जन्म र परिवार
नुवाकोटको तुच्चेमा मेरो जन्म भएको हो – ३ साउन २०१० मा, आमा लेखकुमारी र बुवा भैरवबहादुर बोगटीको कोखबाट । बुवाको ०५१ र आमाको ०६१ सालमा निधन भयो ।
निम्नमध्यम वर्गीय किसान परिवारमा हुर्किएको हुँ म । मेरा हजुरबाले पुराण वाचन, आयुर्वेदिक उपचार, झारफुकको काम गर्नुहुन्थ्यो, खासगरी धर्मशास्त्रप्रति रुचि राख्नुहुन्थ्यो ।
हामी दुई भाइ र तीन बहिनी हौँ । तीन बहिनीमा जेठी मैयाँ र साइली सीता छिन् । बहिनी ज्ञानु र भाइ लोकेन्द्रको अल्पायुमै निधन भयो । निधन भएकी बहिनी ज्ञानुका एकमात्र छोरा थिए सुदीप, जो जनयुद्धका क्रममा सहिद भए ।
विवाह
मेरो विवाह ०३५ सालमा राममाया बोगटी अर्थात् कमरेड उषासँग भयो । उषा ०५५ सालदेखि पार्टीको पूर्णकालीन सदस्य भई राजनीतिमा क्रियाशील छिन् ।
हाम्रा तीन सन्तान भए – एक छोरा, दुई छोरी । छोरो रवि जनयुद्धकै क्रममा सहिद भए, ०५९ सालमा । रवि स्कुले जीवनदेखि नै राजनीतिमा थिए । विद्यार्थी राजनीतिमा हुँदा पटकपटक गिरफ्तार भए । जनसेनाको सेक्सन कमान्डर र एरिया कमिटीमा रही काम गर्दै थिए, २१ वर्षको उमेरमै उनले सहादत प्राप्त गरे । नुवाकोटको त्रिशूलीनजिक रहेको माछापोखरीमा पार्टीले दिएको जिम्मेवारी पूरा गरेर फर्कंदै गर्दा उनलाई धादिङको सत्यदेवीमा तत्कालीन शाही सेनाले घेरा हाली हत्या गरेको हो ।
ठुली छोरी प्रतिभा राजनीतिमै क्रियाशील छिन् । उनको कार्यक्षेत्र दाङ हो । कान्छी छोरी प्रभा पत्रकारितामा क्रियाशील छिन् ।
पारिवारिक पृष्ठभूमि
विपन्न र संयुक्त परिवार भएकाले घरमा विभिन्न समस्या आइरहन्थे । जेठो छोरो भएरै होला, घरको सबै व्यवस्थापन मैले नै गर्नुपर्थ्यो । नुवाकोट, धादिङ र रसुवाको पार्टी इन्चार्ज हुँदासम्म घरका लागि ऋणको जोहो गरेर हिँड्नुपर्थ्यो । पछि बहिनी मैयाँले घरव्यवहार चलाउन थालिन् । र, मलाई केही सजह भयो ।
समाजसेवा
म ०३४ सालदेखि समाजसेवामा लागेको हुँ, क्लबमार्फत् । हाम्रो गाउँमा ‘सुन्दरादेवी युवा क्लब’ थियो, जुन जिल्लामा ठुलै क्लबमा गनिथ्यो । क्लबले सामाजिक रूपान्तरणका अभियान चलाउँथ्यो । मदिरा, जुवा तास लगायत समाजका विकृति हटाउने पहल गर्थ्यो ।
केही वर्षसम्म क्लब राम्रैसँग चल्यो । पछि क्लबमा पञ्चहरू घुसे र विभाजित भयो । त्यसपछि हामीले ‘जनजागृति युवा क्लब’ गठन गर्यौँ, जुन कम्युनिस्ट क्लबका रूपमा चिनियो । क्लबले प्रौढशिक्षा मार्फत महिला साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । मेरी जीवनसंगिनी क. उषा पनि क्लबकै अभियानबाट साक्षर भएकी हुन् । क्लबले निरक्षर महिलालाई सामान्य अंग्रेजी पढ्न सक्नेसम्म बनाएको थियो ।
