कार्ल मार्क्स, karl marx, karl h. marx
 

मार्क्स राक्षस हो ? कि भूतप्रेत हो ? तर असाध्यै डर लाग्छ । डर यतिसम्म लाग्छ कि अहिले पनि लागिराखेको छ । मार्क्स जस्तो महान् विचारकलाई मैले ऊ किन भनेँ हुँला, अपमान किन गरेँ हुँला, कम्तीमा उनीसम्म त भन्नु पर्ने भनेर पनि डरै लागेको छ ।

बोल्न खोज्यो, लेख्न खोज्यो, दश चोटि सोच्नुपर्छ र पनि भन्न मन लागेको कुरा भन्न सकिँदैन । कुरा चिप्लिँदै चिप्लिँदै अर्कै अर्कै भएर बेग्लै रङमा त्यो अन्तै पुग्छ । आक्रोशबाट कुरा सुरु भएको छ भने भित्रभित्रै बदलिँदै बदलिँदै बाहिर मुखमा आउने बेलामा त्यो सन्तोष बन्छ र कुरा सिध्याउने बेलासम्म आइपुग्दा त्यही आक्रोश प्रशस्तिमा फेरिइसक्छ । यस्तो बारम्बार हुने गरेको छ । रिसाउन आएको म ढोगेर फिर्ता भएको छु ।

मार्क्सलाई चिन्ने रहर त गरेँ तर सकिनँ । ऊ यति उज्यालो, यति कडा र चम्किलो भएर मेरो अगाडि आयो कि मेरा आँखाले कामै गरेनन् । ज्योति थेग्न नसकेर चस्मा हल्लियो, म तर्सिएँ । देख्दै बाबाजी जस्तो, त्यो पनि मरिसकेको दारीवाल बुढासँग म तर्सिएको हुँ ?

तर म आन्द्रैदेखि, नाभिदेखि नै तर्सिएको छु । सातो गएको बच्चा जस्तो भित्रैदेखि निर्वाक् भएको छु । आँखा खुलै छन् तर होस ठाउँमा नभएको जस्तो । उसले जे जे देखायो, त्यही त्यही देख्ने र त्यही त्यही मात्रै देख्ने । वशीभूत भएको जस्तो । कहिलेकाहीँ अर्कै देखेँ भने पनि मैले देखेको भएन होला जस्तो लाग्ने । आफ्नै आँखाले देखेकोमा पनि विश्वास नहुने । मैले देखेको एकपक्षीय भयो होला, द्वन्द्वात्मक भएन होला जस्तो बारम्बार लागिरहने ।

Madhav Dhungel
लेखक

जस्तो, सहिद बन्ने–बनाउने कुरा । मलाई यो गलत जस्तो लाग्छ तर बनाउनेले बनाइराखेकै छन् । क्रान्तिकारी कविहरू सहिदको अमरताका बारेमा कविता लेख्छन् । सहिद बन्ने क्रम रोकिने हो भने धेरै सुन्दर कालजयी कविताहरूले जन्मिने मौकै पाउँदैनन् । महान् कविहरू महान् हुनै नपाई मर्छन् । सहिद भएकै कारण हामीले महान् कवि र महान् कविताहरू प्राप्त गरेका छौँ । नेताहरू सहिदको सपना भनेर कसम खान्छन् । कार्यकर्ता र आम मानिसहरू सहिदलाई महान् भनेर श्रद्धाञ्जली गर्छन् ।
मलाई भने सहिदहरूसँग डर लाग्छ । उनीहरूसँग ठट्टा मजाक गर्ने आँट आउँदैन । कहीँ सहिदहरू रिसाउने हुन् कि ? तिनको मन दुख्ने पो हो कि ? सहिद भन्नु मर्नु होइन नि, ऊ त बाँचेकै छ । स्मृतिहरूमा, आत्म स्वरूप । जसरी बाँचेका नेताहरूले भौतिक रूपमा शासन गर्छन्, त्यसै गरी सहिदहरूले नैतिक रूपमा गरिराखेका छन् । सहिद बनाउनु भनेको अर्को शासक थप्नु हो । नत्र उनीहरूसँग डराउनु पर्ने किन ? त्यसैले सहिद नबनाउन पाए हुन्थ्यो भन्ने लाग्छ, तर यी सबै व्यवहार देखेपछि, मनमा लाग्दालाग्दै पनि, म सहिद बनाउने काम गलत हो भन्न सक्तिनँ । चित्त बुझ्दैन, तर पनि सहिद बन्नु र बनाइनु ठिकै रहेछ भनेर मान्नै पर्छ । यत्रा बुद्धिजीवीले कुरा बुझेरै त गरेका होलान् । मसँग तर्क छैन ।

