प्रिय छोरी संघर्ष
सप्रेम न्यानो अभिवादन ।
आकाशभरि बादल छ । त्यो बादलबाट अनवरत पानी खसिरहेको छ । धर्ती निथ्रुक्क हुनेगरी भिजिरहेको छ। ठाउँ ठाउँमा पहिरो गएको छ, बाढी आएको छ । बाढी पहिरोले जनधनको क्षति पुर्याएको समाचार आइरहेको छ । कोरोनाको सन्त्रासलाइ चिर्दै कुहिरो उडिरहेको छ । खाली भएको छैन आइसोलेसन, खुलेको छैन लकडाउन । उड्दै आएको कुहिरोमा म भने तिम्रो तस्वीर खोजिरहन्छु । छोरी, तिम्रो यादमा फगत तिमी मात्र कहाँ हुन्छौ र ! तिम्रो यादसँगै इतिहासका कैयौँ झिल्काहरू बिजुली चम्केझैँ गरी आउँछन् । तिमी त्यस्तो समयकी सन्तान हौ, जुन समय इतिहासमा सधैँ आउने गर्दैन, जुगहरूमा एकाधपटक मात्र आउने गर्छ । आशा छ, तिमी वर्तमान समय पढिरहेकी छौ र सुन्दर भविष्यको यात्रामा छौ । तिम्रो यात्रा “जर्जको ब्रह्माण्ड यात्रा” भन्दा कम रोमाञ्चक छैन ।
प्रिय छोरी,
तिमी जन्मिएको बिहान सिमापुरीमा यसरी नै पानी दर्किएको थियो । तिमीले एउटा आँखाले मात्र धर्ती हेरेकी थियौ, अर्को आँखाले सायद अन्तरमनका पत्रहरू खोतलिरहेकी थियौ । स्वास्थ्यमा आएको समस्याका कारण तिमीले झण्डै साढे एक महिना अस्पतालमा रहनुपरेको थियो । कठिन थिए अस्पतालका दिनहरू । भेन्टिलेटरमा तिमीलाई एक्लै छाडेर म अस्पतालबाट बाहिरिन्थे र तिम्री आमा भएको अर्को अस्पताल पुग्थे । अर्को दिन के भयो होला भनी चिन्तित हुँदै अस्पताल आउँथे । आमा र छोरी फरक-फरक अस्पतालमा हुँदा म ती अस्पतालहरूको बिचमा यता र उता कुदिरहन्थे । तिमीले प्रतिकूलतालाई जित्यौ । तिमी अस्पतालबाट फर्किएको दिन हामी कति खुसी भएका थियौ !
तिम्री आमा र मेरो भेट क्रान्तिको एक भञ्ज्याङमा भएको थियो । हामीले व्यक्तिगत सपनाहरूलाई वर्गीय सपनासँग साटेका थियौँ । तिम्रो जन्म संघर्षको मैदानमा भएको हुनाले नै हजुरआमाले “संघर्ष” नाम राखिदिनुभयो । आज क्रान्तिको त्यो लाल भञ्ज्याङ छैन । वर्गीय सपनाहरूले आफ्नो स्वरूप फेरेका छन्, यात्रा मोडेका छन् । तर तिम्रो नाम फेरिएको छैन । तिम्रो अस्तित्व फेरिएको छैन । कुनै सम्झौताको हस्ताक्षरले तिम्रो उमेरलाई बढ्नबाट रोकेको छैन । जिन्दगी पनि एक अनुपम क्रान्ति नै हो । यसले पलपल कठिनाइँहरूसँग लडिरहनुपर्छ ।
प्रिय छोरी,
किताबहरूले, समाजले एवं जिन्दगीका हरेक दुःखहरूले हामीलाई अझ राम्रो जीवन बाँच्न सिकाउँछन् । एक समय थियो तिमीलाई ‘जर्जको ब्रह्माण्ड यात्रा’ औधी मन पर्थ्यो । म पनि तिमीलेझैँ पाएसम्म किताबहरू पढ्ने र केही सिक्ने कोसिस गर्छु ।
