काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको चौतारा-साँगाचोकगढी नरगपालिकामा कफी खेती गर्ने किसानहरूका लागि २ दिने कफी खेती तथा प्रशोधन सम्बन्धी तालिम प्रदान गरिएको छ।
चौतारा-साँगाचोकगढी नगरपालिकाको कृषि शाखाद्वारा मंगलबारबाट आयोजित २ दिने तालिममा २४ जना नगवबासी किसानहरू सहभागी भई व्यावसायिक कफी खेती, प्रशोधन र उपयोग सम्बन्धी तालिम तथा प्रशिक्षण लिएका छन् । तालिम निकै प्रभावकारी रहेको र नगरपालिकाले कफी प्रशोधन गर्ने मेशिन सहयोग गरेमा अझ सहयोग पुग्ने प्रशिक्षार्थीहरूको भनाइ रहेको छ ।
चौतारा-साँगाचोकगढी नरगपालिका प्रमुख प्रशासकीय अधिकृत दुर्गाप्रसाद ढुंगेलले बुधबार तालिमको समापन समारोहलाई सम्बोधन गर्दै नगरपालिकामा कफी खेतीको सम्भावना निकै राम्रो रहेकोले व्यावसायिक रूपमा यसलाई अगाडि बढाउन तालिममा सहभागीहरूलाई अनुरोध गर्दै पछिल्लो समय बाँदर र बँदेलले अन्य बालीमा दुःख दिइरहेको अवस्थामा कफी खेती उत्कृष्ट विकल्पको रूपमा रहेको बताउनु भयो ।
यसरी नै कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाको कृषि शाखा प्रमुख रामहरि दाहालले सानो लगानीमा कफी खेती गरी आम्दानीको नियमित स्रोत बनाउन सकिने भएकोले कफी खेतीका लागि नगरपालिकाले थप कार्यक्रमहरू ल्याउने विश्वास दिलाउनु भएको छ ।
सिन्धुपाल्चोक कफी सहकारी संघका अध्यक्ष मन्जु थापा र शान्ति र विकासका लागि कफी बारिस्ता सिप तथा कृषि फर्मका अध्यक्षले सहभागीहरूलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकामा प्रमुख र उपप्रमुख नेकपा (माओवादी केन्द्र) को तर्फबाट निर्वाचित हुनुहुन्छ ।