vladimir putin, रुस, भ्लादिमिर पुटिन
 

अन्तर्राष्ट्रिय नयाँ वर्ष २०२२ सुरु हुँदै गर्दा दुइटा घटनाक्रमले विश्वको ध्यानाकर्षण गरेको छ । तीमध्ये पहिलो हो युक्रेनसँग सीमा जोडिएको रुसले ठुलो संख्यामा आफ्नो सेना तैनाथ गर्नु । यो युक्रेन कुनैबेला पूर्वसोभियत संघको अभिन्न अंग रहेको हो । अर्को घटना हो कजाकिस्तानमा उत्पन्न घरेलु अशान्तिलाई शान्तिमा बदल्न रुसको हस्तक्षेप । यी घटनाले स्वभाविकरूपमा प्रश्न खडा हुन्छ कि अफगानिस्तानबाट अमेरिकाको योजनाबद्ध पलायनपछि रूसले पुन: आफूलाई स्थापित गर्न खोजेको हो ? हो भने यसको भावी परिणाम के कस्तो होला ? अहिले यो अनेक अड्कल र अनुमानको विषय बनेको छ ।

कतिपय प्रकाशित जानकारीकाअनुसार वर्तमान स्थितिमा रुसी सेनाहरूले युक्रेनलाई तीनतिरबाट घेरिरहेका छन् । अमेरिकी पत्रिका न्युर्योक टाइम्सका अनुसाररूसी सैनिक, भारी बख्तरबन्द गाडीहरू तथा मध्यमदेखि लामो दूरीसम्मका सैन्य आर्टिलरीहरूलाई त्यहाँ यसरी तैनाथ गरिएको छ कि कुनै पनि युद्धको स्थितिमा युक्रेनमा तत्कालै धावा बोल्न सकिने छ । युक्रेनको पूर्वी तथा उत्तरी सिमाना त्यस देशको राजधानी किभको धेरै नै नजिक छ । अनि रूसी सेना ब्यूहरचना खडा गरेर त्यहाँ बसेको छ । १९९० को दसकको सुरुदेखि नै रुस वास्तवमा युक्रेन र जर्जिया नाटो (नर्थ एटलाण्टिक ट्रिटी अर्गनाइजेसन)को सदस्य बनेका कारण अत्यन्तै अप्रसन्न रहँदै आएको देखिएको पनि हो ।

Lok Narayan Subedi, लोकनारायण सुवेदी
लेखक

एकथरी रणनैतिक विशेषज्ञहरूकाअनुसार रुसले आठ वर्षअघि २०१४ मा नै युक्रेनमा घुसपैठका लागि आफ्नो सशस्त्र बल तैनाथ गर्न सुरु गरेको थियो, जतिबेला उसले क्रिमियामाथि कब्जा जमाएको थियो । यद्यपि रणनीतिक अध्येताहरू के भन्दछन् भने यस कुरामा कुनै स्पष्टता छैन किनकि क्रेमलिन युक्रेनमा झगडाको यो जोखिमपूर्ण मार्ग चुनिरहेको छ, जसको परिणाम केवल पूर्वी युरोपसम्ममा मात्र सीमित रहने छैन । यदि अमेरिका र रुस बिचको जेनेभा वार्ताको कुनै परिणाम निस्केन भने (निस्केको पनि छैन) नाटो पनि यस झगडामा सामेल हुन सक्नेछ । यसबाट आर्थिक व्यवधानहरू पनि उत्पन्न हुने नै छन् किनभने युरोप पहिलादेखि नै प्राकृतिक ग्याँसको चर्को मूल्यको सामना गर्दै आएको छ । कारण ‘गेजप्रोम’ले युरोपका लागि ग्याँसको आपूर्ति रोकिदिएको छ । युरोपको दु:खमा अझ बृद्धि अमेरिकाद्वारा एउटा नयाँ ग्यास पाइपलाईन नर्ड स्ट्रीम – २ लाई प्रमाणपत्र नदिने तथा प्रतिबन्ध लागु गर्नाले भएको छ ।

यता पूर्वतिर पूर्ववर्ती सोभियत संघको एसियाली क्षेत्रतर्फ लाग्ने हो भने स्रोतहरूले भरिपूर्ण कजाकस्तान संघर्षको अर्को एउटा विन्दु बन्नगएको छ । सोभियत संघको यो पूर्व गणराज्य रुस र चीनका बिचमा अवस्थित छ । यो चारैतिरबाट जमिनले घेरिएको सबैभन्दा ठुलो भूपरिवेस्टित ‘बेस्टफेलियन’ राज्य हो । जसको जनसंख्या हाल १ करोड ९० लाख रहेको छ ।