असार धर्तीभरि हिँडिरहेको छ । हाम्रो समयमा विद्यालयस्तरको अन्तिम परिक्षा प्रवेशिकाको परिणाम यही असारमा आउँथ्यो । असार सकिँदा नसकिदै गाउँहरूबाट प्रवेशिकाका परिणामहरू सहर पस्थे । त्यही हुलमा तिम्रो बाबा पनि झन्डै तीन दशकअघि सहर पसेको थियो । सहरमा सुख मात्र थिएन, अभाव पनि थियो । अस्कल क्याम्पसको पढाइ सकेपछि एक जना नेताकहाँ आंशिक काम माग्न जाँदा उनले भनेका थिए – किसानका छोराछोरीले पनि डाक्टर पढ्न खोजेर हुन्छ ? सुन्ने दुई-तीन जना साथीहरू – सायद निर्मल, दिपेन्द्र र म स्तब्ध भएका थियौँ । शिक्षाको पनि वर्ग हुँदोरहेछ भन्ने अनुभूति भएको थियो । सहरले केही सिकायो, देखायो । हामी साथीहरू बिदाको दिन पुस्तकालय जान्थ्यौँ । आज पढ्नका लागि पुस्तकालय जानैपर्छ भन्ने छैन । घरमै बसेर इन्टरनेटमार्फत नयाँ नयाँ पुस्तकहरू पढ्न सकिन्छ । प्रविधिले विश्वलाई तीव्र गतिमा सहज र सानो बनाइदिएको छ ।
प्रिय छोरी,
एक समय आयो, जसले हजारौँ युवाहरूलाई विश्वविद्यालयबाट निकालेर वर्गसंघर्षमा समाहित गरायो । देश बिरामी भएको बेला, आफ्नो वर्ग रोग र भोक, दमन र घोर अत्याचरले मरिरहेको घडी विश्वविद्यालयमा चुपचाप पढिरहन सकिँदो रहेनछ । दशकौँपछि आज फर्किएर हेर्दा अतीत कुहिरोले ढाकिएको छ । वर्तमान मुसलधारे पानीले चुटिएको छ । विदेशिएकाहरूको रेमिट्यान्स र विदेशीहरूको इशारामा सकिनसकी देश चलिरहेको छ । विदेशीको ऋण कुल गार्हस्थ्य उत्पादनको पचास प्रतिशत पुग्न थालेको छ । ऋण कुल गार्हस्थ्य उत्पादनको पचास प्रतिशतभन्दा बढी भयो भने विदेशी साहुहरूले थप ऋण दिन बन्द गर्छन् । सरकार तार चुँडिएको सारङ्गी जस्तो भएको छ, जसको आवाजमा न त रस छ, न अर्थ छ । देशभक्तिको सरकारी धुन क्षणभरमै बेसुर भएको छ ।
एदुआर्दो ग्यालियानो भन्नुहुन्छ – “जुन धर्तीमा प्रत्येक मिनेटमा एउटा बालकको भोक या रोगका कारणले मृत्यु हुन्छ, त्यहाँ हरेक चिजलाई शासकवर्गको आँखाबाट हेर्न आदत बसालिन्छ । यी मृत्युहरूलाई सामान्य रूपमा लिन सिकाइन्छ । मानिसहरू व्यवस्थालाई देशभक्तिसँग जोड्छन र व्यवस्थाविरोधीलाई देशद्रोही या विदेशीको एजेण्ट बनाइन्छ । जङ्गलराजलाई पवित्र रूप दिइन्छ, ताकि पीडित नागरिकहरू आफ्नो दुर्दशालाई नियति सम्झिऊन् ।”
