कमरेड पुष्पलाल, Comrade Pushpa Lal, क. पुष्पलाल, नेपाल कम्युनिस्ट पार्टीको पहिलो घोषणापत्र
 

नेपालको समकालीन राजनीतिमा कमरेड पुष्पलाल को दृष्टिकोण, निष्ठा र समर्पण नेपाली जनताको मुक्ति र समुन्नतिका निमित्त केन्द्रित रहेको प्रष्टै देखिन्छ । उहाँले ग्रहण गरेको मार्क्सवाद, लेनिनवाद र माओविचारधारा आजका चालु नेताहरूकोजस्तो सस्तो नेतागिरी छाँट्न, निक्कै जानेको छु भन्ने आडम्बर देखाउन र पण्डित्याइँ प्रदर्शन गर्नका निमित्त पटक्कै थिएन, बरू नेपाली समाजको अग्रगामी आमूल सामाजिक परिवर्तनका निमित्त थियो भन्ने कुरा उहाँको अथक संघर्षले देखाउँदछ । सिद्धान्त सिद्धान्तको निमित्त होइन, यसलाई जनता र राष्ट्रको जीवनमा परिवर्तन ल्याउने शक्तिशाली हतियारकोरूपमा रूपमा पुष्पलालले ग्रहण गर्नुभएको थियो र तदनुकूल आफ्नो राजनीतिक यात्रालाई अविश्रान्त अघि बढाउनु भएको थियो ।

वास्तवमा कमरेड पुष्पलाल ले संयुक्त जनआन्दोलनको जुन नीति अख्तियार गर्नुभएको त्यो आफूले अंगीकार गरेको मार्क्सवादी-लेनिनवादी सिद्धान्तलाई व्यवहारमा उतार्ने, जनतालाई जगाउने र परिवर्तनको बाटोमा अग्रसर गराउने एउटा अमोघ अस्त्र थियो र हो । त्यो नीतिको आधार तत्कालीन वस्तुस्थितिको आधारमा वर्गीय विश्लेषणको निचोड नै थियो ।

त्यसैले उहाँले अघिसारेको संयुक्त जनआन्दोलनको नीति केवल एउटा कोरा नीति मात्र थिएन, त्यो परिवर्तनको प्रभावकारी औजार थियो । जसले समाजमा राजनीतिक, आर्थिक, समाजिक र सांस्कृतिक परिवर्तन ल्याउन सबै परिवर्तनकामी शक्तिहरूलाई एक ठाउँमा खडा गर्ने रसायनको काम गर्दथ्यो । वस्तुतः उहाँले अघिसारेको यो नीति मार्क्सवाद-लेनिनवाद र माओ विचारधारालाई व्यवहारमा उतार्ने कार्यनीतिकै महत्त्वपूर्ण अंश र आधार थियो । जुन बाटो नहिँडिकन समाजलाई अग्रगति दिनै सकिँदैनथ्यो भन्ने कुरा नेपालमा अहिलेसम्म सचेतरूपमा चलेका संयुक्त जनआन्दोलनहरूले प्रष्टसँग औँल्याएका छन् । यसप्रकार पुष्पलालको यो नीति एकैचोटि वर्गीय मोर्चा र राजनीतिक मोर्चालाई एकै दिशातिर अभिमुख गराउने र हिँडाउने माध्यम पनि थियो । जुन कुराको पुष्टि नेपालको २०१७ अघि ०८ सालतिर जातीय जनतान्त्रिक मोर्चा (त्यसबेला ‘राष्ट्रिय’ शब्दलाई ‘जातीय’ भनेर अभिव्यक्त गरिन्थ्यो) र ०१७ पछिका महत्त्वपूर्ण र ऐतिहासिक आन्दोलनहरू – २०३६ सालको संयुक्त विद्यार्थी आन्दोलन, २०४६ सालमो संयुक्त जनआन्दोलन र २०६२/६३ सालको व्यापक संयुक्त जनआन्दोलनहरूले एकपछि अर्को पुनर्पुष्टि गरिसकेका छन् र गरिरहेका छन् ।