राम्रा भनिएका कवि भूपीले पनि त्यही भने । बन्दैन मुलुक दुई चार सपूत मरेर नगए । मलाई विश्वास लाग्यो, दुई चार जना सहिद नभई देश बन्दो रहेनछ । देश बनाउनु छ भने सहिद बनाउनु अनिवार्य रहेछ । मैले कहिल्यै सोधिनँ, देश बन्नु भनेको के हो ? नसोधे पनि मलाई थाहा छ, देश भनेको सहिदहरूको माला हो । मैले थाहा पाउनै पर्छ, आज हाम्रो देश जस्तो बनेको छ, सहिदहरूका कारणले बनेको हो किनभने सहिदहरू दुई चार होइन, हजारौँको सङ्ख्यामा हामीले बनाएका छौँ ।

मेरो हृदयले सोध्छ, बनेको देश भएर पो यस्तो छ, नबनेको भए हाम्रो हालत कस्तो हुन्थ्यो ? यहाँ आएपछि मेरो दिमाग एक्कासि सन्किन्छ र बौलाउन खोज्छ । त्यस्तो बेलामा मलाई यो हाम्रो मात्रै होइन, कुनै पनि देश नबनेको भए पनि हुन्थ्यो जस्तो लाग्छ । पृथ्वीमा एउटा सानो नै सही, त्यस्तो ठाउँ होस्, जहाँ कुनै देश छैन । शासन व्यवस्था, पुलिस प्रशासन, न्यायालय छैन । मन्त्री प्रधानमन्त्रीहरू छैनन्, राजस्व छैन, कर र भन्सारहरू छैनन् । जहाँ व्यवस्था नामको केही पनि छैन । तर यो कुरा ठुलो स्वरले भन्न सक्दिनँ । किनभने विद्वान्हरूले देश चाहिन्छ, व्यवस्था चाहिन्छ भनेका छन् ।

म त्यो कुरा भन्न सक्दिनँ, कम्तीमा ठुलो स्वरले त भन्नै सक्दिनँ जुन कुरा दार्शनिकहरूले भनेका छैनन् । मलाई रिस उठ्छ, बारम्बार रिस उठ्छ तर यो कुरा अरूलाई सुनाउनुभन्दा पहिले मैले सोच्नु पर्छ । ज्ञानीहरूले रिसाउनु हुँदैन भनेका छन् । रिसाउनु पर्दा मैले सङ्कोच मान्नु पर्छ । मलाई आत्महत्या गर्नु अपराध होइन जस्तो लाग्छ तर यो कुरा सबैलाई सुनाउन डर मान्नु पर्छ । किनभने आत्महत्या गर्ने कामलाई विद्वान्‌हरूको समर्थन छैन । कहिलेकाहीँ त लाग्छ, ए बाबा, बाँच्ने इच्छै नुहुँदा, मनै नहुँदा पनि मर्न किन नपाउनु ? तैपनि पाइँदैन । आत्महत्या गर्न मिल्दैन रे । जबर्जस्ती दुःख पा । यो पनि कुनै न्याय हो ? अर्काको जिन्दगी मिल्यो कि मिलेन भनेर समीक्षा गर्न बसेका यहाँ विद्वान्‌हरू छन्, न्यायाधीशहरू । र तिनको समीक्षा वा फैसलासँग तर्सेर मर्न पनि डराउने फेरि म छु । यसरी एउटा संसार बनेको छ । मरेपछि पनि मलाई कसैले केही भन्लान् कि ? नैतिक त्रासमा बाँचिरहेकाहरूको डरैडरको भव्य संसार ।