क्लबले बिहे लगायत सामाजिक उत्सवमा कम खर्च गर्ने, जातिप्रथा हटाउने लगायत सामाजिक रूपान्तरणका कार्यक्रम चलाएको थियो । हामीहरु कपडा नफुकाली जुत्ता लगाएर कपडा खोलेका बाहुनको बिचमा बस्थ्यौँ, कथित तल्लो जातिका घरमा गएर खाना खान्थ्यौँ । बाहुनले हलो जोत्ने अभियान चलायौँ । हुँदै जाँदा क्लब आफैमा सामाजिक र राजनीतिक आन्दोलनका लागि स्थापित भयो ।
गाउँमा चण्डेश्वरी निमावि थियो, मावि बनाउन मैले पहल गरेँ । मावि भएपछि सञ्चालक समितिमा रहेर १२–१३ वर्ष काम गरेँ । हामीले व्यवस्थित किसिमले विद्यालय सञ्चालन गर्यौँ । मैले विद्यालयको नयाँ भवनका लागि आफ्नो जग्गा दिएँ । चण्डेश्वरी निमावि उच्च मावि हुँदै अहिले बहुमुखी क्याम्पस हुन पुगेको छ ।
अध्ययन
मैले चण्डेश्वरी प्राथमिक विद्यालयबाट अध्ययन सुरु गरेको हुँ । औपचारिक शिक्षामा मैले ८ कक्षा मात्रै उत्तीर्ण गरेको हुँ । ७ सम्म त्रिभुवन त्रिशूली उमावि (अहिलेको क्याम्पस) मा अध्ययन गरेँ । त्यतिबेला ८ कक्षामा दुइटा परीक्षा (वार्षिक र अर्धवार्षिक) हुन्थ्यो । आर्थिक समस्याका कारण वार्षिक परीक्षा दिन पाइनँ । आमा बिरामी पर्नुभएको थियो, आमाको उपचारमा खर्च भएकाले मैले स्कुलको शुल्क तिर्न सकिनँ । भैरवी माध्यमिक विद्यालयबाट प्राइभेट परीक्षा दिएर ८ पास गरेको हुँ ।
मैले युवावस्थादेखि नै धार्मिक ग्रन्थहरू अध्ययन गर्थें, तर आलोचनात्मक ढंगले । मेरो सोच्ने तरिका भौतिकवादी थियो । मैले पुराण, महाभारत, कृष्णचरित्र, भागवत गीता आदि घरमै अध्ययन गरेको हुँ । जति अध्ययन गर्दै गएँ, उति नै धार्मिक ग्रन्थहरूमाथि मेरो आलोचनात्मक दृष्टिकोण फराकिलो बन्दै गयो ।
त्यसपछि रजनीकान्त शास्त्रीको ‘हिन्दु धर्मको उत्थान र पतन’, राहुल सांकृत्यायनको ‘साम्यवाद के हो ?’ भन्ने पुस्तक पढ्न पुगेँ । यसले मलाई गाउँका पण्डित पुरोहितहरूसँग आलोचनात्मक बहस गर्नसक्ने बनायो । मेरा वैज्ञानिक र तर्कपूर्ण विचारका अगाडि उनीहरू नाजवाफ हुन्थे । किनकि उनीहरूको अध्ययन शास्त्रीय र भक्तिवादी थियो । हामीले पूर्वीय दर्शनका पुस्तकालय बनाएका थियौँ । त्यसो गर्दा कतिपयले मलाई नक्कली धर्मशास्त्र पढाउन थाल्यो पनि भने ।
जेल बस्दा मार्क्सवादी अध्ययन अलि व्यवस्थित रूपमा गरेँ । युद्धकालीन अवस्थामा योजना बनाएर पढ्दापढ्दै हिँड्ने, हिँड्दाहिँड्दै पढ्ने गरिन्थ्यो । नयाँ विषयमा प्रशिक्षण दिन बृहत रूपमा पढ्नुपर्ने हुन्थ्यो । कुनै विषय नीतिगत रूपमा पास भएपछि त्यसबारे बुझाउन पढ्नुपर्थ्यो । गहिरो शास्त्रीय अध्ययनभन्दा पनि आन्दोलन अगाडि बढाउन आवश्यक अध्ययन गर्ने गर्छु । सैद्धान्तिक, राजनीतिक अध्ययनसँगै साहित्यमा पनि रुचि लाग्छ । लेखहरू कमै लेख्छु । समसामायिक लेखसँगै १–२ वटा सांस्कृतिक लेख पनि लेखेको छु ।
