पूर्व प्रधानमन्त्रीज्यू,
लाल सलाम !
हामी पूर्ण सचेत छौँ । अहिले तपाईंको प्रतिगमन बालकोटको बार्दलीमा थन्किन पुगेको छ । मुलुक बिस्तारै संविधानसम्मत र विधिविधानअनुसार अग्रगमनको मार्गमा हिँड्न थालेको छ । क्रान्ति र प्रतिक्रान्तिको बिचको संघर्ष सकिएको छैन । तपाईंले संस्थागत गर्न खोजेको जनताको रगत, पसिना र आँसुबाट प्राप्त संविधानमाथि निरङ्कुश अधिनायकवादी प्रतिगामी कदम सफल हुन नसक्दा तपाईं क्रोध र अहंकारले अझ विछिप्त हुनुहुन्छ ।
सम्मानित सर्वोच्च अदालतले संविधानको रक्षागर्दै संसद पुनर्स्थापना गरिदिएकोमा तपाईंमा जलन, कुण्ठा र प्रतिशोध, बदलाको भावना अझ चुलिएको छ । जनयुद्धलाई कुहिएको फर्सीको उपमा दिएर माओवादी आन्दोलनले स्थापित गरेका एजेण्डा सिध्याउने तपाईंको घायल कपटी नियतमा मलमपट्टी गर्न घाइते तथा अपाङ्ग योद्धाहरू ओली एमाले कार्यलय धाउँदैनन् । महान् जनयुद्धका सेनानीहरू, घाइते, अपाङ्ग योद्धाहरूको इमान र निष्ठा खरिद गर्न पद, प्रतिष्ठा, सेवा, सुविधा र पैसाको पोको देखाएर प्रतिगमनको गलपासोमा पर्दैनन् ।
मुक्ति वा मृत्युको कसम खाएर राष्ट्र र सर्वहारा श्रमजीवी जनताको मुक्तिका लागि वर्गसंघर्षमा हेलिएका हामी योद्धाहरूलाई सबैभन्दा पहिला अग्रगमन प्राणप्रिय छ । विचार, निष्ठा, इमान, जमान प्यारो छ । मुक्ति वा मृत्युको सपथ खाएर आएका हिजो जनयुद्धका योद्धाहरू आज संघीय गणतन्त्र सिध्याउन प्रतिक्रान्तिको मतियार बन्दैनन् ।
हाम्रो उपचार सुरक्षा, संरक्षण, रेखदेखप्रति हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) संवेदनशील र जवाफदेही रहदै आएको छ । हामी हाम्रै महान् पार्टी र नेतृत्वप्रति पूर्ण विश्वास र भरोसा गर्छौं ।
ओलीजी, तपाईंको बनावटी र कपटी कृतज्ञताको कुनै आवश्यकता हामीलाई छैन । लोकतान्त्रिक गणतन्त्रका महान् सेनानी योद्धाहरू हामीलाई पटक-पटक अपमानित गर्ने दुष्प्रयास छाडेर आफ्नैभित्रका सुखानी र अरू संघर्षका योद्धाहरू र तिनका परिवारहरूको हालत के छ ? व्यवस्थापनमा लाग्दा बेस होला ।
(लेखक नेकपा (माओवादी केन्द्र) का नेता तथा जनयुद्धका घाइते योद्धा हुनुहुन्छ । तस्वीरः केपी ओली प्रधानमन्त्री हुँदा माइतीघरमण्डलामा अनसनमा बसेका जनयुद्धका घाइते योद्धाहरू जसलाई केपी ओलीको निर्देशनमा लाठीचार्ज गर्दै थप घाइते बनाइएको थियो तर क. प्रचण्डको दबाबपछि दमन रोकी र सहमति गरिएको थियो, जसलाई केपी ओली र उनका पिछलग्गु वादलले लागु गरेनन् ।)