२०३९ सालमा हामी विद्यार्थी छँदा विराटनगरमा हामीले तिहारमा देउसी खेलेका थियौँ । अखिल छैठौँ नेकपा (चौथो महाधिवेशन) सँग आबद्ध थियो र अखिल पाँचौँ नेकपा (माले) सँग आबद्ध । अखिल पाँचौँ जनवादी र अखिल छैठौँ जनतान्त्रिक देउसी खेल्थ्यौँ । जनवादी र जनतान्त्रिक शब्दमा हामी निरर्थक बहस गर्थ्यौं । दुवै विद्यार्थी संगठनको पार्टीलाई निस्वार्थ सहयोग र समर्थन हुन्थ्यो । त्यसो त विराटनगरमा अरु संगठन र स्वतन्त्रहरू पनि देउसी खेल्थे । सबैको देउसी खेल्ने मूल आकर्षण चाहिँ विराटनगर रानी मिल्स एरियामा केन्द्रित हुने गर्थ्यो ।
हामी अखिल छैठौँका विद्यार्थीहरू पनि मिल्स एरियामा नै केन्द्रित थियौँ । हाम्रो देउसी टोलीमा गितार बजाउने जिम्मा प्रदीप पोखरेललाई थियो । स्वर (भोकल) मा श्याम लामा र प्रेम संग्रौलाको जोडीलाई जिम्मा दियौँ । देउसेहरू अखिलेश दास, विश्वनाथ साह, गिरिराजमणि पोखरेल, दीपेन्द्र कार्की, प्रह्लाद चौहान, नरेन्द्र कार्की, सुदेव पोखरेल, ईश्वरीप्रसाद दाहाल, अनन्त डुम्रे, गुणराज पोखरेल, शिवनाथ साह, रुद्र सुवाल अनि म लगायत नाम बिर्सिएका अरुहरू । मोरङ सुगर मिलका हाकिम डीके थापाकी छोरी सुप्रिया थापा र विराटनगर जुट मिलका हाकिम सीबी पाण्डेकी छोरी पुष्पा पाण्डे मेरा पूर्व सहपाठी भएकाले हामीलाई पालो कुर्नै परेन । हामीले मोरङ सुगर मिल र विराटनगर जुट मिलका हाकिमहरूको आवासमा सेलरोटी, मालपुवा र आर्थिक आतिथ्य राम्रो पायौँ । क्लासमेटहरूको कमाल ।
त्यसपछि हामी रघुपति जुट मिलको क्वाटरका केही घर र पारिजात दिदीसँग साह्रै मिल्ने एउटी बालसखीका श्रीमान सुब्बा थरका घरमा गयौँ । पारिजात दिदी प्रत्येक वर्ष हप्ता-दस दिन विराटनगर गएर तिनै साथीकोमा बस्ने गर्नुहुन्थ्यो । त्यो साल पारिजात दिदी विराटनगर भएकाले हामी देउसी खेल्न आउने अग्रिम समझदारी बनेको थियो । हामी देउसी खेलिरह्यौँ, पारिजात दिदी हौसिँदै जानुभयो । घरपटीले त हामीलाई आर्थिक सहयोग गरेकै थिए, पारिजात दिदीले आफ्नोतर्फबाट पनि पैसा दिनुभयो । सुब्बा परिवारका सबै सदस्य र पाहुना पारिजात दिदी पनि हाम्रो देउसी टोलीसित नाचगानमा सामेल भयो ।
मिल्स एरियामा देउसी सकेर मध्यराति हामीले विराटनगर तीनटोलियाको गिरी परिवारको घरमा त्यो वर्षको अन्तिम देउसी खेल्यौँ । गिरी परिवारमा हामीले देउसी खेल्ने अनेक आधार थिए । हामीलाई सहयोग, समर्थन र माया गर्ने प्राध्यापक रमेश शर्माको परिवार थियो । हाम्रा साथी विश्वनाथ साहको डेरा त्यहीँ थियो । गिरी परिवारको हामीलाई सधैँ सहयोग थियो अर्थात् गिरी परिवारको घर हाम्रो सेल्टर नै थियो । विश्वनाथजीको कोठामा हामी सबैले पशुपति भाइले पकाएको खाना खाएर राति एक बजेतिर आआफ्नो ठेगानामा फर्कियौँ । भोलिपल्ट पारिजात दिदीसँग भेट्दा सार्है रमाइलो भयो । यसपटकको देउसी मेरालागि स्मरणीय रह्यो भन्नुभयो । आज ३९ वर्षपछि फेरि काठमाडौँ ग्राण्डी भिल्ला आवासमा देउसीले डोरायो र एउटा पुरानो संस्मरण पोखियो ।
(लेखक त्रिभुवन विश्चविद्यालयमा प्राध्यापनरत हुनुहन्छ ।)