भारततिर भौँतारिँदा
कीर्तिपुरमा प्राथमिक शिक्षकको नर्मल तालिम लिँदालिँदै आर्थिक अभाव भयो । त्यसपछि ममा सेनामा भर्ना हुने सोच आयो र भारत लागें । सेनामा भर्ना हुन नसकेपछि साढे तीन वर्षसम्म डुलुवा भएर धेरै ठाउँमा काम गरेँ ।
जागिर
भारतबाट ०३० सालमा फर्केपछि ०३४ सम्म भेडाफार्म र ०३४ जेठबाट ०३७ सम्म त्रिशूलीको माछापोखरीमा सरकारी जागिर खाएँ । ०३७ सालदेखि ०४३ सम्म गाउँमै साना किसानको घरेलु उद्योगमा व्यवस्थापक भएर अस्थायी जागिर खाएँ । माछापोखरीको जागिर सरकारी भए पनि ०३६ सालको जनमतमा बहुदलको खुला प्रचारमा लागेँ ।
सम्पत्ति
पार्टी काममा लागेपछि भएका जग्गाहरू बेच्दै परिवार चलाउँदै गरेँ । अहिले सात–आठ रोपनी पाखो र एक रोपनी दोयम खेत छ । केन्द्रीय कमिटीको निर्णयअनुसार पार्टीकरण भएको छ । अहिले पार्टीले उपयोग गरिराखेको भने छैन । गाउ“मा नजिक सैनिक क्याम्प थियो । त्योबेलामा गर्न सक्ने स्थिति पनि भएन । केन्द्रीय कमिटीले त सबै केन्द्रीय सदस्यको सम्पत्ति पार्टीकरण गर्ने भनेको छ ।
राजनीति
भौतिक परिस्थिति, पारिवारिक, सामाजिक पृष्ठभूमि सबै मिलेकाले मेरो अवधारणा पनि कम्युनिस्ट नै बन्यो । ममा कम्युनिस्टप्रतिको आस्था ०२५ सालतिर नै थियो । कम्युनिस्ट शासनमा धनी—गरिब समान हुन्छन् भन्ने बुझेँ, यही बुझाइले नै मलाई कम्युनिस्ट बनायो ।
०२६ सालतिर कीर्तिपुरमा प्राथमिक शिक्षकको तालिम लिन आएको थिएँ, त्रिभुवन विश्वविद्यालयको चुनाव देखेँ । शिक्षा क्याम्पसको हलमा चुनावी भाषण थियो । त्यसमा अखिलबाट बालमुकुन्द खरेल (अध्यक्ष), सीताराम मास्के (महासचिव), नेविसंघबाट शेरबहादुर देउवा (अध्यक्ष) प्रतिस्पर्धामा उत्रिएका थिए । त्यो देखेपछि सुरुको बुझाइ अझ सुदृढ र मजबुत बन्यो । त्यसैबेला शम्भुराम श्रेष्ठले दिएको एउटा वैचारिक काममा सहभागी भएँ । ०३४ सालको आखिरमा पुष्पलाल समूहमा संगठित भएँ । तर, ०३५/३६ सालको संघर्षमा धोका दिएपछि त्यो समूह छाडिदिएँ । अनि, क्रान्तिकारी पार्टीको खोजीमा लागेँ र ०३२ सालको अन्तमा संयुक्त चौममा आबद्व भएँ । जिल्ला समिति नुवाकोटको संयोजक हुँदै जिल्ला सेक्रेटरी भएँ । ०४० सालमा चौम फुट्दा मशालको पनि जिल्ला सेक्रेटरी नै भएँ ।
जेल
०३६ सालमा एक रात हिरासत बसियो । ०४१ सालमा गाउँमा ठुलै झगडा भयो, जो छुरीकाण्डले चर्चित भयो । राजनीतिक रूपमा मलाई पूर्वाग्रह साँधेर ज्यान मार्ने उद्योगको मुद्दा लगाइयो । दशैँको नवमीको दिनमा मलाई पक्रेर मुद्दा नठहरिएपछि भाइटीकाको दिन छाडियो ।