गएको २ जनवरी २०२२ का दिन त्यो देशमा हजारौँको संख्यामा कजाखहरू सडकमा उत्रिएका थिए । यसको तत्काल देखिएको कारण एलपीजी ग्याँसमा सरकारले बढाएको अधिकतम् मूल्यको सीमा हटाउनु थियो । हुन त यसको प्रमुख कारण त्यहाँ ब्याप्त समाजिक तथा आर्थिक असमानताहरू हुन्, जसले गर्दा एकल पार्टी तानाशाही रहेको शासन सत्ताको विरुद्ध जनतामा बढ्दो तीव्र रोष प्रकट भएको पनि औँल्याइएको छ किनकि त्यहाँ सरकारी भवनहरूमा आगो पनि लगाइएको थियो र अत्यन्तै अप्रसन्न भीडले हवाई अड्डा र अन्य सार्वजनिक भवनहरूमा समेत कब्जा जमाएको थियो । त्यसको परिणाम वर्तमान कज्जाक राष्ट्रपति कासिम–जोमार्ट टोकाएवलाई मद्दत माग्न मास्कोतिर फर्किनुपरेको थियो । बितेको ८ वर्षभन्दा पनि कम समयमा क्रेमलिन समर्थित कुलीनतन्त्रका विरुद्ध यो तेस्रो विद्रोह भएको मानिएको छ । २०१४ मा युक्रेनमा निकै व्यापक ‘लोकतन्त्र’ समर्थक प्रदर्शन भएको र त्यसपछि त्यस्तै प्रदर्शन बेलारुसमा पनि भएको थियो ।

चाखलाग्दो कुरा के छ भने कजाकस्तान अमेरिका तथा चीन दुवै देशका लागि पनि निकै महत्त्वपूर्ण मानिन्छ । यद्यपि त्यसका करणहरू भने बेग्ला बेग्लै छन् । एक्सन मोबिल तथा चेभरन जस्ता प्रमुख अमेरिकी तेल कम्पनीहरूले कजाकस्तानको पश्चिमी क्षेत्रमा खरबौँ डलर लगानी गरेका छन्, जुन अहिलेको जनप्रदर्शनको केन्द्र क्षेत्र हो । चीनको पनि यस समान चिन्ता रहेको छ किनभने छिमेकी कजाकस्तानसँग चीनको १७८२ किलोमिटर लामो साझा सिमाना रहेको छ । त्यहाँ कुनै त्यस्तो गम्भीर प्रदर्शन हुँदा चीनमा पनि त्यसको प्रभाव पर्न सक्छ ।

प्रष्ट छ, पश्चिमा शक्तिहरू कजाकस्तानमा रूसको हस्तक्षेपले विश्वका लागि निकै ठुलो र असमान्य स्थिति उत्पन्न हुने विश्लेषण गरिरहेका छन् किनभने यो रुसको तैनाथी कलेक्टिभ सेक्युरिटी ट्रिटी अर्गनाइजेसनको मातहतमा रहेको छ । यसमा रूस तथा पूर्वसोभियत संघमा आबद्ध रहेका देशहरूको सबैभन्दा सबल सुरक्षा संघमा आधारित सैन्य सहयोग संगठन हो । त्यस सम्झौतामा अर्मेनिया, बेलारुस, कजाकस्तान र किर्गिजिस्तान सामेल रहेका छन् । त्यसैले पश्चिमा विश्लेषकहरूले रुसले आफ्नो पूर्ववर्ती प्रभाव क्षेत्रमा अर्को एउटा नयाँ विश्व खेल सुरु गरिरहेको अर्थ लगाइरहेका छन् । त्यो कुन अर्थमा पनि भनिँदैछ भने उनीहरू अमेरिका यतिबेला आफ्नो इतिहासको जेफसनकालतर्फ फिर्ता गइरहेको औँल्याउन थालेका छन् । यद्यपि यी सबै परिघटनाहरूको यथार्थ अब कसरी उपस्थित हुने हो ? त्यो समयले नै प्रकट गर्ने प्रतिक्षा गर्नुपर्ने देखिन्छ ।

(लेखक नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक हुनुहुन्छ ।)