तत्कालीन सोभियत संघ युक्रेनको चेर्नोबिलमा अप्रिल २६, १९८६ मा भएको आणविक दुर्घटनाले विश्व नै चिन्तित बन्यो । चेर्नोबिलका वस्तुहरू विषाक्त बने । त्यहीबेला श्री ५ को सरकारले चेर्नोबिलबाट धुलो दुध आयात गर्यो । रोनास्टका वैज्ञानिकहरूले दुध विषाक्त नभएको वक्तव्य जारी गरे । नेपाली जनताले विश्वास गरेनन् । देशभर आन्दोलन उठ्यो, धेरै जनता गिरफ्तार भए । दुध विषाक्त प्रमाणित भयो, सरकार झुक्यो ।
त्यहीबेला चेर्नोबिलमा एउटा फलफूल पसलेले चेर्नोबिलको स्याउ लेखेरै बेच्न राख्यो । मानिसहरूले अचम्म मानेर सोधे – “कसले किन्छन् विषालु स्याउ ?”
पसलेको जवाफ थियो – “धेरैले किनिरहेका छन् । चेर्नोबिल स्याउको व्यापार राम्रो चलेको छ । सौतेनी मामिला मेटाउनेले किनेका छन्, छिमेकी झगडियाले किनेका छन्, अंशबन्डा नमिलेका दाजुभाइले किनेका छन्, असफल प्रेमीहरूले किनेका छन् । घरझगडा परेका दम्पतीले किनेका छन् । त्यतिमात्र कहाँ हो र, राहतको नाममा जनता सिध्याउने सरकारले त झन् थोकमै किनेका छन् ।”
व्यापारमा संलग्न भएपछि सरकार जनविरोधी कार्यमा लागेको धेरै उदाहरण छन् । कतिपय देशहरूमा जनताको स्वास्थ्य प्रतिकूल वस्तुहरू सरकारको संरक्षणमा व्यापार भइरहेका छन् । पेय पदार्थ बियर एउटा उदाहरण हो । कतिपय देशमा विषालु बियर लेखिएका बोतलहरू खुलेयाम बिक्रीमा राखिन्छन् । व्यापारमा पैसा कमाउन “No beer is better than poisoned beer” सम्म भनिन्छ ।
नेपाल सरकार अब व्यापारी संस्था पतञ्जलिसँग मूत्रगोमूत्रको व्यापार तारतम्य मिलाउँदै छ । संसदीय दलहरू अमेरिकी दबाबले दब्बु बनेका छन् । केही व्यक्ति, गैरसरकारी संस्था र दलाल मिडिया जो डलरकोपछि दौडिरहेका छन्, एमसीसीबारे जनतामा भ्रम फैलाइरहेका छन् । अमेरिकाको कोही मित्र छैन, उसको स्वार्थ नै सर्वोपरि हुन्छ । एमसीसी भिडाउन नेपालमा पछिल्लो प्रयास अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आए । नेपाललाई एमसीसी चाहिँदैन ।
(लेखक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ ।)