०४२ सालको बमकाण्डमा घरबाटै पक्राउ परेँ । जिल्ला पार्टीको सेक्रेटरी थिएँ । जिल्लामा एक खालको राजनीतिक छवि बसिसकेको थियो । चण्डेश्वरी स्कुलका लागि शिक्षक खोज्ने क्रममा राम कार्कीसँग सम्पर्क भयो र लिएर गएको थिएँ । तुप्चेमा राम कार्की, दिलीप चौधरी, अमर श्रेष्ठले पनि पढाउनुभएको थियो ।
दिलीपलाई ०४२ सालको बमकाण्डपछि पक्राउ गरी हनुमानढोकामा लगी मारियो । त्यो काण्डमा हाम्रो गाउँबाट मात्र म लगायत ११ जना र जिल्लाबाट गणेश पण्डितसहित २७ जना पक्राउ परेका थियौँ । मानसिक यातना धेरै दिए पनि शारीरिक यातना त्यति दिइएन ।
७ चैत ०४६ मा काठमाडौँ मिटिङमा जाने खबर लिएर विवेक कमरेड जिल्ला आउनुभएको थियो । हतारमा बसमा आएँ । मलाई प्रहरीले ककनीबाट समातेर सदरमुकाम लग्यो । तीन दिन हिरासत राखेर जेल चलान गर्यो । एक महिनासम्म जेलमा राखेर बहुदलको घोषणा पश्चात् छाड्यो ।
प्रचण्ड प्रभाव
अध्यक्ष प्रचण्डसँग पहिलो भेट ०४१ सालको पाँचौँ महाधिवेशनमा भएको हो । म पनि नुवाकोटबाट प्रतिनिधि भएर महाधिवेशनमा सहभागी भएको थिएँ । उहाँ केन्द्रीय कमिटीमा हुनुहुन्थ्यो । औपचारिक चिनजान त भएन तर महाधिवेशनमा प्रचण्डले विषय प्रस्तुत गरेको देखेर निकै प्रभावित भएँ । त्यहाँ मोहनविक्रम सिंहसँग संगठनात्मक सवाल थियो । प्रचण्डले त्यसलाई सैद्वान्तिकीकरण गरेर तार्किक ढंगले प्रस्तुत गरेपछि निकै प्रभावित भएँ । पछि ०४३ सालमा पार्टी विभाजत भई मशाल र मसाल हुँदा म जेलैमा भए पनि ‘मशाल’तिर नै लागेँ ।
जिम्मेवारी
असार ०४३ मा जेलबाट छुटेपछि सोही असोजमा युवक संगठनको राष्ट्रिय सम्मेलन थियो । त्यो सम्मेलनमा क. प्रचण्डले अध्यक्ष छोड्नुभयो । सम्मेलनले यज्ञ घिमिरेलाई अध्यक्षमा चुन्यो । म केन्द्रीय सदस्यमा चुनिएँ । त्यसपछि क्षेत्रीय ब्युरो सदस्यमा मनोनित भएँ । त्यसपछि पूर्णकालीन सदस्य नै भएँ । ०४५ सालको अन्तिमतिर केन्द्रीय समितिमा आएँ । एकतापछि पार्टी संयोजन समिति बन्ने क्रममा फेरि क्षेत्रीय समन्वय समितिमा आएँ । ०४८ सालको एकता महाधिवेशनपछि पुन: केन्द्रीय समितिमा चुनिएँ । महाधिवेशनपछिको बैठकले मलाई कर्णाली इन्चार्ज तोक्यो । त्यसलगत्तै भेरी र कर्णालीलाई एउटै उपब्युरो बनाइएपछि त्यसको पनि इन्चार्ज भएँ ।
जनयुद्ध थाल्ने क्रममा पश्चिमलाई, राप्ती, भेरी–कर्णाली र सेती–महाकाली उपक्षेत्र बनाइयो । त्यसको क्षेत्रीय ब्युरो एउटै बन्यो । पश्चिम क्षेत्रीय ब्युरो संगठनको इन्चार्ज बादल हुनुहुन्थ्यो । म त्यसको सदस्य र भेरी कर्णाली उपक्षेत्रीय ब्युरो इन्चार्ज थिएँ । चैत ०५३ मा बादलजी कारबाहीमा परेपछि पार्टीले मलाई पश्चिम क्षेत्रीय ब्युरो इन्चार्ज बनायो । ०४८ देखि ०६४ भाद्रसम्म मैले पश्चिममै काम गरेँ ।
