देश, जनता, पार्टी र आन्दोलनमा भर्खरै प्रतिगमनको तुवाँलो हटेको छ । अदालतको सही फैसलापछि प्रतिगामी प्रतिक्रान्तिकारी शक्तिले घुडाँ टेकेर संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगिएको छ । देश अब संविधानतः विधि र पद्धतिअनुसार चलाउन अग्रगमनको दिशा सोझिएको छ ।
प्रतिगमन र प्रतिक्रान्तिले टाउको उठाउने खतरा भने अझै टरिसकेको छैन । विधि र पद्धतिलाई टाउकाले टेकेर उल्टो हिँडाउन दुश्प्रयत्न गर्ने दक्षिणपन्थी अतिवादलाई उल्ट्याएर खुट्टाले टेकाउँदै विधि र पद्धति सुल्टो बनाएर हिँडाउन अदालत र अग्रगामी लोकतन्त्रवादी र क्रान्तिकारी शक्तिहरू सफल भएका छन् । केही दिन पहिलेसम्म आफूलाई अजरअमर सत्तासिन ठानिरहेका प्रतिगमनका नाइकेहरू विक्षिप्त मात्र भएका छैनन्, मुर्छित अवस्थामा जनताको बहुमत हामीसँगै छ भन्दै बर्बराइरहेका छन् । प्रतिगामी दक्षिणपन्थी अतिवाद पुनः टाउको उठाउन नयाँ दाउपेचका छिद्रहरू खोज्न थालेको छ । केपी ओली टाउकाले टेक्नुलाई अग्रगमन ठान्छन्, खुट्टाले टेकेर हिँड्नुलाई प्रतिगमन देख्छन् । उनको यो सोच, चिन्तन र व्यवहार सामन्ती व्यक्तिपूजा र दक्षिणपन्थी अतिवादमा आधारित सोच हो ।
७० वर्षपछि नेपाली कम्युनिस्ट आन्दोलनले प्राप्त गरेको सफलता दुईतिहाइ जनमत, पार्टी एकता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र नै समाप्त गर्ने घोर गल्ति र कुकर्म गरी त्यसको फल स्वयम् आफूले भोगिसक्दा पनि केपी ओलीमा कुनै पश्चाताप छैन । उनी सत्ताको कुर्सीबाट हट्नुको कुण्ठामा मुर्छित भएर अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालप्रति छुद्र, घटिया, अराजनीतिक गालीगलौजमा लागिरहेका छन् । ओली प्रवृत्ति कम्युनिस्ट आन्दोलनभित्रबाट जन्मिएको सामन्तवादी व्यक्तिवाद र दक्षिणपन्थी अतिवाद नकरात्मक प्रवृत्ति हो । पार्टीमा ओली प्रवृत्तिको प्रदूषित जिवाणु जीवित छ र त्यो जीवाणुबाट बच्न र बचाउन व्यक्ति स्वयम्मा आत्मसंघर्ष र पार्टीभित्र अवसरवादी प्रवृत्तिसँग अन्तरसंघर्षद्वारा क्रान्तिकारी प्रवृत्तिमा बदल्दै व्यक्ति सुद्धीकृत हुने र पार्टीलाई सुदृढ गर्नु अनिवार्य छ ।
ओली प्रवृत्ति कम्युनिस्ट आन्दोलनभित्रको विघटन र विभाजनकारी एकलकाटे सोच मात्र होइन, यो विध्वङ्शकारी र विसर्जनवादी सोच पनि हो । प्रतिक्रान्तिकारी प्रवृत्तिलाई तेजोबध गर्दै क्रान्तिकारी प्रवृत्ति हाबी भइरहन सकेन भने प्रतिक्रन्तिकारी प्रवृत्तिले टाउको उठाउने अवसर पाउँछ । वर्तमान गठबन्धन पार्टीहरू, मुख्यतः हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र)का सामु ओली प्रवृत्तिको बाछिटाबाट जोगाउन लगन, निष्ठा र परिश्रमका साथ जनजीवनसँग प्रत्यक्ष जोडिएका कामहरू सल्ट्याउन पर्छ ।
माओवादी केन्द्रका नेता-कार्यकर्ताहरूले निःस्वार्थ त्याग, निष्ठा र समपर्णको मार्गमा एकपटक तँछाड र मँछाड गर्न होडबाजी गर्न सक्ने कि नसक्ने ? यसैमा कम्युनिस्ट आन्दोलन समाजवादको भविष्य अन्तरनिहित छ । अहिले मन्त्री कसले पाउने, कसले नपानउने भन्ने विषय सहायक विषय हो । दक्ष, योग्य र इमान्दार, इमान-जमानमा टिक्ने पार्टी नेता-कार्यकर्ता जसलाई पठाउँदा पार्टी आन्दोलनको हित हुन्छ, उसैलाई पठाइदिनु सही हुन्छ । प्रमुख विषय त अहिले पार्टी नेतृत्वको मेहनत र कौशलताबाट प्राप्त राजनीतिक उपलब्धिको पहलकदमीलाई संगठनको शक्तिमा बदल्न पार्टी संगठनलाई सुदृढ र विस्तार गर्नु प्रमुख विषय हो । आधारभूत श्रमजीवी वर्गलाई संगठित गरेर पार्टी संगठन बलियो बनाउन पहिलो काममध्येको एक प्रमुख काम हो । पार्टीको भागमा पर्ने ४-५ जना मन्त्री को-को पर्छन् ? पार्टी नेतृत्वले स्वविवेक प्रयोग गर्न दिनुपर्छ । मन्त्री भएर आउने साथीहरूलाई जनताको पक्षमा राम्रो काम गर्न सही सल्लाह र सुझाव दिँदै पूर्णतः सहयोग गर्नुपर्छ । त्यो मोर्चामा क्रान्तिकारी निष्ठासहितको कार्यकुशलता भएका साथी जाऊन् भन्नेसम्मको चिन्ता ठिक होला ? सामूहिकताबिना समाजवादको कल्पना सम्भव होला र ?
पार्टीको विचार, कार्यदिशा र कार्यक्रम लिएर जिल्ला, नगर/गाउँ/ वडा/टोल र घरघरमा जान ढिला नगरौँ भन्ने विषयमा चिन्ता सही होला । पार्टीलाई जतामा फर्काउन जोड गर्ने कुरा सही होला । जनताको बिचमा बसेर जनसेवाका रचनात्मक काम गर्ने क्रान्तिकारीहरूसँग वर्तमानले खोजेको माग होला ।
माओवादी नेता-कार्यकर्ता पहिलाकोझैँ घरघरमा आएर दुःख सुखसँग साथी बनेको हेर्ने जनचाहना पूरा गर्ने दायित्व पहिलो होला । गाउँ र जिल्लाबाट सिंहदरबारलाई जोड्ने काम गर्दै जनतामा उत्साह पैदा गर्नतिर लागौँ । दिलदिमाग भित्रैबाट वर्गप्रेम र जनतालाई मायाँ गरौँ । पार्टीलाई बलियो बनाउन लागौँ । ओली प्रवृत्तिको सिकार हुनबाट आफू बचौँ । साथीलाई बचाउन लागौँ । अर्थात् लाग्छु भन्ने प्रण गर्छु ।
(लेखक नेकपा माओवादी केन्द्र) का नेता हुनुहुन्छ ।)