वास्तवमा यस वस्तुगत यथार्थले कमरेड पुष्पलालको ‘नेता होइन, नीतिप्रधान’ हुन्छ भन्ने कुरालाई पनि सत्य साबित गरेको छ । उहाँ व्यक्तिवादको विरुद्ध हुनुहुन्थ्यो र हमेशा पुष्पलाल भन्ने गर्नुहुन्थ्यो कि नेताहरु त मञ्चमा आउँछन्, जान्छन् तर सही नीति हमेशा कायम रहन्छ । उहाँले यस्तो निचोड निकालेर नीतिको कुरा गर्दा वर्गीय नीतिको कुरा गरेको हुन्थ्यो, कुनै निरपेक्ष नीतिको कुरा होइन । उदाहरण दिँदै उहाँ भन्ने गर्नुहुन्थ्यो – वेद व्यास छैनन् तर वेद छ । बुद्ध छैनन् तर बुद्धको विचार छ, रूसो छैनन् तर उनको ‘सामाजिक सम्झौताको सिद्धान्त’ छ । त्यसरी नै मार्क्सवादका प्रणेता – मार्क्स र एंगेल्स छैनन् तर अजेय मार्क्सवाद आज हामीसँग छ । नेताहरूको योगदान र भूमिकाको अवश्य महत्त्व छ र हुन्छ । उनीहरू हमेशा कायम रहन सक्तैनन् तर उनीहरुको विचार कायम रहन्छ ।

Lok Narayan Subedi, लोकनारायण सुवेदी
लेखक

कमरेड पुष्पलालको एक मात्र ध्याउन्न देश र जनताको हितमा सही नीति प्रतिपादन गर्नु र त्यसलाई व्यवहारमा खरो उतार्नु रहेको थियो । यसैका लागि नेपाली जनआन्दोलनका सबल र दुर्बल पक्ष केलाउन र सहीलाई अझ समृद्ध तुल्याउन तथा गलतलाई घटाउन र हटाउन उहाले ‘नेपाली जनआन्दोलनः एक समीक्षा’ लेख्नुभयो ।

त्यसक्रममा उहाँले नेपालको सन्दर्भमा राष्ट्रियता र जनवादको नवीन परिभाषा दिँदै ‘लाखौँलाख झोपडीहरूको एकता नेपालको सन्दर्भमा राष्ट्रियता हो भने ती झोपडीहरूको हकहित जनवाद’ हो भन्ने कुरा प्रष्टसँग औँल्याउनु भयो । यो नेपाललाई सचेत र उन्नत किसिमले राजनीतिक एकीकरण गर्ने र सुदृढ बनाउने कुरा हो र थियो भन्ने प्रष्टसँग बुझ्न सकिन्छ । यो कुराले नेपाली जनता नै वास्तविक परिवर्तनका सम्वाहक हुन् र उनीहरूको सक्रिय भूमिकाबिना आमूल सामाजिक परिवर्तनको कुनै अर्थ छैन र हुँदैन भन्ने अर्थपूर्ण शिक्षा पनि दिन्छ । त्यसैले पुष्पलालले जनचेतना निर्माणलाई ठुलो महत्त्व दिनुभयो र जनताका दैनिक जीवनका सवाललाई लिएर तलैदेखि उठेको आन्दोलनमा जोड दिनुभयो । त्यसले कुरालेभन्दा कामले जनतालाई बढी चाँडो र सही किसिमले सचेत र सक्रिय तुल्याउँदछ भन्ने कुरामा उहाँ बढी विश्वस्त हुनुहुन्थ्यो ।

