“Every Communist must grasp the truth: “Political power grows out of the barrel of a gun.”
“Politics is war without bloodshed while war is politics with bloodshed.”
– Mao Tse-tung
यतिबेला नेपालका मुख्य राजनीतिक पार्टीहरू महाधिवेशनमा केन्द्रित भएका छन् । नेकपा एमालेले केपी ओलीलाई अध्यक्ष चयन गर्दै महाधिवेशन सम्पन्न गरको छ । भर्खरै नेपाली काङ्ग्रेसको केन्द्रीय अधिवेशनमा शेरबहादुर देउबाले विजय हासिल गरेको सन्दर्भ छ । हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र)ले पनि स्थानीय तहदेखि प्रादेशिक तहसम्मका आफ्ना पार्टी कमिटीहरूको सम्मेलन गरेर आउँदो पौषमा हुने भनिएको राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ । यही सिलसिलामा अध्यक्ष कमरेड प्रचण्डले पार्टीका नौवटै प्रदेशका सम्मेलनहरूलाई एकैपटक (जुम प्रविधिको प्रयोग गर्दै) सारगर्भित सम्बोधन गर्नुभएको छ । सम्बोधनको क्रममा “परिवर्तनको संवाहक भएर पनि हाम्रो पार्टी अरु संसदवादी पार्टीहरूभन्दा फरक हुन नसकेको तथा सारमा ‘बिग्रिएको’ निष्कर्ष निकाल्दै आफू हरेक यथास्थितिमा ‘क्रमभङ्ग’ गर्दै यहाँसम्म आएको र अब पनि विद्यमान विसंगतियुक्त यथास्थितिमा रमाउन नसकिने तर्क राख्नुभयो । अध्यक्षको ‘क्रमभङ्ग’को यो सन्देशले जहाँ क्रान्तिकारीहरूभित्र एकप्रकारको उमङ्ग सिर्जना गरेको छ, त्यहीँ सेयर मार्केटको नामबाट प्रतिक्रियावादी खैलाबैला सुरु भइसकेको छ ।
जतिबेला अर्धसामन्ती र अर्धऔपनिवेशिक उत्पीडनबाट ग्रस्त नेपालको राजनीतिक संघर्षको इतिहासमा जमेको अकर्मण्य यथास्थितिमाथि अध्यक्ष क. प्रचण्डको नेतृत्वमा तत्कालीन हाम्रो पार्टी नेकपा (माओवादी) ले २०५२ फागुन १ गतेबाट ‘क्रमभङ्ग’को बन्चरो उध्यायो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन रक्षात्मक स्थितिमा र पेरुमा चलेको जनयद्धले पनि धक्का खाँदैगरेको अवस्था थियो ।
विषम परिस्थितिमा पनि प्रारम्भमा उल्लेखित क. माओका उद्गार – कुनै पनि कम्युनिस्टले बलियो गरी बुझ्नुपर्दछ कि “राजनीतिक सत्ता बन्दुकको नालबाट जन्मिन्छ” भन्ने यही एक सुत्रीय मार्गदर्शनमा १२ वर्षसम्म चलेको युगान्तकारी महान् जनयुद्धको प्रक्रियाबाट सामन्तवादको अन्त गरियो र पुनः यही सुत्रको आलोकमा बृहत् शान्ति सम्झौता सम्पन्न मात्र भएन, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना गरेर देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ समेत दिने सफलता प्राप्तभयो ।
तर शान्तिकालमा प्रवेश गरेपछि हाम्रो पार्टी विचार र आचरणका दृष्टिले कम्युनिस्टहरूको मुख्य मार्क्सवादी आदर्श ‘सामूहिक निर्णय र व्यक्तिगत जवाफदेहिता’ बाट चिप्लिएर ‘सामूहिक निर्णय,(कृयाशीलता एवं त्याग, समर्पण)र व्यक्तिगत ब्रह्मलुट’ मा रूपान्तरण हुनपुग्यो । संसद, सत्ता र शक्तिमा भएका पार्टीका प्रतिनीधि (सांसद)हरू जिल्लातिर फर्केको बेला जिल्लाका सरकारी कार्यालयहरूले गाडी र पेट्रोल टक्राउन पर्ने, साहु महाजनहरूले प्लेनको टिकट व्यवस्था गरिदिनु पर्ने, संघीय सांसदको मुख्य तजबिजमा बाँडिने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट निर्माण हुने आयोजनाबाट १० प्रतिशत कमिसन अनिवार्य हासिल हुने, कार्यक्रम बाँडफाँड आवश्यकताको आधारमाभन्दा आफू