यस्ता कुराहरूले तिमी निराश हुनु हुँदैन । तर जनताबाट अलग दरबारमा बसेर अरूकै निमित्त काम गर्ने र कमिसनको मात्र हिसाब राख्नेहरूको हिसाब तिमीले राख्नुपर्छ किनकि तिमी भोलिको राष्ट्रपति हौ, प्रधानमन्त्री हौ, त्यहाँभन्दा बढी एक असल नागरिक हौ । मनहोहन अधिकारीले भन्नुभएको छ – एउटा प्रधानमन्त्री वा नेता हुनुभन्दा एउटा असल मानिस हुन धेरै गार्हो छ । प्रधानमन्त्री भएर पनि वा मन्त्री भएर पनि असल रहिरहन कम चुनौतीपूर्ण छैन । अब्राहम लिङ्कन भन्नुहुन्छ – कुनै मानिसको चरित्र जाँच्न उसलाई शक्तिमा पुर्याउनु पर्दछ ।
असारे विकास झरी र कोरोना कहरमा पनि रोकिएको छैन । त्यो रोकियो भने गत श्रावणदेखि जेठसम्म मात्र रोकियो । उपभोक्ता समितिका नेताहरू, केही ठेकेदारहरू, पहुँच भएका राजनीतिक पार्टीका नेताहरू, केही कर्मचारीहरू यही असार पर्खेर बसेका हुन्छन् । मजदुरले एकदिनमा आधा हजार कमाउँछ, तर असारे नेता र कर्मचारीले बेहिसाब कमाउँछ । कम्युनिस्ट पार्टीकै कतिपय नेताहरू एक ठाउँको उपभोक्ता समितिमा मात्र बस्दैनन्, अर्कै जिल्ला र प्रदेशका उपभोक्ता समिति, ठेक्का र दलाली पनि सकिनसकी भ्याउँछन् । तिनीहरू नै अझ नम्बरी क्रान्तिकारी र नैतिकवान भएको लामो भाषण गर्छन् । यो प्रवृत्तिले चालिस नाघेका प्रौढहरूलाई मात्रै गाँजेको छैन, चालिस टेक्न थालेका युवाहरूलाई समेत ग्रसित बनाएको छ । बिउ नै किराले खाइदिएपछि समाजवादको कस्तो बिरुवा उम्रिएला ? विषय सोचनीय छ ।
सरकारी योजनाहरी बिक्री हुन्छन् । मन्त्रीका नजिक बसेकाहरू खुलेआम विकासे योजना बाँड्छन् र रकम असुल्छन् । सचिवालयमा बसेका एक जना कमरेडले भन्दै थिए – योजना हालिदिनुपर्छ । काम गर, तिमी पनि खाऊ, हामीलाई पनि देऊ भन्नुपर्छ । पहुँचमा भएकाले आफ्नो घर, पँधेरो, बारीमा सरकारी पैसा खन्याउँछ । लाखौँ, करोडौँ रकम दुरुपयोग हुन्छ । गाउँबाट कमरेडले या कुनै पनि राजनीतिक पार्टीको ठालुले, प्रशासकले कमिसन उठाउँछ, सहरमा निजी सुविधाका निमित्त लगानी गर्छ ।
यो धुन्धुकारी प्रवृत्तिबाट देशलाई, पार्टीलाई र युवालाई जोगाउनु अहिलेको मुख्य कार्यभार हो । कुनै पनि राजनीतिक पार्टी निर्माणको मुख्य प्रस्थानविन्दु यही बन्नुपर्छ । हरेक सरकारी कार्यालयको शुद्धीकरणको मूलबाटो यही बन्नुपर्छ । अन्यथा जति नयाँ कार्यदिशाको कुरा गरे पनि दशा बदलिनेवाला छैन । दलाल पुँजीवादको हिलोले छोपिएको समाजवादको नारा यत्तिकै साकार हुँदैन ।
प्रिय छोरी,