हो, कहिलेकाहीँ बाँच्ने तरिका नमिल्न पनि सक्छ । तर त्यो नमिलेको जीवनको पहिलो अनुभव उसैलाई हुन्छ जसले त्यो बाँचेको छ । ऐँसेलु म खान्छु भने स्वाद पनि मलाई नै थाहा होला । तर वास्तविकता यस्तो छैन । जुनार खाने म हुन्छु तर स्वाद कस्तो छ भनी जान्न मैले बुद्धिजीवीको मुख ताक्नु पर्छ । उसले कस्तो छ भनिदिने हो । उनीहरूले भनेको भनेको जस्तो गरी बाँच्यो भने मेरो जीवन राम्रो हुन्छ रे । बाँच्ने म, भोग्ने म, अनुभव गर्ने म । तर मेरो जीवन कसरी राम्रो हुन्छ भन्ने बारेमा जान्दै नजान्ने पनि म । खाने म, स्वाद भन्ने उनीहरू । उनीहरूले भनिदिन्छन्, तेरो बाँच्ने तरिका मिलेन । म पत्याउँछु । बस्, यही त भइराखेको छ ।

सँगै बाँचेको साथीले तेरो जीवन मिलेन भनेको भए पनि एउटा कुरा । यहाँ त मरेका मानिसहरू न्यायाधीश छन्, उनीहरूले भनिदिन्छन्, बाँचेको मिल्यो कि मिलेन । अरे भाइ, तँ तेरो तरिकाले बाँचिस्, म मेरै तरिकाले बाँचेको छु, यस्तो पनि भन्न पाइँदैन । उसले सोचेकै जस्तो गरी बाँच्नु पर्छ । जिज्ञासा हुन्छ, उसकै जस्तो बाँच्न त मेरो पनि उसैको जस्तो बुद्धि हुनुपर्ने होला नि । उसकै जस्तो अनुभव र ज्ञान भएको भए म उसैले जस्तो बाँच्दो हुँ ।

मार्क्सको ज्ञान अनुभव एउटा थियो, उसले उसैको अनुसार बाँच्यो । माओवादी नै भने पनि प्रचण्डको र माओको मिल्छ त ? कसैको कोहीसँग मिल्छ ? माधे ढुङ्गेलको अर्कै छ, अर्कै ढङ्गले बाँच्छ । के त्यो गल्ती भयो ? तिम्रो, मेरो, अर्काको अनुभव भिन्न छ भने जीवन भिन्न हुन पाउँदैन र ? तर पाइँदैन । म क्रान्तिकारी हुनै पर्छ । मैले समाजको चिन्ता लिनै पर्छ । मलाई थाहा छ, मैले चिन्ता लिएर संसार बन्दैन । न शोषण रोकिन्छ, न अपराध वा लुट । न प्रकृति बाँच्छ न न्याय । यो विशाल संरचनाको म कति सानो हिस्सा हुँ भन्ने मलाई हेक्का छ ।

तर मार्क्सका उत्तराधिकारीहरू भन्छन्, सबैले त्यही ठान्ने हो भने संसार बदलिन्छ कसरी ? म भन्छु, बदलिनु किन पर्‍यो ? सबैलाई भइराख्या छ त । सबै हाइसन्चोमै छन् । सुकुटी चपाएकै छन्, मोबाइल चलाएकै छन्, नपुग्दो के छ ? तिमीहरू जो जो भएन भन्नेहरू छौ, तिमीहरूले बदल ।

उनीहरू मान्दैनन् । किनभने यस्तो निराशावादी कुरा गतिला विद्वानहरू कसैले पनि गरेका छैनन् । विद्वान्‌हरूले त मनोबल बढाउने कुरा मात्रै गरेका छन् । हिम्मत गर तिमीले जे पनि सक्छौ भनेका छन् । संसारले बदलिनु छ र बदल्ने हात तिमै्र हुनेछ भन्ने भविष्यवाणी गरेका छन् । त्यसैले यहाँ धेरैलाई आशा छ, कतै ती हात मेरै पो हुने हुन् कि । मैले त्यो आशा राखिनँ भनेर उनीहरू मलाई भन्छन्, “तँ बिग्रिस् ।”

म बिग्रिएँ क्या, मलाई बिग्रिन मन लाग्यो । बिग्रिन नपाउने ? मलाई म पहिले बनेको थिएँ भन्ने लागेन क्या । त्यस्तो हुन पाउँदैन ? मेरो सीमित बुद्धि छ, सीमित अनुभव छ, सीमित ज्ञान छ । मैले सोचेको तरिकाले संसार बन्दैन भन्ने म आफैँलाई थाहा छ । दश वर्षअगाडि म जस्तो सोच्थेँ, पाँच वर्ष अगाडि मेरो सोचाइ धेरै बदलिएको थियो । पाँच महिनाअगाडिको जस्तो आज म सोच्दिनँ । हरेक चोटि मलाई पहिलेको कुरा गलत थियो, अब बल्ल बुझेँ जस्तो लाग्दै आएको छ । म पहिले बिग्रेको थिएँ कि अहिले बिग्रँदै छु भन्ने मैले नै बुझेको छैन । मैले जस्तो जस्तो सोचेँ, त्यस्तै त्यस्तै समाज बन्दै गएको भए आज यो संसार यत्तिको पनि बाँकी हुने थिएन भन्ने मलाई परेको छ । आजको भन्दा पनि धेरै नराम्रो, नजाती हुने रहेछ । मैले हिजो सोचेको जस्तो नभएर संसार केही त बचेछ ।