चुनवाङ बैठक (०६१ असोज) बाट गण्डक ब्युरो, राप्ती ब्युरो, भेरी–कर्णाली ब्युरो र सेती–महाकाली ब्युरो गरी चारवटा ब्युरो मिलाएर बनाइएको पश्चिम कमान्डको इन्चार्ज भएँ । त्योभन्दा अगाडि पश्चिममा दुई कमान्ड थियो । गण्डक र राप्ती कमान्डको इन्चार्ज लालध्वज हुनुहुन्थ्यो । म सेती–महाकाली र भेरी–कर्णाली कमान्डको इन्चार्ज थिएँ । यो पार्टीको चर्चित दुई लाइन संघर्षभन्दा अगाडिको कुरा हो । पछि संयुक्त भयो, पुन: गण्डकदेखि महाकालीसम्म एउटै कमान्ड भयो । मध्यपश्चिमको कमान्ड इन्चार्ज बनेँ ।
ती क्षण
पार्टीले बनाएका योजनाका उपलब्धि प्राप्त हुँदा खुसी लाग्यो । तर, सुरुमा पश्चिमको जाजरकोट, रुकुम र डोल्पाको सीमानजिकै रारालिही प्रहरी चौकीमा विजय घलेको सहादत हुँदा अति भावुक र दु:खित भइयो । रामेछापको बेथानमा तीर्थ गौतम, गोर्खामा वासु र रोल्पाको जिनावाङमा क. सुनीलजस्ता होनाहार साथीहरूको सहादत हुँदा बढी नै भावुक भइनेरहेछ ।
०५५ सालमा अध्यक्ष क. प्रचण्ड, म, क. महरा, क. अनन्त, क. विप्लव, क. सुरेश सिंहलगायत साथी भेक ब्युरोको बैठक सम्पन्न गरी रोल्पामा प्रशिक्षण कार्यक्रममा जाँदै थियौँ, सुरक्षामा रहेका साथी बिच नै ठिक ढंगले कोर्डिनेसन नहुँदा आपसमा फायर गर्नुभयो । त्यो एउटा नबिर्सने घटना भयो । एउटा साथी तल, अर्को माथि हुँदा पासवर्ड र कोर्ड भाषा नै मिलेन छ ।
०५६ सालमा क. अनन्त, क. सुरेश सिंह, क. पासाङलगायत हामी जनसेनाको एक टुकुडीसहित कर्णालीको कार्यक्रममा जाँदै थियौँ, रोल्पाको एउटा घरमा ओत लिएका थियौँ । अनन्तजी सेभिङ गर्न तल ओर्लनुभयो । हामी बसिरह्यौँ । सुरेश सिंहजीहरू चेस खेल्दै हुनुहुन्थ्यो । बच्चाले हामी बसेको माथिल्तिर ग्रिनेडको पिन थुतिदिएछ । हामीलाई थाहा भएन । खरर्र फ्युज बलेपछि हेर्दा त ग्रिनेड चार्ज भइराखेको, करिब १५–२० सेकेन्ड मात्र बाँकी थियो पड्कन । हामी हेर्दै थियौँ, बडो रोमाञ्चित भएर । १५–२० सेकेन्डमा ग्रिनेड नजिकै पड्कँदै छ, भनी पर्खंदाको क्षण अत्यन्तै रोमाञ्चक हुँदो रहेछ । हेर्दाहेर्दै त्यो ड्याम्म पड्कियो ।
म्याग्दीको बेनी आक्रमण तयारीका लागि क. पासाङसहित पश्चिम कमान्डका कमान्डरको मिटिङमा म पनि थिएँ । हामी बस्दाबस्दै दुश्मन नजिकै आएपछि भिडन्त भयो । कमान्डरहरू आफ्नो कमान्ड सम्हाल्न जानुभयो । हामी अलि वर सर्यौँ । भोलिपल्ट पनि त्यहीँनजिकै पुन: भिडन्त भयो ।
त्यस्तै, १ फागुन ०६१ मा अध्यक्ष प्रचण्डसँग रोल्पाको एक गाउँमा कुराकानी गरिरहेका थियौँ । शाही सेनाले हामीले सेल्टर लिएर बसेको नजिकै चार–पाँच ठाउँमा बमबारी गर्यो । ५ गते दिउँसो जनयुद्धको वार्षिक मेला लागेको थियो । कुरेलीको खरिबोटबाट हामी गण्डक जान लागेका थियौँ । हामी त्यहाँ पुगेर खाजा खाँदाखाँदै हेलिकप्टरबाट फायरिङ भयो । हामी कभरमा गएर बच्यौँ । त्यसअगाडि त्यहाँ ८१ एमएमको मोटरबम हानेको थियो ।