कमरेड पुष्पलाल केवल एउटा सिद्धान्तवादी निष्ठावान व्यक्तित्व मात्र हुनुहुन्थेन, उहाँ त सिद्धान्तलाई व्यवहारमा खरो उतार्ने र त्यस आधारमा संगठनलाई क्रियाशील र सबल बनाउने कार्यमा निरन्तर दत्तचित्त भएर लाग्ने व्यक्तित्व हुनुहुन्थ्यो । त्यसैले उहाँले ‘तीन ‘स’ को सिद्धान्त’ अर्थात् ‘संघर्ष, संगठन र सिद्धान्त’लाई एक अर्काका परिपूरकका रूपमा निरन्तर क्रियाशील तुल्यारहनु भयो । उहाँ हमेशा पार्टी क्लासहरूमा भन्ने गर्नु हुन्थ्यो कि सिद्धान्तबिनाको संगठन र संघर्ष अन्धो हुन्छ र संगठनबिनाको सिद्धान्त र संघर्ष पनि लङ्गडो हुन्छ । त्यसैगरी सिद्धान्त र संगठनबिना त संघर्षले सही दिशा र गति नै पाउँनै सक्तैन । त्यसैले यी तीन ‘स’को आ-आफ्नै ठुलो महत्त्व छ र ती एकअर्काका परिपुरक हुन् । एकबिना अर्कोको अस्तित्वको कुनै अर्थ हुँदैन भन्ने उहाँको एकदमै प्रष्ट धारणा थियो ।

सिद्धान्तको कुरा गरिरहँदा कमरेड पुष्पलालले मार्क्सवाद-लेनिनवाद र माओ विचारधारालाई एउटा जडसुत्रवादी रटना-जपनाको रूपमा नलिएर त्यो सैद्धान्तिक विचारधारालाई एउटा गतिशील र मार्गदर्शन गर्ने प्रकाश स्तम्भकोरूपमा बुझाउनु भयो र व्यवहारलाई अर्थात् परिवर्तनलाई बाटो देखाउँने औजारकोरूपमा बुझ्नु, बुझाउनु भयो । विचारधारात्मक संघर्षको कुरा गर्दा उहाँ हरहमेशा ‘वादे वादे, विवादे च जायते तत्वबोध’ भन्ने संस्कृत वाक्यलाई दोहोर्‍याउने गर्नुहुन्थ्यो र कुनै पनि विषयमा तर्क–प्रतितर्कले नै सही निष्कर्षमा पुग्न मद्दत पुग्ने द्वन्द्वात्मक नियम प्रयुक्त गर्नुहुन्थ्यो । प्रकृति र समाजका अधिशासित नियम (Governing law of nature and society) बारम्बार उहाँले उल्लेख गर्ने गर्नुहुन्थ्यो ।

पुष्पलालको एउटा अर्को सबैभन्दा महत्त्वपूर्ण पक्ष उहाँको निरन्तर अध्ययनशीलता हो । समकालीन नेपाली राजनीतिमा तुलनात्मकरूपमा उहाँको जत्तिको नेपाली समाजको गहिरो अध्ययन अरू कमैले मात्र गरेका थिए होलान् । उहाँको अध्ययनको मूल विषय नै नेपाली जनताको गास, बास, कपासको समस्या थियो । जनताले आफ्नो आजीविकाको समस्या कसरी हल गरिरहेका छन् र उनीहरू विकासको कुन चरणबाट गुज्रिरहेका छन् भन्ने कुरामै उहाँको सम्पूर्ण राजनीतिक अध्ययनकेन्द्रित थियो र हुन्थ्यो ।