पुनः निर्वाचित हुने मनसायबाट प्रेरित भएर पाहेक पारेर वितरण गरिने, आफूले सिफारिस गरेका प्रत्येक योजनाबाट अटोमेटिक १० प्रतिशत कमिसन प्राप्त हुने परिपाटीसँगै आफैले निर्वाचित गरेर पठाइएका स्थानीय होस् वा केन्द्रीय प्रतिनिधिहरू मालिकजस्ता र कार्यकर्ता दासजस्ता बन्नपुगेको अवस्था नग्न रूपमा स्थापित हुन पुग्यो । संगठनात्मक रूपमा पुस्ता हस्तान्तरण भए चकाचौँध पारिनेजस्ता फोस्रा आश्वासनको भरमा नवगठित स्थानीय कमिटीहरूले कुनै तात्त्विक भिन्नता देखाउनभन्दा कमिटीगत स्टाटस भजाएर निजी आर्थिकस्तर विकास गर्ने र गुटगत क्रियाकलापमा तल्लीन हुनुबाहेक अरू कुनै उदाहरणीय उपलब्धि दिनसक्ने कुरै थिएन । पार्टी गुट उपगुट र बार्गेनिङको प्रदुषित संस्कृतिबाट अध्यक्षको सम्बोधनपश्चात पनि माथि उठ्नसकेको देखिँदैन । भर्खरै सम्पन्न गरिएका प्रदेश कमिटीहरूमा सम्मेलनले नेतृत्व चयन गर्न नसकेको तितो यथार्थ विद्यमान छ भन्न लाज वा दकस मान्न पर्ने देखिन्न ।
उत्पादन र विकासतिर हेर्ने हो भने विगतमा देशको ८० प्रतिशत भूभाग माओवादी नियन्त्रणमा रहेको यथार्थ किंवदन्ती बन्नपुगेको छ । अवैज्ञानिक कतिपय विकासे योजनाहरू पनि सरकारी नियन्त्रण बाहिर छन् । गाउँमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आफै स्काभेटरका मालिक छन् र जनताका खेतबारी खनेर जहाँ पायो त्यहाँ अवैज्ञानिक तवरबाट बाटो निर्माण कार्यले बाढी र पहिरो निम्तिएर उठिवास पारेको छ । निश्चय पनि यही र यस्तै विसंगतिहरूले नै अरू पार्टी र हाम्रो पार्टी बिच खासै भिन्नता नदेखिएको हुनु पर्दछ।
जनयुद्धकालमा आफ्नो आधार इलाकाको रूपमा स्थापित क्षेत्रहरू तथा सहिद बेपत्ता योद्धाहरूका परिवारहरूको अद्यावधि दुरुह अवस्था र अर्कोतिर देशमा विद्यमान विद्युत उत्पादन बृद्धिको स्थितिले हिमाली तथा मध्यपहाडी इलाकाहरूमा गाउँ गाउँमा केबुलकार र रोपवेको जाल बिच्छ्याएर खेतबारी खन्ने र पहिरो पीडित हुनुपर्ने अवस्थाको अन्त्य गर्न सकिने दृष्टि क्षितिजमा प्रकट स्पष्टचित्रको सलबलाहटले पनि अवश्य प्रेरित गरेको हुनुपर्दछ । हिमाली र मध्य पहाडी क्षेत्रमा फलफूल, जडिबुटी उत्पादन र मौरी, चौँरी, भेडा तथा च्याङ्ग्रापालन लगायत कृषिजन्य उत्पादन र बजारीकरणको निमित्त रोपवे र केबुलकारको महत्त्व नितान्त बढेर गएको र यसरी गाउँलाई बजारसँग जोड्न सकिनेतर्फ कुनै पनि सरकारले सिन्को नभाँचेको स्थितिले पनि त्यत्तिकै पिरोलेको हुनु पर्दछ ।
पार्टीको वैचारिक मार्गदर्शन गरेको क. माओको त्यही सुत्र ‘….शान्तिपूर्ण राजनीति रक्तविहीन युद्ध हो’ को आलोकमा अब विगतका आधार इलाका (७० प्रतिशत भूभाग) लाई पहिला युद्धस्तरमा, अझ भनौँ माओवादी स्प्रिटमा रूपान्तरण नगरिकन यही तालले समाजवादको यात्राको कुरा गर्नुले अरुभन्दा भिन्दै परिचय असम्भव छ भन्ने कुरा स्वतःसिद्ध छ । अतः क. अध्यक्षको दिमागमा राष्ट्रिय तथा अण्तर्राष्ट्रियस्तरमा विकसित घटनाक्रमहरूसँगै देश र पार्टीभित्र पन्पिरहेका यी र यस्तै थुप्रै लथालिङ्गे स्थितिले पनि थप विचारको विकास तथा राजनीतिक र आर्थिक उत्पादनको क्षेत्रमा विद्यमान असंगतिबाट मुक्तिको निम्ति ‘क्रमभङ्ग’ र विचार संश्लेषण अनिवार्य बोध भएको हुनु पर्दछ ।
(लेखक नेकपा (माओवादी केन्द्र) का नेता तथा सहिद परिवार हुनुहुन्छ ।)