एकपटक जाजरकोट हुँदै भेरी–कर्णालीमा प्रशिक्षण थियो । क. प्रभाकर, क. सुदर्शन, क. विविध क. जितलगायत भेरी–कर्णालीका क्षेत्रीयस्तरका सबै नेतृत्व पंक्ति र सेती–महाकालीका पनि साथीहरू हुनुहुन्थ्यो । त्यो प्रशिक्षण एक्सपोज भएछ । प्रशिक्षण दिँदादिँदै गोलाबारी गर्यो । एचएमजी फायर र ८१ एमएम पनि प्रहार गर्यो । हामी विभिन्न ठाउँमा कभर लिएर बसेकाले खासै क्षति भएन ।
०६२ मा सेती महाकालीको प्रशिक्षणमा पनि लोकेसन पत्ता लगाएर खुब फायरिङ गर्यो । हामीलाई थाहा थिएन तर बल्लबल्ल बाँचिएको रहेछ । त्यही प्रशिक्षणमा जाँदा सुर्खेतको गुटुमा बास बसेर बिहान ६ बजे हिँडियो । म त्यहाँ पुगेको थाहा पाएर हेलिकप्टरबाट सेना उतारेछ । तर, म त्यहाँबाट एक दिनअगाडि हिँडिसकेको थिएँ ।
०६२ मा बुटवल आक्रमणमा फिल्डमै थिएँ । क. प्रभाकर र म विजयपुर डाँडामा सँगै थियौँ । फिल्डमा धेरै नगएर पनि पश्चिममा भएका सबै महत्त्वपूर्ण फौजी कारबाहीको वैचारिक राजनीतिक रूपले योजना निर्माणमा संलग्न भएको छु । लडाइँको प्लान कमान्डरहरू बनाउनुहुन्थ्यो र कमान्डिङ गर्नुहुन्थ्यो । नीतिगत रूपमा ‘यसपटक यसरी आक्रमण गर्ने’ भनेर योजना कमान्डमा नै गरिन्थ्यो ।
व्यावहारिक पक्ष
म आफूलाई व्यावहारिक नेता हुँ भन्न मन लाग्छ । मैले पार्टी नीति, लाइन र योजनालाई इमानदारीपूर्वक प्रयोग गर्ने र विषयलाई सरल ढंगले लैजाने काम गरेँ । लामो समय पार्टीमा काम गर्दाको अनुभवमा अहिलेसम्म कसैसित व्यक्तिगत विवाद भएन । तर, वैचारिक अडान भने कायम नै हुन्थ्यो । केन्द्रीय मिटिङमा सामान्य ढंगले प्रस्तुत हुन्थे । व्यावहारिक उदाहरण दिएर वर्गीय पक्षधरताको अडान लिन्थे । मेरो भूमिका मुख्यत: सबैलाई समायोजन गरेर लैजाने हुन्थ्यो । भइसकेका निर्णय लागु गर्न विशेष जोड रहन्थ्यो ।
स्वभाव
अलि नरम र मिलनसार छु जस्तो लाग्छ । आफ्नो कारणले कसैको चित्त नदुखोस् भन्ने लाग्छ । सिधा, सरल र सामाजिक प्रकारको नै छु जस्तो लाग्छ । विचारबाट हेर्दा समाजका अन्याय अत्याचारविरुद्ध विद्रोह गर्ने खालको नै भएँ । सामाजिक बन्धन, संस्कार तोड्ने क्रममा धेरै विद्रोह गर्नुपर्यो । तर, मान्छेहरूसँग सहज रूपमा छलफल गर्ने र विषयलाई जटिल बनाउनेतिर कहिल्यै गइनँ ।