उनीहरू ‘तँ जस्तो मान्छे’ भन्छन् । मलाई थाहा छ, म केही होइन । उनीहरूलाई पनि थाहा छ, यो बजारमा मेरो दुई कौडीको मोल छैन । तैपनि भन्छन्, तँ जस्तो मान्छे । एजेन्ट बिमा गराउन धाएको जस्तो पो छ । मलाई छोडिदेऊ भनेर पनि भन्छु । तैपनि छोड्दैनन् । मैले सुहाउने कुरा गर्नु पर्‍यो रे । सुहाउने कुरा के हो त भन्यो भने उनीहरू कोटेसन झिक्छन्, निरासाका बारेमा मार्क्सले यसो भन्नुभएको छ । व्यक्ति र समाजको सम्बन्धका बारेमा लेनिनले यसो भन्नुभएको छ ।

एकचोटि त झोकै चल्यो र सोधेँ, “मेरो घरमा मोबाइल मात्रै चलाइरहने छोराछोरी छन्, धेरै रहर भएकी श्रीमती र बाबुआमा छन् । तिनका बारेमा पनि मार्क्सले केही भन्नुभएको छ ?” उनीहरूले उत्साहित हुँदै भने, “छ त, एङ्गेल्सले भन्नुभएको छ, परिवार र निजी सम्पत्तिका बारेमा उहाँको पुस्तकै छ, पढेको छैनस् ?”

छैन । तर छैन भन्नु अपराध गरेको जत्तिकै हुन्छ । बारम्बार लाग्छ, यो मार्क्स भन्ने कुपात्रलाई प्वाक्क प्वाक्क किन बोल्नु परेको होला ? मैले नबोल्दा नलेख्दा पनि त भएकै छ । उसलाई किन अनेक थरी लेख्नु परेको होला ? ऊ मरिसकेको मान्छे हो, तैपनि मलाई दुःख दिन छोड्दैन । मार्क्सले भन्नुभएको छ भनी भनी मानिसहरू ममाथि शासन गर्छन्, मलाई बारम्बार हराउँछन्, लज्जित पार्छन् । फेरि त्यो राक्षसले के लेख्यो, के बोल्यो, बुझिसाध्य छैन । भएको कुरामा गाली गर्छन् कि आफैँ बनाएर पनि मार्क्सको नाम राखेर गाली गर्छन् तर मानिसहरू मेरो अपमान गर्नु पर्दा, मलाई लज्जित र पराजित तुल्याउनु पर्दा बारम्बार मार्क्सको नाम सम्झाइराख्छन् । मार्क्सभन्दा पनि जान्ने बुझ्ने त म होइन, मार्क्सको म सुन्नासाथ मेरो सातो जान्छ । मार्क्स तिनीहरूको राजदण्ड हो, जसलाई देखेपछि म त्यसै त्यसै तर्सेर उनीहरूबाट शाषित हुन चुपचाप राजी हुन्छु ।

कहिलेकाहीँ त लाग्छ, त्यो मार्क्स भन्ने मान्छे नजन्मेकै भए पनि हुन्थ्यो । उसको अशान्त अतृप्त ज्ञान काँचो वायु बनेर देशदेशान्तर भड्किएको छ । भड्किएको आत्मा राँके भूत भएर बाँचेका मानिसहरूलाई तर्साउँदै छ । अन्तिम संस्कार पशुपतिमा ल्याएर गरेको भए सायद मार्क्सको आत्माले शान्ति पाउँथ्यो कि ? तर यतातिर हाम्रा राजनीतिक गुरुहरूको ध्यान कहिल्यै गएन, न त पण्डा पुजारीहरूले नै यसमा चासो लिए ।

(लेखक ढुंगेल प्रगतिशील साहित्यकार तथा पर्यावरणीय कृषिका अभ्यासकर्ता किसान हुनुहुन्छ ।)