाव पर्ने भयो । पारम्परिक कृषिमा खेतीवालाले एकपटकमा एउटै बाली मात्र नलगाएर धेरै थरीका लगाएको हुन्छ, जसले जमिनको उर्वरता कायम भइरहन्थ्यो । तर यो नयाँ कृषि प्रविधिमा त्यस्तो प्रावधान राखिएको थिएन । यसैले अहिले कृषि वैज्ञानिकहरू हरित क्रान्ति उत्तर योजना आवश्यक रहेको मान्दछन् ।
जेनेटिक परिवर्तित अन्न : पारम्परिक खेतीमा फसललाई धेरै कुराले हानि पुर्याउने किरा फट्याङ्ग्रा, भाइरस, अवाञ्छित झारहरूको रोकथामको निम्ति किसानले धेरै परिश्रम गर्नुपर्छ र अधिकतर फसल यसले विनाश गर्छ । हरित क्रान्तिकालमा यसबाट छुट्कारा पाउन किटनाशक विषादी र झारपात मास्ने रसायन प्रयोग गरियो । किटनाशक विषादी र रसायन स्वास्थ्यलाई आघात पुर्याउने हुन्छ । त्यसैले वैज्ञानिकहरूले यो समस्याको हल जेनेटिक विज्ञानमा खोजे । उनीहरू चाहन्थे किरा नलाग्ने भेराइटिको विकास गर्न । किरा नलाग्ने भएपछि किटनाशक विषादी प्रयोग गर्नु परेन । चामलको रङ्ग सेतो हुन्छ र सेतो चामलमा भिटामिन ए हुँदैन। आर्थिक स्थिति कमजोर हुने र भात मुख्य भोजन हुने परिवारलाई प्रशस्त सागसब्जी र फल उपलब्ध हुँदैन । यी परिवारहरू भिटामिन ए को अभावको कारण स्वास्थ्य समस्यामा पर्छन् । जीन तकनिकद्वारा यस्तो चामल भिटामिन ए युक्त फलाउन सकिन्छ ।
हुन त मान्छेले हजारौँ सालदेखि जङ्गली बिउबिजन छानेर, छुट्याएर उमार्ने काम गरेकै हो । यसो गर्दा अप्रत्याशित रूपमा जीन एक देखि अर्को वनस्पतिमा आरोपित हुन्थ्यो । कुनै पनि जीव चाहे वनस्पति अथवा पशुजन्य सबैमा क्रोमोजोम हुन्छ । क्रोमोजोम डिएनएले बनेको हुन्छ । डिएनए जेनेटिक वस्तु हो । अहिले सुनियोजित रूपमा जीन प्रत्यारोपण गरिन्छ । एउट उद्भिदमा देखिएको कमजोरी वा अभाव अर्को उद्भिदको जीन प्रत्यारोपण गरेर त्यसको अभाव वा रोग निवारण गर्ने कामलाई जेनेटिक मोडिफिकेसन भनिन्छ । यसरी कृत्रिम रूपमा तयार गरिएको वनस्पतिको फसल वा फल जेनेटिकल्ली मोडिफाइड फुड भनिन्छ । एक वनस्पतिमा ३० हजार देखि ५० हजार जीनहरू हुन्छन् । जीन प्रत्यारोपण भने ५ प्रतिशत मात्र हुन्छ । यसैले कृत्रिम जीन प्रत्यारोपित बोट घरेलु बनाइएको बोट जस्तै हुन्छ । विश्वको १२ प्रतिशत कृषि भूमिमा जीन परिवर्तित अन्न उत्पादन हुन्छ । यो १२ प्रतिशत भनेको १७९.७ मिलियन हेक्टर हो । १५ भन्दा धेरै थरीका यस्ता अन्नहरू छन् । तिनीहरू आइफल, तोरी, आलु, बैगुन, मकै, सुनौलो धान, कपास, भटमास आदि छन् । अमेरिकाको भटमास खेतीको ९४ प्रतिशत र मकै खेतीको ९२ प्रतिशत जीन परिवर्तित हो । नयाँ जीन परिवर्तित अन्नको बाली लगाएको २५ वर्ष भयो । यो अन्नको सेवन गरेर स्वस्थ्य क्षति भएको कुनै आँकडा अंकित भएको छैन । अमेरिकी सरकार अधीन खाद्य र औषधि प्रशासनले ( एफडिए) जिएमओ अन्न सुरक्षित रहेको भनेको छ ।
अङ्ग्रेजीमा जीएमओ फुड भनिने यो खाद्यान्नको विरोध भएको देखिएको छ । कृत्रिम तरिकाले उमारेको अन्न प्राकृतिक जस्तो सुरक्षित हुँदैन र यसको सेवनले गम्भीर स्वास्थ्य समस्या आउनसक्ने विरोधी पक्षको मत रहेको छ । पर्यावरणवादी र अर्गानिक फुडको पक्षधर चाहे हरित क्रान्ति होस् या जीएमओ, दुवैमाथि तीव्र प्रहार गरेका छन् । अर्गानिकका पक्षधर रासायनिक मल प्रयोग बहिष्कार गर्छन् र प्राकृतिक मल प्रयोगमा विश्वास गर्छन् । ग्रीन रिभोलुसनको सफलता नै रासायनिक मलमा आधारित हुन्छ । मोनसान्टो कम्पनी जीएमओ फुडको ठुलो निर्माता भएको कारण धेरै देशहरूमा विरोध गरेका छन् ।
(लेखक भारतीय नेपाली विश्लेषक हुनुहुन्छ । उहाँले प्रस्तुत आलेख सुष्मा नैथानीद्वारा लिखित पुस्तक “History and Science of Cultivated Plants” मा आधारित भएको बताउनुभएको छ ।)