कहिलेकाहीँ हरेक विषयलाई अति सरलीकृत गर्दा समस्या त आउला तर द्वन्द्ववादी ढंगले हेर्दा विषेशताहरू आफैँमा सीमा पनि हुन् । सबैसँग राय/सुझाव लिएर समस्या हल गर्ने भएकाले पनि साथीहरूसँग सामूहिक रूपमा काम गर्न सजिलो भयो । विषयलाई जनवादी तरिकाले औपचारिक र अनौपचारिक दुवै ढंगले लैजाने गर्छु । पश्चिममा एक सय एक क्षमतावान् साथीहरूलाई समायोजित गरेर अगाडि बढाउने कोसिसमा केही समस्या त हुने भए । तर, कहिल्यै मतभिन्नता भएन । सधैँ एक ढिक्का भइयो । केन्द्रीय कमिटीको बैठकमा सहभागी बन्दा आन्दोलनलाई असर पार्छ जस्तो लाग्ने सवालमा छलफल गरेर आफ्नो मत राखिन्थ्यो । समग्र र व्यापकतामा भन्ने हो भने एकता गरेरै जानुपर्छ भनेर प्रस्तुत हुने गर्थें ।
हामीलाई मालेमावाद र प्रचण्डपथले सिकाएको पाठ भनेकै एकतालाई केन्द्रबिन्दुमा राखेर सैद्धान्तिक अडान राख्ने भन्ने हो । विगतमा पार्टीभित्र तीव्र संघर्ष भए पनि एकतालाई केन्द्रबिन्दुमा राखिएकाले दायाँबायाँ हुन पाएन । विचार र वर्ग संघर्षको चेतनाले गर्दा पार्टी फुट्नु, टुट्नुपर्छ भन्ने कुरा पश्चिममा कहिल्यै आएन । एकता संघर्ष, रूपान्तरण मुख्य रूपान्तरण भन्ने प्रचण्डपथीय मान्यतालाई पश्चिमले गम्भीरतापूर्वक पक्रियो ।
वर्गसंघर्ष र आन्दोलनलाई केन्द्रबिन्दुमा राखेपछि जतिसुकै समस्या आए पनि हल गर्न कठिन नहुने रहेछ । एकले अर्कालाई पछार्ने खेल भए पो गाह्रो हुन्छ । जनवादी ढंगले छलफल गरेपछि सबैको सहभागिता हुने र सामूहिक निर्णय बन्न पुग्छ र त्यो वैज्ञानिक पनि हुन्छ ।
रुचि/दिनचर्या
मासु अलि मिठो लाग्छ । तर, अहिले कम खान थालेको छु । बिहान साढे चारदेखि ५ बजेको बिचमा फुर्सद मिल्दा योगाभ्यास गर्छु । ठाउँ मिल्दा आधा–एक घन्टाजति हिँड्छु । सामान्य शारीरिक अभ्यास गर्छु । ७–८ बजेबाट काममा जान्छु । दिनमा कुनै न कुनै बेला समय मिलाएर थोरै पढ्छु । तर नियमित छैन, असाध्यै भद्रगोलको जीवन छ हाम्रो । राति १०:३० बजे सुत्छु ।
विद्यार्थी जीवनमा फुटबल खुब मन पर्थ्यो । फुटबल खेल्दा ओठ काटेर टाँका नै लगाएको छु । कहिलेकाहीँ चेस खेल्छु । हेर्न पनि मन पर्छ । लोकगीत अति मन पर्छ । लोकगीतको धुनप्रति अहिले पनि आकर्षित हुन्छु । गीतको अर्थभन्दा पनि स्वर, ताल, लयले आकर्षित गर्छ । मुख्यत: हाम्रै पार्टीका सांस्कृतिक परिवारले निकालेका जनवादी गीत मन पर्छ । यदाकदा सामाजिक फिल्महरू हेर्छु । ‘भगतसिंह’, ‘रङ दे वसन्ती’, ‘बलिदान’, ‘दिलजले’ (कास्मिरी घटना) ‘लालसलाम’ आदि जनताको मुक्तिसँग जोडिएका र सामाजिक टाइपका फिल्म हेरेको छु । नेपाली ‘बलिदान’, ‘आगो’ हेरेको छु ।
कुन नेता मन पर्छ
अध्यक्ष प्रचण्डलाई मन पराउनुको कारण उहाँको विचार नै हो । नेपालमा सशस्त्र संघर्षलाई अगाडि बढाएर लैजाने क्रममा उहाँले विषयवस्तुलाई नयाँ तरिकाले सोचेर युद्धमा जान लगाउनुभएको हुटहुटीले प्रभाव पार्यो । उहाँमा मान्छेहरूलाई स्वाट्टै प्रभाव पार्ने क्षमता छ । शैली र प्रस्तुतिमा जति भाव व्यक्त हुन्छ, त्यो त्यति नै जीवन्त, रसपूर्ण र आकर्षक पनि छ । विचारलाई सकारात्मक बनाएर प्रस्तुत गर्न सक्ने क्षमता छ उहाँमा । सबै कुरा उहाँप्रति नै केन्द्रित बनाउनुहुन्छ शैलीबाट । त्यो कला, क्षमता, व्यक्तित्व र संगठन गर्ने क्षमतामा उहाँ सबैभन्दा कुशल हुनुहुन्छ ।