तिमीले केही वर्ष पहिले भनेकी थियौ – बाबा राजनीति भ्रष्ट र गुण्डाहरूको पेशा हो । तपाईंले एक वर्षमा कति भ्रष्टाचार गर्नुहुन्छ ? कति डरलाग्दो कुरा थियो । गाउँघरमा पनि आफ्नो हितविपरीत भइरहेको कामलाई इङ्गित गरेर भनिरहेका हुन्छन् – तपाईं ममाथि राजनीति नगर्नुहोस् । अर्थात् राजनीति भनेको बेइमानी भयो । तर राजनीति न त बेइमानी हो, न भ्रष्टाचार र गुण्डागर्दी जस्तो अपराध हो । यो त समाजलाई अनेक दुःख, अपराध र अत्याचारबाट जोगाउने, अधिकारको समान वितरण गराउने नीति हो । जुन वर्गको हातमा राजनीतिको बागडोर हुन्छ, त्यसको विपरीत वर्गलाई राजनीतिप्रति घृणा जाग्छ । सत्ताधारी वर्गले किशोर र युवावर्गलाई राजनीति नगर्न सुझाव दिन्छ । यो वर्गले सत्ताको आलोचना गर्ने समेत कोही नहोस् भन्ने चाहन्छ । यही चाहनाले राजनीतिक अशिक्षित वर्गलाई जन्म दिन्छ ।
बर्तोल्त ब्रेख्त भन्नुहुन्छ – “सबैभन्दा निकृष्ट अशिक्षित व्यक्ति त्यो हुन्छ, जो राजनीतिक रूपबाट अशिक्षित हुन्छ । ऊ सुन्दैन, बोल्दैन, राजनीतिक सरगर्मीमा भाग लिँदैन । ऊ जान्दैन कि जीवनको मूल्य, सब्जी, माछा, आटा, जुत्ता र दवाईको दाम तथा घरको भाडा । यी सबै कुरा राजनीतिक फैसलामाथि निर्भर हुन्छ .. ” ।
हामीमा राजनीतिक ज्ञान अनिवार्य चाहिन्छ । राजनीतिक सङ्गठन चाहिन्छ । हामीकहाँ यतिबेला राजनीतिक सङ्गठनहरू अराजनीतिक भिड जस्तो भएका छन् । राजनीतिक समस्याको टुङ्गो अदालतले लगाउनुपरेको छ । फासीवाद त जन्मिने होइन भन्ने आशंका बढेको छ ।
हरिशंकर प्रसाईं भन्नुहुन्छ – “फासिस्ट संगठनको विशेषताअनुसार दिमाग नेतासँग मात्र हुन्छ, बाँकी सबै कार्यकर्तासँग शरीर मात्र हुन्छ ।” नेता संगठनको मालिक जस्तो हुनु राम्रो होइन । भुइँमान्छेहरू नेतृत्वमा पुगेपछि निरन्तर भुइँसँग अन्तरक्रियामा रहनुपर्छ ।
छोरी,
तिमी आफ्नी आमाजस्तै सरल र दृढ निश्चयी छौ । हरेक मानिस स्टेफेन कोबेले भनेझैँ परिस्थितिको उपज होइन, आफ्नो निर्णयको उपज हो । तिमी कस्तो बन्ने निर्णय गर्छौ, त्यस्तै बन्छौ ।
छोरी,
तिमी भत्काइएको सिमाना हौ, तोडिएको परम्परा हौ अर्थात् एक नयाँ सुरुआत हौ । तिमीप्रतिको विश्वास सधैँ अजम्बरी फूल बनेर हरेक खडेरीहरूमा फुलिरहनेछ । तिम्रो जीवनले अँध्यारोमा सधैँ उज्यालो देखाउनेछ र भुइँमान्छेहरूलाई हाँस्न सिकाउनेछ । हामी अर्को पत्रमा अरू केही विषयमा कुरा गर्नेछौँ । आजलाई यत्ति नै ।
तिमीलाई माया गर्ने,
बाबा
मिति २०७८/०३/१६ गते ।