मार्क्सवाद-लेनिनवाद र माओ विचारधारालाई नेपाली धरातलीय यथार्थका आधारमा प्रयुक्त गर्न के, कसरी सकिन्छ ? यही नै उहाँको अध्ययनको मूल विषय हुन्थ्यो र विद्यमान यथास्थितिलाई फेरेर समाजलाई अग्रगति प्रदान गर्ने दिशाबोध गर्नु उहाँको अध्ययनको प्रयोजन थियो । त्यसैले अलिकति समय पायो कि उहाँ कहिले कलकत्ताको ‘नेशनल लाइब्रेरी’ मा गम्भीर अध्ययनमा लागेको पाइनुहुन्थ्यो कि दिल्लीको ‘सप्रु हाउस’ या बनासरकै स्थानीय पुस्तकालय जहाँ विश्व र नेपालका लागि पनि पठनीय पुस्तक र पाठ्य सामग्री पाइने गर्दथे । समय पायाे कि उहाँ अध्ययनरत रहने गर्नुहुन्थ्याे । उहाँले नेपालमा पनि कार्यकर्ताहरूलाई मदन स्मारक पुस्तकालय पाटनढोका र राष्ट्रिय पुस्तकालय तथा विश्वविद्यालयका पुस्तकालयहरूमा गएर अध्ययन गर्न सुझाव दिनुहुन्थ्यो । जसले नेपालको इतिहास, संस्कृति र भूगोल पढेको र बुझेको हुँदैन, नेपाली जनताको आजीविका कसरी चलेको छ, त्यसको गहिरो अध्ययन गरेको हुँदैन, उसले नेपालको आमूल अर्थ-राजनीतिक परिवर्तनमा कसरी योगदान दिन सक्तछ र ? भन्ने गम्भीर प्रश्न उठाउँदै सबै कार्यकर्ताहरूलाई अध्ययन गर्न प्रेरित गर्नुहुन्थ्यो । खासगरी उहाँले नेपालमा किसान वर्गको समस्या हल नगरी नेपालको राष्ट्रिय मुख्य मुद्दा नै हल हुँदैन भन्ने कुरामा जोड दिएर जगदीशचन्द्र रेग्मीले अंग्रेजीमा लेखेका किताबहरू ‘ल्याण्ड टेन्युर एण्ड ट्याक्सेशन सिस्टम इन नेपाल’ अर्थात ‘नेपालमा भूमि र कर व्यवस्था’ लगायतका महत्त्वपूर्ण सन्दर्भ सामाग्रीहरू अध्ययन गर्न र विचार बनाउन विशेष जोड दिनुहुन्थ्यो ।

समग्रमा पुष्पलालको क्रान्तिकारी जीवन सबैका लागि एउटा प्रेरणास्पद र विश्वासिलो जीवन त छँदैथियो नै, त्योभन्दा बढी आमूल सामाजिक परिवर्तनको दिशामा अत्यन्तै हुटहुटिएर केन्द्रित भएको र त्यस प्रयोजनका लागि आजीवन सक्रिय रहेको अनुकरणीय प्रेरणापुञ्ज बनेको जीवन थियो । त्यसैले नै उहाँका अनुयायीले भन्दा पनि आज उहाँको छिचरो र अनर्गल किसिमले विरोध गर्ने तथाकथित कम्युनिस्ट नामधारीहरूले नै उनको मूर्ति र फोटो पूजाआजा गरेर आफूलाई पुष्पलालको असली उत्तराधिकारी भएको भ्रम छर्ने गरेका छन् । त्यो हिजो पनि स्वार्थवश गरिएको विरोध र प्रताडना थियो भनेको आजको पूजा पनि स्वार्थवश गरिएको यथार्थ खुलस्त भइसकेको र भइरहेको छ । कमरेड पुष्पलालको अविश्रान्त क्रान्तिकारी जीवनको सारतत्त्वलाई समाप्त पारेर आवरणको पूजाआजा गर्ने औसरवादीहरूको बिगबिगीलाई नचिरेसम्म नेपालको कम्युनिस्ट आन्दोलनले भ्रमबाट मुक्ति पाउन सक्नेछैन ।

अनि नेपाली शोषित पीडित जनताले पनि वर्गीय शोषण र सामाजिक उत्पीडनबाट कदापि मुक्ति पाउने छैन । यो आजको कटु यथार्थ कुरा हो । देशका शोषित पीडित जनता राष्ट्रको मुक्तिको बाटो देखाउने यस्ता महापुरुष कमरेड पुष्पलालको जन्म १५ असार १९८१ सालमा रामेछाप जिल्लाको भँगरी गाउँमा भएको थियो ।

(लेखक नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक हुनुहुन्छ।)