सन् १९७७ फेब्रुअरीमा विराटनगर सरस्वती टोलका केही साथीहरूले दार्जिलिङ जाने कार्यक्रम बनाए । म पाञ्चाली बस्ने भए पनि महेन्द्र मोरङ आदर्श क्याम्पसका मेरा सहपाठी साथीहरू आयोजक भएकाले मलाई पनि टोलीमा समावेश गरियो । हामी भर्खरै सुरुभएको विराटनगर-काठमाडौँ दिवासेवा मोरङ पशुपति एक्सप्रेस बसमा दार्जिलिङ गयौँ । दार्जिलिङका साथै खर्सियाङ, कालिङ्पोङ, घुम घुम्यौँ ।
एउटा सुखद संयोग एक बिहान हामी तेन्जिङ रक पुग्यौँ, जहाँ तेन्जिङ नोर्गे शेर्पा केही प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिइरहेका थिए, हाम्रो दुई दर्जनको हुल देखेर हामी नजिक आए । नेपालबाट आएका हामीलाई स्वागत छ भन्दै सबैसँग हात मिलाए । केही समय हामीले तेन्जिङ रकमा तेन्जिङ शेर्पासँगै समय सदुपयोग गर्यौँ । माउन्ट एभरेस्ट, चोमोलोङ्मा सन् १९३९ मा बाबुराम आचार्यले शारदा पत्रिकामा सगरमाथा नामाकरण गरेपछि यो नाम चलनचल्तीमा आयो ।
तेन्जिङ शेर्पाको जन्म मिति र स्थानबारे एक मत पाइँदैन । उनकै अनुसार यकिन थाहा छैन, सायद सन् १९१४ हो । मई १५ र २९ दुवै प्रयोग भएको पाइन्छ । जन्मस्थान सोलुखुम्बु र तिब्बतबारे विवाद छ । लेविस हेलफ्यान्डको पुस्तक द लाइभ्स अफ एडमन्ड हिलारी एन्ड तेन्जिङ नोर्गे र एड डगलसका दुई पुस्तक तेन्जिङ: हिरो अफ एभरेस्ट र हिमालय: ए ह्युमन हिस्ट्री अनुसार नामग्याल वाङ्दी (तेन्जिङको बाल्यकालको नाम) बाबु मिङ्मा र आमा किन्जोङसँग तिब्बतको खार्ता क्षेत्रबाट नेपालको खुम्बु क्षेत्रको थामे गाउँमा बसाइँ सरेको उल्लेख पाइन्छ । सन् १९३५ मा दार्जिलिङबाट बेलायती भरिया आरोहीको रूपमा पर्वतारोहण सुरू गरेका तेन्जिङ १९५३ मा बेलायती टोलीमा छनोट भए । मार्च ८, १९५३ मा काठमाडौँबाट हिँडेको टोली १७ दिनमा स्याँगबोचे पुग्यो । अप्रिल ९ मा ५० जनाको पर्वतारोही टिम तयार भयो । आजकै दिन मई २९, १९५३ बिहान ११:३० बजे तेन्जिङ शेर्पा र एडमन्ड हिलारीले पहिलोपल्ट सगरमाथाको चुचुरोमा पाइला टेके । संयुक्त राष्ट्रसंघ, बेलायत, नेपाल र भारतको झण्डा फहराए ।
हिमालय र काराकोरम क्षेत्रमा पर्ने ८,००० मिटर माथिका १४ हिमालमध्ये ८ नेपालमा पर्दछन्, जसमा विश्वको सर्वोच्च शिखर ८,८४८.८६ मिटर अग्लो सगरमाथा पनि छ । तेन्जिङ र हिलारीको सफलताको समाचार अल इण्डिया रेडियोबाट प्रसारण भएपछि नेपाल र भारतमा तेन्जिङ जिन्दावादको नारा लाग्न थाल्यो । तेन्जिङका सहयोगी रवीन्द्रनाथ मित्र जो दार्जिलिङमा नेपाली समाचार पत्रिका साथी प्रकाशन गर्थे, उनले सविस्तार समाचार मात्र छापेनन्, तेन्जिङको तस्बिर दार्जिलिङका भित्ताभित्तामा टाँसे, एभरेस्टको नाम तेन्जिङ राख्ने प्रस्ताव समेत राखेका थिए । इन्दर मल्होत्रा जो पछि टाइम्स अफ इण्डियाको सम्पादक बने, हाम्रो मान्छेले गर्यो भनेर लेख नै लेखे ।
नेपालको गोरखापत्रले पनि सगरमाथा सफलताको सविस्तार समाचार छाप्यो । धर्मराज थापाको गीत हाम्रो तेन्जिङ शेर्पाले … हरेक नेपालीको जनजिब्रोले गायो । तेन्जिङलाई नेपाल तारा प्रदान गरियो । तेन्जिङ शेर्पा नेपाल-भारत मात्र होइन, विश्वमा नायक कहलाइए ।
तेन्जिङको उत्तरार्ध जीवन नेपाल र नेपालीका लागि सोचेजस्तो उत्साहप्रद रहेन । भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू र पश्चिम बंगालका तत्कालीन मुख्यमन्त्री बी.सी. रोयको पहलमा तेन्जिङ दार्जिलिङमा बसाइँ सरे । तेन्जिङका लागि दार्जिलिङमा हिमालयन माउन्टेरिङ इनस्टिच्युट खोलियो । तेन्जिङको मृत्यु मई ९, १९८६ मा ७१ वर्षको उमेरमा दार्जिलिङमा भएको थियो । शवयात्रामा झन्डै दुई किलोमिटर लामो मानव सागर ओर्लिएको थियो ।
तेन्जिङ र हिलारीपछि ४,००० बढीले सगरमाथाको सफल आरोहण गरेका छन् र थुप्रै कीर्तिमानहरू कायम भएका छन् । कामीरिता शेर्पाले २५ पटक, निमानुरु शेर्पाले २२ पटक, आपा शेर्पाले २१ पटक सगरमाथाको कीर्तिमानी सफल आरोहण गरेका छन् । यही महिना बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलिफाको सफल आरोहण र हङकङकी ४४ वर्षिया साङ यिन-हुङको आधार शिविरबाट २५ घण्टा ५० मिनेटको कीर्तिमानी आरोहण चर्चा मै छ । आज पनि सगरमाथा विश्वमा आरोहीहरूका लागि प्रमुख आकषर्णको केन्द्र रहेको छ । तर नेपालमा पर्यटनबाट राष्ट्रिय आयको ४.३ प्रतिशत मात्र आम्दानी हुन्छ जुन विश्वको औसत ५.२ प्रतिशत भन्दा पनि कम हुनु चिन्ताजनक छ ।
(लेखक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ ।)