उहाँ सबै प्रकारको नेता हुनुहुन्छ । पहिला पनि थुप्रै संगठनमा काम गर्नुभयो । अहिले पनि उहाँको तहबाट पार्टीलाई कम्युनिस्ट आन्दोलनमा ध्रुवीकृत बनाएर लैजानसक्नु आफैमा संगठनको एक प्रक्रिया हो । उहाँ राजनीति, रणनीति र कार्यनीतिको विकास गर्न तथा कुशल सैन्य कमान्डरको भूमिका खेल्नसक्ने बहुप्रभावशाली नेता हुनुहुन्छ । उहाँले जनयुद्धको पहिलो पुस्तालाई ०४५ सालमै गोरखाको सिरानचोकमा सैन्यतालिम दिनुभएको थियो । ०५२ सालमा जनयुद्वका देशभरिका थालनीकर्तालाई पनि उहाँले नै तालिम दिनुभयो । बम बनाउने, थ्रिनट–थ्री चलाउने तालिम उहाँले नै दिनुभएको थियो । सैन्य विकास र धेरै योजना उहाँ नै बनाउनुहुन्थ्यो । मुख्य घटना (आक्रमण) हुँदा उहाँलाई जानकारी दिएपछि त्यहाँको स्थितिअनुसार कमान्डिङ गर्नुहुन्थ्यो ।
उहाँ कुशल दार्शनिक हुनुहुन्छ । शास्त्रीय किताब नै नलेखिएको भए पनि दर्शन र द्वन्द्ववादलाई बुझेर प्रयोग गर्ने सवाल अनि क्रमभंग, धक्का, छलाङको मान्यतालाई प्रयोग देश, दुनियाँको सोच नै बदल्ने काम अध्यक्षबाट भए । उहाँ विषयलाई घनीभूत र तिखो तरिकाले प्रस्तुत गर्नुहुन्छ ।
त्यसो त हाम्रा धेरै नेता आ-आफ्नो ठाउँमा प्रभावशाली नै हुनुहुन्छ । क. किरण, क. बाबुराम, क. बादल, आ-आफ्ना क्षेत्रमा दक्ष नेता हुनुहुन्छ । बादलजी मिलनसार, संयोजन गर्नसक्ने कुशल संगठक र विषयलाई अभियानात्मक ढंगले प्रस्तुत गर्नसक्ने हुनुहुन्छ । क. सिपी गजुरेल ‘गौरव’ पनि एउटा शीर्षस्थ ‘मासलिडर’ नै हुनुहुन्छ । समग्रमा हाम्रा शीर्ष नेताहरूको सक्षम र कुशल टिम छ । युवा नेताहरूको पनि सशक्त टिम तयार भएको छ ।
पुष्पलाल श्रेष्ठ योग्य र वैचारिक नेता हुनुहुन्थ्यो । विचार नमिले पनि मदन भण्डारी पनि प्रभावशाली नेता हुनुहुन्थ्यो ।
दिवाकर नै किन ?
पार्टीभित्रको चर्चित नाम रवि नै थियो । क. अध्यक्ष, क. किरण, क. गौरव, क. देव गुरुङ, क. असारे, क. महराहरू रवि नै भनेर बोलाउनुहुन्छ । दिवाकर आफैले राखेको नाम हो । आफ्नो स्वभावअनुसार मलाई सूर्य मनपर्छ । पछि छोराको नाम पनि रवि नै भयो । त्यसैले दिवाकर राखेँ ।
(अखिल नेपाल किसान संघ (क्रान्तिकारी)का पूर्वअध्यक्ष समेत रहनुभएका क. पोष्टबहादुर बोगटी ‘दिवाकर’को प्रस्तुत आलेख २०६४ सालमा ‘पहल’ साप्ताहिकमा प्रकाशित साम्रगीको सम्पादित अंश हो, हामीले यसलाई पोष्टबहादुर बोगटी स्मृतिग्रन्थबाट लिएका हौँ – सम्पादक ।)